विश्व सम्पदा सूचीमा सूचीकृृत बौद्धनाथ स्तुपामा २०७२ को भूकम्पले क्षति पुर्याएको थियो । तर, अहिले यहाँ पुग्ने जो कोहीलाई पनि यो अनुमान लगाउन गाह्रो हुन्छ । किनकी स्तुपाले गत वर्ष नै ‘नयाँ अवतार’ पाइसकेको छ।
पुरातत्व विभागको तथ्यांक अनुसार उपत्यकाभित्रका ४ सय ६० सम्पदामध्ये ८२ मात्रै पुनर्निर्माण भएका छन् । भूकम्पले देशभरका ७ सय ५३ सम्पदामा क्षति पुर्याएको थियो ।भूकम्पबाट भत्किएका सम्पदा पाँच वर्षभित्र ठड्याउने बताउँदै आएको विभागले अहिलेसम्म एक चौथाईको पनि पुनर्निर्माण गर्न सकेको छैन । भूकम्प गएको तीन वर्ष बित्न लाग्दा पनि सम्पदा पुनर्निर्माणको कार्यप्रगति सन्तोषजनक नदेखिएको सम्पदाप्रेमीको गुनासो छ।
‘सम्पदा क्षेत्रको कार्यप्रगति उपलब्धिमूलक मान्नुपर्छ,’ विभागका महानिर्देशक भेषनारायण दाहाल भन्छन्, ‘सम्पदा पुनर्निर्माण सोचे जस्तो सहज छैन, धेरै जटिलता छन् यसमा ।’ उनका अनुसार सम्पन्न सम्पदाको संख्या थोरै देखिए पनि सम्पन्न हुने क्रममा भने धेरै सम्पदा रहेका छन् । ‘सम्पदा पुनर्निर्माण गर्दा घर बनाएजस्तो सोझै बनाउन मिल्दैन,’ उनले भने, ‘एकातिर अध्ययन–अनुसन्धान गर्नुपर्छ, अर्कोतिर दक्ष जनशक्तिको अभाव छ।’
बजेट पनि उपलब्ध नभएको स्थितिमा पनि झण्डै सय सम्पदा पुनर्निर्माण हुनु सन्तोषजनक मान्नुपर्ने दाहाल बताउँछन् । उनका अनुसार ५० भन्दा बढी सम्पदाको पुनर्निर्माण विभागले गरेको हो ।
विभाग, स्थानीय तह, स्वदेशी तथा विदेशी निकायले सम्पदा पुनर्निर्माण धमाधम गरिरहेका उनले बताए । उनका अनुसार झण्डै सय बढी सम्पदा पुनर्निर्माणको काम अन्तिम चरणमा छ ।विभागबाहेक अन्य निकायले सम्पदा पुनर्निर्माण गर्दा पुरातात्विक मापदण्डभित्र रहेर गर्नु पर्ने कानुनी व्यवस्था छ।
विभागले मापदण्डविपरित रहेका सम्पदा पुनर्निर्माणमा रोक समेत लगाउँदै आएको छ ।
विभागको तथ्यांक अनुसार काठमाडौंको बौद्धनाथ स्तुपा, वसन्तपुरको पञ्चमुखी हनुमान, तलेजु मन्दिर अगाडिको महादेव मन्दिर, लक्ष्मीनारायण मन्दिर, स्वयम्भूको अन्नतेपुर महादेव मन्दिर, बसुबन्धु चैत्य लगायतका सम्पदा पुनर्निर्माण सम्पन्न भइसकेका छन् ।
‘सम्पदा क्षेत्रको कार्यप्रगति उपलब्धिमूलक मान्नुपर्छ,’ विभागका महानिर्देशक भेषनारायण दाहाल भन्छन्, ‘सम्पदा पुनर्निर्माण सोचे जस्तो सहज छैन, धेरै जटिलता छन् यसमा ।’ उनका अनुसार सम्पन्न सम्पदाको संख्या थोरै देखिए पनि सम्पन्न हुने क्रममा भने धेरै सम्पदा रहेका छन् । ‘सम्पदा पुनर्निर्माण गर्दा घर बनाएजस्तो सोझै बनाउन मिल्दैन,’ उनले भने, ‘एकातिर अध्ययन–अनुसन्धान गर्नुपर्छ, अर्कोतिर दक्ष जनशक्तिको अभाव छ ।’
काठमाडौंका दुई दर्जनभन्दा बढी सम्पदा पुनर्निर्माण भए पनि रानीपोखरी, धरहरा, काष्ठमण्डप भने सुरु नै हुन सकेका छैनन्।काठमाडौं महानगरपालिकाले काष्ठमण्डप र राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा लिएकाले आफूहरूलाई यी सम्पदाबारे जानकारी नभएको विभाग बताउँछ ।
त्यसैगरी भक्तपुरमा चाँगुनारायण मन्दिर, किलेश्वर महादेव मन्दिर, रामेश्वर मन्दिर, नाराणयण मन्दिर लगायतका सम्पदा पुनर्निर्माण भइसकेका छन् । भक्तपुरमा ८० सम्पदा भूकम्पले क्षति पुर्याएको थियो । तीमध्ये अधिकांश सम्पदाको पुनर्निर्माण अगाडि बढेको विभागको दाबी छ।
यता ललितपुर क्षेत्रमा भने सम्पदा पुनर्निर्माणको जिम्मा काठमाडौं उपत्यका संरक्षण ट्रस्ट (केभिपिटी)ले लिएको छ । १ सय ३० भन्दा बढी सम्पदा ध्वस्त भएकोमा पाटनको सुन्दरी चोक, भीमसेन मन्दिर, योगनरेन्द्र मल्लको शालिक, मणिमण्डल लगायतका सम्पदा पुनर्निर्माण सम्पन्न भएको छ । यहाँका अधिकांश सम्पदाहरू धमाधम पुनर्निर्माण हुने क्रममा रहेको विभागका सूचना अधिकारी दामोदर गौतम बताउँछन्।
‘हामी बनाउँदै गरेका सम्पदाको कुरा गर्दैनौं, बनिसकेका सम्पदाको मात्रै हिसाब गर्छौं,’ उनले भने, ‘त्यसरी हेर्दा बनेका सम्पदाको संख्या थोरै देखिए पनि समग्रमा हेर्ने हो भने पुनर्निर्माणले धेरै गति लिएको छ ।’ उनका अनुसार ध्यान तान्ने (धरहरा, काष्ठमण्डप लगायतका)केही सम्पदा पुनर्निर्माण नहुँदैमा सम्पदा पुनर्निर्माणले गति नलिएको भन्न मिल्दैन । अबको पाँच वर्षसम्ममा अधिकांश सम्पदा पुनर्निर्माण भइसक्ने गौतमको दाबी छ ।
प्रकाशित: १४ फाल्गुन २०७४ ०५:४५ सोमबार