१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अन्य

संस्थागत परामर्श सेवा : थलो एक, भलो अनेक

विकासचन्द्र भण्डारी 
पोर्टफोलियो म्यानेजर 
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड 
नक्साल, काठमाडौं । 

संस्थागत परामर्श सेवालाई अंग्रेजीमा फाइनान्सियल एडभाइजरी पनि भनिन्छ । यसले कम्पनीमा फाइनान्सियल एडभाइजरी तथा कन्सलटेन्सीको काम गर्छ । 

इन्भेष्टमेन्ट बैंकिङ एप्रोच भनेकै संस्थागत परामर्श सेवा हो । एडभाइजरी गर्ने काम हो । इन्भेष्टमेन्ट बैंकले गर्ने काम कर्पोरेट कन्सल्टेन्सी हो, जसलाई संस्थागत परामर्श सेवा भनिन्छ । 

सामान्य भाषामा संस्थागत परामर्श सेवा भन्नाले कोही व्यक्ति तथा संस्थाले कुनै संस्थागत परामर्श सेवा प्रदायक कम्पनीमा गएर लिने परामर्श सेवा हो । संस्थागत परामर्श सेवाप्रदायक कम्पनीले कुन क्षेत्रमा, कति रकम, कसरी लगानी गर्ने, कति नाफा हुन्छ लगायतको विषयमा परामर्श दिन्छन् । 

नेपालमा लगानी योजना बनाउन, कम्पनीको मूल्यांकन गर्न पनि परामर्शको आवश्यकता पर्छ । कम्पनी एक अर्काबीच गाभिने, स्वदेशी तथा विदेशी लगानी कहाँ र कस्तो ठाउँमा कति लगानी गर्नेलगायतको बारेमा परामर्शको आवश्यकता पर्छ । 

संस्थागत परामर्शले विभिन्न सेवा दिन्छ । एकले अर्कोलाई किन्ने तथा बौद्धिक सहकार्यको परामर्श दिने काम पनि यसले दिन्छ । 

यसले ठूला—ठूला ऋण मिलाइदिने काम पनि गर्छ । लगानीकर्ताको दुईवटा कम्पनीबीचको रणनीतिक योजनाका लागि विश्वासको वातावरण बनाउने माध्यमका रूपमा परामर्श सेवा कम्पनीले भूमिका खेल्छन् । लगानीसम्बन्धी सम्पूर्ण कुराको एउटै छानामुनि परामर्श संस्थागत परामर्श सेवाले दिन्छ । 

विज्ञ तथा व्यावसायिक वित्तीय परामर्शदाताहरूद्वारा विभिन्न व्यक्ति तथा व्यवसायलाई प्रदान गरिने विशेष प्रकृतिको परामर्श सेवा हो । विभिन्न प्रकारका वित्तीय परामर्श प्रदायक कम्पनी, मर्चेन्ट तथा इन्भेष्टमेन्ट बैंंंकहरूले यो सेवा प्रदान गर्छन् । 

युवा परामर्श सेवा 

नेपालमा संस्थागत लगानी परामर्शको सुरुवात नयाँ हो । यो सेवा युवा अवस्थामा छ । यसको संस्थागत सुरुवात भएको एक वर्ष मात्रै भयो । ०७४ को चैतबाट नेपाल धितोपत्र बोर्डले लाइसेन्स दिएपछि संस्थागत लगानी परामर्श सेवाको औपचारिकरुपमा सुरुवात भएको हो । 

नेपालमा हालसम्म नेपाल धितोपत्र बोर्ड (सेवन) बाट पाँचवटा मर्चेन्ट बैंकले संस्थागत परामर्श सेवाका लागि लाइसेन्स पाएका छन् । लाइसेन्स लिनेमा नबिल इन्भेष्टमेन्ट बैंक  लिमिटेड, एनआईबीएल एस क्यापिटल लिमिटेड, एसबीआई मर्चेन्ट बैंक लिमिटेड, ग्लोबल आईएमई क्यापिटल लिमिटेड र सानिमा क्यापिटल लिमिटेड छन् । नबिल बैंकले अहिले परामर्श सेवाको राम्रो अभ्यास गरिरहेको छ । 

