डा. अमर गिरी
नेपाली साहित्यमा मात्र होइन, समग्र नेपाली वाङ्मयमै ‘सीमान्तीकृत’ शब्दको प्रयोग हुन थालेको धेरै भएको छैन । ०४६ सालपछि नै यस शब्दको प्रयोगमा व्यापकता आउन थालेको हो । नेपाली वाङ्मयका सबै क्षेत्रमा आज यस शब्दको व्यापक प्रयोग गरिएको पाइन्छ । यस शब्दको खास अर्थ छ र यसका आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक सन्दर्भ रहेका छन् । एक खास अर्थसहित पश्चिमी साहित्य र ज्ञान अनुशासनमा पनि यस शब्दको प्रयोग हुन थालेको धेरै भएको छैन । उत्पीडित, विभेदको सिकार भएका र पछि पारिएकालाई जनाउन यस शब्दको प्रयोग गरिन्छ । यसभित्र नारी, आदिवासी जनजाति एवं वर्गीय रूपमा उत्पीडित समुदाय पर्छन् । आदिवासी जनजाति एवं नारीका सन्दर्भमा यसको बढी प्रयोग गरिन्छ । नेपाली सन्दर्भमा आउँदा दलित र मधेसी पनि यसमा जोडिन्छन् । एकातिर नेपाली समाजमा सदियौँदेखि वर्गीय विभेद र उत्पीडन छ भने अर्कातिर जातीय एवं लैंगिक विभेद र उत्पीडन पनि रहँदै आएको छ । जातीय एवं लैंगिक उत्पीडन मूलतः सामाजिक–सांस्कृतिक पक्षसँग जोडिएको छ । वर्गीय उत्पीडन मूलतः आर्थिक पक्षसँग सम्बन्धित रहेको छ । वर्गीय एवं सामाजिक–सांस्कृतिक विभेद र उत्पीडनलाई एक–अर्काबाट अलग गरेर हेर्न सकिन्न र हेर्न पनि हुन्न ।
जातीय एवं लैंगिक उत्पीडनका सामाजिक–सांस्कृतिक सन्दर्भ निकै महŒवपूर्ण रहेका छन् । नेपाली समाजमा उच्च जातीय समुदायको सामाजिक–सांस्कृतिक उत्पीडन आदिवासी जनजाति एवं दलित समुदायले सदियौँदेखि खप्दै आएका छन् । हिन्दूवर्णाश्रममा आधारित नेपाली समाजमा दलितहरूमाथिको उत्पीडन अझ डरलाग्दो छ । नारीहरू हजारौँ वर्षदेखि पितृसत्तात्मक समाजको उत्पीडनको सिकार छन् । उत्पीडित जातीय समुदायका हुनेखानेहरू पनि जातीय उत्पीडनबाट मुक्त छैनन् । वर्गीय उत्पीडन वर्गका दृष्टिले सबैभन्दा माथि रहनेले खप्नुपर्दैन तर जातीय एवं लैंगिक उत्पीडन उत्पीडित जातीय समुदायका हुनेखाने र हुनेखाने घरका सुशिक्षित महिलाले पनि खप्नुपर्छ । वर्गीय, जातीय एवं लैंगिक उत्पीडनलाई समाजको आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक संरचना र सन्दर्भसँग गाँसेर हेर्नुपर्छ । विभेद र उत्पीडनविरुद्ध संघर्ष, त्यसबाट मुक्ति र नयाँ संरचनाको निर्माण, विभेद र उत्पीडनको कारकका रूपमा रहेको समाजको बृहत्तर संरचनाको ठीक बोध र त्यसविरुद्ध संघर्षसँग जोडिएको छ ।
