जित्नेको मात्र होइन, हार्नेको पनि इतिहास लेखिनुपर्छ र यो विषय प्राज्ञिक वृत्तमा बहस हुनुपर्छ भन्दै भारतकी प्रसिद्ध लेखिका रोमिला थापरले आवाज उठाएकी छन् । थापरको यस चिन्तनलाई साहित्य र इतिहासको अन्तर्सम्बन्धको व्याख्या गर्ने क्रममा स्पिभाकले सटिक तरिकाले प्रस्ट्याएकी छन् । पराजित हुनेहरूले पराजित हुँदाको पीडालाई लोकआख्यान र अनुश्रुतिमा अभिव्यक्त गरेका हुन्छन् ।
अमूर्त संस्कृतिका रूपमा रहेका जीवन्त लोकगाथाका माध्यमबाट सीमान्तीकृत बन्न पुगेका जातीय समूहहरूको अध्ययनका लागि साहित्यमा नयाँ दृष्टिकोणसहितको विषय बहसका रूपमा स्थापित भएको छ । दलित, उत्पीडित, सीमान्तीकृत र हार्नेहरूको इतिहास लेखिनुपर्छ भन्ने बुलन्द आवाज सबाल्टर्न (अंग्रेजी शब्द सबाल्टर्नले सदियौँदेखि शासित, आवाजविहीन तथा इतिहासविहीन वर्गलाई जनाउँछ ः तारालाल श्रेष्ठ, शक्ति स्रष्टा र सबाल्टर्न) अध्ययन भारतबाट सुरुवात भएको हो ।
८० को दशकमा भारतमा सुरु भएको यो विचारको नेपाललगायत अफ्रिकी मुलुकका विश्वविद्यालयमा अध्ययन अध्यापन हुन थालेको छ । नेपालमा अभि सुवेदी, तारालाल श्रेष्ठ, सञ्जीव उप्रेतीलगायत प्राज्ञ व्यक्तिको नेतृत्वमा सबाल्टर्न अध्ययनलाई अगाडि बढाइएको छ । इतिहास जित्नेको मात्र लेखिन्छ त ? विजेताको इतिहास लेखिँदा पराजितको हैसियत के रहन्छ ? सबाल्टर्न अध्ययन यसमै केन्द्रित देखिन्छ । त्यसो त विजेताले पराजित हुनेको पनि इतिहास लेखेको एउटा उदाहरण अंग्रेजले छाडेर गएका छन् । यद्यपि त्यो अभिलेख हार्नेको इतिहास हो त ? भन्ने मूल प्रश्नमा बहस आवश्यक छ ।
नालापानी किल्लामा नेपाल–अंग्रेज युद्ध हुँदा महिला बालबालिकालगायत ७० सिपाहीका साथमा बलभद्र कुँवरले किल्लाबाट बाहिरिँदाको अवस्थालाई नेपालीको हार भन्ने कि नभन्ने भन्ने विषयमा बहस हुन सक्छ तर युद्ध नटुंगिई हुन गएको यस घटनाले अंग्रेजलाई बलभद्र कुँवरको सम्मानमा शिला स्मारक कुँद्न अभिप्रेरित गरेको इतिहास छ । देउथलको युद्धमा भक्ति थापाको बहादुरीलाई पनि गोराहरूले प्रशंसा गरेकै हुन् । अंग्रेजहरूले भक्ति थापा र बलभद्र कुँवरको गुणगान गाउनुमा उनीहरूको निहित स्वार्थ के थियो ? यो अध्ययनको विषय हुन सक्ला, तर नेपाल–अंग्रेज युद्ध र त्यसपछिका परिणामले आजसम्म अंग्रेजको अघोषित उपनिवेशलाई पर्दा पछाडिबाट स्विकार्नुपर्ने बाध्यताको संकेत बलभद्र कुँवरको सम्मानमा गरिएको शिला स्मारकले गरेको छ ।