संस्थागत परामर्श सेवाको प्रत्यक्ष नियमन गर्ने निकाय नेपाल धितोपत्र बोर्ड हो । सम्बन्धित नियमनकारी निकायले पनि नियमन गर्छन् भने बिमा क्षेत्रको सेवामा बिमा समितिले नियमन गर्छ । 

संस्थागत परामर्शदाताको रूपमा कार्य गर्न कम्पनीको न्यूनतम चुक्ता पुँजी तीन करोड हुनु पर्दछ । संस्थागत परामर्शदाताहरूले आफूले प्रदान गर्ने परामर्श सेवाको विषय तथा प्रकृति खुलाई बोर्डलाई जानकारी गराउनु पर्छ । हाल धितोपत्र बोर्डले संस्थागत परामर्श सेवाको विस्तृत निर्देशिका जारी गर्ने तयारी गरिरहेको छ । 

बैंकले लगानीको व्यवस्था मिलाइदिन्छ 

नेपालमा मर्चेन्ट र इन्भेष्टमेन्ट बैंकरले औपचारिक रुपमा संस्थागत परामर्श सेवा दिने काम गरिरहेको अवस्था छ । 

सामान्यतयाः दुई किसिमका बैंक हुन्छन्, एउटा रिटेल बैंकिङ र अर्को कर्पोरेट बैंकिङ । रिटेल बैंकिङअन्तर्गत खुद्रा बैंकिङ कारोबार पर्छ । खुद्रा बैंकिङले विशेषगरी रकम डिपोजिट लिने र ऋण दिने काम गर्छ । 

कर्पोरेट बैंकिङलाई संस्थागत बैंकिङ पनि भनिन्छ । कर्पोरेट  बैंकका दुईवटा शाखा हुन्छन्, एउटा मर्चेन्ट बैंक र अर्को इन्भेष्टमेन्ट बैंक ।

मर्चेन्ट बैंकले व्यवसायीलाई आफ्नै संस्थाको पुँजी लगानी गरिदिएर व्यवसायको सुरुवात गर्छ । कुनै व्यक्ति वा संस्थाले कुनै रेष्टुराँको सुरुवात गर्दैछ भने मर्चेन्ट बैंकले लगानी गरिदिन्छ । 

इन्भेष्टमेन्ट बैंकले आफ्नो पुँजी लगानी गर्दैन । पुँजी लगानी गर्ने पनि तेस्रो पक्ष (थर्ड पार्टी) हुन्छ भने व्यवसाय गर्ने पनि अर्कै हुन्छ । व्यवसायमा लगानी गर्न इच्छुक र लगानी गरिदिने व्यक्ति वा संस्थाको बीचमा मध्यस्थताको काम इन्भेष्टमेन्ट बैंकले गरेको हुन्छ । माध्यमको रुपमा काम गर्छ । 

धेरै नाफा खोज्ने कि थोरै ?

परामर्श सेवा (एडभाईजरी सर्भिस) पनि इन्भेष्टमेन्ट बैंकिङको शाखा हो । परमर्शको मुख्य काम मूल्यांकन हो । कसैको कम्पनी बिक्री गर्नुप-यो र त्यस कम्पनीको कति लगानी छ, कति मूल्यको पुँजी छ जस्ता विषयमा विज्ञको समूहले कम्पनीको मूल्यांकन गर्छन् । 

