४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

रौनक मैथिली रंगमञ्चको

घिमिरे युवराज

 नेपालमा रंगमञ्चनको इतिहास र परम्परालाई हेर्दा मैथिली रंगमञ्च निकै समृद्ध देखिन्छ। सांस्कृतिक रंगमञ्च परम्परा तथा लोकनाट्य मात्रै होइन, नाटकको लिखित परम्परामा पनि मैथिली नाटक निकै अगाडि देखिन्छ। कवि शेखराचार्य ज्योतिरीश्वर ठाकुर (ई. १२८०–१३४०)को धूर्तसमागमर, विद्यापतिको गोरक्षविजय मैथिली रंगमञ्चका सबैभन्दा पुराना लिखित नाटकमध्येमा पर्छन्। मल्लकालमा मैथिली भाषाका नाटक मञ्चन र लेखनको परम्परा निकै व्यापक देखिन्छ। मिथिलाको स्थापित भाषालाई मल्लशासन व्यवस्थामा संस्कृतभाषा जत्तिकै अदालतमा पनि मान्यता दिइएको पाइन्छ। र, धेरै मैथिली ब्राह्मणलाई मल्ल राजाहरूले काठमाडौं बोलाए। अन्य धेरै परिवारहरू मल्लकालमा मिथिलाबाट काठमाडौंमा बसाइँ सरेको पाइन्छ।   यससँगै तत्कालीन साहित्य र कलामा मैथिली भाषाको ठूलो प्रभाव परेको देखिन्छ। त्यस बखत मल्ल राजाहरूले आफैँ नाटक लेख्ने र खेल्ने गरेको पाइन्छ।

राजा जनकले शासन गरेको, पौराणिक पात्र सीताको उदय भएको, विद्यापति, गोनु झा, गार्गी जस्ता पात्रहरूले सम्पन्न बनाएको यस समाज र संस्कृति नेपालको साहित्य र नाट्य परम्पराभित्र राखेर हेर्दा गौरव अनुभूत हुन्छ।

