१५ आश्विन २०७७ बिहीबार
अन्य

वृद्धवृद्धाको घर ‘केयर होम’

७८ वर्षीया अम्बिका श्रेष्ठ आठ महिनादेखि बसुन्धाराको अर्किड केयर होममा बस्दै आएकी छिन् । उनको काठमाडौंको धोबीचौरमा माइती र चावहिलमा घर छ । उनका चार छोरामध्ये दुई चावहिलमै बस्छन् भने दुई विदेशमा छन् । आठ महिनाअघि स्ट्रोक आएर नर्भिक अस्पतालमा २५ दिन भर्ना भएकी थिइन् । त्यसपछि उनलाई छोराले केयर होममा ल्याएर राखिदिए । उनको ज्यान शिथिल भइसक्यो तर पनि अनुहारमा बेग्लै चमक छ । उनी राम्रोसँग बोल्न सक्दिनन् । तर, बोल्न रुचाइरहन्छिन्, हाँसिरहन्छिन् । व्यायाम पनि गर्छिन् । उनको शरीर केयर होमको बेडमै बिलाए जस्तो देखिन्छ । ‘छोराबुहारी कहिलेकाँही भेट्न आउँछन् तर पनि केयर होम नै आफ्नो घर जस्तो लाग्छ,’ अस्पष्ट लवजमा मुस्काउँदै उनले भनिन् ।

बसुन्धारास्थित अर्किड केयर होममा ४२ वृद्धवृद्धा छन् जसलाई आफ्नो घरमा भन्दा राम्रो केयर पाएजस्तो अनुभव हुन्छ । आठ वर्षअगाडि एक जनालाई स्याहार गरेर केयर होम सञ्चालनमा ल्याएकी जनकपुरकी यमुना कटुवाल अहिले आफ्नो टिमसँग ४२ जना बुबाआमाको हेरचाह गरेर बस्छिन् ।

त्यस्तै ७९ वर्षका तीर्थबहादुर श्रेष्ठ पाँच महिनादेखि यही केयर होमको बेडमा पल्टिरहेका छन् । नक्साल घर भएका उनी पहिला स्कुलका प्रिन्सिपल थिए । कोही उनलाई भेट्न आउँदा उनी अस्पष्ट लवजमा अंग्रेजीमै बोल्छन् । अम्बिका जस्तै उनी पनि राम्रोसँग बोल्न सक्दैनन् । स्ट्रोकले थलिएपछि उनको यो हालत भएको हो । उनका ६ छोरी आफ्नै गृहस्थीमा व्यस्त छन् । छोरा भने विदेशमै बस्छन् । छोरीहरू बेलाबेला भेट्न आउने उनी बताउँछिन् ।

केयर होममा बस्दै आएकी अर्की महिला हुन्, काठमाडौकी दनमाया महर्जन । उनका हातखुट्टा चल्दैनन्, उठ्न–बस्न अरुको सहारा चाहिन्छ । तर पनि उनको मुहारमा बेग्लै तेज छ । काठमाडौंको हनुमानढोकास्थित गणेशस्थानमा उनको घर छ । उनका छोराछोरी अमेरिकामा बस्छन् । कहिलेकाँही आफन्त आउँछन् र उनको मन बहलाउँछन् । तर पनि उनलाई केयर होम आफ्नै घर जस्तै लाग्छ । आफूजस्तै अरु वृद्धवृद्धा देखेर उनमा हौसला आउँछ ।

बसुन्धारास्थित अर्किड केयर होममा ४२ वृद्धवृद्धा छन् जसलाई आफ्नो घरमा भन्दा राम्रो केयर पाएजस्तो अनुभव हुन्छ । आठ वर्षअगाडि एक जनालाई स्याहार गरेर केयर होम सञ्चालनमा ल्याएकी जनकपुरकी यमुना कटुवाल अहिले आफ्नो टिमसँग ४२ जना बुबाआमाको हेरचाह गरेर बस्छिन् । ‘अहिलेको समाजमा चाहँदाचाहँदै पनि वृद्ध भइसकेका आमाबुबाको हेरचाह गर्न नसक्ने हुन्छन् उहाँहरूका लागि मैले यो सञ्चालन गरेकी हुँ,’ उनी भन्छिन्, ‘सबै बुबाआमाका छोराछोरी आउनुहुन्छ, भेट्नुहुन्छ र राम्रोसँग हेरचाह गरेकोमा धन्यवाद पनि दिनुहुन्छ ।’ अर्किड केयर होममा अल्जाइमर, डिमेन्सिया, स्ट्रोक र धेरै वर्ष भइसकेका वृद्धवृद्धा बसिरहेका छन् ।