अर्को काम हो, ऋण प्रत्यायोजन (लोन सिन्डिकेशन) । व्यवसाय चलाउनका लागि ऋणको उपलब्धता पनि गराउँछ, परामर्श सेवाले । संस्था एक आपसमा गाभिने अवस्थामा पनि उचित परामर्श दिन्छ । विभिन्न व्यक्तिगत लगानीकर्ताको रकमको म्युचल फण्ड बनाएर खास क्षेत्रमा लगानी गरिदिने काम पनि लगानी परामर्श सेवाले दिने सेवा हो ।

म्युचल फण्ड भनेको थोरै थोरै पैसा जम्मा गरेर सानो—सानो क्षेत्रमा लगानी गर्ने र कम जोखिम मोल्नु हो ।  म्युचल फण्डमा सानो—सानो रकम धेरै ठाउँमा लगानी गरिन्छ र मुनाफाको अपेक्षा पनि थोरै—थोरै हुन्छ भने हेज फण्डमा ठूलो रकम जम्मा गरेर लगानीको जोखिम पनि हुन सक्छ । घर, जग्गा, हाइड्रोपावरलगायतको क्षेत्रमा लगानी गरिन्छ । मुनाफाको आशा पनि धेरै गरिन्छ भने जोखिम पनि बढी नै हुन्छ । 

परामर्श एउटै क्षेत्रमा मात्रै सीमित हुँदैन

परामर्श सेवा लगानीको क्षेत्रमा मात्रै सीमित हुँदैन । लगानीको वातावरण बनाउनेदेखि लिएर व्यावसायिक योजना बनाइदिनुका साथै लगानीका लागि ऋण मिलाइदिनेसमेत काम गर्छ । यसले वित्तीय क्षेत्रमा धेरै सेवा दिन्छ । जस्तै नबिल बैंक लगायतका लाइसेन्स प्राप्त बैंकले व्यक्ति तथा संस्थालाई वित्तीय परामर्श सेवा दिन्छ । 

एउटै छातामुनि सेवा, धेरै विज्ञको एउटै थलो

एउटा व्यक्ति तथा व्यवसायका लागि चाहिने सम्पूर्ण किसिमका वित्तीय सेवा एउटै छानामुनि उपलब्ध गराउने सेवा संस्थागत परामर्श सेवा हो । त्यसैले यसलाई कर्पोरेट एडभाइजरी पनि भनिएको हो । 

सेवा प्रदायक एउटै संस्थामा विभिन्न परामर्शदाता विज्ञको उपलब्धता हुन्छ । मानौं कसैलाई कुखुरा पाल्न मन लाग्यो उसँग पैसा पनि छैन, लगानी गर्ने आइडिया पनि छैन भने परामर्शदाता कम्पनीले मध्यस्थताको भूमिकासमेत खेल्छ । परामर्शदाता कम्पनीले विज्ञको सहयोगमा परामर्श दिन्छ । कुखुरा पाल्न इच्छुक व्यतिसँग पैसा नभएको खण्डमा ऋणको व्यवस्था मिलाई दिनसक्छ भने कृषि क्षेत्रमै लगानी गर्न चाहने लगानीकर्ताको उपलब्धतासमेत परामर्श सेवाप्रदायक कम्पनीले उपलब्धता गराउन सक्छ । 

विशेषज्ञको विस्तृत अध्ययन

संस्थागत लगानी परामर्श सेवा दिने शाखाभित्र पनि छुट्टा—छुट्टै उपशाखा हुन्छन् । ती उपशाखामा सम्बन्धित विषयका विशेषज्ञ हुन्छन् । ती विज्ञको सहायतामा सेवाग्राहीका लागि सेवा दिइन्छ । विज्ञको अध्ययनपछि कुन व्यवसायमा लगानी गर्नु उपयुक्त हुन्छ भन्ने उचित सल्लाह दिइन्छ । सेवाग्राहीको लगानीको रुचिको क्षेत्र, लगानी गर्ने विषय, उसको बजेटलगायतका विषयमा विस्तृत अध्ययन गरिन्छ । अध्ययनपश्चात् उचित सल्लाह दिइन्छ । 

