२८ पुस २०८१ आइतबार
image/svg+xml
अन्य

मुहार फेर्दै सताक्षीधाम

अनिल यादव

खोलाको चिसो हावा । चारैतिर हरियाली । छेउछाउमा मठमन्दिर । मनमोहक झरना । अनि त्यसको छङछङ आवाज । गर्मीका लागि प्रख्यात तराईमा यस्तो वातावरण कमै भेटिन्छ । तर झापाको झिलझिलेबाट पाँच किलोमिटर उत्तर बाक्लो जंगलको बीचमा रहेको सताक्षीधाममा यो वातावरण सधैँ भेटिन्छ । सताक्षीधामलाई ऐतिहासिक तथा पुरातात्विक महŒव बोकेको धार्मिक एवं पर्यटकीय स्थल मानिन्छ । प्रचारप्रसार र विकासको गतिमा अरु धामभन्दा पछाडि रहे पनि यसले विस्तारै आफ्नो मुहार फेर्दैछ ।

यहाँका हरिया वन, प्राकृतिक गुफा, ढुङ्गा, मठमन्दिर, झरना आदिले यहाँ आउने धेरैको मन लोभ्याउँछ । ‘धर्म गर्न आउनेका लागि यहाँ धार्मिक मान्यता र वातावरण छ भने घुम्न आउनेका लागि पनि घुम्ने वातावरण छ,’ सताक्षीधाम मन्दिर विकास समितिका अध्यक्ष प्रसाद सुब्बा भन्छन्, ‘त्यसैले यो धाम धेरैका लागि उत्तम विकल्प हो । ’

यस्तो छ किम्वदन्ती
सताक्षीधामसँग जोडिएका थुप्रै किम्वदन्तीहरु छन् । पूर्व सांसद समेत रहेका सताक्षीधाम मन्दिर विकास समितिका संस्थापक अध्यक्ष तारासम यङयाका अनुसार पौराणिक कालमा ऋषिमुनिहरुले तपस्या गरेको तपोभूमिका रुपमा सताक्षीधाम प्रख्यात छ । त्यसो त दुर्गा सप्तशती चण्डीको ११ औं अध्यायका ४७ औं श्लोकको वाक्यांशमा सताक्षीदेवीको नाम र उनको वाणी नै पढ्न पाइन्छ । त्यस्तै महाभारतको १८ पर्वमा उल्लेख भए अनुसार पाँच पाण्डवहरु १२ वर्षसम्म वनवास बसी १ वर्ष गुप्तवास बस्नलाई विराट राजाको दरबार विराटनगर जाँदा अर्जुनले आफ्नो गान्धिव धनु र शस्त्रअस्त्रहरु राम्रो कपडामा बाँधी सताक्षीधाम आसपास एउटा समीको रुखमा लुकाएर राखेको भन्ने कुरा ‘वन पर्व’मा उल्लेख छ । गुप्तवासका बेला पाँच पाण्डव सताक्षीधाममा समेत बसेको किम्वदन्ती छ ।

के–के छ धाममा ?
धाममा दिगम्बेश्वर महादेवको ठूलो मन्दिरसँगै अन्य स–साना थुप्रै मठमन्दिर छन् । दिगम्बेश्वर मन्दिरभित्र विराट स्वरुपको घाँटीमा गोमन सर्पले बेरिएको दिगम्बेश्वर देवादिदेवको मूर्ति राखिएको छ । अहिले त सताक्षी माताको सुन्दर मन्दिर पनि निर्माण भएको छ । राजमार्गबाट सताक्षीधामको मन्दिरसम्म आइपुग्न पाँच किलोमिटर लागे पनि त्यहाँबाट एक किलोमिटर उत्तरमा रहेको शिवपार्वती झरनासम्म पुग्न भने नदीको तिरैतिरबाट हिँड्नुपर्छ । यस झरनालाई आकाश गंगा पनि भन्ने गरिन्छ । झरनासम्म पुग्ने क्रममा पाण्डव बगैँचा भेटिन्छ । जहाँ सुपारी, आँप लगायतका बिरुवा देख्न सकिन्छ जसलाई पाण्डवहरुको समयको मानिन्छ ।