साहित्यले आफ्नो समयको यथार्थलाई अभिव्यक्ति दिन्छ । नेपाली साहित्यमा पनि आफ्नो समयको यथार्थको अभिव्यक्ति पाइन्छ । सीमान्तीकृतहरूको विविध पक्षलाई नेपाली साहित्यमा पनि अभिव्यक्ति दिइएको छ । साहित्यमा यसको अभिव्यक्तिका एकातिर कालगत सीमा छन्, अर्कातिर दृष्टिकोणजन्य सीमा र भिन्नता पनि छन् । सीमान्तीकृतहरूप्रतिको हेराइ, बुझाइ एवं यससँग जोडिएको आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक संरचनाका विषयमा समान धारणा छैनन् । स्रष्टाले आ–आफ्नो दृष्टिकोण, आदर्श र प्रतिबद्धताअनुसार यस विषयलाई हेरेका छन् र साहित्यमा अभिव्यक्ति दिएका छन् । आफ्नो समयको चेतना, यसका विविध धारा र सीमाका बीचबाट साहित्यमा सीमान्तीकृतसम्बन्धी विषयले अभिव्यक्ति पाएको छ । सीमान्तीकृतसम्बन्धी विमर्श पनि यसैअनुरूप भएका छन् । सीमान्तीकृतसम्बन्धी समकालीन विमर्शमा माक्र्सवाददेखि उत्तरआधुनिकतावादी आयामसम्म रहेका छन् । राजनीतिमा कम्युनिस्टदेखि नवउदारवादीसम्मले यससम्बन्धी विमर्शमा भाग लिएका छन् । साहित्यिक विमर्श र सिर्जनामा पनि माक्र्सवाददेखि उत्तरआधुनिकतावादसम्मको प्रभावलाई नियाल्न सकिन्छ ।
नेपाली साहित्यमा यस विषयले प्राथमिक कालदेखि अभिव्यक्ति पाउँदै आएको छ । प्राथमिक र माध्यमिककालीन विभिन्न स्रष्टाका रचनामा यस विषयको अभिव्यक्ति पाइन्छ । कविहरूले समाजमा हेपिएका, पछि पारिएका निमुखालाई आफ्ना कविताको विषय बनाएका छन् र उनीहरूप्रति सहानुभूति प्रकट गरेका छन् । उनीहरूका रचनामा सामाजिक–सांस्कृतिक एवं धार्मिक विभेद र उत्पीडनको आलोचना पाइन्छ । प्राथमिककालीन जोसमनी सन्त कविका रचना यसका दृष्टान्त हुन् । उनीहरूले आफ्ना रचनामा निर्भीकतापूर्वक सामाजिक–सांस्कृतिक विभेद र उत्पीडनको विरोध गरेका छन् । माध्यमिककालीन कतिपय स्रष्टाले पनि सीमान्तीकृतलाई आफ्ना कविताका विषयवस्तु बनाएका छन् । कविताका अतिरिक्त गद्यमा पनि फाट्टफुट्ट यस विषयलाई अभिव्यक्ति दिइएको छ । प्राथमिक र माध्यमिक कालको साहित्यमा सीमान्तीकृतको अभिव्यक्ति पाइए पनि यसका आफ्ना सीमा रहेका छन् । आधुनिक चेतनाको निर्माण भइनसकेको त्यस समयका रचनाकार सामान्य सुधारवादी चेतनाभन्दा माथि उठ्न सकेका छैनन् । रचनामा सीमान्तीकृतप्रति सहानुभूति पाइन्छ, तत्कालीन अवस्थाको अलिअलि आलोचना पनि गरिएको छ । तर, त्यसभन्दा माथि रचनाकार पुग्न सकेका छैनन् । कतिपय रचनाकारले त सुधारवादी चेतनाविना नै आफ्ना रचनामा सामान्य मानवीय संवेदनाका आधारमा सीमान्तीकृतप्रति सहानुभूति दर्शाएका छन् ।
स्वयं सीमान्तीकृत समुदाय नै अधिकारका निम्ति संघर्षरत रहेको समय साहित्यमा उनीहरूप्रति सहानुभूति हुनु मात्र पर्याप्त छैन । त्यस्तै, कहीँ नपुगिने विरोध र विद्रोहको पनि खास अर्थ छैन । उत्पीडितको मुक्तिको उपयुक्त वैचारिक आधारसहितको साहित्यिक विमर्श र सिर्जना आजको आवश्यकता हो ।
