नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय भाडादर घटाएको छ । निगमले बिहीबार एक विज्ञप्ति सार्वजनिक गर्दै भाडा घट्ने जानकारी गराएको हो ।
यसअघि हवाई भाडादर अत्यधिक बढेको गुनासो आएको थियो । यसपछि भाडा घटाइएको निगमले जनाएको छ ।
निगमका अनुसार दिल्ली, मुम्बई र बैंगलोर सेक्टरको लागि भाडादरमा दुई हजार पाँच सय रुपैयाँसम्म छुट हुनेछ । यस्तै दोहा, दुबई, दमाम, क्वालालम्पुर, हङकङ, बैंकक र नारिता सेक्टरको लागि भाडादरमा पाँच हजार रुपैयाँसम्म छुट दिने निगमले जनाएको छ ।
उक्त छुट जहाजको सिट उपलब्धताअनुसार पहिले आउनेलाई पहिलो प्राथमिकताको आधारमा उपलब्ध हुने पनि निगमले जनाएको छ । त्यसका लागि यात्रु स्वयं परिचय पत्रसहित उपस्थित हुनुपर्नेछ ।
निगमको सामाजिक उत्तरदायित्वअन्तर्गत २०२४ नोभेम्बर १ देखि २२ तारिखसम्मको अवधिमा सम्बद्ध परिवारलाई थोरै भए पनि राहत पुगोस् भनेर डाक्टरको रिपोर्ट र नेपाल क्यान्सर रिलिफ सोसाइटीको सिफारिसमा निगमको काठमाडौं–दिल्ली– काठमाडौं सेक्टरको हवाई भाडादरमा ३७ जना अर्बुद रोग भएका बिरामीलाई १०० प्रतिशत छुटमा, ३३ जना निज बिरामीहरूका कुरुवाहरूलाई ५० प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको छ ।
त्यसैगरी २१ जना सरकारी कर्मचारीहरूलाई १५ प्रतिशत छुटमा टिकट उपलब्ध गराइएको निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिएका छन् ।
प्रकाशित: ६ मंसिर २०८१ १९:१९ बिहीबार