५ आश्विन २०७७ सोमबार
अन्य

सरकारी निकायबीच समन्वय छैन

डा. रवीन्द्र समीर, साहित्यकार

तपाईँलाई मनपर्ने सहर कुन हो ?
मलाई मनपर्ने सहर पोखरा हो । पोखरा मलाई युरोपकै सहर जस्तै लाग्छ । शिक्षा र स्वास्थ्यलाई अलिकति जोड्ने हो भने पोखरा विश्वकै ‘टप सिटी’ मध्येमै पर्न सक्छ । तर, उपचार, शिक्षा र अन्य केन्द्रीय सुविधा लिनका लागि काठमाडौं आउनुपर्ने बाध्यता छ । यदि यो बाध्यता हट्यो र निजी क्षेत्र पुग्यो भने पोखरा पूर्ण सहर बन्छ। 

नेपाल बाहिर कुन–कुन देश पुग्नुभयो ?
रसिया, चेक रिपब्लिक, लक्जम्बर्स, बेल्जियम, नेदरल्याण्ड, फ्रान्स, स्वीजरल्याण्ड, भ्याटीकन सीटी, थाइल्याण्ड, चीन, इन्डोनेसिया, बंगलादेश, अस्ट्रियालगायत देश पुगेको छु । 

ती देशभित्र कहाँ–कहाँ पुग्नुभएको छ ?
२५ वटा देशको ५०–६० वटा जति सहर घुमेको छु । सुरुमा मलाई बेइजिङ मन परेको थियो । त्यो सांस्कृतिक सहर पनि हो । बेलुकी खाना खाएर पनि हिँड्ने सडक छन् । त्यहाँको बाटो, पार्क र नाइटलाइफ निकै राम्रो लाग्यो । केही समयअघि युरोपका १० सहर घुमेको थिएँ । त्यसमध्ये अस्ट्रियाको भियना निकै उत्कृष्ट लाग्यो । स्वीजरल्याण्डको जुरिक, लक्जम्बर्स पनि मलाई मनपर्ने ठाउँ हुन् । सहरमा पहिले कस्तो थियो र अहिले कस्तो छ, त्यो दृश्य हेर्न पाइन्छ । विदेशी सहर मौलिक र एकैनासे शैलीमा बनेका छन्।

त्यहाँको कुन पक्षले ध्यान तान्यो ?
युरापका सहर एकैनासे छन् । सडक चौंडा  छ । पीच सडकभन्दा पैदल यात्रु हिँड्ने सडक व्यवस्थित र चौंडा पारिएको छ, त्यहाँ । सडकको वरिपरि रूख रोपिएका छन् । सडकमा रूखबाट पात झरेको हुन्छ । फूल झरेको हुन्छ । ठाउँ–ठाउँमा बस्ने मेचहरू हुन्छन् । हजारौं बर्ष पुरानो मौलिकता पनि भत्काइएको छैन । त्यसैले पनि विदेशका सहरमा सबैथोक छ।

बाहिरी मुलुकमा कसरी सहरीकरण भएको रहेछ ?
बाहिरी देशका सहर निकै खुला छन् । हामीकहाँ गाडी र मानिसको हुल मात्रै देखिन्छ । विदेशी सहरमा अन्डरग्राउन्डलाई भरपुर प्रयोगमा ल्याइएको छ । मानिसको ओहोरदोहोर नै अन्डर ग्राउन्डबाट हुन्छ । बाहिरी सडक एकदमै खुला देखिन्छ । हरियाली देखिन्छ । त्यहाँ ट्राफिक जामको समस्या हुँदैन । उनीहरू समयमै चल्छन् । सहर विकास गर्दा सयौं वर्ष अघिलाई हेरिएको हुन्छ । संस्कृति जोगाइएको हुन्छ । खानेकुरा पनि सस्तो र गुणस्तर छ । खानेकुरामा कर लगाइँदैन । त्यहाँको पर्यावरण निकै लोभलाग्दो छ । तिनको तुलना गर्दा हामी निकै तल छौं । हाम्रोमा सहरको नक्सा नै बनाइएको छैन । कुन ठाउँमा के बनाउने भन्ने कुनै आर्किटेक्ट नै तयार पारिएको छैन । हाउजिङ कम्पनी र ठेकेदारलाई सहर बनाउन दिइन्छ । त्यसले मौलिकता मेटेको छ । हामीले ईश्वरको वरदान पनि चिन्न सकेका छैनौं। 

