६ कार्तिक २०७७ बिहीबार
अन्य

त्रिचन्द्रको त्यो पढाइ

आनन्दराज मुल्मी पोखराका नामी व्यापारी प्रेमराज मुल्मीका एक्ला छोरा हुन् । पढाइलेखाइमा असाध्यै रुचि राख्ने तिनै प्रेमराजले धित मरुञ्जेल पढ्न पाएनन् । आफूले पढ्न नपाएको धोको उनले छोरो आनन्दराजलाई पढाएर पूरा गरे ।  आनन्दराजले बुवाकै सल्लाहमा वाणिज्य शास्त्रमा स्नातकोत्तर गरे । अहिले अर्थ वाणिज्यको कुरा गर्दा आनन्दराजको नाम छुट्दैन । आनन्दको कलेज नै जिन्दगी औसत छ । कलेज पढ्न पोखराबाट काठमाडौंको त्रिचन्द्र पुगेपछि उनको जीवनले कोल्टे फेरेको उनको बुझाइ छ । 

आनन्दराज मुल्मीले स्कुले जीवनमा कक्षा १० सम्म पोखरामै पढे । मल्टिप्रपोज हाइस्कुलमा पढेका उनले एसएलसी पनि यही विद्यालयबाट दिन चाहन्थे । तर, उमेरले धोका दियो । तत्कालीन हेडसरले १५ वर्ष भएकाले अर्को वर्ष मात्रै एसएलसी दिन पाइने जनाउ दिए । आनन्दराज एसएलसी दिन नपाएपछि मावली गाउँतिर लागे त्रिशुली । ६÷७ महिना मावलीमै बसेका बेला एसएलसी दिने समय आयो । तर उनका मामाले त्रिशुलीबाटै एसएलसी दिन सुझाए । मामाकै सुझावअनुसार उनले त्रिभुवन त्रिशुली हाइस्कुलबाट एसएलसीको फारम भरे । २०२२ सालमा उनीसहित स्कुलबाट ६ जनाले एसएलसी दिए– परीक्षा केन्द्र थियो पद्मोदय स्कुल काठमाडौं । 

अहिलेजस्तो पत्रपत्रिकामा एसएलसीको नजिता आउँथेन । रेडियो नेपालबाट सबैको रिजल्ट सुनाइन्थ्यो । औसतमा आनन्दराज दोस्रो श्रेणीमा एसएलसी पास भए । त्यसपछि आईए पढ्नलाई काठमाडौं पढाउने निधो गरे उनका बुवाले । बुवाले सेन्ट जेभियर्समै पढाउन चाहान्थे स्कुल लेभलमा पनि तर, आनन्दराजकी बज्यैले नमानेपछि पोखरामै खुम्चिए । कलेज लेभलमा भने आनन्दका बुवाले त्रिचन्द्रमै पठाउने निधो गरे त्यो पनि कमर्स पढ्नलाई । तिनताका अहिलेजस्तो कमर्सको लहर आइसकेको थिएन । छोरी सप्रे नर्स, छोरो बिग्रे कमर्स भन्ने आहान जो चलेको थियो । यस्तो आहान चले पनि प्रेमराजले आफ्नो व्यापारमा सहयोग पुग्ने आशले छोरो आनन्दलाई कमर्स पढ्न पठाए २०२३ सालमा । त्रिचन्द्र कलेजमा कमर्स पढ्न भर्ना भए आनन्दराज । त्यतिबेला त्रिचन्द्र पढ्न जाने काठमाडौं बाहिरका विद्यार्थी कमै हुन्थे । बाहिरका विद्यार्थी निकै कम हुन्थे । ‘सबैका लागि नयाँ र सबै नयाँ भएकाले कलेजको पहिलो दिन के हुन्छ ? कस्तो हुन्छ ? भन्ने डर त्रासमै बित्यो’ आनन्दराज मुल्मी भन्छन्, ‘काठमाडौंका मान्छेसँग घुलमिल नभएको घुलमिल हुन पनि डराएको थिएँ । अरू त्यस्तो सम्झनयोग्य अनुभूति छैन ।’

आनन्दराज त्रिचन्द्र पढ्दा पोखराका उनी एक्ला विद्यार्थी थिए । बिहानको सिफ्टमा भर्ना भएका थिए । त्यतिबेला कमर्सका विभागीय प्रमुख ईश्वरीलाल श्रेष्ठ थिए । उनी आफैं वाणिज्य शिक्षाका प्रणेता मानिन्छन् । उनैले लिए पहिलो कक्षा पनि । कमर्स किन पढ्ने ? कमर्सको सुरुवात कसरी भयो ? यो विषय पढ्दा के फाइदा हुन्छ ? नेपालमा कमर्सको आवश्यकता के छ ? लगायतका विविध विषयमाथि जानकारी दिएपछि आनन्दराजलाई यो विषयमा रुचि झनै बढ्यो । उनमा पढ्ने आत्मविश्वास बढेर गयो । ‘अहिलेजस्तो नयाँ विद्यार्थीलाई कलेजमा स्वागत गर्ने चलन थिएन’ आनन्दराज सम्झन्छन्, ‘बिहानै छ बजे खुरुखुरु कलेज गयो आयो, पछि बिस्तारै साथीभाइ बन्दै गए ।’

