कुरा फागुन २८ गतेको हो। एक जना मित्रले दिउँसो करिब एक बजेतिर मनोहरा क्षेत्रमा ‘कलकण्ठे भुइँरविन (डेजर्ट ह्विटयर) हिजो देखियो रे भन्ने खबर गरे। त्यस दिन दुईतीन जना मात्रले यो चरा देख्ने अथवा फोटो खिच्ने अवसर पाएका रहेछन्।
सुरुमा भक्तपुर बोडेका पन्छी अवलोकनकर्ता बिक्की श्रेष्ठले फागुन २७ गते बिहान मनोहरा क्षेत्रमा यो दुर्लभ चरालाई अवलोकन गरेका रहेछन्। उपत्यकामा पहिलो पटक देखिएको यो चराको तस्बिर खिच्न मलाई पनि उत्सुकता जागिसकेको थियो। तुरुन्तै त्यतातर्फ जाऊँजाऊँ लागे पनि कामको व्यस्तताका कारण तत्काल जान सकिएन।

पखेटा भएको जीव हो, एक ठाउँबाट अर्को ठाउँमा उड्छ। भेटिन्छ कि भेटिँदैन भन्ने मनमा कौतूहल बुन्दै समय मिलाएर करिब चार बजे म उक्त क्षेत्रमा पुगेँ। त्यहाँ पुग्दा अरू पाँच जना साथी पनि आएका रहेछन्।

धन्न चरा त्यही क्षेत्र वरपर रहेछ। कोही तस्बिर खिच्दै थिए, कोही दुरबिनले अवलोकन गर्दै रहेछन्। पहिलो पटक उपत्यकामा देखिएको ‘कालकण्ठे भुइँरविन’ देख्न पाउँदा मनमा आनन्द भयो, खुसी लाग्यो। म पनि तस्बिर खिच्न लागेँ।
नेपालमा यो चरा मुख्यतः तराईका सुक्खा क्षेत्र, चुरे पहाड तथा खुला घाँसे मैदानमा हिउँदमा देख्न सकिन्छ। केही चराहरू बसाइँसराइका क्रममा उच्च पहाडी भूभाग हुँदै नेपाल प्रवेश गर्छन् र सायद त्यही क्रममा होला, मुस्ताङमा पनि यसको उपस्थिति भएको तस्बिर प्रमाणित वन्यजन्तु फोटोग्राफर तथा हिमाल आरोही पेम्बा शेर्पाले गरेका छन्। तर, उपत्यकामा यसको पहिलो अभिलेख हुनु पन्छी अनुसन्धानका लागि महत्त्वपूर्ण उपलब्धि मानिएको छ ।

यस चराको प्रजनन क्षेत्र उत्तर अफ्रिकाका मोरक्को, अल्जेरिया, ट्युनिसिया, इजिप्ट, मध्यपूर्वका इरान, इराक, साउदी अरेबिया, अफगानिस्तान तथा मध्य एसियाका मंगोलिया, काजकस्तान, चीनलगायत देशहरूमा रहेको छ। हिउँदे बसाइँसराइका क्रममा यो दक्षिण एसियाका नेपाल, भारत, पाकिस्तान तथा अफ्रिकाका सुडान, इथियोपिया, सोमालियालगायत देशमा आउँछ।
कालोकण्ठे भुइँरविन प्रायः शुष्क मरुभूमि, बलौटे क्षेत्र, ढुंगागट्टा भएको उष्ण क्षेत्र, अग्ला बगर, खुला मैदान, साना झाडी तथा चट्टानी ढिस्काहरूमा पाइन्छ। यसको मुख्य आहार साना किरा, चराको लार्भा, ढुंगे किरा तथा साना बिउबियाँहरू हुन्।

हाल यो नेपालमा तुलनात्मक रूपमा दुर्लभ मानिए पनि तराई क्षेत्रमा बेलाबेला देखिने गरेको छ। उपत्यकामा पहिलो पटक यसको उपस्थिति देखिनु जैविक विविधता अध्ययनका लागि नयाँ सम्भावनाको संकेत हो।
प्रकाशित: ९ चैत्र २०८१ ११:५४ शनिबार