भविश्यमा आफू के बन्ने भन्ने कुरा सानैमा निर्धारण भइसक्छ । यसैलाई पछ्याउँदै हिँड्ने हो भने कोही पनि जीवनमा असफल हुँदैनन् । हो, राजेश लामाले पनि सानैमा निर्धारण भएको लक्ष्यलाई पछ्याउँदै गए । त्यही लक्ष्य भेटाउन विदेशी भूमिमा संघर्षरत छन् र पो अहिले सफल छन् । काभ्रेको च्यासिङखर्कमा २०३६ सालमा जन्मेका उनी एक वर्ष नपुग्दै काठमाडौंमा आइपुगे । आफ्नो सन्तानको भविश्य उज्जवल बनाउने सपना कुन आमा–बुबालाई रहर हुँदैन् र ! छोराछोरीको भविश्यकै लागि उनका आमा–बुबाले पनि थातथलो छोडे । काठमाडौंको खाल्डोमा संघर्ष गर्न थाले।
आमा–बुबाको त्यही संघर्षको उपज हो, अहिले राजेशले पाएको सफलता । बुबा साइला र आमा साइलीले सन्तानको पालनपोषण र शिक्षादिक्षाका लागि अर्काको काम गरे । किराना पसल चलाए । कार्पेट कारखाना सञ्चालन गरे । ‘हामीलाई हुर्काउन, पढाउन र समाजका लागि योग्य नागरिक बनाउन आमा–बुबाले गर्नुभएको संघर्ष जीवनभरका लागि प्रेरणा हुन्,’ एक भाइ र एक बहिनीका जेठा दाजु उनले भने, ‘आमा–बुबाको त्यही संघर्षले हामी तीनै भाइ–बहिनी आ–आफ्नो ठाउँमा सफल र सक्षम छौं।’
राजेश कोरियामा रहेका नेपालीहरूका लागि सबैभन्दा बढी परिचित नाम हो । नेपालीलाई केही समस्या पर्दा होस् वा नेपाली वस्तु आवश्यक पर्दा पहिले उनैलाई सम्झन्छन् । आठ वर्ष भयो उनले ट्रेडिङ व्यवसाय सुरु गरेको । दक्षिण कोरियामा आन्सानलाई विदेशीहरूको राजधानी भनेर चिन्ने गरिन्छ । त्यही राजधानीमा उनको पसल छ, ‘लामा ट्रेडर्स’ । ‘हामीलाई हुर्काउन, पढाउन र सक्षम नागरिक बनाउनका लागि आमा–बुबाले ठूलो संघर्ष गर्नुभयो, त्यो संघर्षका हरेक दिनहरू अहिले पनि मेरो स्मरणमा ताजै छन्,’ उनले भने, ‘आमा–बुबाले गरेको संघर्ष, मेहनतले नै मलाई व्यवसायी बनाउने प्रेरणा प्रदान ग-यो।’
३९ वर्षका राजेशले आफ्नो १४ वर्ष कोरियामै बिताए । बिबिएसमा अध्ययन गर्दै गर्दा सन् २००१ मा उनी कोरिया आइपुगे । औद्योगिक प्रशिक्षार्थीका रूपमा कोरिया आएका उनले यहाँ चार वर्ष छ महिना बिताए । आम्दानी पनि राम्रै भयो । ‘म नेपालमै केही व्यवसाय गर्ने सोचमा थिए, बुबा–आमाले गरिराखेको व्यवसायलाई भए पनि विस्तार गर्ने मेरो लक्ष्य थियो,’ उनले सुनाए, ‘तर, आर्थिकरूपमा सबल नभएकाले कमाउनकै लागि कोरिया प्रवेश गरेको हुँ ।’ उनी बेला कोरियन भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने अवस्था थिएन । राजेशका मामा ओम तामाङ र दाई तीर्थ लामा कोरियामा हुनुहुन्थ्यो । ‘त्यतिबेला नेपालको अवस्था पनि ठिक थिएन, द्वन्द्व चर्किरहेको थियो,’ उनले भने, ‘आम्दानी पनि हुने, नयाँ ठाउँको अनुभव पनि संगाल्न मिल्ने भएकाले कोरिया आउने निर्णय गरेँ।’
त्यतिबेला औद्योगिक प्रशिक्षार्थीका रूपमा आउँदा तीन वर्षको भिसा हुन्थ्यो । उनी आएलगत्तै कोरिया सरकारले त्यसलाई बढाएर पाँच वर्ष पु-यायो । उनले कोरियामा रहँदा सुरुमा स्टेसनरी बनाउने कम्पनीमा काम गरे । त्यहाँ टिपेक्स, मार्कर, हाइलाइट पेन, ग्लुस्टिकलगायत सामग्रीहरू बन्थे । कम्पनीमा उत्पादन भएका सामग्रीहरू सिधै अमेरिका पुग्थे । २००१ सेप्टेम्वर ११ मा अमेरिकामा आक्रमण भयो । त्यसको असर कोरियामा रहेको उनले काम गर्ने कम्पनीमा प-यो । अमेरिकाबाट माग कम हुँदै गयो । यहाँ उत्पादन घट्दै गयो । हेर्दा हेर्दै कम्पनी नै बन्द हुने अवस्थामा पुग्यो।