त्रिचन्द्रबाटै उनले दोस्रो श्रेणीमा आईए सकाए । उनी बीए पढ्नका लागि पनि त्रिचन्द्र कलेजमै भर्ना भए । त्यतिबेला विद्यार्थीमा असाध्यै धेरै अनुशासन हुन्थ्यो । विद्यार्थीहरु शिक्षकदेखि असाध्यै डराउँथे । अनुशासनमा बाँधिएर पढ्थे । अहिलेजस्तो कलेज बंक गर्ने चलन त हुने कुरै भएन । धेरै विद्यार्थीको ध्याउन्न भनेकै कसरी पढ्ने भन्ने हुन्थ्यो । टाढाबाट गएको भएर पनि होला पढाइबाहेक लप्पनछप्पन कसैले गर्थेनन् । आनन्दराजले पनि पढाइलाई महŒव दिन्थे । उनले कलेज लाइफमा अनुशासन र मिहिनेतले मान्छेलाई सफल बनाउँछ भन्ने सिके । कठोर मिहिनेत गरे । उनी त्रिचन्द्र पढ्न जानु नै लाइफको टर्निङ प्वाइन्ट बन्यो । कलेजले उनलाई धेरै सिकायो, व्यावहारिक पनि बनायो । अहिलेका टिनएजर्स  जस्तो कलेज छिर्न नपाउँदै लभको चक्करमा पर्ने जमानै थिएन । त्यसो त उतिबेला कलेजमा छात्रा पनि निकै कम हुन्थे । आनन्दराज आइए पढ्दा ७०÷८० जना केटामा ८  जना केटी थिए । ती पनि परीक्षा दिँदासम्म ६ जनामा झरे । ‘अहिलेको जस्तो खुलमखुला पनि थिएन । केटीसँग बोल्नै धक मान्ने त्योबेलाको लभसभको चक्करमा पर्ने’ आनन्दराज भन्छन्, ‘त्यतातिर कसैको ध्यानै हुन्थेन ।’

आनन्दराजका तीन÷चारजना साथी थिए । त्यतिबेला रंग रमाइलो भनेको घुमफिर गर्नु र फिल्म हेर्नुु थियो । आनन्दराजसहित उनका साथी कलेज पढ्दा धेरैजसो पशुपतितिर घुम्न जान्थे । कहिलेकाहीँ स्वयम्भुसम्म पुगेर टहलिन पुग्थे । टाढा भएकाले आक्कलझुक्कल गोदावरीसम्म पुगेर रमाइलो गर्थे । यो बाहेक उनीहरु फिल्म हेर्न जान्थे । तत्कालीन समयमा सबैभन्दा धेरै रञ्जना फिल्म हल पुग्थे । त्यसपछि नक्सालको जयनेपाल हल पुग्थे । ‘धेरैजसो हिन्दी फिल्म नै हेर्थे । नेपाली कहिलेकसो मात्रै । खासै नेपाली फिल्मै बन्थेन त्यतिबेला’ आनन्दराज भन्छन्, ‘अहिलेजस्तो मनोरञ्जनका साधन उपलब्ध थिएनन् । कि फिल्म हेर्ने कि घुम्न जाने रमाउने बहाना यत्ति थिए ।’ 

आनन्दराज पढ्दा अहिले प्राइभेटरूपमा खुलेका छ्याप्छ्याप्ती होस्टल त धेरै टाढाको कुरा क्याम्पसमा धरी होस्टलको व्यवस्था थिएन । उनको कलेज पढाइ मखन गल्लीको डेराबाट सुरु भयो । डेरा जीवनको निकै कष्टकर हुन्थ्यो । काठमाडौंमा सकभर डेरै नपाउने । डेरा खोज्दाखोज्दा हैरान । डेरा पाए पनि एउटै डेरामा टिक्नै मुस्किल । राम्रो डेरा पाएपछि त्यहीँ टिकिरहने मन हुँदाहुँदै घरबेटीले डेरा छोड भनेपछि नयाँ डेरा खोज्न उत्तिकै तनाव । वास्तवमा परिवारबाट टाढा भएको एकातिर अर्कोतिर डेराको जिन्दगी । निकै कस्टकर थियो डेरा जिन्दगी सुरुमा उनी मखन गल्लीमा बसे । त्यतिबेला एकजना पोखराकै दाइसँग बसेर पढे । उनलाई डिस्टर्ब हुने देखेपछि आनन्दराज लामो समय बसेनन् । उनी आफँै डेरामा बस्न थाले । त्यसपछि उनी खिचापोखरी, ओटुलगायतका थुप्रै ठाउँमा डेरा सरे । डेरामा बस्दा उनको उमेर सानै थियो । त्यसैले खाना पकाउने झन्झट कहिल्यै गरेनन् । बिहानै कलेज जाने भएकाले उनले चिया स्टोभमा पकाएर खान्थे । ‘म उमेर सानै भएर पनि हो । बनाउन पनि नजान्ने मैले होटलमै महिनावारी खाना खाएर कलेज पढेँ । तर महिनावारी खाना खाने रेस्टुराँ र होटल पनि पाउनै गाह्रो’ आनन्दराज महिनावारी खाना खुवाउने ठाउँ धुइँपत्ताल खोजेको स्मरण गर्दै भन्छन्, ‘खोज्दाखोज्दा न्यूरोडमा डाँफे रेष्टुरा भेटायौं । हामी ४÷५ जना छौं महिनावारी खुवाइदिनुप¥यो भनेर बडो अनुरोध गरेपछि बल्ल महिनावारी खाना खाने मेलो जुरेको थियो ।’