द्रौपदी रानी बिरामी हुँदा औषधि पानी खुवाएर जाति भएको मानिने वीरेनून पानीको गन्धक बास्ना आउने कुण्ड पनि छ । खोलैखोला हिँड्दै जाँदा द्रौपदीको स्नान तलाउ देख्न सकिन्छ, जसलाई शिवपार्वती विश्राम स्थल पनि भनिन्छ । तलाउभन्दा अलिकति अगाडि शक्ति पाण्डव गुफा भेटिन्छ, जहाँ पत्थर चट्टानमा नागहरुको आभूषणयुक्त गाईको दुध झरिरहेकोजस्तो आकृति देखिन्छ । यो गुफामा पुगेर भक्तजनहरुले चन्दन, अक्षता, फूल र दान राखी पूजासमेत गर्ने गर्छन् । त्यसपछि सिद्धेश्वर शिव गुफा हुँदै शिव झरनासम्म पुगिन्छ । जहाँ तीर्थयात्रीहरु स्नान गर्ने गर्छन् । यसको उत्तरी भागमा सानो तलाउ र निर्मल झरनाको छाँगो छ । त्यहाँ उभिएर एक सय फिटमाथिबाट सिधा खसिरहेको पानीलाई नियाल्दा जो कोहीको मन बहलिन्छ । यस झरनाले पथिकलाई बेग्लै संसारमा पुगेको अनुभूत गराउँछ ।

के–के बन्यो ?
प्राकृतिक कुराहरु त छँदैछन् धामलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न पनि धाम समिति अग्रसर हुँदैछ । विश्रामालय, बुद्ध पार्क, अतिथि गृह बनेको धेरै भएको छैन । अहिले त वेदशाला पनि खुलेको छ, जहाँ वेद पढाइन्छ । भारतको दिल्लीमा गौशाला सञ्चालन गरिरहेका गौभक्त नन्द किशोर भारद्वाज (महाराज)ले यहाँ गौशाला नै सञ्चालन गरेका छन् । ‘नेपालमा गौ हत्या भइरहेको थाहा पाएपछि गौको संरक्षण सम्वद्र्धन गर्न भनी दुई वर्षअघि यहाँ आएको हुँ,’ उनले भने, ‘मैले मसँगै कृष्ण भगवानले सेवा गरेको प्रजातिका केही गाईहरु समेत भारतबाट लिएर आएको छु ।’ धाममा वेदशाला पनि उनकै संयोजनमा खोलिएको हो । उनले त्यहाँ भर्खरै द्वादश ज्योतिर्लिङ्ग मन्दिर पनि बनाएका छन् । गौ चिकित्शालय पनि खोलेका छन् । गौशालामा नौ जना कर्मचारी गौ सेवकका रुपमा राखिएका छन् । हाल करिब दुई सय गाई गौशालामा रहेको धाम समितिका अध्यक्ष सुब्बाले बताए । ‘गौशालाको मात्र दैनिक खर्च ८ हजारदेखि ११ हजारसम्म छ । आफूले पालेको गाई बूढो भएपछि त्यत्तिकै छोड्नुभन्दा यहाँ ल्याएर छाड्ने मान्छेहरु बढिरहेका छन् ।’

केही वर्षपछि धामको मुहार पूरै फेरिनेमा अध्यक्ष सुब्बा विश्वस्त छन् । वर्षमा दुईपल्ट बालाचर्तुदशी र माघे संक्रान्तिका बेला यहाँ ठूलो धार्मिक मेला लाग्ने गर्छ । हजारौंको संख्यामा तीर्थालुहरु आउने गर्छन् ।  धाम पिकनिक स्पटका लागि पनि प्रख्यात छ ।

यहाँ घुम्न आउनेहरुलाई टार्गेट गरेर फूल बगैँचा पनि बन्दैछ । यहाँको बुद्ध पार्क धुपी लगायत विभिन्न प्रजातिका एक हजार विरुवा रोपिएका छन् । ‘हेर्दै जानुहोला, यी विरुवा ठूला भएपछि यहाँको मुहार नै फेरिन्छ,’ उनी आत्मविश्वाससाथ प्रस्तुत भए ।

कसरी पुग्ने ?
झिलझिले महेन्द्र राजमार्गमा पर्ने भएकाले यहाँसम्म आइपुग्नलाई गाह्रो छैन । यहाँबाट पाँच किलोमिटर उत्तर जंगलमा पर्ने सताक्षीधाम पुग्नका लागि गाडीको व्यवस्था गर्नुपर्ने हुन्छ । अहिले त सिटी सफारी र ट्याक्सी खुब गुड्न थालेको  छ । धाम पुग्न गाडीमा १५–२० मिनेटको समय लाग्छ ।   

किन घुम्ने ?
प्रसाद सुब्बा,
अध्यक्ष, सताक्षीधाम मन्दिर विकास समिति

पहिलो त सताक्षीधाम ऐतिहासिक धार्मिक स्थल हो । प्राकृतिकि सौन्दर्यले यो भरिपूर्ण छ । यसले आफ्नैखाले मौलिकता बोकेको छ । यहाँ सनातन संस्कृति पाइन्छ । गर्मीमा शितल मात्र खोज्नेका लागि पनि यो उत्तम गन्तव्य हुनसक्छ ।

 

प्रकाशित: १३ कार्तिक २०७४ ०७:५४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App