६ कार्तिक २०७७ बिहीबार
अन्य

अन्तरिक्ष वैज्ञानिकको ‘बौद्ध’ अनुभूति

लाङटाङ र अन्नपूर्ण ‘बेसक्याम्प’को यात्रा पूरा गरेर काठमाडौं आइपुगेकी अमेरिकी अन्तरिक्ष वैज्ञानिक स्यान्ड्रा म्याग्नस अरुलाई अनुभव सुनाउन व्यस्त थिइन्। स्कुलमा प्रवचन, ऐतिहासिक स्थल घुमफिर अनि भेटघाट, बिहानदेखि साँझसम्मै भ्याइ–नभ्याइ थियो उनलाई। स्यान्ड्रा नेपाल आएको थाहा पाएलगत्तै भेटेर उनका अनुभव सुन्ने उत्कट चाहना थियो। तर, राजधानीबाहिर उनको कार्यक्रम भएकाले तत्काल सम्भव भएन। 

उनी विशुद्ध पर्यटकका रूपमा पहिलोपटक नेपाल आएकी हुन्। स्यान्ड्राको नेपाल भ्रमण व्यवस्थापनको जिम्मा लिएका बौद्ध दर्शनका अध्येता मित्र प्रेमजीले उनीसँग भलाकुसारीको अवसर जुराइदिएका थिए। निक्कै प्रयत्नपछि तीन साताअघि आइतबारको एक बिहान ठमेलमा उनीसँग बल्ल भेटघाट भयो। त्यस दिन पनि बिहान सबेरैदेखि ऐतिहासिक सुन्दर नगरी भक्तपुर घुमेर उनी सिधै त्यहाँ आइपुगेकी रहिछन्।

‘‘स्पेस’बाट हेर्दा पृथ्वी ‘सिंगो एकाइ’झैं देखिन्थ्यो, जहाँ कुनै विभाजनका रेखा थिएनन्, भौगोलिक रूपमा खण्डित देश थिएनन्। पक्कै एउटै चीज देखिन्थ्यो, उही प्रणाली, उही जीव, उही समुदाय । स्पष्ट रूपमा ब्रह्माण्डका सबै पिण्ड एकआपसमा अन्तरसम्बन्धित छन्।’

विज्ञानको विद्यार्थी अनि त्यसमा पनि सानैदेखि ‘स्पेस’बारे रुचि थियो मेरो। स्यान्ड्राको बारेमा मलाई पहिले नै केही जानकारी थियो। उनी सम्भवतः अन्तरिक्षमा  सबैभन्दा बढी समय बिताउने अमेरिकी महिला अन्तरिक्ष–यात्री हुन्, जो बौद्धदर्शन र ध्यानमा रुचि राख्छिन्। उनले अमेरिकी वैज्ञानिक संस्था नेसनल एरोनटिक्स एन्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)मा सन् १९९६ देखि १६ वर्षसम्म वैज्ञानिक, अन्तरिक्ष टोलीको सदस्य, फ्लाइट इन्जिनियर आदि भूमिकामा काम गरिसकेकी छन्।

त्यस अवधिमा उनी नासाबाट तीनपटक अन्तरिक्ष–यात्रामा गइन्। सन् २००२ मा उनको पहिलो अन्तरिक्षयात्रा (स्पेस टुर) छोटो अवधिका लागि थियो। ‘त्यसबेला नासाको  अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्र निर्माणका लागि काम गर्नुपरेको थियो, पहिलो यात्रा अति रोमाञ्चक लागेको थियो,’ कुराकानीको सुरुमै आफ्नो ‘स्पेस टुर’बारे बताइन्।

दोस्रोपटक सन् २००८ नोभेम्बरदेखि सन् २००९ मार्चसम्म अन्य सहयात्रीसहित साढे चार महिना उनी अन्तरिक्ष केन्द्रमै रहिन्। यो समयअवधि पहिलेको भन्दा बढी थियो। त्यसबेला उनी ग्रह, उपग्रह, तारा आदिको अनुसन्धानमै केन्द्रित भइन्। तेस्रोपटक सन् २०११ जुलाईमा उनले अन्तरिक्ष–यात्रा सुरु गरिन्, र, एक वर्षसम्म त्यहीँ बसिन्। यसरी सबै मिलाउँदा करिब डेढ वर्षजति उनी अन्तरिक्षमा रहिसकेकी छन्।

