पुष्पा थपलिया
एक अल्लारे ठिटोको नजर एक सुन्दरीमाथि पर्यो, ठाउँ थियो– क्याम्पसको गेट अगाडि । तीन जना युवती गफिइरहेका थिए । गफिएकामध्ये युवतीको नाउँ अमीरा रहेको ठिटोले पत्ता लगायो, साथीभाइलाई सोधखोज गरे । त्यति मात्र होइन, अमीराको घरको नम्बरसमेत पत्ता लगाए । अमीराबारे सोधखोज गर्ने अरु कोही थिएन, अहिलेका चर्चित गायक दीपक वज्राचार्य थिए । दीपक त्यतिबेला यति नाउँ चलेका गायक बनिसकेका थिएनन् ।
गीतबाटै 'अमीरा' लार्इ अमर बनाएदिएका दीपक वज्राचार्य पत्नी अमीराबिना अाफूलार्इ अपूराे र अधूराे ठान्छन् ।
अमीरासँग दीपकको दिनदिनै फोनमा घण्टौं कुराकानी हुन थाल्यो । सुन्दरी ती ठिटालाई नदेखेरै प्रेममा परिन् । दीपकले उनको नाउँमा गीतसमेत बनाए र गीतले चर्चासमेत कमायो । फोनमार्फत मीठामीठा गीत सुनाउने र सुन्दर सपनाजस्तो कुरा गर्ने यो ठिटो वास्तवमा कस्तो होला भन्ने सोचले सुन्दरीको कल्पनामा विस्तारै राजकुमारको रुपमा बदलिंदै गयो । अन्त्यमा सुन्दरी र ठिटाबीच भेट भयो, बिहे भयो र कहानी सकियो । अझ भनौँ कहानीको ह्याप्पी इन्डिङ भयो ।
माथिका घटनाहरु प्रायः फिल्ममा दोहोरिरहने कहानीहरु हुन् । रिलमा हेरेर आनन्द लिने यस्ता कहानी कसैको रियल जिन्दगीमा पनि भयो भन्दा अचम्म मान्नुपर्दैन । चर्चित गायक दीपक बज्राचार्य र उनकी जीवनसंगिनी अमीराको प्रेमकहानी र जीवनकहानी फिल्मको भन्दा पनि रोचक छ ।
पहिलो भेटमै दीपकले अमिरालाई मन पराए र मनमनै अमीरा–अमीरा जपे तर अमीराले दीपकलाई याद गरिनन् । जप यहाँसम्म पुग्यो कि उनी घण्टौँसम्म फोनमै अमीरा भन्ने जो कोहीसँग पनि गफिन थाले । दीपकले हाँस्दै भने, ‘अमीराका तीन जना एकदमै मिल्ने साथीहरु थिए । उनीहरु पालैपालो मसँग अमीरा बनेर मसँग गफ गर्थे ।’
दीपक त्यति लाटा पनि थिएनन्, जो अमीरा र अरुको आवाज पत्ता लगाउन नसकून् तर उनी तिमी अमीरा होइनौ भन्ने वाक्य बोल्नै सकेनन्, कारण उनले अमीराको स्वर कस्तो छ, थाहै पाएका थिएनन् । संयोग पनि कस्तो, तीन जना केटी उनीसँग अमीरा बनेर गफ गरे पनि, अमीरासँग दीपकको कुरा बढी मिल्थ्यो, घण्टौंसम्म गफिन्थे र मनका कुरा साटासाट गर्थे ।
अमीरातिर हेर्दै दीपकले भने, ‘त्यस बेला जति लामो कुरा गरे पनि एक रुपैयाँ मात्रै काट्थ्यो, त्यसैले हामी यहाँसम्म आइपुग्नुमा नेपाल टेलिकमलाई धन्यवाद दिनैपर्छ । अहिलेजस्तो पैसा काट्थ्यो भने कि यो रिलेसन यहाँसम्म आइपुग्दैनथ्यो होला ।’
अमीरा पनि दीपकको कुरामा साथ दिन्थिन्, भनिन्, ‘हो नि है ! हामीले टेलिकमको पैसा कति धेरै मिसयुज गर्यौँ । हामीजस्तै अरु एकदुई जोडीले नै टेलिकमको भट्टा बसाएर सेकेन्डअनुसार पैसा लिन थालेको हुनुपर्छ ।’
यसपछि दुवै मुखामुख गरेर मज्जाले हाँसे ।
