६ वैशाख २०८१ बिहीबार
अन्य

महत्वाकांक्षी मोदीको पारिवारिक मौनता

भारतका वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदी उनको दल, भारतीय जनता पार्टीको मात्र होइन, समग्र मुलुककै लोकप्रिय नेतामा गनिन्छन् ।

गतिशील, प्रखर, विवेकी, उच्च निर्णायक क्षमता भएका तथा विकासप्रति समर्पित नेताको पहिचान बनाएका मोदीलाई २६ मे २०१४ मा प्रधानमन्त्रीको रूपमा पाउँदा भारतीय जनताको खुसीको सीमा थिएन । त्यही खुसीसँगै भारतमा विद्यमान तमाम समस्या उनकै नेतृत्वमा समाधान हुने र देशले छिटै विकासको फड्को मार्नेमा भारतीय जनता विश्वस्त थिए ।

देशभित्र मात्र होइन, बाहिर पनि उनको व्यक्तित्वको चर्चा व्यापक थियो । सत्ता सम्हालेपछिको आफ्नो सयदिने हनिमुन अवधिमै नेपाललगायत छिमेकी देशको भ्रमणमा निस्केका उनले छिमेकी देशहरूमा पनि त्यस्तै आश्चर्यको बाढी ल्याइदिए । सम्बन्धित देशका जनताको भावना र मर्यादाको उच्च मूल्यांकन गर्दै अद्वितीय कौशलसाथ त्यो देशको हितका लागि धाराप्रवाह बोल्न सक्ने उनको क्षमताको हरेक देशका जनताले खुलेर प्रशंसा गरे।

भ्रमणका वेला नेपालको संविधानसभालाई सम्बोधन गर्ने क्रममा समग्र नेपाल र नेपालीको गरिमालाई उच्च महत्व दिएर उनले जुन भावभंगीमा आफ्ना कुरा अभिव्यक्त गरे, त्यसले नेपालीलाई गद्गद् मात्र बनाएन, अनेकौँ कारण दुई देशबीच रहेका दृष्टिदोष तथा असमान व्यवहारमा मोदीको शासनकाल सुरुवातसँगै समाप्त हुने विश्वास जगायो।

यससँगै कालान्तरसम्म नेपालले भारतको व्यवहारप्रति आशंका गर्नुनपर्ने बलियो जग उनले खडा गरेरै छाड्नेछन् भन्नेमा समेत आश्वस्त गरायो । नेपालमा मात्रै होइन, श्रीलंका, भुटान, जापान, फ्रान्स, जर्मनी, क्यानडा, अस्ट्रेलिया, अमेरिका आदि जुनजुन देशको भ्रमणमा उनी निस्के, ती सबै देशमा ‘मोदी मेनिया’ धेरै लामो समयसम्म छाइरह्यो । भ्रमणका दौरान कतिपय देशमा शुल्क तिरेरै उनको भाषण सुन्ने व्यवस्था गर्दा समेत मानिसहरूको चापलाई व्यवस्थापन गर्न नसकेका समाचार पनि बाहिर आए ।

यी सबै विशेषताका कारण विश्वका सबै देशमा प्रभाव पार्न सक्ने विशेष क्षमताका ज्वाजल्यमान राजनेताको परिचय निकट भविष्यमै उनको व्यक्तित्वसँग जोडिने आकलन राजनीतिक विश्लेषकले गरेका थिए । पहिलोपटकको नेपाल भ्रमणका दौरान बटुलेको शाख, नेपालविरुद्ध पाँचमहिने नाकाबन्दी लादेर आफैँ घटाएका मोदी हाल त्यसलाई सुधार्न तन्मयका साथ लागिपरेका देखिन्छन् । यसै क्रममा हालै सम्पन्न उनको औपचारिक नेपाल भ्रमणले उनी आफ्नो उद्देश्यको नजिक पुगेको देखाउँछ, साथै अन्य छिमेकी देशसँग बिग्रिएको सम्बन्ध सपार्न पनि उनी आफैँ लचक बनिरहेको बुझ्न गाह्रो छैन । यो उनीभित्र रहेको एउटा उल्लेखनीय विशेषता समेत हो।  