अन्तरिक्ष खोज–अनुसन्धानमै समर्पित भएर काम गरेकी उनले सन् २०१२ मा नासाको जागिर छाडिन्। त्यसपछि उनले अमेरिकन इन्स्टिच्युट अफ एरोनटिक्स एन्ड एस्ट्रोनटिक्स (एआइएए) मा ६ वर्षसम्म कार्यकारी निर्देशकका रूपमा काम गरिसकेकी छन्।  नियमित जागिरबाट  ‘ब्रेक’ लिएपछि उनले नेपाललाई घुम्नुपर्ने प्रमुख गन्तव्यमा राखिन्। यसको कारण हो–यहाँका सुन्दर हिमाल अनि बुद्धको जन्मभूमि। ‘धेरै पहिलेदेखि मैले नेपाल अनि यहाँका हिमालबारे पढेकी थिएँ, यहाँको सुन्दरता भिडियोमा हेरेकी थिएँ। एकपटक नेपाल पुग्नैपर्छ भन्ने लागेको थियो, बल्ल यसपालि मेरो सपना पूरा भयो,’ उनले सुनाइन्।

चाखलाग्दो अन्तरिक्ष अनुभव
स्यान्ड्राले चाखलाग्दो पाराले अन्तरिक्ष–यात्रा अनुभूति सुनाउन थालिन् । तर, मैले उनलाई आफ्नो ‘स्पेस’ अनुभवलाई बौद्ध दर्शनसँग जोड्न आग्रह गरेँ। त्यसैले ‘स्पेस’ र बौद्घ दर्शनकै सेरोफेरोमै कुराकानी केन्द्रित भयो, यही विषयमै बढी समय खर्च भयो । अनुभव सुनाउँदा उत्साही देखिन्थिन् उनी।

‘बौद्घदर्शनले हाम्रो जीवनलाई खण्ड–खण्डमा होइन, साक्षी भावका साथ समग्रमा जिउन र अनुभूत गर्न सिकाउँछ। अन्तरिक्ष–यात्रामा रहँदा मैले बौद्घ दर्शनका शाश्वत पक्ष मनन् गर्ने मौका पाएँ’

साँच्चिकै बुद्ध अनुयायीजस्तो लाग्ने स्यान्ड्राको शालीन व्यक्तित्व अनि शान्त स्वभाव र प्रसन्न चित्त। ‘निश्चय नै बौद्ध दर्शन र ध्यानप्रति मेरो गहिरो रुचि छ। पछिल्लो समय मैले बौद्घ दर्शनको सारलाई मनन् तथा व्यवहारिक रूपमै अभ्यास गर्दै आएकी छु,’ ठमेलको एक रेस्टुराँमा ‘हट लेमन’ पिउँदै उनले भनिन्।

सन् २००८ मा अन्तरिक्षमा साढे चार महिना बस्दा बेजोड अनुभूति भएको थियो उनलाई। एक वैज्ञानिकका रूपमा नासामा काम गर्दा अन्तरिक्ष कस्तो हुन्छ, त्यहाँबाट पृथ्वी र सारा ब्रह्माण्डलाई नियाल्दा कस्तो नतिजा देखिन्छ भन्ने सैद्घान्तिक जानकारी उनलाई अवश्य थियो। तर, आफूले प्रत्यक्ष अनुभव गर्नु नितान्त फरक विषय हो। अन्तरिक्ष पुगेपछि नासाको अन्तर्राष्ट्रिय स्टेसनमा बसेर खगोलीय पिण्डको अवलोकन र अनुसन्धान गर्नु उनको प्रमुख कार्य थियो।

