गाडी फेरीफेरी सवार गर्ने शौख, काम व्यवसाय र पेसाका लागि आवश्यक बन्दै गएको कार जीप प्रयोग बर्सेनि बढ्दै छ । यतिबेला नेपालमा मासिक १ हजार ८ सय कारजीप नेपाल भित्रिरहेका छन् । यसको अर्थ दैनिक नेपालमा करिब ६० वटा यस्ता सवारी भित्रिरहेका छन् । गाडीको बढ्दो प्रयोगका पछाडि उकासिँदै गएको मुलुकको अर्थतन्त्र, बैंकहरूको लगानी र सार्वजनिक यातायातको बेथितिका कारण निजी सवारीको संख्या बर्षेनि बढ्दै गएको विज्ञहरुको धारणा छ । अर्कातर्फ सरकारलाई सवारीबाट प्राप्त हुने भारी करका कारण पनि यसतर्फ सरकारको आकर्षण पनि उत्तिकै छ ।
अर्थशास्त्री विश्व पौडेल नेपालको अर्थतन्त्र अगाडि बढिरहेको, सहरिया जीवनशैलीमा नेपाली रम्दै गएकाले जनताको आवश्यकता निजी सवारी भएको विश्लेषण गर्छन् । ‘मानिसको आय बढ्दै गएपछि घर बनाउने, नयाँ र आधुनिक घरायसी सामान किन्ने हुँदै गाडीमा मन जाने हुन्छ,’ पौडेलले भने, ‘राज्यको राजस्व असुल्ने स्रोत र बैंकहरूले पनि गाडी खरिदलाई प्रोत्साहित गरेकाले कारजीप खरिद बढ्नु स्वाभाविक हो ।’ मासिक आम्दानी महिनाको १ लाखको हाराहारी हुनेहरू निजी कारजीप भित्र्याउनेतर्फ लागेको उनी बताउँछन् । पौडेलको विचारमा केही वर्ष अघिसम्म काठमाडौंमा केन्द्रित देखिएको कारजीप खरिदको क्रम काठमाडौं बाहिरका सहरमा पनि बिस्तार हुने क्रममा छ । ‘हामीकहाँ विकास र आम्दानीका स्रोतहरू मुलुकभर समान हिसाबले छरिएको देखिन्छ, मध्यम र उच्च मध्यम वर्ग निजी सवारीमा आकर्षित हुन थालेको धेरै भएको थियो,’ पौडेलले भने, ‘अहिले नियमित कमाइ हुने जागिरेहरुको आकर्षण पनि यस्ता सवारीमा छ ।’
सोखका रूपमा गाडी किन्नेहरूले एउटै गाडीको ५ करोडसम्म लगानी गरेको पाइन्छ । यस्ता सोखिनको संख्या पनि पछिल्लो समय बढ्दै जान थालेको छ ।
चार्टर्ड एकाउन्टेन्ट अनलराज भट्टराई नेपालमा मध्यम वर्गको संख्या थपिँदै गएको र रोजगारी बजारमा आएका अहिलेको युवा पुस्ताको आकर्षण कारजीप नै भएकाले यसको आयात र व्यापार बढेको बताउँछन् । ‘अहिले नेपालको जनसंख्यामा २१ देखि २५ वर्ष उमेरका युवा धेरै छन्,’ भट्टराई भन्छन्, ‘उनीहरू काम गर्र्दै ३० वर्ष उमेर समूहमा पुगेपछि गाडीको माग गरिहाल्छन् ।’ नेपालमा रोजगारी दिनेहरूको संख्या बढ्दै गएको, कर्पोरेट सेक्टर फैलँदै गएको र समग्रमा सहरी क्षेत्रमा आयस्रोत बढ्दै गएको विश्लेषण गर्दै अनल भन्छन्, ‘कतिपय बैंक, कर्पोरेट हाउस र निजी कम्पनीले आफ्ना कर्मचारीलाई गाडी सुविधा दिन थालेका छन्, आफँै व्यापार उद्यममा लागेका पनि गाडी आवश्यक हुँदै जान थालेको छ ।’