लामा नयाँ कामको खोजीमा लागे । २००२ को डिसेम्बरमा मोबाइलका पार्टपूर्जा बनाउने कम्पनीमा उनले जागिर पाए । पहिलेको कम्पनीको भन्दा यहाँ कमाई राम्रो भयो । चार वर्ष छ महिना काम गरेर उनी निर्धारित समयमै नेपाल फर्के । नेपाल फर्कदा उनले धेरै सपना बुनेर गएका थिए । रोकिएको पढाइलाई निरन्तरता दिने, नेपालमै व्यवसाय गरेर स्थापित हुनेलगायतका सपना उनीसँग थिए । ‘कोरियामा रहँदा राम्रै आम्दानी भएको थियो, आर्थिकरूपमा सक्षम थिएँ, नेपालमा गएर रोकिएको पढाइलाई पूरा गर्ने र फेरि विदेश नआउने गरेर व्यवसाय गर्ने सपना बोकेको थिएँ,’ उतिबेलाको आफ्नो योजना सुनाउँदै लामाले भने, ‘सपना अनुसार काम त गरेँ । तर, सबै सफल भएनन्।’
नेपाल फर्केलगत्तै उनी त्रिचन्द्र कलेजमा बिएमा भर्ना भए । यसका साथै कोरियामा रहँदा कोरियन भाषा राम्रो भएको थियो । पर्यटनमा पनि उनी जोडिए । कोरियन भाषा राम्रो आउने भए पनि त्यसलाई अझै निखार्नका लागि विश्व भाषा क्याम्पसमा भर्ना भए । कक्षामा कहिल्यै उनी दोस्रो भएनन् । कोरियन भाषा मात्रै होइन, यहाँको संस्कृति र संस्कारमा पनि उनी घुलमिल भइसकेका थिए । उनी फोर्थ सेमेस्टरमा पुग्दा कोरियन सहयोग नियोग (कोइका)ले वर्षौदेखि रोकेको छात्रवृत्ति खुल्ला ग-यो । छात्रवृत्ति पाउन धेरैले आवेदन दिएका थिए । तर, उनी प्रथम भए । फेरि कोरिया आउने अवसर जु-यो।
सन् २००७ मा उनले सउलस्थित क्यङ्ही विश्वविद्यालयबाट कोरियन भाषाको फोर्थ लेबल सके । यो तीन महिने कोर्स मात्रै थियो । फेरि स्वदेश फर्के । ‘नेपाल फर्केपछि कोरियनहरूसँग काम गर्ने अवसर मिल्यो,’ उनले भने, ‘यसले मलाई कोरियनहरूसँग अझै नजिक हुने मौका मिल्यो ।’ उनी कोरियनका लागि गाइड थिए नै सानैदेखिको चाहना पनि पूरा गर्नेतर्फ लागे । साथी धनबहादुर गुरुङसँग मिलेर उनले कम्प्युटर र मोबाइलको व्यवसाय सुरु गरे । जाउलाखेलमा खोलिएको उक्त पसल खुबै चल्यो । चीन, मलेसिया, हङकङलगायतबाट कम्प्युटर र मोबाइलका सामानहरू आयात गर्न थाले । नेपालमा लोडसेडिङको पारो बढ्दै गएको थियो । कम्प्युटर र मोबाइल व्यवसायसँगै इन्भर्टरको व्यवसाय पनि सुरु गरे । ‘भारतीय कम्पनी सुकामको इन्भर्टर र ब्याट्रीको ललितपुर वितरककारूपमा हामीले काम गरेका थियौं,’ उनले सम्झिए, ‘व्यवसाय पनि राम्रै थियो । कोरियन पर्यटकहरूलाई पनि गाइड गर्ने काम गरिराखेको थिएँ।’
कोरियन सरकारले कोरियामा काम गर्न आउनेहरूका लागि भाषा परीक्षा लिने निर्णय ग-यो । कोरिया नेपालीहरूका लागि आकर्षणको केन्द्र बन्दै गएको थियो । २००७ देखि उनले कोरियन भाषा प्रशिक्षकका रूपमा काम गर्न थाले । यसका साथै कोरियन भाषाको नाटकलाई नेपालीमा उल्था गर्ने कामको पनि सुरुवात उनैबाट भयो । यति हुँदा पनि उनी नेपालमा सन्तुष्ट हुन सकेनन् । ‘कमाई राम्रै थियो, तर बच्दैनथ्यो, जसरी आउँथ्यो, उसैगरी खर्च भइसक्थ्यो,’ उनले भने, ‘त्यसमाथि महिनामै आठ–१० दिन बन्द हुन थालेपछि नेपालमा नसक्ने निर्णयमा पुगे।’