अन्तरिक्षमा बस्दा पृथ्वीबाट अर्कै लोकमा गएजस्तै भयो उनलाई। भएभरको समय ‘स्टेसन’मै बिताउनुपर्ने थियो। अतिरिक्त क्रियाकलाप अनि मनोरञ्जन केही थिएन। अन्तरिक्षबाट तल्तिर हेर्दा ब्रह्माण्डमा लाखौं तारा देखिन्थे, त्यहीँ अडिएको पृथ्वी देख्दा रोमाञ्चक अनुभव हुन्थ्यो उनलाई। पृथ्वी कतै शून्यमा अडिएजस्तो भान हुन्थ्यो। ‘‘स्पेस’बाट हेर्दा पृथ्वी ‘सिंगो एकाइ’झैं देखिन्थ्यो, जहाँ कुनै विभाजनका रेखा थिएनन्, भौगोलिक रूपमा खण्डित देश थिएनन् । पक्कै एउटै चीज देखिन्थ्यो, उही प्रणाली, उही जीव, उही समुदाय,’ उनले सम्झिइन्, ‘स्पष्ट रूपमा ब्रह्माण्डका सबै पिण्डको एकआपसमा सम्बन्ध गाँसिएको हुन्छ। इन्जिनियरिङमा एउटा ‘क्लोज सिस्टम’ भन्ने हुन्छ,  जसले कार्य र प्रतिकार्यबीच निकटता छ भन्ने स्पष्ट पार्छ । यसको अर्थ हो– धर्तीमा पाइने सबै चीज अन्तरसम्बन्धित हुन्।’

अन्तरिक्ष पुग्नुभन्दा अगावै उनलाई बौद्घ दर्शनबारे केही जानकारी थियो। बौद्घ दर्शनले कुनै पनि मानिसले निर्वाण अवस्था  प्राप्त गरेपछि मात्र दुःखबाट मुक्ति पाउने उल्लेख गरेको छ। यसका लागि  अष्टांगिक मार्ग अपरिहार्य रहेकोमा बुद्घले जोड दिएका छन्। सम्यक दृष्टि, सम्यक संकल्प, सम्यक वचन, सम्यक कर्म, सम्यक आजीविका, सम्यक व्यायाम, सम्यक स्मृति र सम्यक समाधिको अभ्यासबाट मात्र आफूले आफूलाई चिन्न सकिन्छ। दुःखको भुमरीबाट पार पाउन सकिने जीवनोपयोगी सूत्र बुद्घका सार्वकालिक शिक्षामा उल्लेख छ।

पृथ्वी : सबैको साझा घर
बौद्घ दर्शनको प्रभावले हुनसक्छ–अन्तरिक्ष पुगेपछि आफूलार्ई पृथ्वी हामी सबैको साझा घर हो भन्ने महसुस भएको उनले सुनाइन्। ‘बौद्घ दर्शनमा उल्लेख भएझैं जीवन र जगत (पृथ्वी)लाई व्यापक अर्थमा बुझ्नसकेमा वास्तवमै संसार शान्तिपूर्ण र करुणायुक्त हुनसक्छ,’ उनले सुनाइन्।

संसारमा बौद्घिक (किताबी) र अनुभवजन्य गरी दुई प्रकारका ज्ञान रहेका छन्। अनुभवजन्य ज्ञानले मानिसलाई आध्यात्मिक यात्राका लागि मार्गप्रशस्त गर्ने उनको धारणा छ। बुद्घले बाँडेको ज्ञान अनुभवजन्य भएकाले दुःख र समस्या निवारणका लागि उपयोगी सूत्र सावित भएको छ । दुई दशकभन्दा बढीदेखि बौद्घ दर्शनलाई नजिकबाट नियाल्दै आएको र आफ्नो जीवन परिवर्तनका लागि यो दर्शन उपयोगी भएको उनको विचार छ। ‘बौद्घदर्शनले हाम्रो जीवनलाई खण्ड–खण्डमा होइन, साक्षी भावका साथ समग्रमा जिउन र अनुभूत गर्न सिकाउँछ । अन्तरिक्ष–यात्रामा रहँदा मैले बौद्घ दर्शनका शाश्वत पक्ष मनन् गर्ने मौका पाएँ,’ उनले भनिन्।

उनका अनुसार शून्यमा अडिएको पृथ्वीका सात अर्ब मानिस विभिन्न खालका समस्या र पीडाबाट प्रताडित छन्। रोग, भोक, चिन्ता, नैराश्य, डिप्रेसन आदि समस्या विकराल भन्दै गएको छ। अज्ञानताले गर्दा सबै मानिसलाई आफ्ना समस्या विकराल लाग्छन्। मानव जाति नै हिंसा र द्वन्द्वको चपेटामा फस्दै गएको छ। ‘वास्तवमा, हामी को हौं ? कहाँ छौं ? कहाँबाट आयौं ? समस्याको जड को हो ? भनी चिन्तन अनि यसको मूल स्रोत पहिचान गर्न सकेमा  समस्याबाट मुक्ति पाउन सकिन्छ। यसका लागि बौद्घ दर्शनले बाटो देखाउँछ,’ उनले स्पष्ट पारिन्। 

