७ पुस २०८१ आइतबार
image/svg+xml
अन्य

‘कास्ट कन्भर्सेसन’ मा दलित लाइभ्स म्याटर

दलित लाइभ्स म्याटर ग्लोबल अलायन्सले टेलिभिजन कार्यक्रम ‘कास्ट कन्भर्सेसन’ गर्ने भएको छ। दलित लाइभ्स म्याटर जातको आधारमा हुने हिंसा, विभेद र बहिष्करण अन्त्यका लागि संगठित विश्वव्यापी अभियान हो। २०७७ जेठ १० गते अन्तरजातीय विवाहको प्रयासमा रूकुम पश्चिममा भएको नवराज विक र उनका पाँच जना साथीहरूको हत्याको पृष्ठभूमिमा यो अभियान अस्तित्वमा आएको हो।

अभियानले १२ अंकको पहिलो ‘कास्ट कन्भर्सेसन’ शृंखलामा सातै प्रदेशको प्रतिनिधित्व गर्दै विभिन्न समुदाय, लिंग, भाषा, आस्था र शारीरिक अवस्थाका युवाहरू सहभागी गराउने उद्देश्य लिएको सोमबार जारी विज्ञप्तिमा उल्लेख छ। जात व्यवस्था नेपाली समाज र समग्र मानव सभ्यताको विकास, गतिशीलता र प्रगतिको बाधक बनेको ठहर गर्दै अभियानले समाधानमुखी संवाद अगाडि सारेको विज्ञप्तिमा उल्लेख गरिएको छ। ‘विभेदकारी जात व्यवस्थाले दलित र सीमान्तकृत समुदायलाई आर्थिक, राजनीतिक र सामाजिक रूपमा पछाडि पारेको छ। दलित र सीमान्तकृत समुदायविरुद्ध निरन्तर अमानवीय शोषण र हिंसा भइरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘संरचनात्मक विभेद र बहिष्करण अझै जारी रहेकाले यसको अन्त्य गर्न युवा पुस्तामा छलफल गर्ने, उनीहरूको अनुभवबाट सिक्ने र जातीय विभेद तथा बहिष्करण अन्त्यका लागि युवा वैचारिकी तयार गर्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो।’  

शान्ता नेपालीको निर्देशनमा तयार भएको ‘कास्ट कन्भर्सेसन’ वृद्धिका सेन्चुरीले सञ्चालन गर्नेछिन्। कार्यक्रमका हरेक अंकमा सातजना सहभागी हुनेछन्। सो कन्भर्सेसन हिमालय टेलिभिजनबाट प्रसारण हुने विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३ पुस २०८१ १०:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App