हामीकहाँ राजनीतिसँगै सहरका योजना पनि परिवर्तन हुन्छन्, राजनीतिक दलले सहरका योजना आफू अनूकुल बनाएका छन्, यस्तो अवस्था सहरको भविष्य कस्तो होला ?
हामीकहाँ राणालीन समयमा बनेका संरचना युरोपियन शैलीका छन् । राणाहरू अरु देशमा गएपछि त्यहाँका सहरसँग प्रभावित भएर त्यसै अनुरूप काम गरे । पञ्चायत कालमा पनि भवन त्यति निर्माण भएको थिएनन् । अहिले सहर बनेको बढी भाग हरियाली थियो । बहुदल आएपछि विस्तारै काठमाडौं कुरूप बन्न पुग्यो । सहरको विकास निर्माणमा एकरुपता छैन । सहर छेक्ने अग्ला–अग्ला भवन बनेका छन् । त्यसकारण पनि काठमाडौं व्यवस्थित सहरमा पर्दैन । यही गतिमा काम हुने हो भने काठमाडौंको भविष्य संकटमा नपर्ला भन्न सकिन्न। 

सहरकरण गर्दा हामी कहाँनिर चुक्यौं ?
बितेका २५–३० वर्षलाई फर्केर हेर्दा काठमाडौंमा त्यति धेरै भवन निर्माण भएका थिएनन् । संरचना निर्माण ठिक्क थियो । त्यसपछि ह्वात्तै सहरमा घर बन्न थाले । एक हिसाबले सहर कंक्रिटको जंगल नै भयो । अहिले नै अप्ठेरो सहर बनेको छ । मानिसहरू बाध्यताले बसेका छन् । सरकारले तदारुकता देखाउने हो भने अब पनि सुधार्ने ठाउँहरू धेरै छन्।

के गरियो भने सहर व्यवस्थित होला ?
बाग्मती, विष्णुमती, मनोहरामा बाध बाँध्ने । जसले हिउँदको समयमा पनि राम्रो देखिन्छ र डुवान पर्दैन । अर्को कुरा, दुई तले ट्राम यातायात सञ्चालन गर्ने, साना गाडीलाई निस्तेज गरेर ठूला सवारी चलाउने, सार्वजनिक यातायातलाई व्यवस्थित पार्ने । अन्डरग्राउन्ड पार्किङ स्थल बनाउने । न्युरोड क्षेत्रमा साइकल लेन, रुख रोप्ने, फुटपाथ बनाउने, मेच राख्ने लगायत कार्य गरियो भने सहर अलि व्यवस्थित होला । मेरो विचारमा अहिलेको सहरलाई अलि व्यवस्थित पार्ने सबैभन्दा उचित उपाय ‘ल्याण्ड पुलिङ’ नै हो । अरु देशमा पनि यही अभ्यास भइरहेको छ । वातावरण राम्रो भयो भने हिँड्ने बानी पर्छ । भोटाहिटी, ठमेल, जमल, सुन्धारा, असन, इन्चोक क्षेत्रमा ढुंगा छाप्ने, स–साना रुख रोप्ने हो भने पनि उचित हुन्छ । विश्वका चर्चित सहर पनि यसरी नै विकास भएका छन् । अर्को कुरा, विश्व सम्पदा भएको ठाउँलाई अति नै व्यवस्थित पार्ने त्यसवापत शुल्क उठाउन पनि सकिन्छ । सहरलाई संस्कृति र कलासँग जोड्नुपर्छ । विदेशी सहरमा दुई हजार वर्षअघिको सहर पनि प्रत्यक्ष आँखाले देख्न पाइन्छ। 

हामीकहाँ विकासका काम गर्ने प्रणाली र योजना उपर्युक्त नभएका हुन् ?
बहुदलीय व्यवस्था आएपछि कसैले कसैलाई नटेर्ने अवस्था सुरु भयो । नेता आफूमात्रै हावी भए । अहिले सबैतिर ‘स्मार्ट सिटी’को कुरा छ । तर, ‘स्मार्ट सिटी’को पहिलो सर्त ‘स्मार्ट गभरनेन्स’ हो । सही शासन पद्धति हो । जनताको काममा सरकारी निकाय जिम्मेवार हुनु हो । तर, यही काम नभएर अहिले काठमाडौंले आवश्यक भन्दा बढी भार खेपिरहेको छ । यदी यस्तै सुविधा भएका सहर अन्त हुन्थे भने काठमाडौं यति धेरै कुरूप र बिग्रने अवस्थामा हुने थिएन । विकासमा काठमाडौंको विकल्प सोच्नुपर्छ । मुख्य कुरा त हाम्रोमा व्यवस्थित सरकार भएन। 

सहरमा के–के हुनेपर्ने थियो र के भइरहेको छ ?
प्रत्येक ५ सयको मिटरमा सार्वजनिक शौचालय हुनेपर्ने हो । सहरका हरेक कुरा नागरिकका लागि सर्वसुलभ गर्नुपर्ने हो । ठाउँ–ठाउँमा ढुंगेधारा हुनुपर्ने हो । बेलुकी खाना खाएपछि हिँड्ने ठाउँ र सुरक्षा हुनुपर्ने हो । तर, यी सुविधा हाम्रा सहरमा छैनन् अरु देशका हेर्ने हो भने मान्छे सुते पनि सहर सुत्दैन। 

