नेपाल र चीनबीचको सांस्कृतिक सम्बन्ध थप सुदृढ बनाउन राजधानीमा ‘चाइना फिल्म डे’ आयोजना हुने भएको छ। राजधानीको ठमेलस्थित छायाँ सेन्टरको क्युएफएक्समा आगामी पुस २५ गते ‘चाइना फिल्म डे’ हुन लागेको जानकारी आयोजकका तर्फबाट नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीका अध्यक्ष केपी पाठकले दिए।
‘दुई देशबीच आगामी दिनमा फिल्म निर्माण, प्रवर्द्धन र बजारीकरणमा सहकार्य हुने लक्ष्यले चाइना फिल्म डे आयोजना गर्न लागिएको हो’, उनले भने, ‘यो केवल फिल्म प्रदर्शन गर्ने कार्यक्रम मात्र नभई दुई देशको जीवन्त संस्कृतिलाई जोड्ने पुल पनि हो।
यसले चिनियाँ फिल्महरूको सिर्जनशीलता र गहिराइ प्रस्तुत गरेर हामी नेपाली फिल्मकर्मीलाई सिक्न, सहकार्य गर्न र आफ्नो क्षितिज फराकिलो बनाउन अवसर प्रदान गर्ने छ। यसले आगामी दिनहरूमा नेपाल–चीन सांस्कृतिक कूटनीतिक र फिल्म सहकार्यलाई बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छौं।’
‘चाइना फिल्म डे’ लाई चाइना फिल्म एडमिनिस्ट्रेसन, नेपालस्थित चिनियाँ दूतावास, चाइना फिल्म आर्काइभ र नेपाल फिल्म एन्ड कल्चरल एकेडेमीद्वारा संयुक्त रूपमा आयोजित गरिँदै छ। सो अवसरमा निर्देशक यीहुई साओको ‘हर स्टोरी (१२३ मिनेट)’, युडी झाङको ‘मिडसमर्स भ्वाइस (१०५ मिनेट)’ र फेइलङबको ‘जिफर ग्याप (१०३ मिनेट)’ प्रदर्शन गरिने छ।
आयोजकका अनुसार फिल्मका निर्माता, निर्देशक र कलाकार गरी १४ जनाको टिमको नेतृत्व चाइना फिल्म एडमिनिस्ट्रेसनको अन्तर्राष्ट्रिय विभागका निर्देशक सुयाङले गर्नेछन्। फिल्म प्रदर्शनपछि फिल्म निर्माता, निर्देशक तथा कलाकारसँग अन्तक्र्रियात्मक कार्यक्रमसमेत हुनेछ।
प्रकाशित: २२ पुस २०८१ १०:३२ सोमबार