अन्तरिक्ष, पृथ्वी र बौद्घ दर्शन
दुःखबाट मुक्ति पाउनका लागि भगवान बुद्घले चार ‘आर्यसत्य’ पत्ता लगाएका छन्, जुन शाश्वत अनि सार्वकालिक छ। ती हुन्– जीवनमा दुःख छ, दुःखको कारण छ, दुःख निवारण हुन्छ र दुःख निवारणको उपाय छ। पृथ्वीमा बस्ने आममानिसले वरिपरिको परिवेशअनुसार आफूलाई प्रतिस्पर्धी बनाउँछ, जसले महत्वाकांक्षा र तृष्णालाई जन्म दिन्छ। एकअर्काबीच तुलना गर्ने अनि गलत प्रतिस्पर्धा गर्ने प्रवृत्तिको विकास हुन्छ, जुन घातक हुन्छ।

स्यान्ड्राको अनुभवमा नकारात्मक सोच र भावनाले मानव विकास क्रमलाई असर पार्छ। मानिसका विचारलाई संकुचित बनाउँछ । तर, अन्तरिक्षबाट हेर्दा त्यस्तो द्वैत अनुभव आउनै सक्दैन।

‘आकाशबाट हेर्दा सम्पूर्ण पृथ्वी नै स्पेसजहाज जस्तो देखिन्छ, ठूलो–सानो, उचनिच, सम्पन्न–विपन्न आदि केही महसुस हुँदैन। यसले आखिरमा मानव जीवन निश्चित सिमाभन्दा पनि माथि रहेछ भन्ने बुझाइ विकास गर्न मद्दत गर्छ,’ उनले भनिन्। 

अमेरिकाको इलिनोइसमा जन्मिएकी स्यान्ड्रा अहिले ५३ वर्षकी भइन्। उनले मिसौरी युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजीबाट भौतिक शास्त्र र इलेक्ट्रीकल इन्जिनियरिङमा स्नातक गरेकी हुन्। उनले सन् १९९६ मा जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीबाट ‘मटेरियल्स साइन्स र इन्जिनियरिङ’मा पिएचडी गरेकी हुन्। विज्ञानको विद्यार्थी भए पनि कलेज पढ्दा विश्वका विभिन्न धर्मको बारेमा आफूले स्व–अध्ययन गरेको उनको भनाइ छ। ‘त्यही बेला बौद्घ दर्शनमा उल्लिखित करुणा, मैत्री, प्रज्ञाजस्ता कुराले मेरो दिमागमा अमीट छाप छाड्यो,’ बौद्घ दर्शनप्रति लगाव बढ्नुको कारण उनले खोलिन्।

क्याथोलिक पारिवारिक पृष्ठभूमि
स्यान्ड्राको पारिवारिक धार्मिक पृष्ठभूमि ‘क्याथोलिक’ हो। तर, उनलाई संसारका हिन्दु, क्रिश्चियन, बौद्घलगायत सबै धर्मले भन्न खोजेका सन्देश एकै हुन् भन्ने लाग्छ। धर्मको नाममा हुने हिंसा, द्वन्द्व र झैझगडा उनलाई राम्रो लाग्दैन। हरेक व्यक्तिले आफूभित्र उज्यालो खोज्नुपर्छ, आफूले नै आफूलाई चिन्नुपर्छ भन्ने बौद्घ दर्शनको सार हो। ध्यानबाट आफूले पाएको ज्ञान आफ्ना शिष्यलाई बाँड्ने क्रममा बुद्घले भनेका थिए, ‘अप्प दीपो भवः’ अर्थात् ‘आफूभित्रको ‘दीप’ बालौं । यही शाश्वत वाणी अहिले जीवन परिवर्तन गर्न खोज्नेका लागि मार्गदर्शन बनेको छ।