तत्कालीन समयमा खासगरी १५औँ शताब्दीको हाराहारीमा संस्कृत नाटक आममानिसका लागि सहज नभएको र मैथिली भाषा लोक जीवनमा सहज भएकाले मैथिली भाषामा नाटक लेखन सुरु भएको मानिन्छ (मल्लकालीन मैथिली नाटक :  डा. चन्देश्वर शाह)। लोक जनजीवनबाट आएको मैथिली नाट्य परम्परा कीर्तनियालाई निकै प्रसिद्ध शैली मानिन्छ। मैथिली लोक नृत्यहरू र लोक संस्कृति पनि आधुनिक मैथिली रंगमञ्चका अभिन्न पाटा हुन्। यसैको आधारशिलामा मैथिली आधुनिक रंगमञ्च बाँचेको छ। भारतमा ठूलो संख्यामा रहेको मैथिली समुदाय र नेपालमा पनि बोलीचोलीका हिसाबले दोस्रो ठूलो जनसंख्या भएको मैथिली भाषा निकै समृद्ध छ। रोचक कुरा नेपालमा लेखिएको आजसम्म फेला परेको सबैभन्दा पुरानो नाटकको नाम हो …धूर्त समागम', जुन मैथिली भाषामा लेखिएको थियो। र, त्यतिखेर दरबारमा मञ्चन पनि भएको थियो। त्यसैले पनि नेपाली रंगमञ्चको इतिहासको कुरा गर्दा नेपाली भाषाको परिधिबाट निस्किएर नेपालभित्र बोलिने भाषा र यहाँ प्रचलित संस्कृतिलाई आधार मान्नुपर्ने हुन्छ। धीरेन्द्र प्रेमर्षिले आफ्नो आलेख ('मैथिली नाटक तथा रंगमञ्च)मा मैथिली नाट्य परम्पराको अभ्यासलाई यसरी अभिव्यक्त गरेका छन्– शास्त्रीय रूपमा मैथिली नाटक राजदरबारहरूमा लेखिने र मञ्चन हुने भइरह्यो भने लोकजीवनमा लोकनाट्यको रूपमा प्राचीन कालदेखि नै मैथिली नाटक अस्तित्ववान रहेको थियो। राजदरबारभन्दा बाहिर स्वतन्त्र रूपले ग्रामीण क्षेत्रमा नृत्य एवं अभिनयको परम्परा रहेको कुरा ज्योतिरीश्वरको वर्णरत्नाकरमा उल्लेख भएको पाइन्छ। लोकगाथा तथा लोकनाट्यका रूपमा जीवित यस्ता परम्पराले मैथिली नाट्यसाहित्यलाई सदा उर्वर बनाइरहन ठोस योगदान पुर्‍याएका छन्।  राजा जनकले शासन गरेको, पौराणिक पात्र सीताको उदय भएको, विद्यापति, गोनु झा, गार्गी जस्ता पात्रहरूले सम्पन्न बनाएको यस समाज र संस्कृति नेपालको साहित्य र नाट्य परम्पराभित्र राखेर हेर्दा गौरव अनुभूत हुन्छ। हरेक समाजका आफ्नै सांस्कृतिक परम्परा, लोककथा, नाच र मिथक छन्। तर भाषाको कुरा मात्रै होइन, मैथिली समाजबाट आएका पात्रले सम्पूर्ण नेपाली समाजलाई गौरवान्वित बनाएको छ। राजा जनक वा सीताको कथा वा गोनु झाको कथा मैथिली भाषामा मात्रै आएर पुग्ने कुरा होइन। यो त नेपालभित्र नेपाली भाषा र अन्य भाषाभाषीलाई पनि सम्पन्न बनाउने हाम्रो माटोको मिथक हो। आज नेपालमा नेपाली भाषा राष्ट्रिय भाषाका रूपमा छ। यसको आफ्नै इतिहास छ। तर लामो निरंकुश शासन प्रणालीका कारणले मैथिली र नेपालका अन्य समृद्ध भाषा र संस्कृति नेपाली शब्दभित्र नसमेटिएको आभास हुन्थ्यो। अहिले आएर बुझ्दा धेरै भाषाभाषी संस्कृति र लोक नाट्यको विविधताले त्यस ठाउँको रंगमञ्चलाई सम्पन्न बनाउने रहेछ। खासमा त्यस देशलाई सम्पन्न बनाउने रहेछ। संसारभरिको साहित्य र रंगमञ्चको इतिहास परम्परा वा आधुनिक युगलाई हेर्दा पनि प्रसिद्ध कृतिहरू लेखकले आफ्नो मातृभाषामा लेखेर पछि मात्रै अंग्रेजीमा अन्य भाषामा अनुदित भएका छन्। तिनै स्थानीय विशेषभाषाका बलिया कृति नै आज संसारभरि प्रसिद्ध छन्। युरोपका धेरै देशहरूमा राज्यले आफ्नो भाषालाई ठूलो मान्यता दिएको पाइन्छ। र संसार प्रसिद्ध साहित्य तत्कालै स्थानीय भाषाहरूमा अनुदिन हुने गरेका छन्। युरोका धेरै देशजस्तै नर्वे, डेनमार्क, स्विडेनमा विश्वप्रसिद्ध फिल्म नर्वेजियन, डेनिस, स्विडिस भाषामा डबिड भएर वा सब टाइटल राखेर आउँछन्। चीन वा बर्मामा त्यही हुन्छ। आजको बर्माले त हरेक प्रसिद्ध साहित्य स्थानीय भाषामा अनुवाद गरेका छन्। फिल्ममा पनि त्यही भइरहेको छ। भारतका बहुल भाषाहरूको विकासमा त्यहाँको साहित्य र कलाले ठूलो भूमिका खेलेको देखिन्छ। नेपालमा नेपालीपछि ज्यादा बोलिने मैथिली भाषासँग अरु भाषाको सहकार्य गर्न सकेदेखि हाम्रो समाजले अझै लाभ गर्ने थियो भन्ने मेरो धारणा हो। 