त्यति मात्रै हैन मानौं तपाईंको तरकारी फारम छ, बेच्न मन लाग्यो । आफ्नो सो फारमको मूल्य कति राख्ने भन्ने थाहा नहुन सक्छ । तर संस्थागत परामर्श सेवा प्रदायक कम्पनीले तरकारी फारमको उचित मूल्यांकन गर्छ । मूल्यांकनपश्चात् तपाईंलाई कति मूल्यमा बेच्दा हुन्छ भन्ने सल्लाह दिन्छ । आगामी दसवर्ष वा सोभन्दा धेरै वर्षसम्ममा हुने मूल्यको मूल्यांकन गर्न सकिन्छ  भने किन्ने सवालमा पनि त्यसैगरी उचित मूल्यको सल्लाह दिइन्छ।

व्यवसायको भविष्यवाणी

भइरहेको व्यवसायलाई पनि परामर्श सेवा प्रदायक कम्पनीले सेवा दिन्छ । कसैले व्यवसाय सुरु गरेको छ । तर अबको पाँच वर्षपछि व्यवसायको अवस्था कस्तो हुन्छ भन्ने अनुमान गर्न नसकिएको अवस्थामा पनि परामर्श उपलब्धता हुन्छ । विज्ञको अध्ययनपश्चात् पाँच वर्षमा व्यवसायले कस्तो गति लिन्छ र मुनाफा कमाउनका लागि के गर्नु पर्छ भन्नेसमेत परामर्श दिइन्छ । 

अबको पाँच वर्षपछि देशको आर्थिक अवस्थाले कस्तो मोड लिन्छ भन्ने पनि अध्ययन गरिन्छ । पाँच वर्षपछि देशको आर्थिक अवस्था आशाजनक वा निराशाजनक कस्तो हुने भन्नेसमेत अध्ययन गरिन्छ ।  

पाँच प्रतिशत सम्म सेवा शूल्क

सम्पत्तिको मूल्यांकन तथा रकमको आधारमा सेवा शुल्क लिने गरिन्छ । नेपालमा दुई किसिमको सेवा शुल्क लिने गरिन्छ । सेवा दिएबापत सेवाग्राहीबाट एकपटक मात्रै पनि शुल्क लिइन्छ । एकपटक मात्रै लिने शुल्कलाई ‘वन अफ फि’ भनिन्छ । साइनिङ फि पनि भनिन्छ । त्यस्तो शुल्क एकपटक मात्रै लिइन्छ । संस्थाले सेवा दिनु पूर्व नै सेवा दिएबापत कति शुल्क लिने भनेर सेवाग्राहीसँग सहमति गरेको हुन्छ । काम भए पनि नभएपनि सेवाग्राहीको सहमतिमा सेवा दिएबापत परमर्श सेवा प्रदायक कम्पनीले लिने अग्रिम शुल्क एकपटक लिने शुल्क हो । 

अर्को किसिमको सेवा शुल्कको काम भैसकेपछि लिइन्छ, जसलाई सक्सेस फि पनि भनिन्छ । सक्सेस फि दुईदेखि पाँच प्रतिशतसम्म लिएको देखिन्छ । मानौं कसैलाई केबल कारमा लगानी गर्नका लागि सय करोड रकमको आवश्यकता प¥यो भने लगानी परामर्श सेवाले रकम दिने दाता खोजी दिन सक्छ । दाताले रकम दिएको खण्डमा मात्रै सेवा शुल्क लिइन्छ । तर सेवाग्राहीलाई रकम जुटाइदिन नसकेको खण्डमा सेवा शुल्क लिइँदैन, यसरी काम भैसकेपछि लिने शुल्क नै सक्सेस फि हो । 

सेवा शुल्क एक प्रतिशतभन्दा कम पनि लिएको पाइन्छ । सेवाग्राहीसँगको सहमतिमा पनि कस्तो किसिमको सेवा लिने हो त्यहीअनुसार सेवा शुल्क लिइन्छ ।

कस्तो किसिमको सेवा दिएबापत कति सेवा शुल्क लिन पाउनेलगायतको विस्तृत कार्यविधि नेपाल धितोपत्र बोर्डले बनाएको भने छैन । तर अब चाँडै बन्ने आशा गर्न सकिन्छ । 

पैसा छ कसरी लगानी गर्ने ?