बौद्घ दर्शनले मानिसमा खुसीको सूत्र बाँडेको स्यान्ड्राको धारणा छ। ‘नकारात्मक सोच र संवेगले गर्दा मानिस खुसी हुन सक्दैन, ऊ चिन्तित हुन्छ, दुःखी हुन्छ। यसका लागि बुद्घले प्रतिपादन गरेको ध्यान अपरिहार्य छ,’ उनी भन्छिन्, ‘ध्यानको नियमित अभ्यासले मानिस खुसी हुन्छ, प्रसन्न हुन्छ र सिर्जनशील बन्छ।’ ध्यानबाट अधिक फाइदा भए पनि यसलाई निरन्तरता दिन दृढ इच्छाशक्ति चाहिने उनको विचार छ।

आधुनिक विश्वमा बौद्घ दर्शनले वैज्ञानिक ध्यानविधि अँगालेको गर्दा लोकप्रिय बन्दै गएको उनको ठहर छ। ‘दलाइ लामाका प्रवचन सुन्ने गरेकी छु, उनी अद्भूत हुन् । ध्यान, शान्ति र मानवताको कुरा गर्छन्। बौद्घ दर्शनमा उल्लिखित प्रेम, करुणा, मैत्रीजस्ता शाश्वत चिन्तन उनले विश्वभर फैलाइरहेका छन्,’ उनले भनिन्।

विपश्यना ध्यान अभ्यास
अन्तरिक्ष वैज्ञानिक भएर लामो समय काम गर्दा अधिकांश समय धपेडीमै बितेको र आफ्नो बारेमा सोच्न र मनन् गर्नका लागि फुर्सद नमिलेको उनको अनुभव छ। यति हुँदाहुँदै पनि उनले बौद्घ पद्घतिको विपश्यना ध्यानको अभ्यास गर्दै आएकी छन्। यसमा उनको नितान्त व्यक्तिगत प्रयास रहेको छ ।  उनले कहीँ गएर ध्यान सिकेकी छैनन्। युटुब भिडियोको निर्देशन अनुसार ध्यान र करुणाको अभ्यास गर्दै आएको उनले जनाइन्।

‘विपश्यना पद्घतिकै आनापाना (श्वासमा केन्द्रित) ध्यान गर्दै आएकी छु, मलाई यसबाट धेरै फाइदा भएको छ। कहिलेकाही ओम उच्चारणले पनि मानसिक शान्तिका लागि ठूलो काम गरेको छ,’ उनले ध्यान अनुभव बाँडिन्। शारीरिक, मानसिक र आध्यात्मिक विकासका लागि ध्यानको महत्वपूर्ण भूमिका रहेको उनको विचार छ।

 जीवन अद्भूत, रहस्यमय र आश्चर्यलाग्दो भएकाले भौतिक आँखाले मात्र यसको बारेमा बुझ्न नसकिने उनको निष्कर्ष छ।  ‘मलाई बुद्घले भन्नुभएको शाश्वत वाणी सम्झना हुन्छ–हरेक क्षण होसपूर्वक जीवन जिउँदै गएमा ज्ञानको ज्योति प्राप्त हुन्छ, तेस्रो आँखा खुल्छ, यसो भएमा त्यस्तो व्यक्तिले विगत र भविष्यको बारेमा पनि बताउन सक्छ । होसपूर्वक बाँच्न सक्नु नै जीवनको ठूलो कला हो,’ उनले प्रस्ट पारिन्।  

नेपालको प्राकृतिक सुन्दरता र सरल जीवनशैलीबाट उनी अधिक प्रभावित भएकी छन्। बुद्घ जन्मस्थल नेपालले बौद्घ दर्शनको प्रचारप्रसार गरेर संसारमा विशिष्ट पहिचान बनाउन सक्ने उनको निष्कर्ष छ। आगामी दिनमा पनि समय मिलाएर नेपाल भ्रमणलाई निरन्तरता दिने उनको बताइन्।

‘अमेरिका पुगेपछि काममै फर्किए भने मसँग थोरै समय हुन्छ, तुरुन्त आउन नमिल्ला। तर, कामबाट ‘फ्रि’ भए भने चाँडै आउनसक्छु,’ उनले खुलाइन्, ‘मैले नेपालका स्कुलमा सुरु गरेको कामलाई निरन्तरता दिने सोच छ।’ 

प्रकाशित: ९ असार २०७५ ०८:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App