१७ माघ २०७९ मंगलबार
अन्य

चिहानमाथि सात रात

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ६ मा अध्ययनरत प्रजिना तामाङ जनैपूर्णिमाको दिन विद्यालय गइनन्। बिदा भएर उनी विद्यालय नगएकी भने होइनन् । उनी यस दिन चिहान डाँडामा ढ्यांग्रो बजाउन गएकी हुन्। उनी भदौ पहिलो सातादेखि सात रात, सात दिनसम्म चिहानमाथि ढ्याङग्रो बजाइन् । उनी चिहानमा पहिलोपटक पुगेकी थिइन्।

यो उनको रहर थिएन, न त विद्यालयको परीक्षा । ढ्यांग्रो बनाउँदा उनले झाँक्री पोसाक (सेतो जामा पोखरी) पहिरिएकी थिइन्।

जनैपूर्णिमामा (गोने पूर्णे) झाँक्रीहरूले (बोन्बो) गुफा बस्ने समय । पूर्णिमाको दिन चिहानको गुफाबाट निस्कने गरी बोन्बोहरूले सात दिन, २१ दिन र एक महिना गुफा बस्ने परम्परा छ । यही पराम्परा अनुसार प्रजिना गुरूहरूका साथ पूर्णिमाको एक हप्ताअघि गुफा बस्न दोलखा पुगेकी थिएन । उनको वास्तविक घर भने उदयपुर हो।

काठमाडौंको एक निजी विद्यालयमा कक्षा ६ मा अध्ययनरत प्रजिना तामाङले भदौ पहिलो सातादेखि सात रात, सात दिनसम्म चिहानमाथि ढ्याङग्रो बजाइन्।

धादिङका कक्षा ९ मा अध्ययनरत प्रेम गुरुङ पनि झाँक्री पोसाकमा दोलखा पुगेका थिए । १६ वर्षीय गुरुङलाई भने गाउँकै ‘देवा उत्रिएको’ बताउँछन् । उनी गुफा बस्नकै लागि सोही ठाउँमा पुगेका हुन् ।
दोलखा, भिनपा–२ को सोक्ला, खेलाप, चक्पा, फूलपा, डाँडागाउँ, गंग्रास र न्यागल गाउँको पुरानो चिहानमा गुफा बस्न स्थानीय झाँक्री प्रेम तामाङले व्यवस्थापन गरेका थिए । यसका लागि जिरी नगरपालिकाका प्रमुख झाँक्री गुरू कामी तामाङले सहयोग गरेका थिए।

भदौ ३ गते साँझबाट सुरु भएको गुफामा तीन दिनसम्म कोही कसैलाई देख्न र भेट्न नपाएको धादिङका झाँक्री गुरु तामाङ सुनाउँछन् । ‘चिहान आफैमा डर, चिन्ता र भयभित हुने ठाउँ हो । डरकै बीचमा गुफा बसेर ज्ञान प्राप्ति गर्नु मुख्य उद्देश्य हो,’ गुरुङले भने, ‘सुरुमा डर लागेको थियो । तर, गुरुहरू भएकाले खासै डर लागेन । रातको समय निकै चुनौती थियो।’

गुफामा ८ जना नयाँ झाँक्री थिए । झाँक्रीहरूले बिहान, दिउँसो १२ बजे, साँझ र राति १२ बजे झाँक्री पहिरन लगाएर चिहान वरिपरि घुमेका थिए।

‘झाँक्रीहरूसँग लेखिएको कुनै दस्तावेज छैन । हामीसँग एउटै चिज हो ‘ढ्यांग्रो’। यही ढ्यांग्रोले संसार उत्पत्तिको कथादेखि मान्छे उत्पत्तिको कथा सुनाउँछौं । हामीसँग भएको कङलिङ, भाला, त्रिशुल, दियो बत्ति, जामा पोखरी, टाउकोमा लगाएको दुम्सिको काँडाको छुट्टै कैरन छ। यही गहना लगाएर शिरको देवता साँची राखेर गुफा बस्छौं। फेरि जो कोहीले ढ्यांग्रो बजाउँदैमा गहना लगाउँदैमा चिहानमा गुफा राख्न र बस्न सक्दैन।’

झाक्रीहरू गुफा बसेको दिन मुढा बालिन्छ । आगोको कोइलाको उस्तै थुप्रो हुन्छ।

चिहान, आफैमा सुनसान । उस्तै झरी छ । गुफामा बसेपछि झरी, भोक, निद्रा बिर्सनै पर्छ । जबकी समसान चिहानमा राती १२ बजे उठेर ढ्यांग्रो बजाउनु सामान्य मानिँदैन।

पहिलो रातमा कहिले त्रिपाल तानेझै, कहिले आफु सुतिरहेको ढुंगा चलाउने, कहिले नबुझिने स्वरमा बाहिर कराउने आवाज आउने गरेको प्रजिनाले अनुभव सुनाइन्।

तीन वर्षकी छोरी छाडेर गुफा बस्न गएकी थिइन्, गंगा तामाङ । गंगाको बसाई भने काठमाडौं हो । उनी आफूलाई आएको ‘देवता’ साँची राखेर चिहानमाथि बसेर ज्ञान हासिल गर्न चाहान्छिन।

‘यो पटक धेरै जना गुफा बस्ने भयो । मेरो पनि चेलीहरू छ । यसकारण गुफा बस्न आएकी हुँ,’ उनले भनिन्, ‘गुफा बस्न सजिलो छैन । गुफा बस्नका लागि भाग्यले साथ दिनुपर्छ । जोकोही चिहानमाथि गुफा बस्न सक्दैन । जीवनकै बाजी राखेर गुफा बस्ने हो।’

