फाहोर व्यवस्थापन अधिकांश स्थानीय तहको प्रमुख चुनौती बनिरहेको छ। कतिपयले नदी तथा वनजंगलमा फाहोर फ्याँकिरहेका छन्, तर चितवनका दुईवटा नगरपालिकाले फोहोरलाई मोहरमा परिणत गर्दैछन्।
यहाँका खैरहनी नगरपालिका र रत्ननगर नगरपालिकाले फोहोरबाट आम्दानी गर्ने लक्ष्यका साथ सफा ऊर्जा उत्पादन प्रालिको सहयोगमा फोहोरको दिगो व्यवस्थापनमा लागेका छन्। करिब नौ करोडको लागतमा खैरहनी नगरपालिका– ४ चैनपुरमा नमुना मोडलका रूपमा व्यवस्थित प्रशोधन उद्योग सञ्चालनमा ल्याएको छ। यसलाई पूर्णरूपमा सञ्चालन गर्न २४ करोड रूपैयाँ खर्च लाग्ने योगेन्द्र केसी सफा ऊर्जा उत्पादन प्रालिका सदस्य योगेन्द्र केसी बताउँछन्। ‘हामी अहिले सुरुवाती चरणमा छौं। फोहोर ल्याएर राख्ने ठाउँको भवन निर्माण हुँदै छ’, उनले भने ‘खुला ठाउँमा फोहोर राख्दैनौं।’ पूर्वीचितवनमा फोहोर व्यवस्थापन समस्या निराकरण गर्ने योजनाका साथ उद्योग सञ्चालनमा ल्याइएको उनले बताए।
सफा ऊर्जाले सञ्चालन गरेको प्रशोधन केन्द्रबाट दैनिक ९० मेट्रिक टन फोहोर व्यवस्थापन गर्न सकिन्छ। हाल दैनिक १८ टन मात्र फोहोर संकलन भएको केसीले बताए। चितवनका अन्य नगरपालिकाले पनि जिम्मा दिएमा आफूहरूले सहयोग गर्ने उनले बताए।
हाल यी दुई पालिकामा १८ वटा ट्र्याक्टरबाट फोहोर संकलन गरिएको छ। प्रशोधन केन्द्रमा ल्याएर फोहोरको वर्गीकरण गरिन्छ। विशेषगरी केन्द्रले कुहिने, नकुहिने फोहार छुट्टै राख्छ। नकुहिने फोहोरमा प्लास्टिक, सिसा, धातु, काठलगायतका फोहोरलाई छुट्टै व्यवस्थापन गर्छ। यी वस्तुलाई पुनः प्रयोग हुने उनले बताए। केसीका अनुसार यहाँ आउने फोहोरमध्ये ८० प्रतिशत पुनः प्रयोग गर्न मिल्छन्।
‘प्लास्टिकहरू पाइप, बोतल, कुर्ची बनाउने कम्पनीले लैजानुहुन्छ। राम्रा कपडालाई मर्मत गरेर सफा ऊर्जाको लोगो राखेर गरिबलाई बाँड्ने गरेका छौं। लगाउन नमिल्ने कपडाबाट कपास निकाल्छौं, केसीले कपास निकालिरहेको मेसिन देखाउँदै भने, ‘यहाँ २० प्रतिशत मात्र पुनः प्रयोग गर्न नमिल्ने फोहोर आउँछ।’ पुनः प्रयोग गर्न नमिल्ने फोहोरका लागि ल्यान्डफिल्ड साइटको आवश्यक रहेको उनले बताए।
स्रोतमै फोहोरको वर्गीकरणको काम सुरु गरेर सफा ऊर्जाले फोहोर व्यवस्थापनमा नयाँ कामको सुरुवात गरेको हो। तरकारी तथा फलफूलबाट सफा प्रांगारिक मल उत्पादन गरी बजारमा पठाउन सुरु गरिएको छ। सिसाजन्य वस्तुको धुलोबाट भौतिक संरचना निर्माणमा प्रयोग हुने ब्लक बनाउन सुरु गरिएको सफा ऊर्जाका सुरक्षा अधिकृत प्रमुख वसन्त रानाले जानकारी दिए।
उद्योगबाट उत्पादित जैविक मल प्रयोग गरी सयपत्री फूलको खेती गरेको सफा ऊर्जाले एक बिघामा प्याज र लसुनको व्यावसायिक खेत गर्ने तयारी गरेको छ। अहिले फोहोरबाट दुई लाख केजी मल उत्पादन गरेको उनले बताए। यहाँबाट पाँच लाख केजीसम्म उत्पादन गर्न सकिने उनको भनाइ छ। अहिले नारायणगढको तरकारी तथा फलफूल बजारबाट समेत फोहोर लगेर मल बनाइरहेको छ।
यहाँबाट ४० प्रतिशत घरेलु फोहोर, २७ प्रतिशत व्यापारिक फोहोर, १२ प्रतिशत शैक्षिक फोहोर, १० प्रतिशत स्वास्थ्य फोहोर र १० प्रतिशत औद्योगिक फोहर निस्कने गर्दछ। त्यसमध्ये प्लास्टिकजन्य फोहोर ९० प्रतिशत हुने गरेको उनले बताए। कुहिने फोहोर १० प्रतिशत मात्र आउने गरेको छ।
स्रोतमा फोहोरको वर्गीकरण लागि विद्यालय र टोल सुधार समितिमा तालिमसमेत प्रदान गरिरहेको छ, तर अझै लागु हुन सकेको छैन। उद्योगले विपन्न तथा सीमान्तकृत समुदायका एक सय ३० जनालाई रोजगार प्रदान गरेको छ। चितवनका अन्य पालिकाको समेत फोहोर व्यवस्थापन गर्ने लक्ष्यका साथ अगाडि बढेको बताइएको छ।
प्रकाशित: ७ पुस २०८१ १०:२९ आइतबार