गाडी खरिद गर्नका लागि पहिलाको जस्तो समस्या अहिले नरहेको भट्टराई बताउँछन् । ‘निश्चित कमाइ हुनेलाई बैंकले पत्याइहाल्छ, उनीहरूले १२/१५ लाखदेखि २५/३० लाखको गाडी किन्छन्, किस्ता तिर्दै जान्छन्,’ भट्टराईले भने, ‘अहिले बजारमा सस्ता, मध्यम र महँगा सबै खाले गाडी सहजै किन्न सकिन्छ, गाडी किन्ने सुविधाहरू प्रशस्त छन् ।’
व्यक्तिगत आवश्यकता
कामकाजीका लागि निजी सवारी अनिवार्य भइसकेको छ । समयमा कार्यालय पुग्नदेखि व्यवसाय विस्तारमा सवारी सारथि बनेको छ । समाजमा प्रतिष्ठा बढाउन मात्र नभएर परिवारसँग घुमफिर गर्न पनि यो उपयोगी छ ।
नेपालमा सार्वजनिक सवारीको बेथिति भएकाले पनि निजी सवारी साधनको आवश्यकता ह्वात्तै बढेको हो । अधिकांश नेपालीले पहिलो रोजाइको घरघडेरी भए पनि व्यवसाय गर्नेहरुको छनोटमा भने निजी सवारी परेको छ । कर्पोरेट अफिसदेखि सरकारी कार्यालयमा काम गर्नेले निजी सवारी किन्ने क्रम बढेको छ ।
काठमाडौंको गोंगबुमा डेन्टल सञ्चालन गरिरहेका दीपक शर्मा आफ्नो पेसा, व्यवसाय गर्नेलाई गाडी अनिवार्य भएको बताउँछन् । साथीभाइ, समाज, बजारअनुसार चल्न, अरूको हेराइमा परिवर्तन गर्न गाडी चढ्नु बाध्यता भएको शर्मा बताउँछन् । ‘हरेक व्यवसायका सेवाग्राहीदेखि व्यवसायीलाई व्यक्तित्व प्रदर्शनमा गाडीले सघाउँछ,’ शर्माले भने, ‘गाडी चढेन भने तल्लो दर्जाको रूपमा हेर्ने प्रचलन पनि छ ।’ व्यवसाय राम्रो भए पनि गाडी नचढी बैठक, सभा–सम्मेलनमा पुग्दा अर्कै नजरले हेर्ने चलन छ ।
विगतमा आर्थिक रूपमा सम्पन्नले प्रयोग गर्ने सवारी अहिले हरेकको दैनिकीको सारथि बनेको छ । निजी सवारीले व्यवसाय डिल गर्न पनि आत्मविश्वास बढाएको उनी बताउँछन् ।
व्यक्तिको सफलतामा उसको मिहिनेत, क्षमता, लगानी जति महत्वपूर्ण छ–समय व्यवस्थापन, सिर्जनशीलता, उद्यमशीलता, व्यक्तित्व विकाससहित करिअर निर्माणका लागि सवारी त्यत्तिकै सहयोगी बनेको छ । फरक यत्ति छ– धेरै कमाइ हुनेले महँगा चारपांग्रे गाडी चढ्छन्, ठीकै आम्दानी हुनेले आफ्नो बजेटले भ्याउने सवारी रोज्छन् ।
त्यसैले पनि पछिल्लो समय निजी सवारी चढ्नेको संख्या चार गुणाले बढेको हो । आर्थिक वर्ष ०६३/६४ मा कार, जीप प्रयोगकर्ताको संख्या पाँच हजार एक सय ५६ रहेकोमा आर्थिक वर्ष ०७३/७४ मा आइपुग्दा २१ हजार दुई सय ९२ पुगेको छ । चालु आर्थिक वर्षको माघसम्म भने सात हजार छ सय ५१ कार दर्ता भएको यातायात व्यवस्था विभागले जनाएको छ । बैंकमा देखिएको तरलता अभावले बैंकहरुले यो वर्ष सवारीमा ऋण लगानी घटाएकाले केही कमी भएको हो । तर, समग्रमा सवारी प्रयोगकर्ताको संख्या भने बढ्दो छ ।