माध्यमिक कालको उत्तराद्र्धतिरबाट नेपाली समाजमा राजनीतिक एवं सामाजिक जागरण आउन थाल्यो । राणाविरोधी गतिविधि सुरु भए । विभिन्न संघ–संस्था जन्मिए । राणाविरोधी गतिविधिमा कैयौँ स्रष्टा पनि सक्रिय भए । बाह्य विश्वसँगको साक्षात्कार पनि बढ्यो । यी सबैबाट एक नयाँ परिस्थितिको निर्माण भयो । यही नयाँ परिस्थिति नेपाली साहित्यमा आधुनिक कालको आरम्भको आधार बन्यो । १९९१ सालदेखि नेपाली साहित्यमा आधुनिक कालको आरम्भ भएको हो । आधुनिक कालको आरम्भ साहित्यमा पाइने माध्यमिककालीन प्रवृत्तिको अन्त्य र आधुनिक प्रवृत्तिको आरम्भ थियो । नेपाली साहित्यमा आधुनिक युगको सुरुवात नेपाली समाजको विकासको स्वाभाविक परिणामका साथसाथै बाह्य घटना परिघटनाको प्रभाव पनि थियो । नेपाली साहित्यमा प्राथमिक र माध्यमिककाल हुँदै अघि बढेको सुधारवादी एवं परिवर्तनमुखी चेतना नेपाली साहित्यमा आधुनिक युगको निर्माणमा महŒवपूर्ण कारकका रूपमा रहेका छन् । पश्चिममा आधुनिक युगको निर्माणका निम्ति आधार बनाउने कार्य पुनर्जागरणले ग¥यो । १८औँ, १९औँ शताब्दीमा आधुनिकतासम्बन्धी समग्र अवधारणाको विकास भयो । यसको प्रभाव विश्वभरि प¥यो । नेपाल पनि यसबाट अछुतो रहेन । आधुनिकताले नयाँ विचार, दृष्टिकोण र मूल्यलाई बुझाउँछ । यसभित्र आधुनिक विचारका विविध धारा पर्छन् । सबै ज्ञान अनुशासनमा आधुनिक युगको गहिरो प्रभाव प¥यो । विभिन्न विचार अस्तित्वमा आए । साहित्यमा पनि विभिन्न विचार र वाद जन्मिए । आधुनिक नेपाली साहित्यमा पनि त्यसको प्रभाव प¥यो ।
साहित्यमा आधुनिक युगको आरम्भसँगै सीमान्तीकृतसम्बन्धी विषयले पनि बढी अभिव्यक्ति पाउन थाल्यो । विभिन्न दृष्टिकोणका आधारमा यससम्बन्धी बहसलाई अघि बढाइयो । २००७ सालसम्म आइपुग्दा सुधारवादी चेतनाभन्दा माथि उठेर क्रान्तिकारी चेतनासहित यस विषयले साहित्यमा अभिव्यक्ति पाउन थाल्यो । सामाजिक यथार्थवादी, आलोचनात्मक यथार्थवादी र माक्र्सवादी दृष्टिकोणका आधारमा साहित्यमा सीमान्तीकृतको मुद्दालाई अभिव्यक्ति दिन थालियो । यी साहित्य चिन्तन आधुनिक युगका देन थिए । सामाजिक यथार्थवादीले समाजमा पछि पारिएका, विभेद र उत्पीडनको सिकार भएकालाई सुधारवादी चेतनासहित अभिव्यक्ति दिइएको पाइन्छ । आदर्श प्रेरित यस्तो विचार सीमान्तीकृतप्रति संवेदनशील त पाइन्छ तर यसमा उत्पीडनविरुद्ध संघर्ष चेतना निकै कम पाइन्छ । स्वतन्त्रता, समानता, सामाजिक न्याय, मानवीय गरिमा, मूल्य एवं सौन्दर्यप्रतिका यसका सरोकार कमजोर र अधुरा छन् ।
