१२ असार २०८१ बुधबार
image/svg+xml
अन्य

प्राथमिकता प्रदूषण र फोहोर नियन्त्रण

राजु अधिकारी /झापा

मेची अञ्चलको सबैभन्दा ठूलो सहर, व्यापारिक केन्द्र, शैक्षिक हब, स्वास्थ्योपचारको केन्द्र । झापाको विर्तामोडका अघिल्तिर जोडिने यस्ता फुर्काहरु धेरै छन् । सहरको शानका लागि दिइने यस्ता सबै उपमाहरु त्यसबेला फिक्का साबित हुन्छ, जतिबेला यहाँको अव्यवस्थाले धेरैलाई अँचेट्छ । ‘हाम्रो ठाउँ ठूलो पनि भयो, चर्चित पनि भयो, आकर्षक पनि भयो तर अझै पनि बस्नलायक हुन सकेको छैन,’ स्थानीयबासी नन्दकुमार खतिवडाको यस भनाइले अधिकांश बिर्तामोडबासीको भावनाको प्रतिनिधित्व गर्छ ।

 धेरैका लागि ‘आकर्षक’ पूर्वकै ठूलो सहरका बासिन्दामा आफ्नै ठाउँप्रति किन यस्तो विरक्ति ? यसका केही वस्तुगत आधार छन् । जताततै मिचिएका सडक, राजमार्ग मिचेर बनाइएका घर, सडकभरि असरल्ल फोहोर, बर्खामा  जलमग्न बन्ने सहरको मध्यभाग, योजना बेगरै थपिएका घर, न कतै ढल न त सार्वजनिक शौचालय, न व्यवस्थित पार्किङ न त सद्दे फुटपाथ । यस्ता अभाव र बेथितिको चाङ केलाउने हो भने सोझै भन्न सकिन्छ, विर्तामोड अव्यवस्था र बेथितिले लपेटिएको कंक्रिटको जंगल हो ।

तर यही नगरलाई ‘नमूना नगर’ बनाउने हिम्मतका साथ नवनिर्वाचित मेयर ध्रुव शिवाकोटीले असार २५ मा सपथ लिए । २०३७ सालदेखि नै वामपन्थी राजनीतिमा सक्रिय उनी जिल्लाका कहलिएका चिया उद्योगी पनि हुन् । नेपाली कांग्रेसको बलियो प्रभाव क्षेत्रका रुपमा चिनिएको विर्तामोडमा एमालेबाट विजेता बनेका उनका अघि योजनाका धेरै बिस्कुन छन् । तीमध्ये धेरै काम एकैसाथ सुरु गर्ने उनको तयारी छ । नगरको कुल ५२ मध्ये उपप्रमुखसहित ३५ पद उनकै दलले जितेका कारण पनि सुविधाजनक रुपमा काम गर्न सकिने विश्वास उनलाई छ ।
 

