३० असार २०७७ मंगलबार
अन्य

बर्तको सारंगी संघर्ष

उनीसँगैका साथी स्कुल जान्थे । उनी भने सारंगी बोकेर घर–घर चहार्थिन् । सारंगीको धुनमा गीत गाउँथिन् । र, छाकको जोहो गर्थिन्। स्कुले उमेरमा सारंगी बजाउनु बर्त गन्धर्वको रहर नभई बाध्यता थियो । कामका लागि सिक्किम गएका बुबा दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि परिवारको खर्च जोहो गर्न सारंगी बजाउनु उनको बाध्यता बन्यो । र, आमासँगै सारंगी बोकेर हिँड्न थालिन् । त्यतिबेला उनको उमेर ७ वर्ष मात्रै थियो।

 ‘बुबाको सम्पर्क नभएपछि आमा र म काम गरेर जीविकोपार्जन गथ्र्याै,’ उनले विगत सम्झिइन् । गरिबी र अभावले सारंगी बजाउन बाध्य भएको उनले सुनाइन् । ‘म घर–घर गएर सारंगी बजाउँथे । सानो उमेरमा दुःख गरिछे भन्दै दया मानेर सबैले केही न केही दिन्थे,’ उनले भनिन् । 

केही समयपछि उनका बुबा घर फर्किए । उनका बुबा सारंगी बजाउन गाउँ–गाउँ पुग्थे । उनी पनि बुबासँगै सारंगी बजाउन थालिन् । 
त्यसक्रममा उनको भेट संखुवासभाका गोपाल सिवाकोटीसँग भयो । सिवाकोटीले उनलाई काठमाडौं पढ्न जाने सल्लाह दिए । काठमाडौं जानका लागि सिवाकोटीले उनका बुबालाई केही रकम दिएको उनी सम्झिन्छिन् । 

सिवाकोटीले आर्थिक सहयोग गरेपछि बर्तको काठमाडौं यात्रा सुरु भयो । त्यतिबेला उनी ९ वर्षकी थिइन् । काठमाडौंमा बस्दा पनि उनले सारंगीको धुन बिर्सन सकिनन् । त्यतिबेला सपनामा पनि सारंगी देख्ने गरेको उनी बताउँछिन् । 
उनले ललितपुरको बुङमतीस्थित त्रिरन्त कोअपरेटिभ स्कुलमा एसएलसीसम्म अध्ययन गरिन् । २०६४ मा एसएलसी पास गरेपछि उनले ललितकला क्याम्पसमा भोकल मुख्य विषय लिएर पढिन् । 

स्कुले उमेरमा सारंगी बजाउनु बर्त गन्धर्वको रहर नभई बाध्यता थियो । कामका लागि सिक्किम गएका बुबा दुई वर्षसम्म पनि सम्पर्कमा नआएपछि परिवारको खर्च जोहो गर्न सारंगी बजाउनु उनको बाध्यता बन्यो । र, आमासँगै सारंगी बोकेर हिँड्न थालिन् । त्यतिबेला उनको उमेर ७ वर्ष मात्रै थियो । 

पढाइ सकिएपछि उनले सारंगी बजाउन सिकाउन थालिन् । सारंगी सिकाउन उनी नर्भेको एग्डर विश्वविद्यालयसम्म पुगिन् । नर्भेमा १० महिना रहँदा धेरै सिक्न पाएको उनी बताउँछिन् । नर्भेमा कमाएको रकमबाट कीर्तिपुरमा घर बनाएको उनी बताउँछिन् । 
त्यहाँ शिक्षक र विद्यार्थीको सम्बन्ध देख्दा अचम्म पर्ने गरेको उनको अनुभव छ । ‘गुरु र विद्यार्थीको सम्बन्ध साथी जस्तो थियो, सँगै खाने र कार्यक्रम गर्ने देख्दा अचम्म लाग्यो,’ उनले भनिन्, ‘म प्रशिक्षकका रूपमा गए पनि धेरै कुरा सिक्ने मौका पाएँ । त्यहाँ सिकाएर आएपछि मेरो आत्मविश्वास पनि बढ्यो ।’ विद्यार्थीले गुरुलाई गर्ने सम्मान देख्दा निकै भावुक भएको उनले बताइन् । 

अहिले उनी सारंगीको धुन सिकाउन व्यस्त छिन् । गन्धर्वबाहेक अन्य समुदायका विद्यार्थी पनि सारंगी बजाउन सिक्न आउने गरेको उनी बताउँछिन् । ‘नेपालमा सारंगीको धुन पढेर व्यावासायिक रूपमा अगाडि आएको म नै हुँ,’ उनले भनिन् । 
सारंगीले पहिचान बनाएकोमा खुसी लाग्ने उनी बताउँछिन् । ‘आमाले पिटेर र घिसारेर आफूसँगै सारंगी बजाउन नहिँडाएको भए यहाँसँम आइपुग्दैनथे,’ उनले भनिन् । गाउने र बजाउने तरिका गुरुबाट सिकेर यहाँसम्म आइपुगेको उनी बताउँछिन् । 

उनले कुटुम्ब ब्यान्डसँग काम गर्ने मौका पाएको बताइन् । आफू अझै सिक्दै गरेको उनी बताउँछिन् । ‘धेरै कुरा सिक्न बाँकी नै छ । क्लासिक र वेस्टर्न भोकल सिक्न बाँकी नै छ,’ उनले भनिन्, ‘जीवनमा थुप्रै उतारचढावका बापजुत यहाँसम्म आइपुग्दा निकै आनन्द लाग्छ ।’ 
बुढेशकालमा पनि सारंगीकै धुनमा बिताउने चाहना रहेको उनी बताउँछिन् । सारंगी सिकाउने र यसको उत्थानमा काम गर्ने उनको योजना छ । 

 

प्रकाशित: १९ माघ २०७४ १०:४९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App