‘कहिलेकाँही बुबाआमा बिरामी पर्दा ओम अस्पताल लैजाने गरेका छौँ,’ यमुनाले भनिन् । अर्किडमा हेरचाह गरेअनुसारको प्रतिदिन एक हजार तीन सय ९५ रूपैयाँदेखि दुई हजार ९५ रूपैयाँसम्म तिर्नुपर्छ । सोही अनुसार बिरामीको खाना, डाइट, सरसफाइमा विशेष ध्यान दिएको यमुनाले बताइन् । यसमा जनरल फिजिसियनको चार्ज पनि समावेश हुन्छ । आवश्यकता अनुसाको थेरापी पनि गराइन्छ । ‘सबै बुबाआमालाई रोग अनुसार खाना, औषधी समय समयमा दिने गरेका छौँ,’ उनले भनिन् । यहाँको वातावरण निकै राम्रो भएको त्यहाँ बस्ने बुबाआमा समेत बताउँछन् ।

सिंगापुर पुलिसमा ३५ वर्ष काम गरेका चन्द्रबहादुर गुरुङ अहिले प्यारालाइज्ड भएर केयर होममै बसेका छन् । उनलाई मानिस भेट्न आउँदा औधी खुसी लाग्छ । उनको लवज पनि स्पष्ट छैन । तर जब उनी गीत गुनगुनाउँछन्, उनी निकै खुसी हुन्छन् र आवाज अस्पष्ट सुनिन्छ । अस्पष्ट आवाजमै उनी किशोर कुमारको गीत गुनगुनाउँछन् ः

ये शाम मस्तानी मदहोश किए जाए

मुझे डोर कोइ खिँचे तेरी और लिए जाए

भेट्न जानेले ताली बजाएपछि दंग पर्दै उनले अर्को गीत गुनगुनाए

कभी कभी मेरे दिलमेँ खयाल आता है

के जेसै तुझको बनाया गया है मेरे लिए ।

उनी कहिले अर्किडमा बस्छन् त कहिले ललितपुर नखिपोटस्थित आफ्नै घरमा । उनकी एक छोरी छन् ।

अहिले हाम्रो समाज एकदमै एडभान्स भइसकेको छ । सबैजना आफ्नो काम, व्यापार र व्यवसायमा व्यस्त छन् । चाहँदाचाहँदै पनि आफ्नो आमाबाबुको हेरचाह गर्न असमर्थ छन् आजकलका नयाँ पुस्ता । त्यस पुस्तालाई यस्तो केयर होमले धेरै मद्दत गरेको छ । आठ वर्षअघि यमुनाले केयर होम सञ्चालन गर्दा अवस्था फरक थियो । धेरैले नकारात्मक दृष्टिले हेर्ने गरेको अझै उनलाई स्मरण छ । अहिले भने त्यो अवस्थामा परिवर्तन आएको उनले अनुभव गरेकी छन् । ‘मान्छेले संसारका विभिन्न कुना घुमेका छन् र यसरी केयर होममा आमाबुबालाई राख्नु गलत होइन रहेछ भन्ने बुझिसकेका छन्,’ उनी भन्छिन्, ‘बिस्तारै उमेर पुगिसकेका बुबाआमालाई पनि त्यो अनुभव हुन थालिसेको छ ।’

६७ वर्ष पुगेकी सोनम लामा, प्यारालाइसिस भएर यहाँ तीन महिनाअघि आएकी थिइन् । ‘मेरा छोराछोरी व्यस्त छन् विदेशको नर्सिङ होममा काम गर्छन् । तर, मलाई यहाँ एकदमै राम्रो छ,’ उनी भन्छिन् । उनका छोरा केयर लण्डनको केयर होममै काम गर्छन् भने छोरी अस्पतालमा । आफै स्टाफ नर्स भएर काम गरेकी उनलाई अहिले नर्सहरूले आफूलाई रेखदेख गरेको देख्दा भावुक हुन्छिन् । उनलाई नर्स देख्दा आफ्नै छोरी जस्तै लाग्छ । साथै उनलाई खुसी पनि लाग्छ । आफ्नो आफन्तसँग टाढा भए पनि अर्किड केयर होममा निकै राम्रो वातावरण भएको उनी बताउँछिन् । कान्छी छोरी उनलाई भेट्न आइरहन्छिन् । बुढानिलकण्ठमा २८ वर्ष स्कुल नर्स भएर पनि काम गरिन् उनले । धेरै सुधार भएको उनले अनुभव गरेकी छन् ।

जवानीमा सिंगापुर पुलिसमै काम गरेका खेमबहादुर थापामगर पनि पनि केयर होममै बस्दै आएका छन् । उनलाई डिमेन्सिया भएको छ । उनलाई कति वर्ष सिंगापुर बसेको पनि याद छैन । उनलाई काठमाडौं बस्न मन छैन । उनलाई दुबईमा गएर सेक्युरिटी गार्डको काम गर्न मन छ । म्यानपावरबाट दुबई लैजान आएको भन्नेबित्तिकै उनी उत्साहित भएर बोल्न थाले । उनी अर्किड केयर होमलाई नै आफ्नो घर हो भन्छन् । उनको एक छोरी अमेरिकामा बस्छिन् ।

प्रकाशित: १७ भाद्र २०७४ ०९:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App