१२ वैशाख २०८३ शनिबार
image/svg+xml
अन्य

तपस्वीजस्तो मान्छेले तारिख धाउँछ र?

बारा मनहर्वाका १७ गाउँलेलाई गत बिहीबार नियन्त्रणमा लिएर कुटपिट गरेको आरोप खेपेका तपस्वी रामवहादुर बोम्जन अहिले विवादमा छन्। शान्ति सुरक्षाको माग गर्दे गाउँलेले उनीविरुद्ध उजुरी गरेका छन्। आइतबार साँझ बारा प्रहरीले तपस्यास्थलमै गएर उनीसँग बयान लिए। स्थानीय संचारकर्मीले पनि उनीसँग विभिन्न प्रश्न गरे।  संक्षेप-

गाउँलेलाई किन पिट्नुभयो ?
- म ध्यान गरिरहेको समयमा उनीहरु आएर डिस्टर्ब गरे। हात हाल्न खोजे। अनि कुट्न बाध्य भएँ।

तपाई उनीहरुलाई चिन्नुहुन्थ्यो?

- म चिन्दिनँ। नचिनेका मान्छे थिए।

बन्चरोको पासोले पिट्नु'भो भन्छन् नि?
- मैले हातले पिटेको हुँ बन्चरोको पासोले हैन। गाउँलेले बोलेका सबै कुरा झुटा हुन्। दुई तीन झापड दिएको हुँ।

टाउको फुटेको छ त?
- म माथि आक्रमण गर्न खोज्यो, अनि त्यस्तो भयो। हल्ला गर्ने चुरोट खाने गरे पनि सहेर बसेँ। मेरो आसन मागेर म जस्तै बसेर ध्यान गर्न खोजे। अति भएपछि पिटेँ।

बन्दी बनाएर पिटेको हो?
- बन्दी बनाएर कुटेको हैन। तल ध्यानस्थलमै पिटेँ। माथि घरमा ल्याएर पिटेको छैन।

तपाँई जस्तो तपस्वी मान्छेले यसरी पिट्न मिल्छ?
- उनीहरु आक्रामक रुपले आए पछि गर्न बाध्य भएँ।

कति समय कुट्नु भयो?
-२४ घन्टा कुटेको छैन। पाँच मिनेट मात्र कुटेको हुँ।

मोटो मान्छेलाई छानेर अलि बढी पिट्नु भयो रे?
-मोटो हैन , एउटा गाउँको नेता-नेता जस्तो थियो। त्यसलाई अलि बढी पिटेँ।

गढीमाईमा किन बोका चढाएको भनेर सोध्नु भयो रे?

-गढीमाईको कुरा गरेको थिइनँ।

तपाँईले तपस्या गर्ने अधिकार छ भने उनीहरुले सेउला टिप्ने अधिकार छैन?
-घाँसपात जहाँबाट पनि ल्याउन सकिन्छ। सागपात टिप्न मात्र आएको हैन। ध्यान भंग गर्न पनि आएको ठानेँ।

तपस्वी जस्तो मान्छे दुई चार शव्द सम्झाएर पठाए हुन्थ्यो नि?
- मैले सम्झाउन खोजेको हुँ। सम्झेनन्। अनि पिटेँ।

तपाँईले थकाई मार्दे पिट्नु भयो रे नि?
- चौबीसै घन्टा ध्यान गर्ने मान्छे कसरी थाक्छ? त्यति धेरै पिटेको छैन।

तपाई अहिले त ध्यानमा हुनुहुन्न त?
- म सबै दिन ध्यानमा छु। तर दिनमा एक पटक चाँहि यो घरमा आउने गरेको छु।

तपाँईविरुद्ध उजुरी परेको छ। यसमा के भन्नुहुन्छ?
-धर्मको पनि एउटा कानुन हुन्छ। त्यही भएर पिटेँ। मैले कुटेको छु। संसारलाई किन ढाँट्ने। तपाईँहरुले बुझ्नु पर्‍यो, म केका लागि तपस्या गर्देछु भन्ने।

तपाँईलाई त्यति बेला रिस उठ्यो ?
- हामीलाई रिस उठ्दैन। हामी हाँसी-हाँसी सबै काम गर्छौ। यदि ममा रिस भएको भए तपाईसँग यति समय दिएर कुरा गर्ने थिइनँ।

सहयोगी लगाएर पनि पिट्न सक्नु हुन्थ्यो नि?
- सहयोगीहरु नभएको अवस्थामा मैले नै पिट्नु पर्‍यो।

यत्रो वन घेरेर किन बसेको?
-जगत र प्राणीलाई संरक्षणको लागि बन रोकेको हुँ।

शान्तिको खोजीमा बसेका मान्छेले सहेर बसेको भए हुन्थ्यो नि?
-घरबाट ल्याएर पिटेको हैन। सुरक्षाको लागि पिट्नु पर्‍यो।

कुट्नुभयो अब तपाँईमाथि कारवाही होला, होइन?
- उनीहरु आक्रामक शैलीमा आए। म तपस्यामा थिएँ। अब कारबाही कसलाई गर्ने हो- मलाई कि उनीहरुलाई?

पहिला पनि अरुलाई पिट्नु भएको थियो रे?
-पहिलो पटक पिटेको हुँ। यसअघि छैन।

मुद्दा पर्‍यो भने तारिख धाउनु पर्छ। त्यस्तो अवस्थामा के गर्नु हुन्छ?
-(हाँस्दै) तपस्वीजस्तो मान्छे पनि तारिख धाउँछ?

प्रस्तुति : उपेन्द्र लामिछाने

 

प्रकाशित: ९ श्रावण २०६७ २३:१६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App