 ‘चुनौती धेरै छन् तर अवसर पनि उत्तिकै छ,’ भर्खरै नगर प्रमुख पदमा चुनिएका उनी भन्छन्, ‘अब आराम नगरी काममा जुट्ने बेला आएको छ ।’ पुरानो आर्थिक वर्ष सकिन लागेको, नयाँ आर्थिक वर्षका लागि बजेट निर्माण गर्नुपर्ने धपेडीका बीच उनले पदभार ग्रहण गर्दैगर्दा लिएको पहिलो संकल्प नै ‘व्यवस्थित विर्तामोड’ को हो । विर्तामोड अनारमनी गाविस छँदै २०५४ मा गाविस अध्यक्ष बनेका शिवाकोटी २० वर्षपछि नगरपालिकाकै मेयर बनेका हुन् । यसपटक उनको काँधमा गरामनी र चारपानेको भूगोल पनि थपिएको छ । ‘सबैभन्दा पहिलो काम यहाँ ढलको व्यवस्थापन गर्नुपर्नेछ,’ उनको योजना छ, ‘विर्तामोडमा ढलको राम्रो प्रबन्ध नभएकै कारण सबैभन्दा ठूलो समस्या आएको छ ।’  उनले यसो भनिरहँदा असार २५ को दिनभरि विर्तामोडका सडकहरूमा भल दौडिरहेको थियो । सहरका धेरै घरमा अदुवा खोलाको बाढी पसेर सर्वसाधारणलाई बिचल्लीमा पारिरहेको थियो । चुनावअघि मतदातामाझ प्रतिबद्धता राख्ने क्रममा उनले दुई वटा बुँदालाई मुख्य प्राथमिकतामा राखेका थिए । विर्तामोडलाई बाढीको कहरबाट मुक्त गर्ने र सहर व्यवस्थित गर्ने ।
अव्यवस्थित प्लटिङ र खोलाकै किनारमा घर निर्माण गर्ने क्रम रोकिएको छैन । सहरको बीचबाट बग्ने अदुवा खोलाको दुवै किनार मिचेर ‘महल’ ठड्याउने क्रम नरोकिएपछि विर्तामोड बाढीको जोखिममा परेको हो । ‘यो क्रमको अन्त्य गर्न तत्काल कडा कदम चाल्नेछु,’ प्रमुख शिवाकोटीको सार्वजनिक प्रतिबद्धता छ, ‘अबको केही दिनमै नगरबासीले महसुस हुने गरी यो काम सुरु हुनेछ ।’
उनको प्राथमिकतामा रहेको अर्को अजेण्डा हो, व्यवस्थित बसोबासको । ‘शिक्षा, स्वास्थ्य, रोजगारी लगायतका सुविधाका कारण नगरमा जनसंख्या लगातार बढ्ने क्रममा छ,’ उनले सुनाए, ‘जनसंख्या बढ्दै जाँदा सहर ठूलो त भयो तर व्यवस्थित हुन सकेको छैन । अब तत्कालै निश्चित मापदण्ड बनाएर बसोबासलाई व्यवस्थित तुल्याउने मेरो पहल हुनेछ ।’  

चुनावी प्रतिबद्धता पत्रमा उनले सहरको प्रदूषण र फोहोर नियन्त्रणलाई पनि उच्च प्राथमिकता दिएका थिए । कहिले हप्तौंसम्म फोहोर नउठ्ने, जथाभावी रुपमा विर्सजन गरिने फोहोरले बिर्तामोड प्रदूषित बनेको गुनासो सधैँ सुनिन्थ्यो । ‘जिम्मेवारी सम्हालेको दुई साताभित्र फोहरको व्यवस्थापन भइसक्नेछ, त्यसको एउटा थिति बस्नेछ,’ उनले आत्मविश्वासपूर्वक भने, ‘दैनिक दसौँ हजारको आवागमन हुने सहरलाई सबैभन्दा पहिला सफा र प्रदूषणरहित बनाइनेछ । पैदल हिँड्नेदेखि सवारीमा हिँड्ने सम्मले फरक अनुभूत गर्नेछन् ।’
उनको अर्को महत्वाकांक्षी सपना पनि छ, सहरलाई विषादीमुक्त तुल्याउने । ‘नगरबासीलाई अग्र्यानिक कृषि उत्पादनका लागि नगरपालिकाले योजना बनाएर प्रोत्साहित गर्नेछ,’ उनले भने ‘स्वस्थ नगरबासी र स्वस्थ नगर निर्माण हाम्रो मुख्य ध्येय हुनेछ ।’ यसबाहेक बन्द हड्तालमुक्त नगर बनाउने, उद्योगी व्यवसायीलाई सुरक्षाको प्रत्याभूति दिलाएर लगानी थप्न प्रेरित गर्ने, शिक्षा, स्वास्थ्य र रोजगारीको क्षेत्रलाई टेवा दिने, सुकुम्बासीलाई ‘नगरबासी’मा रुपान्तरण गर्ने उनको मुख्य प्राथमिकता र प्रतिबद्धता छ । ठूलो क्षेत्रफल पनि भएको नगरलाई ‘ग्रीन एन्ड क्लिन सिटी’ बनाउने, नगरलाई चक्रपथमार्फत घेराबन्दी गर्न गुरुयोजना बनाउने र तत्काल कार्यान्वयनमा लैजाने पनि उनी बताउँछन् । ‘यी तमाम कामहरु व्यवस्थित रुपमा अघि बढाइनेछ,’ नयाँ मेयरको उत्साहयुक्त अठोट छ, ‘अबको पाँच वर्षभित्र विर्तामोडलाई नमूना सहर बनाउनेछु । मतदाताको विश्वास खेर जान दिने छैन ।’

(नागरिक परिवारबाट साभार)

प्रकाशित: १८ श्रावण २०७४ ०५:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App