०००

मैथिली रंगमञ्चसँगको मेरो सम्बन्धको कुरा गर्दा मिथिला नाट्यकला परिषद्सँग जोडिन्छ। मैथिली भाषाको आन्दोलनमा ठूलो भूमिका खेलेको मिथिला नाट्यकला परिषद् तीसको दशकदेखि आजसम्म निरन्तर रूपमा रंगमञ्चमा छ। मैथिली नाटक उत्पादन र मञ्चनले मैथिली भाषा र संस्कृतिलाई निकै समृद्ध बनाएको छ। आज नेपाली रंगमञ्चको इतिहास र वर्तमान धरातल निर्माणमा मिथिला नाट्यकला परिषद्को ठूलो भूमिका देख्छु म। बहुल संस्कृति र बहुल सभ्यता भएको देश भनेर चिनिए पनि धन्न मैथिली र नेवारी कलाले आजको आधुनिक नेपाली रंगमञ्चको इज्जत धानेको छ। नत्र त्यो बहुलता रंगमञ्चमा अरु भाषाभाषीबाट पाइएको छैन। पछिल्लोपटक तामाङ भाषाको रंगमञ्चमा केही काम भएका छन्। 

मिथिला नाट्यकला परिषद् (मिनाप) ०३६ कात्तिक १९ गते स्थापना भएको हो। नाट्य संस्थाहरूको स्थापना वर्षदेखि वर्तमानसम्म निरन्तर कार्य गरिरहेको नेपालकै जेठो नाट्य संस्था बन्ने सौभाग्य यस मिनापले पाएको छ। मैथिली कला–साहित्य, संस्कृतिको संरक्षण र संवर्द्धनको उद्देश्यले स्थापना भएको यो संस्थाले दृश्यकाव्यका माध्यमले कार्य आरम्भ गरे पनि यसले सांस्कृतिक कार्यक्रम तथा साहित्य प्रकाशनलाई पनि समानान्तर रूपमा अगाडि बढाउँदै आएको छ। मिथिला क्षेत्रमा मैथिली कला साहित्यको क्षेत्रमा काम गर्ने अग्रणी संस्थाको रूपमा मिनापलाई लिइन्छ।  आमनेपाली समाजले झैँ मैथिली रंगमञ्चले पनि तत्कालीन पञ्चायती व्यवस्थालाई झेल्दै संघर्ष गर्दै आयो। स्थापनाकालमा पञ्चायती व्यवस्थाका कारण प्रदर्शनात्मक कार्यक्रमलाई संशोधन गर्नुपर्थ्यो। मैथिली गीत, संगीत र नाटकलाई जनस्तरसम्म पुर्‍याउने कार्य गरी मिथिला र मैथिलीको पर्यायको रूपमा यो संस्थाले काम गर्‍यो। त्यसबेला हिन्दी र पारसी थिएटरको प्रभाव गाउँगाउँमा परेको थियो। मैथिली भाषामा नाटक तथा सांस्कृतिक कार्यक्रम गर्ने अभियान नै भयो। त्यति मात्र होइन, गाउँगाउँका समूहलाई नाटक विधामा प्रशिक्षण दिने काम गर्‍यो। मैथिली भाषामा नाटक लेखनको अभाव भएकाले त्यहाँका साहित्यकारले नाटक, गीत तथा कविताको रचना गरी यस क्षेत्रको मागलाई पूरा गरेको थियो। त्यसताका मिनापले चलाएको सांस्कृतिक झाँकी, रेली, समकालीन मुद्दाकेन्द्रित नाटक, सांस्कृतिक कार्यक्रम, साहित्य प्रकाशन, मासिक कविगोष्ठी, मासिक नाट्य प्रदर्शनजस्ता क्रियाकलापले यस क्षेत्रमा एक प्रकारले सांस्कृतिक लहर चलेको थियो। सुदर्शनलाल कर्ण, योगेन्द्रप्रसाद साह, महेन्द्र मलंगिया, महेशप्रसाद साह, सुनील मिश्र, रमेश रञ्जन, मदन ठाकुर, रामनारायण ठाकुर, सुनीलकुमार मल्लिक जस्ता दर्जनौँ नामले यस संस्थालाई जीवन्तता दिएका छन्। हिन्दी वा नेपाली भाषाको चेपबाट आफूलाई बचाउँदै मैथिली यहाँसम्म आइपुग्नुमा मिनाप वा योजस्तै अन्य धेरै साहित्यिक र कलाको अभियानलाई श्रेय जान्छ।