मोटरसाइकलमा यात्रा गर्दा धुलो, धुवाँ हुने भएकाले सुरक्षाका लागि निजी सवारी प्रयोग गर्ने पनि उत्तिकै छन् । सुरक्षित यात्राका लागि निजी सवारी आवश्यक रहेको आस्टाबेरीका प्रबन्ध निर्देशक हेमन्त निरौला¬ बताउँछन् । ‘परिवारसँग मोटरसाइकलमा हिँड्दा कसले कतिखेर ठोक्छ भन्ने डर हुन्छ,’ निरौलाले भने, ‘गाडी सुरक्षित यात्राका लागि आवश्यक छ । धुवाँधुलोले हिँड्न निकै कठिन हुन्छ ।’ घामपानीबाट जोगिन पनि गाडीले सघाउँछ । आफ्नै गाडी भए लामो दूरीको यात्रामा निस्कदा आफूअनुकूल बीच–बीचमा रोकेर खाजा–खाना खाएर ड्राइभ गर्न सजिलो हुने निरौलाले बताए । ‘निर्धारित समयमा आफ्नै समय तालिकाअनुसार चल्न पाइयो,’ निरौलाले भने, ‘व्यवसायमा संलग्न भएपछि पारिवारिक आवश्यकताले गाडी किनेको हुँ ।’ श्रीमती, दुई छोरीलाई मोटरसाइकलमा लिएर हिँड्न कठिन भएपछि सवारी किनेको निरौला बताउँछन् । ‘चारजना हिँड्दा कतिखेर प्रहरीले समात्ला, पत्रिकाले फोटो खिचेर छापिदेला भन्ने चिन्ता !’ निरौलाले चिन्ता देखाए । एउटा गाडी प्रयोग गरेको चार÷पाँच वर्षमा स्वाभाविक रूपमा गाडी फेर्न मन लाग्ने उनी बताउँछन् । ‘एउटा मोबाइल प्रयोग गरेपछि नयाँ–नयाँ मोडलका प्रयोग गर्ने चाहना भएजस्तै त्यो नियम गाडीमा पनि लागू हुन्छ,’ उनले भने ।
गाडी किन्नका लागि बैंकले किस्ताबन्दीमा ऋण दिने भएकाले पनि सर्वसाधारणको चार पाङ्ग्रे निजी सवारीको पहुँच बढेको छ ।
सरकारले लगाउने भन्सारको कारण भने सवारी केही महँगो पर्ने गरेको गुनासो पनि कम छैन । दुई सय ४१ प्रतिशत भन्सार लाग्ने भएकाले विदेशको तुलनामा नेपालमा गाडी महँगो भएको हो । सबै कर जोड्दा दुई सय ५६ प्रतिशत पुग्ने व्यवसायी बताउँछन् ।
निजी सवारीलाई विलासिताको रूपमा हेर्न नहुने बुझाइ छ । विलासिताभन्दा पनि बाध्यताले निजी गाडी किन्नु परेको प्रयोगकर्ता बताउँछन् । समय व्यवस्थापनका लागि निजी सवारी प्रयोग गर्नुपर्ने नेपाल अटोमोबाइल्स डिलर्स एसोसिएसन (नाडा¬) का महासचिव कृष्णप्रसाद दुलालले बताए । ‘सार्वजनिक सवारी चढेर समयमा गन्तव्यमा पुग्न सकिँदैन,’ दुलालले भने, ‘बिजनेसम्यानदेखि कर्मचारीलाई निजी सवारी बाध्यता बनेको छ ।’
सार्वजनिक सवारी चढेर गन्तव्यमा पुग्न कठिनाइ छ । काठमाडौंलगायत मुलुकका प्रमुख सहरमा सवारीको चाप भने थेग्नै नसक्ने भएको छ । सवारी धेरै नभएको भनाइ, बाटो थोरै भएको नाडाका महासचिव दुलाल बताउँछन् । ‘कतिपयले सवारी धेरै भएको कारण ट्राफिक जाम भएको भन्दैछन्,’ दुलालले भने, ‘यो बिलकुल गलत हो । बाटो साँघुरो भएकाले ट्राफिक जाम बढी देखिएको हो ।’ धेरै नेपालीको पहुँचमा सवारी नभएको र यो बढाउनुपर्ने उनले बताए । ‘सरकारले पूर्वाधार निर्माण गरेर सडकलाई व्यवस्थित बनाउनु पर्छ,’ दुलालले भने, ‘मान्छेको वर्किङ इफिसेन्सी बढाउनका लागि पनि सवारी आवश्यक छ ।’