उनीहरु करिब एक वर्षसम्म फोनमै टेलिकमको सस्तो पैसामा गफ्फा मारिरहे र पछि भेट्ने डिसिजनमा पुगे । फोनमा मीठोमीठो कुरा गर्ने, नथिङ गन माई लभ, मोर देन आई से जस्ता लभ सङ सुनाउने दीपकलाई जब अमीराले देखिन्, उनी चूपचाप भइन् । लामो समयसम्म फोनमा बोल्ने दीपक र भेट्ने दीपक एकै हो वा होइन उनलाई खुट्याउनै मुस्किल पर्यो । किनभने दीपकको हुलिया असाधारण थियो ।
दुब्लो शरीर, लामो कपाल, धोक्रो बोराजस्तो पाइन्टमा डिङ्गो जुत्ता त्यो पनि कताकतादेखि तानतुन पारेर बाँधेकोजस्तो ! अहिले त्यो क्षण सम्झँदा अमीरालाई हाँसो उठ्छ । अहिले त हाम्रो समाजमा कपाल पालेको र मुन्द्रा लगाएको मानिसलाई राम्रो मान्दैनन् भने २५ वर्षअघिको स्थिति कस्तो थियो होला ? त्यसैले अमिरा फोनमा धेरै बात मार्थिन् तर भेटमा निकै कम बोल्थिन् । यति हुँदाहुँदै पनि सानासाना कुराले उनीहरु नजिक भए र पछि निकै मिल्ने साथीमा बदलिए । उनीहरु क्लब सँगै जान्थे, कतै कन्र्सटमा जानु परे बाइकपछाडि गीतार बोकेर अमीरा बस्थिन् । उनीहरुको दोस्ती गहिँरिदै जाँदा दीपकले अमिरालाई गज्जबको ‘सरप्राइज’ दिए । भ्यालेन्टाइन डेको दिन मिडियाबाट उनले ओ अमिरा... बोलको निकै प्रेमिल गीत रिलिज गरे र त्यै गीतले दीपकलाई नसोचेको सफलता दिलायो ।
जब ओ अमीरा हिट भयो दीपकलाई एउटै प्रश्नले सताउन थाल्यो, को हो अमिरा ? उनले धेरैलाई अमीरा माई ड्रिम गर्ल भन्दै उत्तर दिए । थाहा नहुनेलाई त ठीकै थियो तर अमीरा र दीपकको सम्बन्ध उनका साथी र परिवारबाट लुक्न सकेन । अमीराको घरमा छोरीको खुलेआम नामसहित प्रेम ओकलिरहेको देख्न सजिलो थिएन र एकप्रकारको दबाब दुवैका परिवारमा हुन थाल्यो ।
दीपक बज्राचार्य र अमीरा श्रेष्ठ, दुवै नेवार भए पनि दीपक बौद्ध धर्मावलम्बी थिए भने अमीरा हिन्दु । उनी उनीहरुले आफ्नो हठ छाडेनन् र परिवार राजी हुनैपर्ने बनाए । उनीहरुको ब्यान्ड बाजामा ओ अमीरा गीत बजाउँदै धुमधामसँग वि.सं. २०५५ वैशाख ४ गते उनीहरुको बिहे भयो ।
जब बिहेको कुरा पक्का भयो, अमीराले पियानो बनाउन सिक्न थालिन् । ‘अमीराले मेरालागि पियानो सिक्दैछिन् भन्ने थाहा पाएपछि त म उनीप्रति अझ बढी नतमस्तक भएँ,’ दीपकले भने । संगीतमा खासै रुचि नभएकी एउटी केटी आफ्नो श्रीमान संगीतप्रति हुरुक्क छन्, यस्तोमा संगीतको सामान्य ज्ञान पनि नभए पछि सम्बन्ध बिग्रेला कि भन्ने अमीराको धारणा थियो । उनी दीपकसँग कुनै पनि हालतमा टाढिन चाहन्न थिइन् । पछि पछि त दीपकसँग गीतार बजाउनसमेत सिक्न थालिन् । त्यसैले पनि दीपकका लागि अमीरा ड्रिम गःल बन्न सकिन् ।
बिहेको दिन अमीराको परिवारले कपाल काटिदिनुप¥यो भनेर आग्रह गरेका थिए । ‘केटी मलाई दिएको कि मेरो कपाललाई ?’ दीपकले उल्टै अप्ठेरोमा पारिदिए ससुरालीलाई । ‘पहिला म असामाजिक थिएँ, अहिले म असल पति बन्ने प्रयास गर्दैछु,’ दीपक पुराना कुरा सम्झँदै भन्छन्, ‘अमीराले मलाई सामाजिक बनाइन् । यो हो प्रेमको शक्ति !’