मैले मैथिली भाषाको सुगन्ध निकैपछि मात्रै पाएँ। मैले मिथिला नाट्यकला परिषद्को पहिलो नाटक तत्कालीन नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा हेर्ने मौका पाएको थिएँ, ओ खाली मुँह देखैछै, महेन्द्र मलंगियाको लेखन तथा निर्देशनमा मञ्चित यस नाटकले मलाई निकै आकर्षित गरेको थियो। खासगरी संवाद बोल्ने तरिका र कलाकारको हाउभाउ आकर्षणको प्रमुख कारण थियो। म गुरुकल नाट्यकेन्द्रमा रहँदा मिथिला नाट्यकला परिषद्सँग बारम्बार सम्पर्कमा रहेँ। गुरुकुल र विभिन्न जिल्लाका नाट्य समूहबीच सडक नाटक तथा कचहरी नाटकबीच लामो सहकार्य थियो। मिथिला नाट्यकला परिषद्ले पनि लामो समय कचहरी नाटकको मञ्चन गाउँगाउँमा गरिरहेेको थियो। यसैको अनुगमन तथा कार्यशालाको सिलसिलामा म ०५९, ०६०, ०६१ सालतिर बारम्बार जनकपुर र आसपासका जिल्ला गइरहन्थेँ। स्टेसन थियो, मिथिला नाट्यकला परिषद्। शिव चोकस्थित मिथिला नाट्यकला परिषद्को भेटघाट केन्द्रमा मैले जब तीनपुस्ते कलाकारको भीड देखेँ, मलाई मैथिली रंगमञ्चले झन् आकर्षित गर्‍यो। ६० वर्ष नाघेका महेन्द्र मलंगिया र उसको पुस्तादेखि १५, १६ वर्षका उनका नातिपुस्ताको ठूलो संख्या हरेक साँझ त्यहाँ जमघट हुन्थ्यो। मिनापले गरेको दर्जनौँ सडक र कचहरी नाटक मैले हेर्ने मौका पाएँ। मिनापको नाटकमा दर्शकको संख्या देखेर साँच्चै चकित परेँ। प्रत्येक नाटकमा हजार हाराहारीका दर्शक गोलो घेरामा देख्दा मैथिली नाटकप्रतिको आममैथिली समुदायको मोह स्पष्ट हुन्थ्यो। आज पनि आममैथिली समुदायमा नाटकप्रतिको मोह उस्तै छ। साठीको दशकमा भारतमा हुने नाट्य महोत्सवमा जाँदा पनि मैले मैथिली भाषाका केही राम्रा नाटक हेर्ने मौका पाएँ। गोनु झाका कथाहरू मैले दिल्लीमा किनेँ, विचित्रका पात्रसँग परिचित्र हुने सौभाग्य पाएँ। यसरी दर्शक र पाठकका रूपमा गाँसिएको मैथिली रंगमञ्चसँगको साइनो मेरै रंगमञ्च यात्रासम्म पनि जोडिन पुग्यो।  शिल्पी र मैथिली भाषा