पुरुष मात्र होइन, निजी सवारीमा महिलाको आकर्षण पनि उत्तिकै बढेको छ । आम्दानी गर्ने क्षमता बढेसँगै आफैँ ड्राइभिङ गरेर महिला हुइँकिन थालेको पनि निकै भइसक्यो । महिलाले स्कुटीको तुलनामा चारपांग्रे सवारी सुरक्षित भएको अनुभूति गर्छन् । धनगढीबाट काठमाडौं आएकी प्रमिला सापकोटा लामो समय सार्वजनिक यातायातमै हिँडिन् । स्कुटी हुँदै उनी अहिले गाडी चढ्छिन् । केही वर्षअघि स्कुटीमा हुइँकिने भक्तराज अहिले गाडीमा सवार हुँदा ‘प्राउड फिल’ गर्छन् । इन्स्योरेन्सको कम्पनीमा काम गर्ने सापकोटाले मासिक ६० हजार कमाइ हुनेले सजिलै गाडी चढेर हिँड्न सक्ने बताउँछिन् । आफ्नो व्यवसाय बढाउन पनि निकै सहयोगी बनेको उनको अनुभव छ । ‘हिजोको दिनमा वास्ता नगर्ने मान्छेले गाडी चढेको देखेपछि राम्रो रेस्पोन्स गर्छन्,’ उनले भनिन् । सार्वजनिक यातायात अव्यवस्थित हुँदा निजी सवारी प्रयोगकर्ताको संख्या बढेको छ । एउटै परिवारमा परिवारका सदस्यपिच्छे गाडी खरिद गर्नेको संख्या पनि उत्तिकै छ । सबै आ–आफ्ना काममा व्यस्त हुने भएकाले पनि हरेक जनालाई गाडी बाध्यता भएको व्यवसायी बताउँछन् ।
सवारीको लगानीलाई नेपाल राष्ट्र बैंकले अनुत्पादक क्षेत्र भन्दै कडाइ गरेपछि गएको वर्ष भने अपेक्षित रूपमा बढ्न सकेको थिएन । पछिल्ला केही महिना त राष्ट्र बैंकले कडाइ गर्दै सवारीमा कर्जा प्रवाह रोक्न निर्देशन नै दिएको थियो ।
खर्च गर्ने क्षमता बढेकाले निजी सवारीको बिक्री बढेको टोयटाको सेल्स एन्ड मार्केटिङ मेनेजर विवेक बलामी बताउँछन् । ‘आर्थिक हैसियतअनुसार व्यक्तिगत रूपमा सवारी साधन किन्नेहरु बढेका छन्,’ बलामीले भने, ‘अरूको तुलनामा फेमिली कारको बिक्री बढेको छ ।’ पछिल्लो समय बैंकमा देखिएको तरलता अभावले भने असर पु¥याएको बलामी बताउँछन् ।
विलासी गाडीका सौखिन बढ्दै
आम्दानी वृद्धि, गाडी फेरिरहने प्रतिस्पर्धा, व्यवसायीको विदेश भ्रमणले पनि नयाँ–नयाँ गाडी प्रयोग गर्ने सोखको रूपमा पनि लिएका छन् । सवारी साधन आवश्यकता मात्र नभएर उच्च घरानीयाहरुका लागि सोखको विषय बनेको छ । गाडीको सोखिन थपिएसँगै महँगा र लक्जरियस गाडी नेपाली सडकमा पनि उत्तिकै गुडेको देखिन्छ ।
