बाल्यकाल बिताइरहँदा बुबाले थरी–थरीका भाडाकुँडा बनाइरहेको हेरेर बस्थे, सूर्यबहादुर विश्वकर्मा । त्यतिबेला उनी भर्खर ५ वर्षका थिए । केटाकेटी उमेरमा निकै चाख दिएर उनी बुबाको काम नियालिरहेका हुन्थे । उनको परिवारको पुख्र्यौंली पेसा स्टील, पित्तल र फलामका भाडाकुँडा बनाउनु हो । अहिले उनको उमेर ४५ वर्ष पुगेको छ । धेरै समुदायले आफ्नो पुख्यौंली पेसा गुमाउँदै जाँदा उनी आफ्नो पुर्खाको पेसालाई सुरक्षित बनाउनतिर लागेका छन्। अहिले उनी भाडाकुँडाको काममा पोख्त छन् । उनी यही कामको सिलसिलामा उनी आफ्नो जन्मथलो सोलुखुम्बु नाम्चे बजार छाडेर काठमाडौंसम्म आएका छन् । गाउँको पेसालाई फराकिलो र व्यावसायिक बनाउन उनी २०६२ सालमा काठमाडौं छिरेका थिए । २०६२ सालभन्दा अघि उनले सोलुखुम्बुमै बसेर भाडाकुँडा बनाउन सिकेका थिए।
काठमाडौं छिर्नुअघि उनी विदेश जाने चक्करमा फसे । तर, विदेश गएर अरु युवाले पाएको दुःख देख्दा उनको मन विदेश जान सरर भएन।
‘काठमाडौं आउनुपूर्व जापान जाने सोच बनाएको थिएँ,’ उनले सुनाए, ‘विदेशीहरूका कथाव्यथा देख्दा मनै अमिलो भएर आयो, बरू यही केही गरौं भन्ने लाग्यो, त्यसपछि काठमाडौं छिरेको थिएँ।’
आफूसँग भएको सीप छाडेर विदेश किन हामफाल्नु भनेर अडिएका विश्वकर्मा अहिले खुसी छन् । काठमाडौं आएपछि उनले सोचेअनुसार व्यापार गर्न सक्ने भएका छन् । उनले २०६५ सालमा आफ्नै बौद्ध तीनचुलीमा रहेको घरमा भाडा बनाउने कारखाना खोले । त्यहाँ भाडाकुँडा बनाउन थाले । त्यसपछि उनले भाडाकुँडा बाहिर देशमा निर्यात हुन थाले । त्यसपछि झन् उनको पेशाले उचो लियो । काममा थप ऊर्जा पनि थपियो । पुरानो मात्र नभएर विभिन्न थरीका नयाँ भाडाकँुडा बनाउने सीप सिक्ने रहर जाग्यो । उनले विश्वकर्मा कलाकृति अनुसार कलामा ढालेर पितल र तामाको समिश्रणबाट थर्मस बनाउने काम थाले । सुरूसुरूमा त्यति राम्रो भएन । प्र्रयास गर्दै जाँदा तेस्रोपटकमा हातले चार लिटर अट्ने थर्मस बनाउन सक्ने भए । ‘यो मेरो पुख्यौली पेसा हो हो, म नमरुन्जेल यो पेशालाई कहिलै विर्सन सक्दिनँ,’ उनले सुनाए।
यही पेशाले उनको ५ जना परिवारको पेट पालेका छन् उनले । हातबाट बनाएको थर्मस बजारमा पनि माग बढ्दै गएको छ । उनले बनाएको थमर्सको माग चीनमा धेरै छ । बाहिर देशबाट बनेको थर्मस प्रयोग गर्दा फुट्ने समस्याको विकल्प खोज्दै जाँदा तामा र पितलबाट थर्मस बनाएको उनको भनाई छ । ‘चीनबाट आएको हजाराँै थर्मसको तुलनामा यो थर्मस एउटैले काम गर्छ,’ उनले भने।
हातले बनाउनुपर्ने हुँदा कला भएका ३० जनालाई रोजगार समेत दिँदै आएको उनले बताए । कामदारलाई तलब दिँदा, कर तिर्दा मासिक ३२ हजार आफूलाई फाइदा भएको विश्वकर्मा बताउँछन् । विश्वकर्माको कारखानामा हाको, सोलाक, प्लेट, टिप्ली, थुक्पा भाडा, मोक्साङ, डोङमु, कचौरा, थाल आदि उत्पादन हुन्छन् । उक्त सामानहरूको मूल्य नेपालमा १० देखि ६० हजारसम्म पर्छ।
यो थर्मस बनाउन सजिलो छैन । थर्मस बनाउँदा–डिजाईन गरिन्छ । त्यसपछि तामा र पितलको नापजाच गरी काटिन्छ । त्यसपछि जोडिन्छ र बुट्टा डिजाइन भरिन्छ । थर्मसको बाहिरी भागमा हातले बुट्टा भर्नुपर्छ । यो थमर्स खासगरी पानी पिउन र राख्नका लागि प्रयोग गरिने उनको भनाइ छ।
‘थर्मसको मूल्य १७ हजारसम्म पर्छ,’ उनले भने, ‘अरुभन्दा दुई पैसा महंगो पर्ला तर हातले बनाएको थर्मसको इज्जत अर्कै हुन्छ ।’ पितल र तामाबाट बनेकोले यो थर्मस वर्षाैसम्म केही नहुने उनको दाबी छ । थर्मस भित्र सिसा हालिएकोले अहिले बजारमा आएको प्लास्टिकको थर्मस जस्तै पानी तातो रहन्छ । थर्मस लडरे ढलेर कुच्चिए पनि तामा र पितलबाट बनेकोले तत्काल बनाएर जस्ताको तस्तै हुन्छ । ‘किन्नेहरूले मेसिनले बनाएको सामानभन्दा हातले बनाएको सामानहरू बढी मनपराएका छन्,’ विश्वकर्माले थपे, ‘त्यसैले पनि यसको माग बढ्दै गएको छ।’
उनको अनुभवमा यो थर्मस नेपालीले भन्दा विदेशीले बढी प्रयोग गर्ने गरेका छन्।
प्रकाशित: १५ भाद्र २०७५ ०७:०६ शुक्रबार