कुनै व्यक्तिसँग  पाँच लाख रुपैयाँ छ, तर कहाँ लगानी गर्ने, कसरी लगानी गर्ने, कुन क्षेत्रमा लगानी गरेर कति मुनाफा कमाउन सकिन्छ ? भन्नेलगायतको सम्पूर्ण कुराको एउटा व्यक्तिलाई थाहा नहुन सक्छ । 

लगानी गर्ने रकम छ वा छैन भने पनि लगानी गर्न इन्च्छुक त्यस्ता व्यक्ति वा संस्थाले सबभन्दा पहिले सेबनको वेवसाइट भिजिट गर्न सकिन्छ । सेबनको वेबसाइटमा संस्थागत परामर्श सेवा प्रदायक कम्पनी सूचीकृत भएका हुन्छन् । त्यस्ता कम्पनीले लाइसेन्स पाएका हुन्छन् । संस्थागत परामर्श सेवा प्रदायक लाइसेन्स प्राप्त कम्पनीको वेभसाइटमा गएर पनि उनीहरुले के–कस्तो सेवा दिन्छन् भनेर जानकारी लिन सकिन्छ । 

कुन बैंक वा कम्पनीले परामर्श सेवा दिन्छन् भन्ने निक्र्याेल भइसकेपछि परामर्श सेवा प्रदायक शाखामा गएर आफ्नो योजना तथा आवश्यकताका बारेमा बुझ्नुपर्छ । त्यसपछि सम्बन्धित विज्ञसँग भेट्नु पर्छ । लगानीकर्ताको जोखिम बहन गर्ने क्षमता तथा प्रतिफलको अपेक्षाको आधारमा विज्ञले उचित राय दिन्छन् । विज्ञले दिनुपर्ने उचित सल्लाहका साथै लगानीकर्ताको सहमतिमा लगानीको क्षेत्रका बारेमा अध्ययन गरेर आवश्यक सल्लाह तथा सेवा दिन्छन् । परामर्श सेवा प्रदायक कम्पनीका विज्ञले राम्रा लगानीका क्षेत्रका बारेमा पहिले नै अध्ययन गरेर लगानीका सुरक्षित क्षेत्रहरु सूचीकृतसमेत गरेका हुन्छन् । नयाँ किसिमका लगानीका क्षेत्रमा पनि आवश्यक परेको खण्डमा अध्ययन गर्न सकिन्छ भने विज्ञ पनि आवश्यक परेको खण्डमा सेवा प्रदायक कम्पनीले करारमा समेत विज्ञ लिएको हुन्छ । भरसक विज्ञको अभाव हुन दिइँदैन । कुनै बैंकबाट पनि सूचना लिन सकिन्छ । 

संस्थागत परामर्श सेवाका ग्राहक व्यक्ति त हुन्छन् नै । संस्थाको व्यवसायलाई थप विस्तार गर्नु प¥यो भने पनि परामर्श सेवा प्रदायक कम्पनीले अध्ययन गरेर उचित सल्लाह दिन सक्छन् ।

