५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्य

जूनकीरी

उमेर अगावैका केही अनुभवी धर्साहरू परेड खेलिरहेजस्तो देखिन्थ्यो, सुजाता रोकायाको अनुहारमा। हल्का कफी रङको कपाल सपक्क बाँधिएको भए पनि अगाडिका केही केस्रा गालातिर लर्किरहेका थिए। कलेजी रङको लुंगी, कालो टिसर्ट र नीलो सुइटरमा बेरिएको खिरिलो ज्यानकी २७ वर्षीया उनी ४० कटेजस्तो देखिन्थिन्।

सुजाता दुईवर्षे आरती र पाँच वर्षीय रोशनीकी आमा हुन्। सुजाताले भित्तामा ठाडो पारिराखेको ठूलो सिलौटो पिँढीमा पल्टाइन्। त्यसमा छिर्केमिर्के रङका सिमीका दाना हालिन् र लोहोरोले दुई फक्लेटा पार्न थालिन्।
‘खाना एकैछिनमा पाक्न्या हुन्। तिमी हतार नगर दिदी । यी सिमीको दाल पकाउन्या हुन् । आरामले बस्न्या हुन्।’

सुजाताले हामी (म, मानकुमार र गंगादेवी दाहाल) लाई आँगनको लामो बेन्चतिर इसारा गरेर आरामसँग बस्न भनिन्। मैलो देखिने पछ्यौरामा सानो पोको भिरेर गमगढीबाट एक्लै आउँदै गर्दा गंगादेवी दाहाललाई हामीले रारा तालछेउमै भेटेका थियौँ। ३१ वर्ष पुग्दानपुग्दै गंगादेवीले आङ खसेपछि ६ महिनाअघि गमगढीमा अप्रेसन गरेर पाठेघर झिकेकी रहिछन्। यसपालि नियमित जाँचका लागि अस्पताल पुगेर फर्केकी । बिरामी मान्छे त्यसमाथि एक्लै दिनभरिको बाटो हिँडेर जानुपर्ने बाध्यता थियो, उनलाई।

पहिलो छोरो जन्मिएपछि लगातार पाँचवटा गर्भ खेर गएपछि आङ खसेको रहेछ। सासु, जेठानी, देउरानी लगायतले उपचारमा जान लाज हुन्छ भने पनि उनको श्रीमान्ले जबर्जस्ती अस्पताल पुर्‍याएपछि बाँच्छुजस्तो लागेको कुरा उनले दुई घन्टा हामीसँग हिँड्दा बताएकी थिइन्।सुजाताले छिनभरमै सुधारिएको चुलोमा दाउरा ठोसिन् र आगो फुकिन्। दाल बसालिन्, अनि बारीतिर दौडिइन् । यतिन्जेलमा आरती उनको ढाडमा चढिसक्छे। नौलो मान्छेहरूको आगमनले केटाकेटीको नियमिततामा धावा बोल्दो रहेछ। अघिसम्म आँगनमा खेलिरहेकी रोशनी अब भने ढोकाबाट हामीलाई चियाउँदै थिइन्।

मुगु जिल्ला यसै पनि विकट, अविकसित जिल्लामध्ये पर्छ। त्यसमाथि हामी रारा राष्ट्रिय निकुञ्जको नेपालकै ठूलो ताल रारातालभन्दा पनि परको दुर्गम गाउँ माझघट्टमा थियौँ। रारातालबाट करिब दुई घन्टाको तर्सो बाटो हिँडिसकेपछि बिहानको करिब ११ बजेको हुँदो हो, भोकको रन्को मेटाउन मानकुमारले सुजातालाई सोधेको थिए, ‘खानाको व्यवस्था गर्न सक्नुहुन्छ ?’