आलोचनात्मक यथार्थवाद यथार्थका कुरूप पक्षप्रति आलोचनात्मक छ । अन्याय, असमानता र उत्पीडनको यसले कटु आलोचना गर्छ तर यससँग पनि विभेद र उत्पीडनभन्दा पर प्रस्थानका निम्ति कुनै उपयुक्त वैचारक आधार पाइन्न । साहित्य विचारमुक्त हुन्न । साहित्यको समाजपरक र सौन्दर्यपरक भूमिका विचारसँग पनि जोडिन्छ । साहित्यको सौन्दर्य शिल्प मात्र होइन, त्यसको भाव पनि हो । विचार भावमै मिश्रित भएर साहित्यमा प्रवाहित हुन्छ । आलोचनात्मक यथार्थवादी दृष्टिकोणसहित लेखिएका नेपाली साहित्यका रचनामा सीमान्तीकृतमाथिको उत्पीडनको आलोचना त छ तर त्यहाँभन्दा पर अर्थात् विभेद र उत्पीडनबाट मुक्ति र समतामूलक समाज निर्माणको वैचारिक भावभूमि त्यहाँ अनुपस्थित छ । आलोचनात्मक यथार्थवादको यो सीमा पनि हो ।
२००७ सालको सेरोफेरोबाट नेपाली साहित्यमा माक्र्सवादी धाराको आरम्भ भयो । यस धाराको आरम्भ साहित्य सिर्जना र विमर्शमा एक नयाँ दृष्टिको सुरुवात थियो । माक्र्सवादी साहित्यको सैद्धान्तिक आधार साहित्यसम्बन्धी माक्र्सवादी दृष्टिकोण हो । माक्र्सवादी स्रष्टाले आफ्ना सिर्जनामा सीमान्तीकृत समुदायलाई महŒव दिएर उनीहरूमाथिको विभेद र उत्पीडनको आलोचना मात्र गरेनन्, त्यसको अन्त्यका साथसाथै समतामूलक समाज निर्माणको चाहनालाई पनि अभिव्यक्ति दिए । निसन्देह, उनीहरूका रचनामा वर्गीय विभेद र उत्पीडनले केन्द्रीय महŒव प्राप्त गरेको छ तर उनीहरूले जातीय एवं लैंगिक विभेद र उत्पीडनलाई पनि आफ्ना रचनामा समुचित स्थान दिएका छन् । विभेद र उत्पीडनरहित समाजको स्वप्न देखेका छन् । माक्र्सवादी साहित्यले नै सर्वप्रथम सीमान्तीकृत समुदायको पीडा र संवेदनालाई क्रान्तिकारी चेतनासहित आफ्नो लेखनको विषय बनायो । अधिकारका निम्ति, स्वतन्त्रता, समानता र सामाजिक न्यायका निम्ति संघर्षरत उत्पीडित जातीय एवं लैंगिक समुदाय माक्र्सवादी साहित्यका विषय बने । माक्र्सवादी साहित्यले सीमान्तीकृतलाई कमजोर, निरुपाय र दयाका पात्रका रूपमा होइन, संघर्षशील, विद्रोही र एक नयाँ समाज निर्माणका निम्ति सक्रिय पात्रका रूपमा उभ्यायो । माक्र्सवादी धाराको आरम्भ नहुन्जेल सीमान्तीकृत समुदाय साहित्यमा दया र सहानुभूतिको पात्रका रूपमा बढी आए र उनीहरूमाथिको विभेद र उत्पीडनको सामान्य आलोचना मात्र गरियो । २००७ सालदेखि ३० को दशकसम्म नेपाली साहित्यभित्र अनेकौँ विचार र वाद देखापरे । अस्तित्ववाद, विसंगतिवाद, प्रयोगवाद आदि यसभित्र पर्छन् । यी धारा र प्रवृत्तिका स्रष्टाले सीमान्तीकृत समुदायबारे त्यति कलम चलाएको पाइन्न । उनीहरूबाट यस विषयमा जे जति लेखिएको छ, त्यसमा विद्रोही चेतना र समतामूलक समाज निर्माणको स्वप्नले कतै स्थान पाएको छैन ।
