१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्य

‘चक्रपथमा मोनोरेल सम्भव’

माेनाेरेल: फाइल फाेटाे

चिनिया कम्पनी चाइना रेल्वे २५ ब्युरो ग्रुप कन्स्ट्रक्सन कर्पाेरसन लिमिटेड (सिआरसिसी)को सम्भाव्यता अध्ययनले  काठमाडौं उपत्यकाको चक्रपथ सडकमा मोनोरेल सञ्चालन गर्न उपयुक्त भएको प्रतिवेदन पेश गरेको छ।

सिआरसिसीले तीन महिना लगाएर गरेको सम्भाव्यता अध्ययनले २७.२ किलोमिटर चक्रपथमा  मोनोरेल सञ्चालन गर्न एक खर्ब १६ अर्ब रूपैयाँ खर्च लाग्नेछ। सिआरसिसीले तीन महिना लगाएर तयार पारेको  मोनोरेलको सम्भाव्यता अध्ययनको प्रतिवेदन सिआरसिसीका प्रबन्ध निर्देशक झाउ सिआवोले काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्य र ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनलाई  बिहीबार संयुक्तरूपमा हस्तान्तरण गरेका हुन्।

सिआरसिसीका प्रबन्ध निर्देशक झाउ सिआवोले प्रारिम्भक सम्भाव्यता अध्ययनले चक्रपथमा मोनोरेल निर्माण गर्न भौगोलिक, वातावरणीय, आर्थिक र प्राविधिक ढंगले उपयुक्त भएको बताए।

‘चक्रपथको सडकमा मोनोरेल सञ्चालन प्राविधिक तथा आर्थिक हिसाबले सम्भव देखिएको छ,’ उनले भने, ‘सम्भाव्यता अध्ययन मनपरेको खण्डमा हामी मोनोरेलको डिपिआर बनाउन समेत तयार छौं।’

 प्रबन्ध निर्देशक सिआबोले मोनोरेलको छ महिनाभित्रै विस्तृत परियोजना प्रतिवेदन डिपिआर निर्माण गर्न सकिने बताए। ‘महानगरपालिका र सिआरसिसिसँग सम्झौता भएको ६ महिनाभित्रै डिपिआर तयार पार्न सक्छौं,’ उनले भने, ‘डिपिआर तयार भएर सम्झौता भएपछि तीन वर्षभित्रै मोनोरेल सञ्चालनमा ल्याउन सकिनेछ।’

सिआरसिसी, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाबीच चक्रपथ सडकलाई समेटेर मोनोरेलको सम्भाव्यता अध्ययन गर्ने विषयमा गत जेठ ११ गते सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।
छ महिनाभित्र सम्भाव्यता अध्ययन सम्पन्न गर्ने लक्ष्य राखे पनि सिआरसिसीले तोकिएको समयभन्दा तीन महिनाअगावै प्रतिवेदन हस्तान्तरण गरेको हो।

काठमाडौं महानगरपालिका मेयर विद्यासुन्दर शाक्यले सम्भाव्यता अध्ययन प्रतिवेदन विस्तृतरूपमा अध्ययन गरेर डिपिआर निर्माणमा अघि बढ्ने बताए। ‘मोनोरेलको सम्भाव्यता अध्ययन प्रतिवेदन पाएका छौं,’ उनले भने, ‘सम्भाव्यता अध्ययन प्रतिवेदन अध्ययन गरेपश्चात मात्रै डिपिआर निर्माण सम्झौताको लागि अघि बढ्नेछौं।’

मेयर शाक्य आफ्नो कार्यकालभित्रै मोनोरेल सञ्चालन गर्ने तीव्र चाहना रहेको बताउँछन्। ‘कार्यकालभित्रै मोनोरेल चढेर बिदाई हुन चाहेका छौं,’ उनले भने, ‘मोनोरेल समग्र उपत्यकावासीको चाहना भएकाले जतिसक्दो छिटो निर्माण गर्नेछौं।’

मेयर शाक्यले उपत्यकाको खाल्डाखुल्डी सडक नपुर्नेले मोनोरेलको सपना देखाउँदा जनताले व्यंग्य गरेको तर्फ सचेत रहेको बताउँदै जतिसक्दो छिटो मोनोरेल सञ्चालनमा ल्याउने दाबी गरे।