०६३ मा गुरुकुलबाट अलग भए पनि हामी केही साथीहरू मिलेर शिल्पी थिएटरको स्थापना गर्‍यौँ। ०६४ मा हामीले मधेसमा नाट्य यात्रा गर्ने योजना बनायौँ। यो नाटक मेरा लागि धेरै हिसाबले महŒवपूर्ण थियो। एक त मेरो पहिलो निर्देशन थियो भने यसै नाटकमा तीन भाषाको प्रयोग गरिएको थियो– मैथिली, अवधि र नेपाली। नाटकमा कलाकारले आ–आफ्नो भाषामा बोल्थे। नाटकलाई एउटा मिश्रित समुदायको गाउँजस्तो देखाइएको थियो। नाटकमा संस्कृति पनि मिश्रित थियो। गीत तीनवटै भाषामा थिए। पूर्वीतराईका १२ जिल्लामा ३६ ठाउँमा देखाइएको यो नाटक निकै लोकप्रिय भयो। मलाई लाग्छ, यसको विशेष कारण भाषा र संस्कृतिको मिश्रण थियो। मधेस तपाईं नामको यो नाटकले सबै जाति र समुदायबीच सामाजिक सद्भावको कुरा गर्थ्यो। मिथिला नाट्यकला परिषद्का तर्फबाट मैथिली भाषा र संस्कृतिलाई प्रतिनिधित्व गर्दै तीन कलाकार रामनारायण ठाकुर, रविन्द्र झा र प्रियंका झाले अभिनय गरेका थिए। तीनजनाको अभिनयले नाटकलाई बेग्लै ऊर्जा दियो। रामनारारण ठाकुरले बजाउने ढोलकले त नाटकमा प्राण भरिदियो। खाँटी लोक नाटकजस्तो बनेको थियो, यो नाटक। त्यसपछि यो क्रम जोडिएर अँध्यारोविरुद्ध पनि नेपाली र मैथिली भाषा मिसियो। ०६९ सालमा मञ्चन गरिएको नाटक नारीमा पनि यसरी नै मैथिली, थारु र नेपाली भाषा मिश्रण गरेर मञ्चन गरियो। रविन्द्र झा र सरिता साहले मैथिली समुदायको प्रतिनिधित्व गर्दै अभिनय गरेका थिए। नेपालभरि करिब एक सय २० भन्दा बढी प्रदर्शन गरिएको यो नाटकले दर्शकमा निकै छाप छोड्यो। नेपालका धेरै जिल्लामा मञ्चन गरिएको यो नाटकको एउटा विशेषता मैथिली कलाकारको अभिनय र त्यहाँको भाषा, संस्कृतिको प्रयोग पनि हो भन्ने मलाई लाग्छ। यो यात्राको डकुमेन्ट्री जर्नी इन्टु थिएटर आज पनि अनलाइनमा हेर्दा त्यो कुरा स्पष्ट हुन्छ। म आफू पनि मधेसको भएको हुनाले होला, मधेसका भाषासँग र विशेषगरी मैथिली भाषासँग मेरो धेरै मोह बस्यो, किनभने रंगमञ्चले धेरै मैथिली परिवार र समुदायसँग नजिक बनायो मलाई। मलाई लाग्छ, नेपालमा बोलिने भाषामध्ये सबैभन्दा बढी मिठास भएको भाषा मैथिली नै हो। 