नेपाली बजारमा विश्वका चर्चित र महँगा गाडी आगमन पनि वृद्धि भएको छ । व्यापारिक घराना, बैंकर, चिकित्सक, निजी क्षेत्रमा कार्यरत कर्मचारी लगायतले सवारीलाई सामाजिक प्रतिष्ठाको विषय बनाएकाले नै करोड रुपैयाँभन्दा महँगा गाडी चढ्ने प्रचलन बढेको हो । नेपालमा अधिकतम ५ करोड रुपैयाँसम्म पर्ने कार चढ्नेहरु छन् ।
नेपाली बजारमा सवा तीन करोड रुपैयाँको टोयटा ‘ल्यान्ड क्रुजर, २०० भीएक्स’ बिक्री हुन्छ । वैद्य अर्गनाइजेसन अन्तर्गतको युनाइटेड ट्रेडर्सले टोयटाका महँगा गाडी यहाँ बिक्री गरिरहेको छ । त्यसैगरी तीन करोड रुपैयाँ मूल्य पर्ने मर्सिडिज ‘जीएलएस ३५०डी’ लगायतका विलासी गाडी किशोर गियरले नेपालमा ल्याएर बिक्री गरिरहेको छ ।
एक करोड रुपैयाँभन्दा बढी मूल्य पर्ने विलासी गाडी प्रयोगकर्ताको संख्या पनि बढिरहेको छ । लक्जरियस गाडीमाथिको आकर्षणले पनि यसको प्रयोग गर्नेहरूमाझ एक किसिमको प्रतिस्पर्धा चलेको विक्रेता बताउँछन् । यहाँ विभिन्न कम्पनीले आफ्ना उत्पादन बिक्री गर्नका लागि आधिकारिक बिक्रेता नियुक्त गरेर गाडीको मार्केटिङ गरिरहेका छन् । नेपाली बजारमा टोयटा, ल्यान्ड रोभर, मर्सिडिज, भक्सवागन, माज्दा, किया, हुन्डाई, बिएमडब्लु, फरारी, पिजियो, निसान, होन्डा, सुवारु, मित्सुबिसी, हम्मरलगायत विश्व बजारमा चर्चित ब्रान्डका विभिन्न मोडलमा महँगा तथा विलासी गाडी बिक्री भैरहेका छन् । व्यापारिक घराना, कूटनीतिक नियोग, उच्च आम्दानी हुने बैंकरहरु, कर्पोरेट हाउसमा काम गर्ने उच्च तहका कर्मचारीको रोजाइमा पनि यस्ता महँगा गाडी पर्ने गरेका छन् ।
चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरी, चौधरी ग्रुपकै वसन्त चौधरी, यति एयरलाइन्सका आङछिरिङ शेर्पा, टोयोटा गाडीको नेपालका आधिकारिक बिक्रेतासमेत रहेका नेपाल उद्योेग वाणिज्य महासंघका पूर्व अध्यक्ष सुरज वैद्य, ज्योति समूहका निर्देशक सौरभ ज्योति, उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, नेपाल उद्योग वाणिज्य महासंघका निर्वतमान अध्यक्ष पशुपति मुरारका विलासी गाडी चढ्नेमा पर्छन् । त्यसैगरी जगदम्बा समूहका निर्देशक साहिल अग्रवाल, प्रभु समूहका अध्यक्ष देवी भट्टचन लगायतका व्यवसायी महँगा गाडी चढ्नेमध्येमा गनिन्छन् ।
उदीयमान व्यवसायीहरुले पनि नयाँ–नयाँ गाडी फेरिरहेका हुन्छन् । सिटीभी मोबाइलका प्रबन्ध निर्देशक अलाइभ ग्लाइडरले अहिलेसम्म चारवटा गाडी फेरिसके । सुरुमा २२ लाख रुपैयाँ पर्ने एसियन गाडी हुँदै, ४० लाखको हुन्डाईको टक्सन, ५७ लाखको हुन्डाइकै टक्सन अटो हुँदै अहिले एक करोड ८५ लाखको ल्यान्डरोभर चढ्छन् । व्यवसायीका लागि निजी सवारी अनिवार्य रहेको ग्लाइडरले बताए । ‘सानोमा ठूलो भएपछि डाक्टर, इन्जिनियर बन्ने चाहना हुँदा जस्तै अहिले हरेक नेपालीको निजी गाडी ‘ड्रिम’ भैसक्यो,’ ग्लाइडरले भने, ‘सकेसम्म नयाँ गाडी चढ्ने मेरो पनि सौख हो ।’ भूकम्पपछि व्यवसाय धराशायी भएकाले अहिले अब नयाँ गाडी चढ्न कठिन हुने उनले बताए ।