काम कारबाहीको चुस्तताका निम्ति परामर्श विभागले एउटा सम्बन्ध व्यवस्थापकलाई नियुक्त गर्दछ । सम्बन्ध व्यवस्थापकले ग्राहकको आवश्यकताअनुसार समन्वयकारीको भूमिका निर्वाह गर्दछ भने अन्य कार्यहरूका निम्ति वित्तीय क्षेत्रका व्यावसायिक विज्ञहरू जस्तै सिए, सिएफए, एसिसीए, एमबीए सक्रियरूपमा कार्य गर्दछन् । यसर्थ अनुभवी तथा दक्ष टिमले नै परामर्श सेवाका लागि कार्य गर्ने हुँदा, आफूले चाहे जस्तो सेवा, छिटोछरितो र अनुभव गर्ने स्तरमा ग्राहकहरूले प्राप्त गर्न सक्छन् । 

एनजीओ र आईएनजीओलाई परामर्श 

नाफामूलक संस्था मात्रै हैन गैर नाफामूलक संस्थाका बारेमा अध्ययन गर्न सकिन्छ । जस्तै एनजीओ तथा आइएनजीओले गरेका काम प्रभावकारी भए भएनन् भन्ने पनि परमर्श सेवा प्रदायक कम्पनीले अध्ययन गरिदिन सक्छ । त्यति मात्रै हैन एनजीओ तथा आइएनजीओले कस्ता क्षेत्र, समुदायलगायतमा कस्तो योजना बनाउने तथा काम गर्दा प्रभावकारी हुन्छ भन्ने बारेमा पनि सेवा लिन सक्छन् । 

विदेशीलाई पनि सेवा

लगानी परामर्श सेवाले राष्ट्रिय अर्थ तन्त्रलाई पनि टेवा पु-याएको हुन्छ । स्वदेशी मात्रै हैन विदेशी व्यक्ति तथा संस्थालाई पनि लगानी परामर्श सेवा दिन्छ । विदेशी व्यक्ति तथा संस्थाले नेपालमा लगानी गर्न चाहेको खण्डमा कुन क्षेत्रमा कहाँ, कति, कस्तो लगानी गर्नेलगायतका बारेमा परामर्श सेवा प्रदायक संस्थाले अध्ययन गरिदिन सक्छ । विदेशीलाई नेपालको सबै पक्षको जानकारी नहुन सक्छ । देशको आर्थिक, सामाजिक, कानुनीलगायतको बारेमा अध्ययन गरेर विदेशी लगानीकर्तालाई उचित परामर्श  दिन परामर्श सेवा प्रदायक संस्थाले महŒवपूर्ण भूमिका खेलेको हुन्छ । 

संस्थागत परामर्शदाताका मुख्य कार्यक्षेत्र 

व्यवसाय तथा व्यवसायीको उत्पादकत्व बढाउने, स्रोत र साधनको संगठित र समुच्चय प्रयोगको सम्भावनाको खोजी गर्ने कामसमेत हुन्छ । व्यवसायको उद्देश्य प्राप्तिको बाटो सहज बनाउने कार्यमा परामर्शदाताहरूले महŒवपूर्ण योगदान दिन सक्छन् ।

संस्थाहरूको कार्यक्षमता अभिवृद्धि गर्न संगठित संस्थाले आफ्नो सांगठनिक तथा पुँँजीको संरचना हेरफेर गरी रणनीतिक कार्यदक्षता हासिल गर्न सक्छन् । पुँजीगत संरचनामा हेरफेर गर्दा पुँजीको लागतलाई न्यूनतम बिन्दुमा कायम गर्ने गरी इक्विटीको संयोजन गर्ने उपायहरू पहिल्याइदिने गरिन्छ । 

परामर्शदाताले आफ्नो विज्ञता तथा अनुभवको कुशल प्रयोगले संरचनाको हेरफेर गरी संस्थालाई पुनर्ताजगी प्रदान गर्न सक्छन् । 

संस्थागत परामर्श सेवाको अर्को पक्ष व्यावसायिक मूल्यांकन हो । यसअन्तर्गत उपयुक्त वित्तीय उपकरणको प्रयोग गरी व्यवसायको सम्पत्ति तथा व्यवसायको समष्टिगत मूल्यांकन गरिन्छ । 