यसकारण ऐतिहासिक दस्तावेज र प्रमाण प्राप्त हुँदैमा त्यो सत्य हुन सक्छ भन्ने सुनिश्चितता गर्न सकिँदैन । भनिन्छ, लिखित प्रमाणविनाको इतिहास हजुरआमाको दन्त्य कथाजस्तै हुन्छ, तर लिखित दस्तावेजको आधिकारिकतामाथि सन्देहको प्रश्न उठाउनैपर्छ, किनभने जित्नेको वीरगाथामा अतिशय अलंकार र प्रशंसापरक प्रशस्तिहरू अभिव्यक्त भएका हुन्छन् । यस किसिमको अतिरञ्जना र विरुदावलीमा इतिहासका यथार्थहरू हराइरहेका हुन्छन् । लेखिएको छ भन्दैमा त्यो सत्य नहुने तथ्य इतिहासमा पढ्न पाइन्छ । हनुमान ढोकास्थित नेपाल संवत् ७६९ को अभिलेखमा प्रताप मल्लले आफूलाई कर्णाटवंशी नान्यदेवको सन्तति हुँ भनी लेखाएका छन् (कान्तिपुर शिलालेख सूची) ।
प्रताप मल्लको यस विरुदावलीलाई जगज्ज्योर्ति मल्लहरूले पनि दोहो¥याएका छन् (ज्ञानमणि नेपाल, नेपालको माध्यामिक कालको इतिहास) । जबकि आफूलाई सूर्यवंशी भनी चिनाउने प्रताप मल्लले किन फेरि आफूलाई चन्द्रवंशी कर्णाटहरूको सन्तति माने त ? प्रताप मल्लले उक्त अभिलेखमा लेखेको तथ्यलाई स्वीकार गर्ने हो भने इतिहासमा विवाद आउने देखिन्छ । वस्तुतः प्रताप मल्ल कर्णाटवंशी नभई उपत्यकाको मल्ल नै हुन् भन्ने तथ्य अन्य अभिलेख्य प्रमाणका आधारमा इतिहासकारले स्वीकार गरेका छन् । यसकारण लेखिएका सबै दस्तावेज सही हुन्छन् भन्ने हुँदैन । प्रमाण खोज्ने हो भने इतिहासका धेरै पात्रको अभिलेख प्रमाणप्राप्त हुन सकेका छैनन्, जसलाई हामी राष्ट्रिय विभूति स्वीकार गरेका छौँ । भृकुटीलाई हामी राष्ट्रिय विभूति मान्छौँ तर उनको ऐतिहासिकतालाई प्रमाणित गर्ने कुनै अभिलेख्य स्रोत नेपालमा आजसम्म प्राप्त हुन सकेको छैन ।
सिल्भा लेभीले तिब्बती वंशावली (ब्लु एनल) का आधारमा भृकुटीलाई अंशुवर्माकी छोरी मानेका छन् । भृकुटीको विवाह तात्कालिक तिब्बती शासक स्रङचङ गम्पोसँग भएको वर्णन त्यो वंशावलीले गर्छ, तथापि नेपालको कुनै पनि लिखित दस्तावेज वा अभिलेखमा योसँग नपरेकाले भृकुटीको आधिकारिकतालाई प्रमाणित गर्ने ऐतिहासिक एवं पुरातात्विक प्रमाण प्राप्त हुन सकेको छैन, तर यस वंशावलीमा वर्णित तथ्यका आधारमा भृकुटीको ऐतिहासिकतालाई प्रमाणित गर्न सकिन्छ त ? भन्ने प्रश्नमा मौनता साध्नुपरेको छ । संख्यामा २६ भन्दा बढी अभिलेख जारी गर्ने अंशुवर्माले समेत आफ्नो वास्तविक परिचय लुकाएका छन् । आफ्नो वंशजलाई सूर्यसम्म पुर्याई अभिलेख राख्ने लिच्छवि राजा जयदेव द्वितीयले समेत संवत् १५७ को पशुपति अभिलेखमा आफ्नो वंशावली लेखाउँदा भृकुटीका विषयमा चर्चा गरेका छैनन्, तर भृकुटीलाई राष्ट्रिय विभूतिका रूपमा हामीले स्वीकार गरेका छौँ ।