उनी फेरि सन् २००९ मा कोरिया गए । उनी अरुकहाँ काम गर्न कोरिया गएका थिएनन्, आफ्नै व्यवसाय गर्न गएका थिए । कोरियामा नेपालीहरूको संख्या बढ्दै थियो । सबैलाई आफ्नो देशप्रतिको माया नहुने कुरा भएन । उनले निर्णय गरे, ट्रेडिङ व्यवसाय सुरु गर्ने । उनलाई भाषा, संस्कृति र संस्कारको समस्या थिएन । कोरियाको आन्सान विदेशीको राजधानी । उनले यही ठाउँमा ट्रेडिङ व्यवसाय गर्ने निधो गरे । नेपालमा कमाएको २५–३० लाख रूपैयाँ ल्याए । उनलाई नेपालीहरूले सहयोग पनि गरे । २००९ को मार्चबाट पाँच करोड वन धरौटी (५० लाख नेपाली) बाट सुरु भएको उनको ट्रेडिङ व्यवसाय अहिले सात वर्षमै ४० करोडमा पुगेको छ । उनी अहिले कोरियाबाट नेपालमा र नेपालबाट कोरियामा सामान आयात–निर्यात गर्छन् । नेपाली र कोरियनहरूका लागि प्लेनको टिकटदेखि आवश्यक परेको बेला आर्थिक सहयोग गर्छन् । नेपालीहरूलाई आइपर्ने समस्याको समाधानका लागि दिनरात लागि पर्छन् । ‘यदि नेपालमा बन्द, हड्ताल नहुँदो हो त म यहाँ फेरि आउने थिइन् होला,’ उनले नेपाल नबस्नुको कारण सुनाउँदै भने, ‘आफ्नै देशमा निर्वाध व्यवसाय गर्ने वातावरण नभएपछि बाध्य भएर कोरिया आएको हुँ।’
विदेशमा रहेर पनि देशका लागि प्रत्यक्ष–अप्रत्यक्ष सहयोग पु-याइराखेकोमा भने उनी सन्तुष्ट छन् । ‘महिनामै लाखौंका नेपाली उत्पादनहरू यहाँ आयात गर्छु, नेपालका लागि आवश्यक सामग्रीहरू निर्यात गर्छु,’ उनले भने, ‘यसका साथै नेपालमा हुने हरेक विपत्तिमा आफू र आफ्ना साथीहरूमार्फत सहयोग गर्दै आएको छु, अहिले यसैमा सन्तुष्ट छु ।’ उनले कोरियामा इमान्दारिता र मेहनतपूर्वक काम गर्नेहरूका लागि अवसरै अवसर रहेको बताए । ‘मानिस सफल हुन मेहनती, इमान्दारिताका साथै सम्बन्धित ठाउँको भाषा, बजार र संस्कृति बुझेको हुनुपर्छ,’ उनले भने, ‘यति भएमा कहिल्यै पछि फर्केर हेर्नुपर्दैन।’
कोरियामा उनी व्यवसायमा मात्रै सफल भएका छैनन् । आफ्नो पढाईलाई पनि निरन्तरता दिइरहेका छन् । उनले क्यङ्गी युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजीबाट इ–कमर्समा ब्याचलर सकेका छन् । उनले आफू मात्रै होइन, भाइ राजेन्द्रले नेपाल इन्जिनियर कलेजबाट बिआर्क (आर्किटेक इन्जिनियर) सकेका छन् । बहिनी निरुले भारतको ब्याङ्लुरुबाट बिएस्सी नर्सिङ सकेकी छन्।
उनी सधैं कोरियामै बस्ने होइनन्, नेपालको राजनीतिक अवस्था सहज भएर देश समृद्धिको बाटोमा जानेबेला आफू पनि नेपालमा फर्किने सोच उनको छ । ‘नेपाल प्राकृतिक रूपले सबैभन्दा सुन्दर छ, नेपालको समृद्धिको लागि प्रमुख आधार भनेकै त्यहाँको पर्यटन हो,’ उनले भने, ‘देशको अवस्था राम्रो हुँदै गएमा पर्यटनका क्षेत्रमा काम गर्ने सोच बनाएको छु ।’ उनले नेपालमा पर्यटकीय होटलका साथै टाभल्स सञ्चालन गर्ने सोच बनाएका छन्।
ललितपुरको पुल्चोक नजिकै बुबाले सुरुवात गरेको कार्पेट कारखाना अहिले पनि सञ्चालनमै छ । भाइ–बुहारी र आमाले अहिले सो व्यवसाय हेर्दै आएका छन् । कुसुन्तीमा घर छ । कोरियामा उनी एक्लै छैनन् । २०१४ को फेब्रुअरीमा एयर होस्टेज रश्मी लामासँग उनको विवाह भयो । छोरा साहससहित परिवारै अहिले कोरियामा बस्छ।
प्रकाशित: ६ आश्विन २०७५ ०३:०८ शनिबार