हामी त्यहाँ पुग्दा सुजाता बिहानको घरधन्दा सकेर पिँढीमा सुस्ताउँदै थिइन्।अनुहारमा गुराँस फुलाएर सुजाताले भनिन्, ‘सकिन्छ ।’त्यसपछि चल्न थालेको हो, उनको हातगोडा मेसिन जसरी।सुजाताको घर कुनै व्यावसायिक होटल होइन। तर, पर्यटक आएर अनुरोध गरे खानबस्नको व्यवस्था मिलाइदिने गरेकी रहेछिन् उनले। यसबाट केही नगद आर्जन हुनुका साथै भूगोलपारिका घटना सुन्न पाउँदिरहिछन्।

आफूसँगै केटाकेटी भएकाले घर छाडेर कतै आयआर्जनका निमित्त जान नसक्ने अवस्थालाई उनी आफ्नै ढंगले व्यवस्थापन गर्न चाहन्छिन्। जुम्ला बुडुबाट सुजाता विवाहपछि एक दिनको दूरीमा रहेको मुगु माझघट्ट पुगेकी रहिछिन् । विवाह र घर माइतीको दूरीबारे सन्दर्भ जोड्दा सुजाताले भावुकता प्रकट यसरी गरिन्।‘मकन (मलाई) २० वर्षमा बिया गरिदिया हुन्। हाम्रो घरमा टन्न माग्न मान्छे आया हुन् । आमाबुबाले दिया नि मु जान्न आमा। सय जुनीमा त पछि को पाउँछ पाउँछ ।

यो एक जुनी सुखले बाँच्न्या पाया कस्तो हुन्छ आमा ? मकन जे मुन् पर्या हुन्, त्यो दिनु भनेर आमालाई भन्या हुम्। बल्ल मुर्माबाट झर्‍या यिनी माग्न आया हुन् । अनि यिनी सँगै बिया गरेर आया हुम्।’पहिले आएको बिहेको कुरा किन टारिदियौ ? प्रश्न स्वाभाविक रूपले जन्मियो।तर, सुजाताको अस्वाभाविक उत्तरले म हैरान भएँ।‘मेरो त पहिले नै नानो (सानो) उमेरमा बिहे नगर्ने, छोराछोरी जे भए पनि दुईवटा मात्रै पाउन्या सोच हो । मेरा साथीहरू सबैले ठीक उमेरमा बिहे गरे।

यताउती कोही पनि सौतामा पड्या छैनन्। मकन माग्न कलिला, जागिरे केटाहरू पनि आया हुन् । मस्तै (धेरै) ले चासो राखे । तर आफू क अक्षर नपढ्या। जागिर खाया भनी फेरि सौता ल्याइदिया भने के गर्ने ? गाउँमा धेरै छन्, बिहेपछि मुन् नपराएर त्यसरी छोड्या, कुटपिट गर्‍या । तब यिनीसँग बिहे गरेर आया हुम्। दुइटी छोरी पुनि भए। बीचमा तीन महिनाको एउटा बच्चा खेर गया हुन् ।

तर यिनीले कान्छी छोरी हुँदाबित्तिकै भ्यासेक्टोमी गरे।’‘झन् गाउँघरमा त छोरा नपाउँदा धेरै नै अपमान र बात लगाउँछन् नि हैन र ?’ मेरो प्रश्नमा उनी लामो उच्छवास छोड्छिन् र भन्छिन्, ‘भन्न त गाउँमा एक आँखा अखाँलो हुन्न, एक छोरा पोतालो नि हुन्न भन्छन्। तर म त दुई जे भए पनि अर्को नपाउन्या भनी ठान्या हुम् । लोग्नेले पनि नाइँनास्ती गरेनन्।’

दुर्गममा जन्मिएकी सुजाताले विद्यालयको ढोका कहिल्यै टेकिनन्। र पनि उनको चेतनास्तर यति माथि थियो । वास्तवमै अनमेल विवाहले नै जन्माउने हो– असमझदारी, कलह र पारपाचुके। समाजमा त्यस्ता धेरै उदाहरण छन्, जसमा पढे–लेखेका लोग्नेले नपढेका श्रीमतीहरूलाई धमाधम डिभोर्स दिएर अर्को विवाह गरेको । त्यसमाथि छोरा नै चाहिन्छ भनेर गर्भ जाँच गरेर भू्रणहत्या गराउने वर्गप्रति सुजाता रोकाया चोटिलो उदाहरण हुन्।

अनि यिनी (सुजाताको लोग्ने) खै त ?
‘यिनी त रारामा डुङ्गा चलाउँछन्, तीन वर्ष भयो। समितिले तलब दिन्छन्। अरु काम गर्न सक्दैनन्। माओवादीले २०५९ मा अपहरण गरेर लग्या हुन्। पछि डेढ वर्षसम्म उनीहरूसँगै हिँड्न बाध्य भए।