सीमान्तीकृत समुदायका विषयमा सबैभन्दा बढी समकालीन साहित्यमा लेखिएको छ । सिंगो नेपाली साहित्यको इतिहासमा साहित्यमा सीमान्तीकृत समुदायले सबैभन्दा बढी प्रवेश पाएको यही समय हो । ०४६ सालपछि नै साहित्यमा सीमान्तीकृत समुदायबारे सघन विमर्शको आरम्भ भयो । यस अवधिदेखि सीमान्तीकृत समुदायका विषयले साहित्यिक विमर्श एवं सिर्जनामा सघन र सूक्ष्म रूपमा प्रवेश पाउनुका खास कारण छन् । ०४६ सालको ऐतिहासिक आन्दोलनले एक नयाँ परिस्थिति निर्माण ग¥यो, लोकतन्त्र स्थापना भयो । ०५२ सालदेखि माओवादी जनयुद्ध आरम्भ भयो । नेपाली समाजमा यसको बहुआयामिक प्रभाव प¥यो । ०६२÷६३ को महान् जनआन्दोलनले राजतन्त्रलाई सधैँका निम्ति अन्त्य ग¥यो । संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । यस बदलिएको परिस्थितिका कारण नेपाली समाजमा सीमान्तीकृत समुदायसम्बन्धी विमर्शमा तीव्रता आयो । नेपाली राजनीतिलगायत ज्ञानका सबै शाखामा यस विमर्शले महŒवपूर्ण स्थान प्राप्त ग¥यो ।
पश्चिममा चलेको पहिचानको राजनीतिको प्रभाव पनि सीमान्तीकृत समुदायसम्बन्धी विमर्शमा गहिरो गरी परेको छ । पहिचानको राजनीति पश्चिममा सन् १९८० को दशकदेखि मुखर बन्न सुरु गरेको हो । यसै अवधिदेखि सीमान्तीकृत समुदायसम्बन्धी विमर्शले पनि उचाइ प्राप्त गरेको हो । पश्चिममा सीमान्तीकृत समुदायका विषयमा धेरै बोलिएको छ, लेखिएको छ । यस बोलाइ र लेखाइका भिन्न–भिन्न वैचारिक आधार रहेका छन् । माक्र्सवाददेखि उत्तरआधुनिकतावादी दृष्टिकोणका आधारमा सीमान्तीकृत समुदाय, उनीहरूमाथिको विभेद र उत्पीडन एवं उनीहरूका अधिकारबारे बहस भएका छन् । साहित्यमा पनि यस विषयमा पर्याप्त विमर्श भएका छन् र सिर्जनामा पनि यसले पर्याप्त स्थान पाएको छ । सीमान्तीकृत समुदाय र आन्दोलनसम्बन्धी विमर्शको मुख्य चुरो उनीहरू माथिको विभेद र उत्पीडनको अन्त्य रहेको छ । आदिवासी जनजाति, नारी र कालाहरूले आफ्नो पहिचानका निम्ति पश्चिममा लामो समयदेखि संघर्ष गर्दै आएका छन् । उत्पीडित वर्गको संघर्षको लामो इतिहास पनि पश्चिममा रहेको छ । पहिचानका सम्बन्धमा पश्चिममा चलेको विमर्श र आन्दोलनले नेपालमा पहिचानको मुद्दालाई अझ प्रभावकारी रूपमा अघि बढाउन प्रेरित ग¥यो । नेपालको बदलिएको परिवेशमा सीमान्तीकृत समुदायको विषय अझ महŒवपूर्ण बन्यो ।
नेपालको समकालीन राजनीतिक एवं प्राज्ञिक वृत्तमा सीमान्तीकृत समुदायसम्बन्धी विमर्शका माक्र्सवादी र गैरमाक्र्सवादी आयाम छन् । माक्र्सवादीमा पनि यस विषयमा समान दृष्टिकोण छैनन् । उदारवादी दृष्टिकोणमा पनि समानता पाइँदैन । सीमान्तीकृत समुदायसम्बन्धी विमर्शभित्र वर्गको मुद्दा भने ओझेलमा पर्दै आएको छ । यससम्बन्धी गैरमाक्र्सवादी विमर्शमा या त वर्ग अनुपस्थित रहने गरेको छ या त यसलाई न्यून महŒव दिइएको छ । आदिवासी जनजाति, नारी, दलित र मधेसी समुदाय नै सीमान्तीकृत समुदायसम्बन्धी विमर्शको केन्द्रमा रहने गरेका छन् । वर्गीय