गुफा बस्नका लागि काभ्रेबाट झाँक्री मनमाया तामाङ समेत पुगेकी थिइन् । उनले ड्यांग्रो बजाउने ताल मिलाउन निस्कदा झाँक्री गुरुको धेरै पटक भनाइ खाइन् । गुफा बस्दा ड्यांग्रो बजाउने ताल, दायाँ बायाँ नाच्ने ताल, घुम्ने ताल सबैको मिल्नुपर्छ । जब ढ्यांग्रो बजाउने सुर मिलाउन सकिँदैन, यसले धेरै कुरामा फरक पार्ने झाँक्री गुरु प्रेम तामाङको भनाइ छ।

‘बोन्बोले ढ्यांग्रो बजाउने, आफ्नो जामा पोखरी सहित नाच्ने कला भनेको कलाकारकै जस्तै स्टेप हो । गुफा बस्ने भनेको विद्यालयमा पढेको जस्तै हो । विद्यालयमा पढ्दा कोही फस्ट हुन्छ, कोही सेकेन्ट कोही फेल हुन्छ,’ उनले भने, ‘गुफा बस्ने क्रममा कोही फस्ट हुन्छ कोही पास मात्रै । हेर्दा उस्तै भए पनि चिहानको गुफा ज्ञानको हिसावले आकाश पातल फरक छ।’

हरेक पटक गुरूले फरक फरक दृश्य देखाइरहेका थिए । सामान्य व्यक्तिको लागि त्यो चिहानमाथि हासिल गरेको ज्ञान अनर्थ लाग्न सक्छ । तर, ती बोन्बोहरुका लागि ठूलो कैरन (इतिहास) हो।

प्रमुख झाँक्री कामी तामाङका अनुसार झाँक्रीहरूसँग लेखिएको कुनै दस्तावेज छैन । ‘हामीसँग एउटै चिज हो ‘ढ्यांग्रो’ । यही ढ्यांग्रोेले संसार उत्पत्तिको कथादेखि मान्छे उत्पत्तिको कथा सुनाउँछौं । हामीसँग भएको कङलिङ, भाला, त्रिशुल, दियो बत्ति, जामा पोखरी, टाउँकामा लगाएको दुम्सिको काँडाको छुट्टै कैरन छ,’  उनले भने, ‘यी सामान हाम्रो जीवित इतिहास हो । यही गहना लगाएर शिरको देवता साँची राखेर गुफा बस्ने काम गर्छौं । जो कोहीले ढ्यांग्रो बजाउँदैमा गहना लगाउँदैमा चिहानमा गुफा राख्न र बस्न सक्दैन।’

घरबाट सल्काएको दियो बत्ती चिहानको सात रात नकटेसम्म निभ्नु हुँदैन। यदि दियो बत्ति निभ्यो भने अशुभ मानिन्छ । साथै ज्ञान हासिल पूर्णरूपमा नहुने बोन्बोहरू बताउँछन्। साथै बोन्बोहरु नाच्ने क्रममा माला घण्टि चुड्यो भने पनि अशुभ हुने प्रमुख झाँक्रीको भनाई छ।

यसरी समय बित्दै जाँदा चार दिनपछि नुहाउन पाइन्छ । यसरी नुहाँउदा अन्य मान्छेले देख्नु नहुने बोन्बोको विश्वास छ । यही क्रममा बोन्बोले भाला खेलाउँछन् । उल्टो सुल्टो भाला खेलाउने क्रममा सात जुन घामको उत्पत्ति र विलयको मन्त्र सिकाइन्छ, जहाँ नाग राजा र रानीको कथाहरू उत्रिन्छन्।

चिहान नजिकै रहेको वर पिपल उनीहरुको अर्को साँच्चि हुन्छ । आगोमाथि खेल्नु, उफ्रिनु र आगो खानु गुफा बस्नेहरुको अनिवार्य ज्ञान हो । जुन चिहानबाट गौरीशकर हिमाल देखिन्छ । माथि कालिञ्चोक, हनुमन्तेश्वर, तला तामाकोशी र आगोको थुप्रो बोन्बोहरुको अर्को साँच्चि हुन्छ । वरिपरिको जंगल यहाँ भएका जीवजन्तु उनीकोहरुको साथिको रुपमा गुरूले चढाई सकेको हुन्छ।

गुफा बस्ने क्रममा कोही तर्सिएमा बिरामी समेत हुन्छ । यसकारण गुरूले पहिले नै गुफामा बस्नेहरूको जिउ बाँधेका हुन्छन् । सात रात गुफा बसेर ज्ञान हासिलपछि गाउँलेहरू बोन्बोहरूलाई लिन जान्छन् । यस्तै परम्परा देखियो, दोलखा भिनपा– २, न्यागलको चिहान डाँडामा।

सात दिन सकिएपछि उनीहरूले भत्काएका चिहान दुरुस्तै निर्माण गरे । जहाँ गारो लगाएर  बनाएको तीन चिहान थिए । चिहान बनाएपछि प्रमुख झाँक्रीले विभिन्न खाने चढाए । साथै, गाउँलेहरूले पनि विभिन्न अन्नपातको समिश्रण लाइनबद्ध भएर चढाए।

यसपछि गाउँलेहरूलाई अघि लाएर बोन्बोहरू ढ्यांग्रो बजाउँदै घर फर्किए । तब चिहान घाट विस्तारै समसान घाट बन्छ । र, चिहान झन, डर लाग्दो चिहान बन्छ।

प्रकाशित: २३ भाद्र २०७५ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App