सत्ता सम्हालेको चारवर्षे अवधिमा मोदीले देशभित्र जनताले सोचेकै तहको उलटपुलट ल्याउन सकेका छैनन्, न त छिमेकी देशहरूसँग नै विश्वासिलो सम्बन्ध स्थापित गर्नसकेका छन्, तर उनको व्यक्तित्वको प्रशंसक घटेको देखिँदैन । अझ, विश्वप्रसिद्ध फोब्र्सको मूल्यांकनमा मोदी यो वर्ष विश्वकै शक्तिशाली व्यक्तिमध्ये नवौँ स्थानमा दर्ज हुन आइपुगेका छन् । यी विभिन्न आधारमा उनको राजनीतिक जीवन सफलतातर्फ नै उन्मुख देखिन्छ, तर उनको जिन्दगीको पारिवारिक पाटोलाई नियाल्ने हो भने, ठीक विपरीत स्थिति देखापर्छ ।

आफ्नो वैवाहिक सम्बन्ध र पारिवारिक अवस्थाबारे सधैँ मौनता साधेरै उनले समय व्यतीत गरिरहेका छन् । हुन त पारिवारिक अवस्था हरेक व्यक्तिका निजी मामिला हुन् र गोप्यताको अधिकार जो–कोहीसँग निहित हुन्छ नै, तर सार्वजनिक महत्वको भूमिकामा रहेकाको सिद्धान्त र व्यवहारप्रति आमचासो मुखरित हुनु अस्वाभाविक होइन । अझ, देशको शासन सञ्चालनको तहमा रहेका व्यक्तिहरूको जिन्दगीप्रति जिज्ञासु हुनेहरूको दायरा निकै फराकिलो हुन्छ ।

उनीहरूको आन्तरिक तथा बाह्य दुवै चरित्र आमजनता र समाजका लािग एउटा बेग्लै दृष्टान्त हुन्छ नै, अझ देशको जिम्मेवार तहमा बसेको व्यक्तिको अन्यायपूर्ण व्यवहारबाट कोही पीडित भइरहेको छ भने व्यक्तिको निजी मामिला र गोपनीयताको अधिकारभित्र मात्र त्यो सीमित हँुदैन, सोही अवस्थामा मोदी रहेका देखिन्छन्, त्यसैले कार्यकारी प्रमुख मोदीको रहस्यात्मक वैवाहिक जिन्दगीमाथि भारतमा थुप्रै बहस र टिप्पणी हुँदै आएको देखिन्छ।  

मोदीको जीवनप्रति सामान्य जानकारी राख्ने जो–कोहीले पनि थाहा पाउने कुरा हो कि उनी विवाहित हुन्, तर श्रीमतीप्रतिको जिम्मेवारी उनले कहिल्यै पूरा गरेका छैनन् । १८ वर्षको उमेरमा घाँची संस्कृतिका सम्पूर्ण विधि पूरा गरेर सन् १९६८ मा १६ वर्षीया जशोदावेन चिमनलाल मोदीसँग उनको मागी विवाह भएको थियो ।

बिहेको करिब तीन महिना श्रीमतीसँगै बसेर हिन्दू आश्रमहरूको दुईवर्षे भ्रमणका लागि एक्लै घरबाट निक्लेका उनी त्यसपछि राष्ट्रिय स्वयंसेवक संघको प्रचारकका रूपमा क्रियाशील रहे । करिब तीन वर्षपछि घर फर्किए पनि त्यसलगत्तै आफन्तको क्यान्टिनमा काम गर्न एक्लै अहेमदाबाद हान्निएका मोदी त्यसपछि श्रीमतीसँग सम्पर्कविच्छेदकै अवस्थामा रहेको भारतीय सञ्चारमाध्यमबाट थाहा हुन्छ । पतिसँग बस्ने अवस्था नभएपछि जशोदाबेनले माइतीमै बसेर आफ्नो अध्ययनलाई अघि बढाइन् । पढाइपछि एक प्राथमिक स्कुलमा शिक्षिकाको कार्य शुभारम्भ गरेकी उनी निरन्तर शिक्षिकाकै रूपमा क्रियाशील हुँदै, हाल सोबाट निवृत्त भइसकेकी छन् ।

अहिले उनको दैनिकी, पेन्सनको भरमा गुज्रिरहेको छ । कष्टपूर्ण भौतिक अवस्थाका बीच भाइ–बुहारीको साथमा जीवन गुजारिरहेकी जशोदा पतिको सामीप्यताका लागि अहिले पनि उत्तिकै प्रतीक्षारत रहेको उनका भनाइले प्रस्ट्याउँछ । संकटग्रस्त उनको दैनन्दिन बारेमा भारतका धेरै मिडियाले सामग्री बनाएर प्रस्तुत गरेका छन्, तर यी कुनै अवस्थाले मोदीको ध्यान खिच्न सकेको छैन भने न त उनीभित्र दायित्वकै आभास देखिन्छ।