उत्पीडनको विषयलाई छाडेर सीमान्तीकृत समुदायलाई कसरी अधिकार सम्पन्न गराउन सकिन्छ भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर यस विमर्शमा भेटिन्न । पहिचानकेन्द्रित विमर्शको एउटा ठूलो कमजोरी विमर्शमा वर्गको अनुपस्थिति वा कमजोर उपस्थिति हो । विमर्शमा वर्गको अनुपस्थितिले सीमान्तीकृत समुदायसम्बन्धी विमर्शलाई समाजको समग्र संरचनासँग सन्दर्भित गरेर हेर्ने र विभेद एवं उत्पीडनबाट मुक्तिको उपयुक्त मार्ग पहिल्याउने कुराबाट अन्यत्र बरालेको पाइन्छ । यससम्बन्धी विमर्श बढी उत्तरअवधारणाहरूबाट प्रभावित रहेको छ । यससम्बन्धी पश्चिमी विमर्शमा पनि वर्ग या त अनुपस्थित रहने गरेको छ या त यसलाई नगण्य महŒव प्रदान गरिएको छ । सीमान्तीकृतसम्बन्धी पश्चिमी विमर्श पनि बढी उत्तरअवधारणाहरूबाट प्रभावित र निर्देशित रहेका छन् ।
समकालीन साहित्यमा सीमान्तीकृत समुदायसम्बन्धी अभिव्यक्ति यससम्बन्धी प्राज्ञिक विमर्शबाट प्रभावित रहेको छ । आदिवासी जनजाति, दलित र नारीसम्बन्धी विषयले साहित्यमा व्यापक रूपमा प्रवेश पाएको छ । आदिवासी जनजातिसम्बन्धी विषयलाई त्यस समुदायका स्रष्टाका साथसाथै अन्य स्रष्टाले पनि आफ्ना रचनामा अभिव्यक्ति दिएका छन् । उनीहरूका रचनामा आदिवासी जनजातिमाथिको आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक उत्पीडनको आलोचना, आफ्नो भाषा, साहित्य, संस्कृतिप्रति प्रेम, आफ्नो पहिचानप्रति सचेतता, वर्चस्वकारी संरचनाप्रति आक्रोश पाइन्छ । नारीसम्बन्धी विषयलाई पनि यसै गरी अभिव्यक्ति दिइएको छ । नारीहरूको पहिचान र उनीहरूमाथिको विविध उत्पीडनलाई स्रष्टाले आफ्ना रचनामा अभिव्यक्ति दिएका छन् । मधेसीमाथिको उत्पीडनलाई विषय बनाएर पनि यस अवधिमा साहित्य लेखिएको छ । दलितलाई विषय बनाएर पनि धेरै लेखिएको छ । दलित, गैरदलित दुवैले दलितलाई विषय बनाएर कलम चलाएका छन् । दलित, नारी एवं जनजातीय साहित्यको सौन्दर्यशास्त्रबारे पनि विमर्श भएका छन् । साहित्यमा सीमान्तीकृतहरू जागरुक, विद्रोही र संघर्षशील चरित्रका रूपमा उभिएका छन् । सीमान्तीकृतप्रति दया र सहानुभूतिभन्दा उनीहरूमाथिको विभेद र उत्पीडनको विरोध एवं त्यसप्रति आक्रोश समकालीन साहित्यको विशेषता हो । यसको अर्थ सबै स्रष्टाको लेखनीमा यो विशेषता पाइन्छ भन्ने होइन । सीमान्तीकृत समुदायप्रति पुरानै विचार राख्ने र त्यसअनुरूप आफ्ना विचार प्रस्तुत गर्ने स्रष्टा पनि छन् ।