पछि घर आउन्या बेला (सेनाले माओवादी सुराकीको ट्याग भिराएको र माओवादीले सेनाको सुराकीको ट्याग भिराएको दोहोरो मारमा) २०६१ सालमा सेनाको गोली खुट्टामा लागेपछि अपांग भया हुन्। अहिले गह्रौँ भारी बोक्न सक्दैनन् । अपांग कार्ड पुनि बनाएन । बनाएको भए हुने रहेछ । भत्ता पाउन्या हुन्।’

कति वर्षको हुनुहुन्छ उहाँ ?‘३३ वर्षको भए ।’ए ए भर्खरकैै हुनुहुँदो रहेछ नि ।‘हैन, अहिले त बूढो देखिसके यिनी । यिनलाई धेरै दुःख छ । यिनका बाउ नानोमै मरे । आमा लाटी थिइन् । सानैदेखि दुःखमा प¥या हुन् । मकन बिया गर्दा त राम्रा, जोवनको थिया ।’ यो उद्गारले उनको श्रीमान्प्रतिको प्रेमाभाव उजागर गरिरहेको थियो।

यति भनिसक्दा सुजाताले घरभित्र कुनै कुनाबाट दुइटा ध्वाँसो लागेको फोटो झिकेर हामीलाई देखाइन्। एउटा फोटोमा भर्खरको युवक स्टेचरमा सुताइएको थियो । अर्कोमा सोही युवक अस्पतालको बेडमा पल्टिरहेका थिए, खुट्टाको गोली निकालिसकेपछि एउटा खुट्टामा सेतो ब्यान्डेज बाँधिएको थियो ।

त्यो युवक अरु कोही नभएर सुजाताका श्रीमान् दङ्गाली रोकाया रहेछन् । त्यतिखेर दङ्गाली अविवाहित थिए । यो घटनापछि मात्रै दङ्गालीसँग सुजाताको विवाह भएको रहेछ ।अनि ‘अपांग भन्ने थाहा पाएरै पनि बिहे गरेको ?’ भन्ने हाम्रो कुतूहलतालाई सुजाता सजिलै निवारण गरिदिन्छन् । ‘यिनी बैसाखी नभई हिँड्न सक्छन् । तर भारी बोकेर हिँड्न सक्दैनन् ।

खेतबारीमा काम गर्न सक्दैनन् । डुंगाचैँ बौडी (पाखुरा) ले चलाउन्या हुन् नि । मकन खुट्टामा गोली लागेको नभन्या हुन् । पछि थाहा पाए पनि कति पनि दुःख लागेन । यस्तै त लेखेछ भाग्यमा भन्ने लाग्यो ।’कति सहजसँग स्विकारेकी छिन्, सुजाताले यो जटिलतालाई, यो सम्बन्धलाई । उनको अनुहारको भावभंगी हेर्दा पनि कुनै बनावटीपन देखिँदैन । हाँस्दै हाम्रा झर्कोलाग्दा प्रश्नको मेलैसँग उत्तर दिन्छिन् । मानौँ, उनी कुनै पर्म भर्दै छन्, कति पनि नठगीकन।

यसो गरिरहँदा सुजाताले स्थानीय रूपमा उपलब्ध रायोको भाजी, आलुको भुजुरी, सिमीको दाल र आधा दिनको बाटो बोकेर सदरमुकाम गमगढीबाट ल्याइएको चामलको भात तयार पारिसकेकी थिइन् । आफ्ना दुई छोरीलाई पढाउन, आत्मनिर्भर र सुखी बनाउन उनले परिश्रम गरिरहेकी छन् । देख्दै नदेखेको सपनाको बाटो हिँड्न सकिँदैन । देखेको सपनाको बाटो असजिलो भए पनि हिँड्ने प्रयास गरिन्छ ।

ढिलोचाँडो सपना भेटिन्छ र त्यो विपना हुन्छ । सुजाताले यो विपनाका लागि गएको वर्ष खुब सङ्घर्ष गरेकी रहिछिन् । कान्छी छोरी पाइसकेपछि अचानक रक्तश्राव हुन थालेपछि मर्ने–बाँच्ने ठेगान नहुँदा छोरीहरूको अनिश्चित भविष्यको भयावह कल्पना मात्र आँखामा मडारिएको तीतो अनुभव उनले गरिन् । गएको वर्ष जेठदेखि पुससम्म रक्तश्राव भएपछि मर्नुभन्दा बहुलाउनु वेश भन्ने कुराले निर्देशित भएर घरेलु उपचारका क्रममा उनले पिल्स चक्की अत्यधिक सेवन गरिछिन् ।