कुनै युक्तिसंगत कारणविना मोदी र जशोदाको लगभग ५० वर्षे वैवाहिक जीवन अलगअलग व्यतीत हुँदै आउनु विडम्बना हो । यसबीचमा मोदीले जशोदाप्रतिको दायित्व निर्वाह गर्नु त परैको कुरा, भेट्न समेत रुचि नदेखाएको बुझ्न गाह्रो छैन । राजनीतिक यात्राका क्रममा उनले कतै पनि आफू विवाहित भएको खुलासा गरेनन् । सन् २००१–२०१४ सम्म चारपटक गुजरात प्रान्तको मुख्यमन्त्री हुँदा पारिवारिक अवस्थाबारे कतै उल्लेख नगरेर टारे । एकान्तमा रमाउने व्यक्तिका रूपमा चित्रित गर्दै आफूलाई अविवाहित व्यक्तिका रूपमा प्रस्ट्याउने धृष्टता भाषणका क्रममा उनले धेरैपटक गरेको थाहा हुन्छ।

‘कसैका निम्ति भ्रष्टाचार गर्नुपर्ने स्थितिमा आफू नरहेकोले ‘आइडियल पोलिटिसियन’ बन्न अवरोध नभएको’ उनको अभिव्यक्ति त्यही आसयको प्रतिविम्ब हो । तर २०१४ को लोकसभाको बडोदरा निर्वाचन क्षेत्रको नोमिनेसन फर्ममा भने आफूलाई विवाहित जनाउन उनी बाध्य भएको देखिन्छ, जहाँ मोदीले आफूलाई विवाहित र श्रीमतीको नाम जशोदाबेन मोदी उल्लेख गरेका छन् । यसैका आधारमा विकिपिडियाको मोदी परिचय खण्डमा समेत मोदी विवाहित र स्पाउस जशोदाबेन उल्लेख छ।

पतिको साथविना लगभग आधा शताब्दी एक्लो संषर्घले काटेकी जशोदाबेन अहिले पनि पतिको सामीप्यताको उत्तिकै लालसा साँचेर बसिरहेकी छन् । एक्लो जिन्दगीको ४३ वर्ष प्राथमिक कक्षाको शिक्षिका बनेर अवकाशप्राप्त जीवन भोगिरहेकी जशोदाबेन, मोदीप्रति यति समर्पित छिन् कि हप्ताको चार दिन अन्न नखाई पतिकै सुख, समृद्धि र शान्तिका लागि व्रतमा लीन हुने गर्दछिन्, हरेकदिन मन्दिर धाएर पतिकै भलाइका लागि पूजा आराधनामा अधिकांश समय व्यतीत गर्नु उनको दैनिकी रहेको भारतीय सञ्चारले बताउँदै आएका छन् । मोदीले एक कल फोन गरेर बोलाउना साथ सँगै बसेर उनको सेवा गर्न आतुर रहेको भारतीय सञ्चारमाध्यममार्फत उनले धेरैपटक सार्वजनिक गरिसकेको विषय हो।

वैवाहिक सम्बन्धकै प्रतीकका रूपमा रहेको मंगलसूत्र, सिन्दुरले आफूलाई सजाउन छाडेकी छैनन् । तर, न पारपाचुके न त सँगैको बसाई, श्रीमतीको विषयमा न इन्कार, न स्वीकार, यस्तै स्थितिमा मोदीले जशोदाबेनमाथि हदैसम्मको बेवास्ता गर्दै आएको देखिन्छ ।समझदारीमा सम्वन्धविच्छेदका लागि सन् १९८७ मा मोदी आफ्ना भाइका साथ जशोदासमक्ष पुगेका थिए, तर जशोदा यसका लागि तयार नभएपछि सम्वन्धविच्छेदको प्रक्रिया अघि बढ्न सकेन । मोदी भारतको प्रधानमन्त्रीमा आसीन भएयता भने मोदी–जशोदासम्बन्धका विरोधाभास आमरूपमै उजागर भयो ।

व्यावहारिक जीवनमा मोदीबाट पत्नीको हैसियत नपाएकी जशोदाबेन प्रधानमन्त्री पत्नीलाई प्राप्त हुने प्रथम महिलाको हैसियतका सरकारी गतिविधिबाट हैरानसमेत भइन् । रिक्सा, अटोरिक्सालगायत सार्वजनिक यातायातमा कष्टपूर्ण यात्रा गर्ने जशोदाबेनलाई प्रथम महिलाको हैसियतले सुरक्षा दिन चिल्ला गाडीमा सुरक्षाकर्मीले उनलाई पछ्याउने क्रम सुरु भयो । यस सम्बन्धमा आधिकारिक कागजात समेत माग गर्दै आफूलाई कुन आधारमा सुरक्षा दिन थालिएको सोबारे जानकारी दिलाउन सूचनाको अधिकारसम्बन्धी ऐनको आधारमा उनले निवेदन पेस गरिन्, तर ‘इन्टेलिजेन्स ब्युरो’ले जशोदाको माग अनुसारको सूचना दिन इन्कार गर्यो ।