उनले थपे, ‘अमीराले मेरा लागि धेरै गरेकी छन्, त्यसको बदलामा मैले पनि राम्रो पिता बन्ने, राम्रो पति बन्ने कोसिस गर्न कुनै कसर बाँकी राखेको छैन ।’
अहिले उनीहरुका दुई मायाका टुक्राहरु छन्, छोरी जेनीसा र छोरा डिएन । अमीरा बिहानै सासुसँगै फरिया लगाएर पूजा गर्न पनि भ्याउँछिन्, बच्चाहरुसँग क्यारम बोर्डमा औंला नचाउन पनि भ्याउँछिन् अनि साँझ जिन्स झल्काउँदै दीपकसँग नाइट क्लब जान पनि भ्याउँछिन् । दीपकले ईष्र्यालु तरिकाले भने, ‘भान्जाभान्जी आउँछन्, माइजूलाई नै खोज्छन्, दिदीबहिनी आउँछन्, बुहारी खै भन्छन्, घरमा आमाबुबासमेत अमीराकै बोलीमा लोली मिलाउँछन्, म त सधैँ छायामा पर्छु ।’
तर दीपक यसमा खुसी छन्, आफ्नो मायाले परिवारै ढाक्नु उनी कम्ता भाग्यमानी व्यक्ति होइनन् । त्यसैले त भन्छन्, ‘मेरो ड्रिम गःलजस्तै छिन्, अमीरा ।’
उनीहरु कहिल्यै पार्क घुम्न गएनन् । लभ बर्ड हुँदै डेटमा गएनन् तर पनि सधैं नयाँजस्तो, सधैं हिजोमात्रै देखेकी, हिजोमात्रै भेटिएका प्रेमी–प्रेमिकाजस्तो लाग्छ रे ! कहिलेकाहीँ बच्चाबच्ची हलक्क हुर्केको देख्दा चाहिँ समय लामो बितिसक्यो जस्तो अनुभूत गराउँछन् । ‘जब हामी मात्रै आउटिङ जान्छौं, हिजो मात्रै भेट भएजस्तो लाग्छ,’ दीपकले उत्साही हुँदै भने । यही कुरामा अमीरा होमा हो मिलाउँदै थिइन् ।
दीपक पहिले निकै रिसाउँथे, आफैँले गल्ती गरे पनि सरी भनेर इगोलाई ठेस पु¥याउन चाहँदैनथे तर हिजोआज रिसलाई दीपकले पचाउन थालेका छन् । सरी भने अमीराले नै भन्नुपर्छ । उनले हाँस्दै भनिन्, ‘यत्तिका लामो समयसम्म संगत गरेपछि उहाँको बानी मलाई थाहा भैसक्यो । गल्ती नभए पनि सरी भनेपछि कुरा मिलिहाल्छ, जति वेट गरे पनि उताबाट सरी आउनेवाला छैन ! त्यसैले आफैँले सरी भनिदिन्छु ।’ दीपकले पनि यो कुरा स्वीकार गरे ।
दीपकलाई अमीराको सबैथोक मन पर्छ तर के कुरा मन पर्दैन ? ‘सबै बानी राम्रो छ तर टाइममा कहिल्यै पङ्चुअल छैन,’ दीपकको गुनासो छ, ‘मलाई टाइम भनेपछि टाइममै हुनुपर्छ । ढिला गर्ने बानी मन पर्दैन ।’ दीपकले यो पनि के स्वीकारे भने, ‘अब यति लामो समयसम्म सुध्रन नसकेको बानी आउने दिनमा पनि सुध्रने छैन भन्ने थाहा भैसक्यो, त्यसैले केहीबेर रिसाउँछु अनि सम्हालिन्छु ।’
दीपकको जिन्दगीमा अमीरा नामको निकै प्रभाव रहेछ । ‘ओ अमीरा’ बोलको गीत हिट नभएको भए उनी संगीतको दुनियाँमा आफ्नो नाम लेखाउन सक्ने थिएनन् र अमीरा उनको जिन्दगीमा नआएको भए उनीको जीवन आजको जति सुखी र खुसी पनि हुनसक्ने थिएन । त्यसैले उनी अमीरालाई ड्रिम गःल र अमीरा नामलाई नै ‘लक्की’ ठान्छन् ।
जोडी भगवानले बनाएर पठाउँछन्, त्यस्तै दीपक र अमीरा पनि आफूहरुलाई भगवानले बनाएको जोडी मान्छन् । नत्र जोडी टुक्रने कैयन् अवस्था र मौकालाई माथ दिँदै यो सुन्दर जोडी आज यति धेरै सुखी र खुसी हुँदैनथ्यो होला भन्ने उनीहरुको बुझाइ छ ।
(नागरिक परिवारबाट साभार)
प्रकाशित: ९ मंसिर २०७४ १०:१४ शनिबार