व्यवसायको वित्तीय विस्तारका लागि भविष्य उन्मुख वित्तीय योजनाको आवश्यकता पर्दछ । संस्थागत परामर्शदाताले वित्तीय क्षेत्रमा विज्ञता हासिल गरेका व्यावसायिक व्यक्तिको मद्दतले व्यवसायको भावी कार्ययोजनालाई परिमाणात्मक इकाईमा प्रस्तुत गरी दिशानिर्दिष्ट गर्ने कार्य गर्दछन् ।  

पुँजीगत प्रकृतिका दीर्घकालीन विकास निर्माणका ठूला–ठूला परियोजनाका निम्ति ठूलो मात्रामा पुँजीको आवश्यकता पर्दछ । यस्ता परियोजनाका लागि आवश्यक पुँजीको उपलब्धताका लागि एकभन्दा बढी लगानीकर्ताको आवश्यकता पर्छ । 

लगानीका लागि आवश्यक ऋण तथा शेयरको व्यवस्थाका लागि परामर्शदाताले संयोजनकारी भूमिका निर्वाह गरेर सजिलै परियोजनाको लगानीको आवश्यकतालाई पूर्ति गरिदिने कार्य गर्दछन् । व्यवसाय सञ्चालन तथा विस्तारका लागि आवश्यक ऋणको उपलब्धताका लागि कागजात तयार पार्ने, ऋण प्रदान गर्ने संस्थाको खोजी गर्ने कार्यसमेत लोन सिन्डिकेसनअन्तर्गत गर्ने गरिन्छ । 

व्यवसायको दैनिक कार्यसञ्चालनका लागि आवश्यक पर्ने अल्पकालीन पुँजीको उपलब्धता व्यवसायका निम्ति सदैव चुनौतीको रूपमा रहने गर्छ । कतिपय व्यवसायमा मौसमी पुँजीको आवश्यकता पर्दछ भने कतिपय व्यवसायले अल्पकालीन ऋणको व्यवस्था गर्न नसक्दा व्यवसायको नगद प्रवाहको असामान्य स्थितिले सम्पूर्ण व्यवसाय नै संकटमा परिरहेको हुन्छ । संस्थागत परामर्शदाताहरूले वर्किङ क्यापिटल फाइनान्सिङको व्यवस्थापन गरिदिएर साना तथा ठूला व्यवसायको दीर्घकालीन लक्ष्य प्राप्तिकोे बाटोलाई सहज पारिदिएका हुन्छन् ।  

नयाँ क्षेत्रको व्यवसाय गर्न आरम्भ गर्न होस वा भएको व्यवसायको सिर्जनात्मक र गुणात्मक विस्तार होस्, संस्थागत परामर्शदाताले भेन्चर क्यापिटलको व्यवस्था गरी लगानीको वातावरणलाई सहज गरिदिन्छन् । भेन्चर क्यापिटलअन्तर्गत परामर्शदाताले लगानीकर्ता र व्यवसायलाई जोड्ने सेतुको कार्य गर्दछन् । 

व्यक्तिगत लगानीको व्यवस्थापन गरी व्यवसायको व्यावसायिक यात्राको सहयात्री भएर संस्थागत परामर्श सेवा प्रदान गरिन्छ । प्राइभेट इक्विटीअन्तर्गत व्यवसायको विकास र विस्तारका लागि लगानी सहजकर्ता तथा लगानी व्यवस्थापकको रूपमा पनि परामर्शदाताले काम गरी व्यवसायमा गुणात्मक मूल्य सिर्जना गर्ने कार्य गर्दछन् ।