'सखी' एउटा नयाँ पाठ

शिल्पीको स्थापनापछि मैथिलभाषी कलाकारसँग झन् सम्बन्ध बलियो भयो। रमेश रञ्जन, रामनारायण ठाकुर, प्रियंका झा र रविन्द्र झा आदिसँग प्रत्यक्ष र परोक्ष रूपमा सहकार्य भइरह्यो। नाटक उत्पादन र कार्यशालामा हामीले धेरै सहयात्रा गर्‍यौँ। रमेश रञ्जनका मैथिली कविता, कथा र नाटकसँग नजिक हुँदै गएँ। महेन्द्र मलंगियाका नाट्यकृति छापिएका र पाण्डुलिपि पनि पढ्न थालेँ। धीरेन्द्र प्रेमर्षि, सुनिल मल्लिकका सांगीतिक रचना प्रशस्त सुन्न थालेँ। आज पनि झन्झन् मैथिली भाषा, साहित्य, संगीतको सम्पन्नता देखेर मलाई सधैँ लागिरह्यो, मैथिली नाटक गर्ने अरु धेरै नाट्य समूह आवश्यक छ। तर मैथिल समाजमै त स्वतन्त्रता र खुलापन देखिनँ मैले। खासगरी जनकपुरमा नयाँ संस्था वा युवालाई स्थापित हुन गाह्रो छ। पुरानो पुस्ताले नयाँलाई ढिम्किन दिँदैन। म आफैँले पनि मैथिली नाटकमा अभिनय वा निर्देशन गर्नु सहज थिएन, म आउटसाइडरजस्तो भएँ।  तर काम त गर्नु नै थियो, त्यसैले काठमाडौंमा भएको मैथिल साथीहरू मिलेर रमेश रञ्जनको अगुवाईमा लोकसञ्चार भन्ने संस्था बन्यो। शिल्पी र लोकसञ्चारको सहकार्यमा मैले रमेश रञ्जनको मैथिली नाटक सखी निर्देशन गर्ने मौका पाएँ। योभन्दा अघि मैले तामाङ भाषाको नाटक मेन्दोमाया र थारु भाषाको नाटक दहितान ढेंकी निर्देशन गरिसकेको थिएँ। मलाई गैरनेपाली भाषाको नाटक मञ्चन गर्नु नशाजस्तो भयो। अलग संस्कृति र भाषामा काम गर्दा नाटकको दृश्य र विम्ब विधानमा खेल्न झन् उत्साह हुने रहेछ। अनुसन्धान र मेहनत बढी गर्नुपर्ने हुन्छ। सखी नाटकको शक्ति त्यही हो। १० वर्षे द्वन्द्वकालको पृष्ठभूमिमा आमआमनागरिकले राज्य र विद्रोहीको चेपुवामा कसरी यातनाग्रस्त जीवन बाँच्न बाध्य छन् वा जीवन गुमाउन विवश छन्, यस नाटकको एउटा पक्ष हो। त्यसैको पृष्ठभूमिमा रहेर नाटकले आममानिसको ज्यानको महŒव र यसको स्वतन्त्रताको स्थिति उजागर गर्छ। साथै समाजमा एकअर्काबीचको सम्बन्धको कारुणिक पक्ष प्रतिविम्बित छ। मैले निर्देशन गर्दा सन्तुष्टि मिलेको यस नाटकभित्रको रहस्य भनेको यथार्थ जीवनको कवितात्मक अभिव्यक्ति हो। नाटकका संवाद मलाई यथार्थ हुँदाहुँदै पनि कवितात्मक लाग्छन्। कति कुरा सीधै भन्न नसकेपछि मानिसले विम्ब खोज्छ। व्यंग्य खोज्छ। आइरोनीको यहीँ जन्म हुन्छ। यस नाटकमा परिस्थितिको सघनताबीच पात्रले सीधै जे हो, त्यो बोल्ने स्थिति छैन। बन्दुक, काँडेतार र यातना आफू वरिपरि घुमिरहेको अवस्थामा गाउँलेहरू त्रासको समयमा छन्। यही त्रासबीचको नियन्त्रित श्वासप्रश्वास हो यो, नाटक।  