यसले उनको स्वास्थ्य चिन्ताजनक अवस्थामा पुगेको थियो । छोरीहरूको भविष्य हत्केलामा बोकेर जुम्लासम्म हिँडेरै गएकी सुजाताले गोर्चुला र गमगढीको ठिनी अस्पतालमा दुई महिना बसेर उपचार गरेपछि रक्तश्राव रोकिएको थियो । यतिन्जेलमा सुजाताको वजन ५६ केजीबाट घटेर ४७ केजीमा झरेछ । अहिले उनी भरिएको बेलुनको हावा बिस्तारै फुस्किँदै गएजस्तो चाउरिँदै गएकी देखिन्छिन् ।

यत्तिकैमा हामीले परबाट स्ट्रेचरमा पाँच सातजना मानिस बिरामी बोकेर कुदेर आउँदै गरेको देख्यौँ । नजिकै आइपुग्दा अचेत अवस्थामा रहेको बिरामी खत्याडबाट ल्याइएकी महिला रहेको ठम्याइयो । माझघट्टबाटै गमगढी अस्पताल पुर्‍याउन अझै पाँच घन्टा लाग्छ । त्यतिखेरसम्म तल्लो पेट दुखेर अचेत भएकी त्यस महिलाको हबिगत कस्तो हुने हो ? मुगुका जनताको त्यो अप्ठेरो, हैरानी, बाध्यतासँग भर्खरै धेरथोर परिचित भएका हामी बस् रमिते मात्र भयौँ ।

गंगादेवीले गाउँमा अधिकांश दिदीबहिनीको पाठेघर झरेको तर लाजले उपचार गराउन नगएको कुरा सुनाइन् । आफ्नो घरको बाटो हुँदै अत्यन्त संकटपूर्ण अवस्था भएपछि मात्र बिरामीलाई स्ट्रेचरमा लग्ने गरेको कुरामा सुजाता अभ्यस्त भइसकिन् । वास्तवमा रोग लुकाइराख्नेप्रति सुजाताको खुब रोष छ । शरीर छ र त जीवन छ । लोकाचार भन्ने कुरा आडम्बर हुन् । पहिले आफ्नो स्वास्थ्यको ख्याल राख्नुपर्छ । आइमाई मान्छे मेसिन हैन । आराम र पोषण पर्याप्त पाउनुपर्छ भन्ने उनको मान्यता छ।

हाल लालीगुराँस रारा हिमाली आमा समूहको अध्यक्ष रहेकी सुजाताले समूहको आर्थिक कारोबार समेत आफै गर्छिन् । बेलाबेला गाउँमा एनजिओसँग हेल्थक्याम्प ल्याउन हातेमालो गर्छिन् । विद्यालय व्यवस्थापन समितिको महिला सदस्य रहेकी सुजाता भन्छिन्, ‘आफूले क पुनि पढन्या पाइनँ । अब यी छोरीहरूलाई धेरै पढाउन्या मुन् छ । गाउँमा राम्रो पढाइ छैन । मुन् त सहर राखेर पढाइदिन्या छ । तर, ताकत छैन।’

सुजाता मलाई जूनकीरीजस्तै लाग्यो, जो आफैँमा सानो चेतनाको उज्यालो बोकेर माझघट्टमा ओहोरदोहोर गरिरहेकी छन् । जताततै अन्धकार व्याप्त छ । यस्तोमा जूनकीरीले आफ्नो अस्तित्वको दाबी कतिन्जेल गर्ला ? कि बिलाउला ? म आफ्नो मुटुको साइज केही बढेको अनुभव गर्छु । उनको आकांक्षा घरमुनि हामफालिरहेको राराको निकाससँगै निरन्तर सुसाइरहेको छ । अनेकन् सुसाइ निल्दै आएका त्यहाँका बोटबिरुवा, चराचुरुंगी र प्रकृतिसँग सुजाताको इच्छा आकांक्षा नबिलाओस् । जूनकीरीहरूको जमात बढोस् । सुजाता तिमीलाई नारी दिवसको शुभकामना छ।

प्रकाशित: ३ चैत्र २०७४ ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App