हेज फण्ड एक विशेष प्रकृतिको वित्तीय कोष हो जसले विभिन्न व्यक्ति तथा संस्थाबाट लगानीयोग्य रकम संकलन गरी सो पुँजीलाई सम्पत्तिका विविध क्षेत्रहरूमा लगानी गरिन्छ । हेज फण्डमार्फत गरिने लगानी सामान्यतयाः बढी जोखिमयुक्त हुने गर्दछन् । हेज फण्ड व्यवस्थापकको रूपमा संस्थागत परामर्शदाताले संगठित वा असंगठित प्रकृतिका सेवा प्रदान गर्दछन् ।  

लगानीकर्ताको सम्पत्तिलाई स्वेच्छिक अथवा गैर–स्वेच्छिक लगानी व्यवस्थापन सेवाका माध्यमबाट जोखिम न्यूनीकरण गर्दै उच्चतम प्रतिफलको प्रस्तावनासहित विभिन्न वित्तीय उपकरणहरूमा लगानी गरी लगाानी व्यवस्थापकको कार्य पनि संस्थागत परामर्शदाताले गर्दछन्,जसलाई सम्पत्ति व्यवस्थापन भनिन्छ । 

दुई वा दुईभन्दा बढी संस्थाहरू एक आपसमा समाविष्ट हुने, गाभिने तथा किनबेच हुने अवस्था पूर्वका कानुनी तथा वित्तीय व्यवस्थालाई संस्थागत गर्ने काममा परमर्श सेवाले महत्वपूर्ण भूमिका खेल्छ, जसलाई मर्जर तथा एक्युजिसन भनिन्छ । 

ग्राहकलाई आवश्यक पर्ने अन्य विभिन्न प्रकारका वित्तिय सेवाहरू जस्तै सम्पत्तिको किनबेच, ज्ञानप्रदाय सहकार्य खोज तथा अनुसन्धान मूलक कार्य, वस्तु तथा सेवाको नवीकरण, राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रको पुँजी परिचालनजस्ता अति महत्वपूर्ण कार्यहरू वित्तीय परामर्श प्रदायक संस्थाहरूले गर्दै आएका छन् । 

विभिन्न व्यवसायमा अन्तरनिहित जोखिमको न्यूनीकरणका गर्न, जोखिम बहन गर्ने क्षमता अनुरूपको व्यवसायको विस्तार र जोखिम बहन गर्ने क्षमताको समष्टिगत अभिबृद्धिमा संस्थागत परामर्श सेवा प्रदायहरूले विशेष विज्ञता हाँसिल गरेका हुन्छन् । 

नेपालमा भविस्य 

नेपालमा अनौपचारिकरुपमा परामर्श सेवासम्बन्धी धेरै काम ल फर्म, अडिट फर्म, सीए फर्मलगायतले गरिरहेको अवस्था छ । तर अहिले लाइसेन्स लिएर परामर्श सेवा दिने कार्यको सुभारम्भ भएको छ । 

नेपालमा व्यक्तिगतरुपमा सल्लाह लिने चलन प्रशस्तै छ । अध्ययन नगरी लगानी गर्दा जोखिम धेरै हुन्छ । अहिले संस्थागतरुपमै परामर्शसेवाको थालनी भएको छ । संस्थागत परामर्श सेवामा विज्ञको राय सल्लाह हुने भएकाले लगानीको जोखिम न्यूनीकरण हुनुका साथै कति मुनाफा कमाउन सकिन्छ भन्नेसमेत जानकारी हुन्छ । त्यसैले पनि भन्न सकिन्छ, नेपालमा संस्थागत परामर्श सेवाको भविष्य उज्ज्वल छ । यो सेवा भरपर्दो र विश्वसनीय पनि छ । 

नेपालमा देशव्यापीरुपमा लगानी परामर्श सेवाको विस्तार गरेर लगानीकर्तालाई सेवा दिन सकिन्छ । यो सेवा देशव्यापी बनाउनु पर्छ । 

(भण्डारीले उपेन्द्र खड्कासँग गरेको कुराकानीमा आधारित)

प्रकाशित: ३ आश्विन २०७५ १०:२५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App