नाटकका पात्रले श्वास पनि नियन्त्रण गरिगरि फेर्नुपर्ने स्थिति छ। आममान्छे मात्रै होइन, दुवै पक्षका सेनाको श्वास नियन्त्रित छ। यो नाटकको लय र गति यसरी नै बन्यो। डरको बीचमा मानिसले कसरी श्वास फेर्छ, त्यही लयमा संवादले श्वास फेर्छन् पात्रहरू।  हामी स्थानीय भाषाको कुरा गर्दा लोकसंस्कृति, लोकनाट्य र इतिहासमा बढी केन्द्रित हुन्छौँ। यस्तो लाग्छ, आधुनिकता जति सबै राष्ट्रिय भाषाले बोकेको छ। तर, त्यसरी हेर्नु र व्याख्या गर्नु गलत हो। मैथिली भाषाको नाटक सखीले यही प्रमाणित गर्छ। हुन त रमेश रञ्जनको लेखनीको विशेष शक्ति पनि यही हो। उनी लोक विम्ब र जीवनशैलीलाई निकै सुन्दर ढंगले आधुनिक अभिव्यक्ति दिन्छन्। उनको कविता र नाटकमा पनि कथानकता निकै बलियो हुन्छ। शब्द चयन र वाक्य गठन खँदिलो हुन्छ। उनले धेरै नाटक लेखेका छन्। ती नाटकमा सखी हामीले बाँचेको समय र अभिव्यक्तिका हिसाबले निकै भिन्न र बलियो नाटक हो। यो नाटक कुनै पनि भाषामा अनुवाद गरेर मञ्चन गर्दा दर्शकले त्यस समाजले भोगेेको आफ्नो भययुक्त कालखण्डसँग सजिलै जोड्न सक्नेछन्। किनभने सबै समाज उसरी नै द्वन्द्वबाट गुजि्रएका छन्। मानवता र प्रेमको संकट हरेक समाजको आजको नियति हो। रमेश रञ्जनले नाटकमा जनावरलाई मानवतासँग जोडेर, मानवीय चरित्रको रूपमा उभ्याएर दिएको अभिव्यक्तिले पनि यो नाटकलाई सार्वकालिक बनाएको छ।  एउटा निर्देशकले नाटकको शक्ति नाप्ने अर्को आधार पनि छ, त्यसको बनोट। यस नाटक निर्देशनको क्रममा मैले खासै सम्पादन गर्नुपरेन। अर्को महŒवपूर्ण प्रश्न छ, के स्थानीयभाषामा लेख्नेबित्तिकै त्यस साहित्यले त्यस समुदायको प्रतिनिधित्व गर्छ? एउटा विदेशीले नेपाली सिकेर लेखेको साहित्य र नेपालीले लेखेको साहित्यमा के फरक छ? वा, एउटा नेपालीले अंग्रेजीमा लेखेको साहित्य र एउटा अंग्रेजी मातृभाषीले लेखेको साहित्यमा कसरी भेद छुट्टिन्छ त। यहाँनेर मलाई सधैँ लाग्ने कुरा कहिलेकाहीँ नेपालीभाषीले नै नेपाली भाषामा लेखेको साहित्य हाम्रो आफ्नो नलाग्न सक्छ। जसले लेखोस् तर त्यस समुदायको संस्कृति र जीवनपद्धतिबाट नाटक यात्रा गर्दैन भने भाषाले मात्रै साहित्यलाई आफ्नो महसुस गराउन सक्दैन। अझ लेखनमा आधुनिकता भयो भने लेखनले यथास्थितिको वकालत गर्न छोड्छ। रमेश रञ्जन आधुनिक नाटक पद्धति र मञ्चन पद्धति बुझेका नाटककार हुन्। सखी नाटकमा प्रस्तुतिको आधुनिकता र अभिव्यक्तिको स्थानीयता ठूलो शक्ति हो। यस किसिमको लेखनले नाटकलाई सम्प्रेषणीय बनाउँछ। नत्र नाटक बोझिल हुन जान्छ। त्यसैले पनि यस नाटकलाई दृश्य विधानमा लैजानलाई मलाई धेरै कष्ट गर्नुपरेन। दृश्यात्मकताको सबलताले पनि गैरमैथिलीभाषीलाई नाटक बुझ्न सहज भयो। चरित्रहरू जीवन्त छन् भने नाटकमा भाषा एउटा औजार बनेर आउँछ। उसको शरीर र संवेगले दर्शकसँग संवाद गर्न सक्छ। मेरा लागि रंगमञ्चमा सखी धेरै सम्भावना भएको नाटक हो।  