यसको विपरीत पेस गरिएको निवेदनमा विवाहपछि कायम भएको ‘जशोदाबेन नरेन्द्रभाइ मोदी’नाम हटाएर विवाहभन्दा अघिको नाम ‘जशोदाबेन चिमनलाल मोदी’ मा परिणत गर्न ती अधिकारीहरू पछि परेनन् । त्यसको विरुद्ध उनले तीनपटकसम्म निवेदन पेस गरिन्, तर कुनै सुनुवाइ भएन । यो आधारमा हेर्दा उनको वैवाहिक हक खोस्न सरकारी अधिकारी समेत लागेको देखिन्छ ।मोदीको वैवाहिक प्रसंगले भारतीय सञ्चारमाध्यम जति भरिभराउ देखिन्छ, राजनीतिक वृत्तमा त्यसको आलोचना पनि कम देखिन्न । ५० वर्षसम्म पनि श्रीमतीलाई ‘एकनलेज’ नगर्ने मोदीको व्यवहारलाई महिला सम्मानको अभाव भनेर नेताहरूले नै टिप्पणी गर्ने गर्दछन् ।

आफ्नी श्रीमतीको देखभाल नगर्नेले देशको देखभाल कसरी गर्छ भनेर उनको क्षमतामाथि प्रश्न उठाउने नेताको पनि कमी छैन, तर आफूविरुद्धका यस्ता चर्चा–परिचर्चालाई मौन बसेरै पाखा लगाउने मोदीको संस्कार नै बनिसकेको छ । लगभग आधा शताब्दीको एक्लो र निस्सारयुक्त जीवनसंघर्षका सिँढी चढ्दै हाल पेन्सनको भरमा कठिन दिन गुजारिरहेकी श्रीमतीप्रतिको दायित्वलाई आँखा चिम्लेर बेवास्ता गर्ने गैरनैतिक बल मोदीलाई कसरी मिलिरहेको छ ? त्यो साँच्चै अनौठो छ । एक अर्ब ३४ करोड भारतीय जनताको आशाको केन्द्रका रूपमा हेरिएका मोदीले श्रीमतीमाथि जुन व्यवहार दर्शाइरहेका छन् र जसकारण एक महिलाले जसरी अन्याय खेपिरहेकी छन्, त्यसलाई कुनै पनि दृष्टिकोणबाट क्षम्य मान्न सकिन्न।

पतिले आफूलाई पत्नीको दर्जा नदिएकामा जशोदाको मोदीप्रति कुनै गुनासो छैन । उनी यसलाई आफ्नै खराब समय र परिस्थिति भनेर चित्त बुझाउने गर्छिन् । आफ्नो श्रीमानको भूमिकाप्रति अझै आशावादी रहेकी जशोदा अहिले पनि मोदीको त्यही फोनको प्रतीक्षामा छिन्, जुन फोनमा सँगै बस्नका लागि मोदीले जशोदालाई आग्रह गरेका हुनेछन् । उनले धेरै ज्योतिषहरूसँग आफ्नो वैवाहिक सम्बन्ध राम्रो हुन नसक्नुको बारेमा परामर्श समेत गरेकी छिन् ।

अधिकांश ज्योतिषहरूले एक दिन श्रीमानसँगै गएर बस्ने दिन पक्कै आउनेछ भनी गरिएको भविष्यवाणीले उनलाई सधैँ उत्साहित बनाइरहेको छ । त्यही उत्साहलाई अझ उचाइ दिन उनले मोदीको फोटो आफ्नो प्रार्थना किताबमा टाँसेकी छन् । किताबभित्र टाँसिएको त्यही फोटो हृदयमा अझ सुन्दर ढंगले सजाउँदै मोदीकै दीर्घजीवन, सफलता अनि समृद्धिको कामनाका लागि ६६ वर्षीय जशोदाबेन हरेक दिन घन्टौं प्रार्थनामा लीन हुने गर्छिन् ।

प्रकाशित: १९ जेष्ठ २०७५ ०३:३५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App