ललितपुर महानगरपालिका मेयर चिरिबाबु महर्जनले मोनोरेलको निर्माण गरेसँगै उपत्यकाको ट्राफिक व्यवस्थापनमा कोशेढुंगा सावित हुने बताए । ‘मोनोरेल हेर्न र चढ्नका लागि उपत्यकाबासी भोका छन्। त्यसैले जतिसक्दो छिटो मोनोरेल निर्माण गर्न जरुरी भइसक्यो,’ उनले भने, ‘सम्भाव्यता अध्ययन जतिसक्दो छिटो अध्ययन गरेर डिपिआर अध्ययन गर्न लगाउनेछौं।’

मोनोरेल सञ्चालनमा यस्ता छन् अवरोध
सिआरसिसीका अनुसार चक्रपथमा मोनोरेल सञ्चालनमा केही अवरोध रहेको छ। २७.२ किलोमिटर चक्रपथमध्ये चाबहिल–गौशाला सडक खण्डमा विवाद कायमै रहेकाले मोनोरेल सञ्चालनमा अवरोध आउने सिआरसिसीका नेपाली प्रतिनिधि नवीन पोखरेलले बताए।

‘कोटेश्वर–कलंकी सडक खण्डमा कुनै अवरोध छैन। त्यहाँ मोनोरेल निर्माणमा कुनै समस्या देखिँदैन,’ उनले भने, ‘कलंकी–महाराजगन्ज र चावहिल–गौशाला सडकखण्डमा अहिलेको अवस्थामा  मोनोरेल निर्माण गर्न सम्भव देखिँदैन।’

उनका अनुसार सरकारले मोनोरेल सञ्चालनको लागि अवरोध नहटाएसम्म काम अघि बढाउन सकिँदैन। त्यसको साथसाथै चक्रपथ क्षेत्रमा निर्माण गरिएका पुलले समेत मोनोरेल सञ्चालनमा केही अप्ठायारो निम्ताउने निश्चित छ।

चक्रपथको बीच सडकमा बनाइने
आरसिसीको सम्भाव्यता अध्ययनले चक्रपथको बीच सडकमा नै मोनोरेल बनाउन उपयुक्त भएको जनाएको छ। चक्रपथ सडकमा दुवैतर्फको सर्भिस लेनलाई  छाडेर बीचको सडकमा मोनोरेल निर्माण गरिनेछ। चक्रपथको आठ लेन सडकमध्ये बीचको लेनमा मोनोरेल सञ्चालन गर्न सहज हुने देखिएको सिआरसिसीका नेपाली प्रतिनिधि पोखरेलले बताए। सिआरसिसीका अनुसार चक्रपथमा १७ वटा मोनोरेलको स्टेसन हुनेछ। मोनोरेल प्रतिघण्टा ८० देखि एक सय किलोमिटरको रफ्तारमा गुडाउन सकिनेछ। मोनोरेलमा एकपटक एकतर्फी १५ सयदेखि तीन हजार यात्रु ओसार्न सक्नेछ । निर्माण कम्पनी सिआरसिसीका अनुसार मोनोरेल तीन चरणमा निर्माण गरिनेछ । पहिलो, कोटेश्वर–कलंकी, दोस्रो, कलंकी–महाराजगन्ज र तेस्रो, महाराजगन्जदेखि कोटेश्वर खण्ड छुट्टाएर निर्माण गर्न सकिनेछ।

के हो मोनोरेल?
मोनोरेल जमिनको सतहभन्दा करिव ३० फिटको उचाईमा खम्बामा बिम जोडेर गुडाइने एक प्रकारको रेल हो। जसको लागि जमिनमुनि प्लाइलिङ गरेर खम्बा बनाइन्छ। उक्त खम्बाहरूलाई सिमेन्टेड बिमसँग जडान गरेपछि मोनोरेलको लागि ट्रयाक तयार गर्नुपर्ने हुन्छ। सोही ट्रयाकमा सिंगल लेनको मोनोरेल एकतर्फी ढंगले गुडाइन्छ । मोनोरेल जमिनको सतहभन्दा माथि हुने भएकाले चढ्न र झर्नको लागि विभिन्न स्थानमा स्टेसन आवश्यक पर्छ । त्यसमा एलिगेटरको माध्यमबाट यात्रुहरू चढ्ने र झन् व्यवस्था मिलाइएको हुन्छ । मोनोरेलमा विद्युतीय माध्यमबाट सञ्चालन गरिनेछ । विदेशमा मोनोरेल धेरै प्रयोग भए पनि मोनोरेल नेपालमा पहिलो पटक निर्माण गर्न लागिएको हो।

काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिका जननिर्वाचित जनप्रतिनिधिले चक्रपथको सडकमा मोनोरेल गुडाउने योजना अघि सारेका छन्।

प्रकाशित: २९ भाद्र २०७५ ०२:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App