सखी नाटकलाई रंगमञ्चमा विश्लेषण गर्दा यी चार पक्षबाट विश्लेषण गर्न सकिन्छ– काव्यिकता, नाटकभित्रको सांस्कृतिक यात्रा, द्वन्द्वको सार्वकालिकता, हिंसा र यथास्थितिको विरोध।  यो नाटक लेखनदेखि नै म नाटककारसँग संवादमा थिएँ। नाटकको दृश्य कसरी लामो र बोझिल नबनाउने भन्न संवाद र दृश्यमा नाटककारले निकै मेहनत गरे। भाषा र परिवेशमा मात्रै होइन, संवादको विम्बले पनि यो नाटकमा समाजको चरित्र लेखाएको छ। त्यससँगै नाटक सांस्कृतिक परिवेशबाट यात्रा गर्छ।  नाटकको मञ्च परिकल्पना पनि द्वन्द्वलाई केन्द्रमा राखेर प्रतिकात्मक रूपमा बनाइयो। घरको कोठाको फ्रेम काँडेतारले बनाइयो। जुन तार सैनिकले सुरक्षाको परिधि निर्माण गर्न प्रयोग गर्छन्। काँडेतारलाई हामीले त्रासदको विम्बका रूपमा पनि प्रयोग गर्‍यौँ। यसको परिकल्पना जीवन बरालले गरेका थिए। काँडेतारभित्र रातदिन सैनिक र विद्रोहीको बुट र बन्दुकको आवाजमा त्रासद जीवन पनि कसरी खुसी खोज्दै बाँच्छ त? पति–पत्नीको सम्बन्ध मसिना क्षणहरूमा रोचक ढंगले देखिन्छ, नाटकमा। हामीले यो नाटक चरिकोटको राष्ट्रिय नाटक महोत्सवमा एकपटक र जनकपुरमा दुईपटक मञ्चन गर्‍यौँ। गैरमैथिली भाषीबीच पनि नाटकले सहज रूपमा संवाद गर्न सकेकामा खुसी लाग्यो। मेरो चाहना त सधैँ मैथिली नाटक गैरमैथिलीलाई देखाउने हो। अरु मातृभाषाका नाटक पनि देखाइनुपर्छ। यसले नयाँ संवादको सुरुवात गर्छ। भाषा बुझिँदैन भन्नेलाई म जिस्किएर उत्तर दिने गर्छु, …तिमी आफ्नो मातृभाषामै लेखेको वा बोलेको चाहिँ साँच्चै कति बुझ्छौ? बुझेकै भए त पढेका मान्छेले चलाएको देश यस्तो नहुने थियो होला।' खैर मैथिली रंगमञ्च नेपालभरि वा सीमापारि पनि गैरमैथिली भाषीमा पुग्नु आवश्यक छ भन्ने म ठान्छु। जसले भाषा र समुदायमा भइरहेको आजको विभेदलाई न्यूनीकरण गर्न र नेपालकै संस्कृतिलाई सम्पन्न बनाउन मद्दत पुग्नेछ। मेरो रुचिले मैथिली नाटक गरेको हुँ।

नाटकमा शोभाको भूमिकामा अभिनय गर्ने प्रियंका झा, त्यसैगरी कलाकारहरू प्रमोद अग्रहरि, रविन्द्र झा, माधवी कर्ण, संगीता उराँउ आदिले साँच्चै मेहनत गरेका थिए नाटकमा।

मेरो ज्ञानभन्दा अज्ञानता सखी नाटकमा देखियो होला। क्षमतावान् निर्देशकहरू मैथिली रंगमञ्चमा आउनुपर्छ। गैरमैथिली भाषीलाई पनि मैथिली रंगमञ्चले स्वागत गर्नुपर्छ।  

बहुल समाजलाई बलियो बनाउने हो भने यस किसिमको अभ्यास देशैभरि हुनुपर्छ भन्ने मलाई लाग्छ। चाहे त्यो रंगमञ्च, कविता, फिल्म, चित्रकला वा अन्यखाले महोत्सव र जमघटबाट किन नहोस्। अरुलाई स्विकार्ने अभ्यासको निरन्तरता आवश्यक छ। 

प्रकाशित: १० भाद्र २०७४ ०५:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App