देवचन्द्र भट्ट, कुसुमबारी (नुवाकोट) जेठ २४-
दशकौं पुरानो नुवाकोटको कुसुमबारीस्थित जिल्ला कारागार भवन उपयोगविहीन भई भत्कने अवस्थामा पुगेको छ। भवन सदुपयोग गर्न स्थानीयवासी तथा विद्यालयले माग गरेपछि उक्त जीर्ण कारागार भवन स्थानीय विद्यालयलाई छात्रवासको रुपमा दिन पहल सुरु भएको छ।
राणा शासनकालमा निर्माण गरिएको सदियौं पुरानो जिल्ला कारागार भवन हाल उपयोगविहीन भई जीर्ण भएर लड्ने अवस्थामा पुगेको छ। विदुर नगरपालिका वडा नं २ कुसुमबारीमा राणाशासन कालमा निर्मित दुईतले कारागार भवन सात वर्ष अगाडि असुरक्षाका कारण सात किलोमिटर विदुरबजारमा सारिएपछि उपयोगविहीन हुँदै आएको थियो।
उपयोग नहुँदा कारागार भवन जीर्ण भई पानी चुहिएर भत्किने र जस्तापाता हावाहुरीले उडाउने क्रम बढेको छ। विद्यार्थीको सुविधालाई ध्यानमा राखेर स्थानीय भैरबी उच्च माविले उक्त कारागार भवन छात्रवास सन्चालन गर्नको लागि जिल्ला प्रशासन कार्यालयसँग माग गरेको थियो।
प्रशासनले सिफारिस गरेपछि गृह मन्त्रालयले जिल्ला शिक्षा कार्यालय नुवाकोटलाई कारागार भवन विद्यालयलाई दिन मिल्ने या नमिल्ने विषयमा कारागार भवन र त्यसको जग्गाको विवरण खुलाउन परिपत्र गरेपछि शिक्षा कार्यालयले मालपोत कार्यालय नुवाकोटलाई त्यस सम्वन्धी विवरण उपलब्ध गराउन निर्देशन दिएको छ।
स्थानीय भैरबी उच्च माविमा हाल ६ सय ४६ जना विद्यार्थी अध्ययनरत छन् ।
माओवादी द्वन्द्वका कारण गत २०५८ सालमा उक्त जिल्ला कारागार विदुर बजारमा सारिएपछि भवन उपयोगविहीन हुँदा जीर्ण हुन पुगेको थियो।
प्रकाशित: २४ जेष्ठ २०६६ ०२:५३ आइतबार