यसैगरी, नेपाल संवत्को प्रयोक्ता शंखधर साख्वाका विषयमा हालसम्म कुनै किसिमको ऐतिहासिक एवं पुरातात्विक प्रमाण प्राप्त हुन सकेको छैन । मिथककै रुपमा रहेको नेपाल संवत्लाई मान्ने कि नमान्ने त ? यस विषयमा ज्योतिषशास्त्रीय दृष्टिकोणबाट अध्ययन, अनुसन्धान भए पनि ठोस निष्कर्षमा पुग्न सकिएको छैन । तर, मल्लकालका सयौँ अभिलेख एवं ऐतिहासिक ग्रन्थमा प्रयोग हुँदै हालसम्म प्रचलनमा रहेको नेपाल संवत्को अस्तित्वलाई स्वीकार गर्न करै लाग्छ । वस्तुतः ऐतिहासिक दस्तावेज र प्रमाणको खोजी नै गर्ने हो भने इतिहासका धेरै पात्रको प्रामाणिकतामाथि सन्देह गर्नुपर्ने हुन्छ । राष्ट्रिय विभूतिहरू भृकुटी, जनक र सीताको कुनै पनि ऐतिहासिक र पुरातात्विक प्रमाण प्राप्त भएको छैन ।
लिच्छविकालभन्दा पहिलेको इतिहासलाई पौराणिक काल मानिएको छ । गोपालकाल, महिषपाल काल, किरातकाल, जनक सभ्यताको र वैदिक सभ्यताको समेत हालसम्म कुनै पुरातात्विक प्रमाण प्राप्त भएको छैन । अतः अभिलेख्य प्रमाण नभएका तर श्रुति, अनुश्रुति परम्परा एवं पौराणिक तथा लोकआख्यानलाई स्वीकार नगर्ने हो भने संस्कृति र सभ्यताका महत्वपूर्ण गरिमा छुट्ने सम्भावना उत्तिकै रहन्छ । यो प्रसंग लेख्दै गर्दा ऐतिहासिक, पुरातात्विक एवं अभिलेख्य प्रमाणलाई अस्वीकार गर्न खोजिएको होइन, तर अभिलेख्य दस्तावेजका कमी–कमजोरीको पहिचान गरी तथ्यहरूको तुलनात्मक अध्ययन गर्दै इतिहासको उजागर गर्नुपर्छ भन्नेमा विशेष ध्यान दिनैपर्छ ।
पुरातात्विक अन्वेषणमा पौराणिक आख्यानहरू लोककथा र अनुश्रुतिलाई अनुसन्धानको एउटा विधिका रूपमा प्रयोग गरिन्छ, (केभी रमण, प्रिन्सिपल एन्ड मेथडस् अफ आर्कियोलजी) भने इतिहासको सन्दर्भमा यो निरपेक्ष रहन सक्दैन । ऐतिहासिक प्रमाणप्राप्त नहुँदासम्म लोक आख्यान र लोकनाटकलाई पनि इतिहासको अध्ययन स्रोतका रूपमा लिने गरिन्छ । कुनै पनि जाति–जनजाति र आदिवासी समुदायको आगमन, बसाइँसराइ जस्ता घटनाको सम्झना गराउन यिनै लोककथा, पुराकथा, अनुश्रुति, किंवदन्ती र मिथकीय गाथाले महत्वपूर्ण भूमिका खेल्छन् । आफ्नो गौरवपूर्ण गाथा, उनीहरूले गरेको संघर्ष र वीरताका घटनालाई लोक–साहित्यका अनेकौँ माध्यमबाट अध्ययन गरिन्छ ।