पछिल्लो सयम कलाकारको रोजाइमा पनि महँगा गाडी पर्न थालेका छन् । नेपालको फिल्म, गीत, संगीत क्षेत्र पनि उद्योगकै रूपमा विकास भएर उच्च आम्दानी हुन थालेपछि सेलिब्रिटीहरु पनि विलासी गाडीतर्फ आकर्षित छन् । अभिनेता आयुषमान देशराज श्रेष्ठ जोशीले डेढ करोड रुपैयाँ बढी मूल्य पर्ने मर्सिडिज बेन्ज २०० डी १९८४ कार चढ्छन् । अभिनेत्री प्रियंका कार्कीले पौने करोड रुपैयाँको टक्सन कार, अभिनेत्री रेखा थापाले आधा करोड रुपैयाँको सियाज कार चढ्छिन् ।
सवारी चाप धान्न कठिन
पूर्वाधार विकास पर्याप्त नभए पनि नेपालमा सवारी साधनको चाप निरन्तर उकालो लागिरहेको छ । पछिल्लो एक दशकमा सवारीको संख्या पाँच गुणाले बढेको यातायात व्यवस्था विभागले जनाएको छ । मुलुकभर सवारी साधनको संख्या ३० लाख ८१ हजार पुगेको छ ।
आर्थिक वर्ष ०६३/६४ मा ८८ हजार ७ सय ३५ सवारी दर्ता भएकोमा ०७३/७४ मा आइपुग्दा वार्षिक सवारी साधन दर्ताको संख्या ४ लाख ४४ हजार २ सय ५९ पुगेको छ । बस, मिनी बस, मिनी ट्रक, कार, जीप, भ्यान, पिकअप, माइक्रो, टेम्पो, मोटरसाइकल, ट्याक्टरलगायतका सवारी दर्ता भएका हुन् ।
आर्थिक वर्ष ०७४/७५ को पहिलो सात महिनामै सवा दुई लाख नयाँ सवारी साधन थपिएका छन् । माघसम्म २ लाख २४ हजार ६ सय ८१ नयाँ सवारी साधन दर्ता भएका छन् । यो वर्ष बस १६ सय ९१, मिनी बस, मिनी ट्रक ९ सय ५७, जोडर, एक्साभेटर ३९ सय ६६, कार, जीप, भ्यान ७६ सय ५१, पिकअप जीप ४१ सय ५४, टेम्पो १० हजार ७६, मोटरसाइकल १ लाख ८३ हजार २ सय १७, पावर टेलर ६१ सय ८९, ईरिक्सा ६१ सय ३१ दर्ता भएको विभागले जनाएको छ ।
सडक विस्तारसँगै सवारीको चाप बढेको यातायात व्यवस्था विभागका महानिर्देशक रूपनारायण भट्टराईले बताए । ‘सवारी साधनको संख्या दिनानुदिन बढिरहेको छ,’ भट्टराईले भने, ‘सडक पूर्वाधार नथपिँदा व्यवस्थापन गर्न कठिनाइ छ ।’ ग्रामीण क्षेत्रमा खनेका कच्ची बाटा, निजी सवारी प्रयोगकर्ताको संख्या भने वृद्धि भएको छ । सवारी आयात बढेसँगै राजस्व पनि बढेको छ । एक वर्षको अवधिमा सरकारले अटो बजारबाट एक सय अर्ब रुपैयाँ राजस्व संकलन गरेको नाडाले जनाएको छ ।
आर्थिक वर्ष कार संख्या
प्रकाशित: २९ जेष्ठ २०७५ ११:१८ मंगलबार