तपाईँ कस्तो सहरको परिकल्पना गर्नुहुन्छ ?
म बसेको सहर सुन्दर होस् । शान्त होस् । हरेक सेवा–सुविधा होस् । मानव स्वास्थ्यमा प्रतिकुल असर पार्ने कुनै तत्वहरू नहौँन् । प्रदूषण र फोहर नदेखियोस् । खानेकुरा अग्र्यानिक पाइयोस् । आनन्दसँग घुम्ने ठाउँहरू हौन । त्यति भयो सहर केही व्यवस्थित बन्छ।

तपाईँको विचारमा सहर के हो ?
योजनाबद्ध तरिकाले एकै किसिमबाट बनेको सामूहिक बसोबासको केन्द्र नै सहर हो । त्यो केन्दमा बसेपछि हामीले हरेक सुविधा पाउनुपर्छ । त्यो सहरमा बसेबापत प्रदूषण र धुलोधुवाँ भोग्न नपरोस् । अर्को कुरा, सहर एकै किसिमका बस्ती भएको ठाउँ घर हो।  

सहरलाई व्यवस्थित पार्न सहरवासीको दायित्व के रहला ?
पोखराको बाटोमा फोहर देखिँदैन । त्यहाँका नागरिकले घर बढार्दा बाटो पनि बढार्छन् । काठमाडौंमा बस्नेहरूमा सभ्यता भएन । आफूले गर्नसक्ने सामान्य सहयोग पनि सरकारलाई गरेको देखिन्न । सरकार र नगरपालिकाको मात्रै मुख ताक्ने प्रवृत्ति छ । अर्को कुरा, सरकार र नगरपालिका कहिल्यै पनि सहर बनाउन आएन । सरकारी निकायबीच मै समन्वय भएन। 

गाउँ र सहरको सम्बन्ध कस्तो हुनुपर्छ ? 
सहरको मुटु वा प्राण गाउँ हो । हाम्रो देशकै नक्सा तयार भएको छैन । विदेशी मूलुकमा नक्सा बनाएर गाउँ र सहरको विकास भएको हुन्छ । त्यसकारण हाम्रोमा सरकारले एकिकृत बस्ती बसाल्नुपर्छ । त्यति हुनासाथ खेती बढी हुन्छ । 

उपत्यकाको मनपर्ने पक्ष ?
यहाँको हावापानी सदावहार छ । मठमन्दिर र दुर्लभ ऐतिहासिक ठाउँ छन् । यहाँका मानिस सहृदर्यी छन् । केन्द्रीकृत भए पनि काठमाडौंमा पाइने सुविधा धेरै छन्। 

यहाँको मननपर्ने पक्ष ?
धुलो–धुवाँ र प्रदूषणले सहर व्याप्त छ । दीर्घकालीन सोच नहुँदा अव्यवस्थित भएको छ । सहरमा पैसा कमाउने प्रतिस्पर्धा छ । यहाँका मानिस सधै हतास, निरास र दौडधुपमा देखिन्छन् । धनी भए पनि मानिस खुसी छैनन्। 

मन भएर पनि पुग्न नपाएको ठाउँ ?
नेपालमा रारा ताल र सगरमाथाको बेस क्याम्पसम्म पुग्ने रहर छ । विदेशमा अमेरिका, अस्टेलिया र अफ्रिकाका बस्ती घुम्न मन छ । 

काठमाडौं कहिले छिर्नुभयो ?
२०४६ सालमा काठमाडौं छिरेको थिएँ । त्यतिबेला सुन्दर थियो । रिङरोडमा ट्रक चलेको देखिन्थ्यो । फाँटभरी धान झुलेको देखिन्थ्यो। 

सहरका मनपर्ने खानेकुरा ?
खानेकुराको ‘टेस्ट’ मा काठमाडौं अगाडि छ । पहिले–पहिले काठमाडौंको मःमः भनेपछि मन हुरूक्कै हुन्थ्यो । अहिलेको मःमः त्यति मिठो छैन । सहरका धेरैजसो खानेकुरा अगार्निक छैनन् । बाहिर गएर खानलाई मन सरर हुन्न । सबैतिर विषादीको प्रयोग भएको छ। 

तपाईँको बुझाईमा काठमाडौं कस्तो ठाउँ हो ?
काठमाडौं असन्तोषी ठाउँ हो । यहाँ एउटा आवश्यक पूरा हुनेवित्तिकै अर्को आवश्यक पूरा गर्नुपर्छ भन्ने मान्यता छ । यहाँका मानिसको मन स्थिर छैन । उनीहरूका चाहना पनि असिमीत छन् । सिंगल घर चाहिन्छ, जग्गा जमिन चाहिन्छ भन्ने सोच सहरवासीमा छ । त्यहीँ सोचका कारण काठमाडौंका डाँडाकाँडा ताछिएका छन् । खाली ठाउँहरू भरिएका छन्।
                  प्रस्तुति : शिवहरि घिमिरे

प्रकाशित: १५ भाद्र २०७५ १२:१८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App