इतिहास अध्ययनका लागि अलिखित स्रोतका रूपमा रहेका यस्ता आख्यान इतिहास होइनन्, तर इतिहासका आंशिक सत्य अभिव्यक्त भएका हुन्छन् । अभिलेख एवं पुरातात्विक प्रमाण प्राप्त नहुँदासम्म यस्ता पुरा–आख्यानको महŒवलाई नकार्न सकिँदैन । मानवशास्त्रीय अध्ययनमा लोकसाहित्य र संस्कृतिलाई अध्ययनको स्रोतको रूपमा लिइन्छ । विदेशी विश्वविद्यालयमा श्रुति परम्परामा आधारित यस्ता किंवदन्ती र अनुश्रुतिलाई माइथोलोजी र ओरल हिस्ट्रीका रूपमा अध्ययन अध्यापन गरिन्छ, गराइन्छ । यसकारण किंवदन्तीहरू इतिहास होइनन् तर ऐतिहासिक अध्ययनका आधार हुन सक्ने सम्भावनालाई स्वीकार गर्नैपर्छ ।
दस्तावेज र प्रमाणको संकलन गर्दैमा इतिहासको अध्ययन पूरा हुँदैन, तर प्राप्त प्रमाणको ऐतिहासिक, सामाजिक, मनोसामाजिक एवं सांस्कृतिक दृष्टिकोणबाट विश्लेषण गर्नुपर्छ । विशेषतः हिस्टोरिसिजम्, हिस्टोरिसिटी अथवा हर्मेन्युटिक्स दृष्टिकोणबाट इतिहासको अध्ययन गर्ने विधिको सिद्धान्त प्रतिपादन भइसकेको छ, नेपालमा भने यो विधिबाट इतिहासको अध्ययन गर्ने प्रचलन सुरु भएको छैन ।
नेपालको राजनीतिक परिवर्तनपछि समाजशास्त्री चैतन्य मिश्र, सुरेस ढकाल, आहुति, राजेन्द्र महर्जन, अभि सुवेदी, सिके लाल, प्रत्युष वन्त र युग पाठक लगायतले यस विधिबाट इतिहासको विमर्श गर्ने परम्पराको सुरुवात गरेको देखिन्छ । ऐतिहासिक दस्तावेज र अभिलेखमा लेखिएका प्रशस्ति र विरुदावलीको पुनरोक्ति गरिरहँदा वास्तविक सत्य हराएको पत्तो नै पाइँदैन ।
यसकारण पुनरोक्तिको यस प्रवृत्तिबाट माथि नउठ्दासम्म नेपाली इतिहासको अनुसन्धानमा हर्मेन्युटिक्स विधिको प्रयोग गर्न सकिने अवस्था छैन । किनभने इतिहासको फरक दृष्टिकोणबाट चिन्तन गर्नासाथ चिन्तकमाथि एकोहोरो खोइरो खन्ने प्रवृत्ति प्राज्ञिक वृत्तमा देखिन्छ । वस्तुतः इतिहास टुप्पोबाट अर्थात् जित्नेहरूको लेखिँदै गर्दा सबाल्टर्न (हार्नेहरू)को इतिहासलाई नियतवश नै छायामा पार्ने प्रयास गरिन्छ । डा. तारालाल श्रेष्ठले भनेझैँ नेपालको इतिहास लेखनको धारमा सबाल्टर्न प्रतिनिधिको प्रश्नलाई सम्बोधन नै गरिएको छैन । सदियौँदेखि शासित, आवाजविहीन तथा इतिहासविहीन वर्गको इतिहासलाई प्राज्ञिक बहसमा समावेश गरी फरक ढंगले इतिहासको विश्लेषण गर्नुपर्छ भन्ने सबाल्टर्न अध्ययताको मागलाई अझै पनि बेवास्ता गरिएकोे देखिन्छ । शासकद्वारा शोषित वा दलित समुदायले कर्खा, सवाई, लोकगीत र लोकआख्यानका माध्यमबाट शासकीय अत्याचारको प्रतीकात्मक स्वरुपमा विरोध गरिएको पाइन्छ ।