समकालीन साहित्यमा सीमान्तीकृत समुदायको प्रतिविम्बनको एउटा सैद्धान्तिक आधार उत्तरआधुनिकतावाद रहेको छ । अन्य उत्तरअवधारणाहरूको प्रभाव पनि यसमा परेको छ । खासगरी जनजाति र नारीलाई विषय बनाएर लेखिएको साहित्यको ठूलै हिस्सा उत्तरआधुनिकतावादी एवं नारीवादी दृष्टिकोणबाट डोरिएको छ । यस्तो विमर्श र सिर्जनामा पहिचानप्रति जागरुकता, आफूमाथिको विभेद र उत्पीडनको आलोचना, वर्तमान संरचनाप्रति आक्रोश, विभेदपूर्ण अतीतको विरोध, भाषिक, सांस्कृतिक एवं जातीय वर्चस्वको प्रतिवाद र अधिकारको माग पाइन्छ । उत्तरआधुनिकतावादभित्र सीमान्तीकृत समुदायलाई लिएर गम्भीर विमर्श भएका छन् तर त्यहाँ सीमान्तीकृतको मुक्तिको कुनै उपयुक्त वैचारिक आधार छैन । उत्तरआधुनिकतावादी दृष्टिकोणका आधारमा सिर्जित समकालीन नेपाली साहित्यमा पनि यही यथार्थ पाइन्छ । त्यहाँ विरोध त छ, तर समतापूर्ण समाज निर्माणको कुनै स्पष्ट दिशाबोध छैन । आदिवासी जनजातिमाथिको उत्पीडनलाई नश्लीय चेतनाका आधारमा पनि समकालीन साहित्यमा अभिव्यक्ति दिइएको पाइन्छ । साहित्यमा सीमान्तीकृत समुदायसम्बन्धी विषयको अभिव्यक्तिको उत्तरआधुनिकतावादी आयाम मात्र छैन । गैरमाक्र्सवादी साहित्यकारहरूको एउटा हिस्साले उत्तरआधुनिकतावादी विचारबाट बाहिरै रहेर सीमान्तीकृत समुदायसम्बन्धी विषयलाई साहित्यमा अभिव्यक्ति दिइएको छ । यसमा पनि विभेद र उत्पीडनबाट मुक्तिको कुनै उपयुक्त बाटो भेटिन्न ।
माक्र्सवादी स्रष्टाका समकालीन रचनामा वर्गीयका साथसाथै अन्य सीमान्तीकृत समुदायका विविध पक्षले अभिव्यक्ति पाएका छन् । उत्तरआधुनिकतावादी र माक्र्सवादीबीच मौलिक भिन्नता रहेको छ । माक्र्सवादीमा यस विषयमा स्पष्ट दिशाबोध पाइन्छ । जातीय, लैंगिक, भाषिक, सांस्कृतिक उत्पीडनको अन्त्यका निम्ति उनीहरूले समाजको विभेदकारी आधारभूत आर्थिक, राजनीतिक, सामाजिक–सांस्कृतिक संरचनालाई अघि सार्दै यसको अन्त्य र समानतामा आधारित समाज निर्माणमा जोड दिएका छन् । यद्यपि कतिपय माक्र्सवादी स्रष्टाहरूले पहिचानलाई बढी महŒव दिएको पाइन्छ भने कतिपय स्रष्टाले वर्गमा निरपेक्ष जोड दिएको देखिन्छ । तर पनि उनीहरूले यसलाई समाजको समग्र संरचनासँगै जोडेर हेरेका छन् । समकालीन साहित्यमा सीमान्तीकृत समुदायको चित्रण परिवर्नतको आग्रह र उपयुक्त दिशाबोधसहित हुन जरुरी छ । सीमान्तीकृत समुदायसम्बन्धी विमर्शमा वर्गलाई अनुपस्थित गराउने वा न्यून महŒव दिने र विभेद र उत्पीडनबाट मुक्तिको कुनै उपयुक्त मार्ग प्रस्तुत गर्न नसक्ने उत्तरअवधारणाहरूको प्रतिवाद आवश्यक छ । स्वयं सीमान्तीकृत समुदाय नै अधिकारका निम्ति संघर्षरत रहेको समयमा साहित्यमा उनीहरूप्रति सहानुभूति हुनु मात्र पर्याप्त छैन । त्यस्तै, कहीँ नपुगिने विरोध र विद्रोहको पनि खास अर्थ छैन । उत्पीडितको मुक्तिको उपयुक्त वैचारिक आधारसहितको साहित्यिक विमर्श र सिर्जना आजको आवश्यकता हो ।
प्रकाशित: २२ पुस २०७४ ०१:५२ शनिबार