जब आनन्दराजले बीए पास गरे । उनका डेराका दिन सकिए । उनी त्रिचन्द कलेजबाट कीर्तिपुरको त्रिभुवन विश्वविद्यालय गए वाणिज्यशास्त्रमा स्नातकोत्तर अध्ययन गर्न । उनी एमएमा भर्ना भएपछि विश्वविद्यालयकै होस्टलमा बस्ने मौका पाए । निकै मिहिनेत गरेर उनले एमए सकाए । कमर्समा एमए सकाउने उनी पोखराका दोस्रो व्यक्ति हुन् । उनी काठमाडौंमा रहँदा कलेज मात्रै पढेनन् । उनका पिताजी प्रेमराज मुल्मीको व्यापारलाई ठूलो सहयोग गरे । उनका बुवा चाहान्थे पनि त्यही । प्रेमराज वास्तवमा असली इन्टरपेनर थिए । त्यो जमानामा पोखरामा भारु नोट छ्याप्छ्याप्ती पाइन्थे, नेपाली रुपैयाँ निकै कम । प्रेमराजले नै पहिलो पटक पोखरामा भारुलाई मोरुमा सटही गर्ने व्यापार सुरु गरे । त्यतिबेला पोखरामा धेरै लाहुरेको चहलपहल भएकाले धेरै भारु चलनमा थियो । तर, मोरु साट्ने ठाउँ नै थिएन । प्रेमराजले काठमाडौंबाट मान्छेलाई बोकाएर पोखरा ल्याउँथे मोरी । यतिबेला एक हजार मोरुको एक थैली हुन्थ्यो । त्यसपछि बुटवलबाट खच्चरमा सामान बोकाएर ल्याएर व्यापार गर्न थाले । जहाजबाट भैरहवा हुँदै पोखरामा पहिलोपटक सामान ल्याउने पनि उनी नामी व्यापारी मुल्मी थिए । पोखराको नुन ल्याएर बिक्री गर्ने पहिलो व्यापारी पनि उनै । जतिबेला आनन्दराजको घरमा नुन लिने मान्छेको लामो लाइन लाग्थ्यो । त्यसपछि सिमेन्ट र निर्माण सामग्री आयात गर्ने पनि पहिलो व्यापारी हुन् । पृथ्वी राजमार्ग खुलेपछि चिनियाँ राजदूतबाट अनुमति लिएर यो राजमार्ग हुँदै काठमाडौंबाट नेबिको बिस्कुट ल्याएर डिष्टिब्यूटरको काम गर्ने पनि उनी प्रेमराज थिए । जतिबेला भारतीय बिस्कुटको बिगबिगी थियो त्यसलाई कम गराए उनले । ‘मैले काठमाडौंबाट पिताजीले भनेअनुसारका विभिन्न सामान पोखरा पठाउने काम कलेज पढ्दादेखि नै गर्थेँ । मैले पढाइका साथसाथै व्यापार पनि गरेँ’ आनन्दराज भन्छन्, ‘हामी हुलाकबाट चिठीपत्र आदानप्रदान गथ्र्यौँ । जहाजबाट जाने यात्रीका हातमा पिताजीले पैसो पठाउनुहुन्थ्यो ।’

काठमाडौं बस्दा बुवाको व्यापारमा सहयोग गरेका मुल्मीले जब एमए सकाए अनि पोखरा फर्किहाले । पोखरा आउनेबित्तिकै उनले पोखराको पृथ्वीनारायण क्याम्पसमा पढाउन सुरु गरे, पढाउने कामसँगै व्यापारमा पनि लागिरहे । पछि नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षसमेत भए । ‘कलेजको जीवन सम्झनलायक भए त गजबै हुन्थ्यो,’ उनले भने, ‘मेरो जीवनमा कलेजका त्यस्ता सम्झनलायक घटना त छैनन् तर पिताजीले मलाई काठमाडौं पढ्न पठाएकै कारण मेरो जिन्दगीमा ठूलो सफलता हात लाग्यो । पढाइलाई महत्व दिने नै भएँ, त्यसैले मैले मेरा तीन सन्तानलाई मास्टर्स गराएँ । यो सबै पिताजीको देन हो ।’ 

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App