नेपाली सामाजिक इतिहासको पछिल्लो चरणमा शासकविरोधी विद्रोही स्वरलाई योगमाया न्यौपाने र जोसमनी सन्त परम्पराका साधुले अझ गर्विलो र दरिलो बनाएको पढ्न पाइन्छ । आज पनि पूर्वी नेपालदेखि पश्चिम नेपालका लोकसंस्कृति र लोकगाथाको अध्ययनबाट पनि यस सन्दर्भको पुष्टि हुन्छ । शासक र प्रशासकको प्रशस्ति गानमा प्रतिकात्मक रूपमा सबाल्टर्न चिन्तनको संकेत पाइन्छ । सारमा सम्भ्रान्तका पूर्वाग्रही र एकपक्षीय इतिहास लेखन प्रवृत्तिलाई यस किसिमका सबाल्टर्न अध्ययताले सदैव विरोध गर्छन् ।
तारालाल श्रेष्ठ लेख्छन्, ‘टुप्पोबाट लेखिएको जति पनि इतिहासको शृंखला छ र जसलाई राष्ट्रिय वा विश्वइतिहासको रुपमा अध्ययन–अध्यापन गरिँदै गराइँदै आइएको छ, त्यो केवल सीमित शासक र सम्भ्रान्त वर्गको प्रशस्तिले भरिपूर्ण देखिन्छ । शक्तिको आडमा यस्तो निठुर इतिहास लेखन प्रक्रिया पैतृक, वंशानुगतजस्तै अझैसम्म कायम छ । यसरी हेर्दा मौखिक परम्परामा निहित किंवदन्ती र आख्यानको अध्ययन गर्दा त्यसमा नवमाक्र्सवादी धार बढी मुखरित भएको देखिन्छ, तर जनताको साँचो इतिहास लेख्दा कुनै वाद वा सिद्धान्तका आधार लिनु कदापि उचित होइन ।
यस आधारमा हेर्दा विद्रोह र प्रतिशोधका भावना अलिखित इतिहासमा जीवन्त रहेका हुन्छन् र यसको खोजी हुनैपर्छ । वस्तुतः इतिहासको अध्ययन गर्दा ऐतिहासिक एवं पुरातात्विक प्रमाणको साथसाथै मिथक र किंवदन्तीका माध्यमबाट इतिहास पुनर्लेखन गर्नुपर्छ भन्ने सबाल्टर्न अध्यताको चिन्तनलाई पुरात्वविद्, इतिहासविद् एवं समाजशास्त्री र मानवशास्त्रीले स्वीकार गर्नुपर्छ ।
अमूर्त संस्कृतिमा निहित इतिहासका आंशिक सत्यको अध्ययन अध्यापन गर्ने उद्देश्यले त्रिभुवन विश्वविद्यालयले लोकवार्ता अध्ययनको थालनी गरिसकेको छ भने युनेस्कोले अमूर्त संस्कृति संरक्षणका लागि लामो समयदेखि कार्य गर्दै आइरहेको छ । नेपाल सरकार संस्कृति मन्त्रालय र यस मातहतका प्राज्ञिक केन्द्रमा यस विषयको अध्ययन अनुसन्धान भएको पाइन्छ । नेपाल प्रज्ञा प्रतिष्ठानले जातीय संस्कृति अध्ययनमा केन्द्रित रहेर हालसम्म चार भोल्युममा जातीय संस्कृतिसम्बन्धी पुस्तक प्रकाशन गरिसकेको छ । यस्तै, ललितकला र नाट्य प्रतिष्ठानलगायत अन्य जाति, जनजातिकेन्द्रित संस्थाले यस अध्ययनलाई अगाडि बढाइरहेका छन् ।
प्रकाशित: १३ माघ २०७४ ०४:४९ शनिबार