४ वैशाख २०८१ मंगलबार
अन्य

आफ्नै वंशको इतिवृत्तान्त

द्वारिकानाथ ढुंगेल

सन् २००३ को सुरुका महिना, भारतको अब्जर्भर रिसर्च फाउन्डेसनले नेपाल–भारत सम्बन्धका विविध पक्षबारे नेपाल र भारतका विज्ञको एक सम्मेलन नयाँदिल्लीमा आयोजना गरेको थियो।

त्यसमा नेपालबाट राजनीतिज्ञ, प्राज्ञ, अनुसन्धानकर्ता, व्यापारी वर्ग र पत्रकारलाई आमन्त्रण गरिएको थियो। राजनीतिक दलबाट भाग लिनेमा तत्कालीन नेपाली कांग्रेस प्रजातान्त्रिक तर्फबाट सागरशमशेर जबरा थिए भने यो पंक्तिकार अनुसन्धानकर्ताको रुपमा आमन्त्रित थियो।

ब्रिटिसले भारत छोड्दा नेपाललाई समुद्रसम्मको बाटो दिन चाहेको थियो। दार्जिलिङ फिर्ता दिन चाहेको थियो। तर, राणा प्राइम मिनिस्टरले नचाहेकाले पाइएन।  यिनबारे बबरशमशेर वा मृग्रेन्द्रशमशेरसँग केही जानकारी थियो कि वा उनीहरूले केही छोडेका थिए कि, यी कुरा लेखकले बाहिर ल्याउन सक्थे कि?

त्यस बखतको चिनजानपछि जबरासँग मेरो बेलाबेला भेट हुन्थ्यो, भेटमा उनले राणाकालीन नेपालबारे किताब लेख्दै छु भन्ने गर्थे। केही महिनाअघि उनका बाबु मेजर जनरल मृगेन्द्र्रशमशेरबारे निस्केको अंग्रेजी भाषाको किताब लिने सिलसिलामा उनीसँग भेट भएको थियो, त्यतिबेला रुपा प्रकाशन गृह नयाँदिल्लीबाट पुस्तक हुने जानकारी गराएका थिए।

त्यसको केही समयपछि उनको पुस्तक 'सिंहदरबारः राइज एन्ड फल अफ दी राना रेजिम अफ नेपाल अर्थात् नेपालमा राणा शासनको उत्पत्ति र पतन' लोकार्पण भयो भन्ने सुनेँ।

जम्मु तथा कस्मिरका पूर्वमहाराज करणसिंहद्वारा प्राक्कथन लेखिएको र नेपाली टाइम्सका सम्पादक कुन्द दीक्षित एवं भारतीय लेखक गुरुचरण दासद्वारा प्रशंसा लेखिएको पुस्तक तीन भागमा विभाजित छ।

लेखकले लेखकीयमा भनेका छन्, 'पुस्तकमा एक सय चार वर्ष चलेको राणाशासनको पछिल्लो ५० वर्ष मात्र समेटेको छु।'

५० वर्षे राणा शासनकालको वर्णन गर्न मात्रै तीन सय ३८ पृष्ठ खर्चिएको छ भने 'बादलभित्रको अधिराज्य' शीर्षक दिइएको पहिलो भागका लागि बाँकी ५६ पृष्ठ खर्च।

सात परिच्छेदमा विभाजित यो भागमा नेपालको जमिन, जनता, काठमाडौं उपत्यका, यस खाल्डोमा पृथ्वीनारायण शाहअघि क–कसले राज्य गरेका थिए भन्ने उल्लेख छ। यसै भागमा शाह शासनकालको सुरुआत, नेपाल राज्य विस्तार क्रम, यस क्रममा राजाहरूको भूमिकामा खस्काई, राजदरबारभित्रको अन्तर्कलह, भीमसेन थापाको मुख्तियारीमा अंग्रेजसँगको युद्ध, १८१६ को सुगौली सन्धि, थापा र पाण्डेबीच सत्ताका लागि द्वन्द्व, माथवर सिंह हत्या र तत्पश्चात् नेपाली राजनीतिक परिदृश्यमा जंगबहादुर कुँवरको उदय वर्णन पढ्न पाइन्छ।

राणाशासनको सुरुआत, जंगबहादुरको बेलायत र फ्रान्स भ्रमण, जंगबहादुरको समयमा तर्जुमा भएको मुलुकी ऐन तथा तिब्बतसँगको लडाइँबारे पहिलो भागमा वर्णन गरिएको छ। भारतमा भएको १८५७–५८ को विद्रोह दबाउन सैनिक सहयोग, राणाशाहीको सुदृढीकरण, जंगबहादुरको मृत्यु तथा 'जंग'हरूको ओरालो लगाई र शमशेर राणाहरूको उदय वर्णन गर्दै यसै भागमा लेखकले महाराज वीरशमशेर जबरा र महाराज देवशमशेर जबराको शासनकाल र यी दुई महाराजका काम–कारबाहीको सरसर्ती वर्णन गर्न भ्याएका छन्।

दोस्रो भागलाई 'राणाशासन उचो छाल' शीर्षक दिएर तीन परिच्छेदमा महाराज चन्द्रको शासनकाल, महाराज भीमको शासनकाल र महाराज जुद्धको शासनकालको वर्णन गरिएको छ।

लेखकको विचारमा जुद्धको शासनकाल राजनीतिक दमनको काल हो। साथै, जुद्ध राष्ट्रको आर्थिक वृद्धिको रणनीति तथा औद्योगिक नीति–निर्माता एवं सामाजिक सुधारक पनि हुन्, लेखकले उनलाई यसरी नै प्रस्तुत गरेका

छन्। भीमलाई महाराज चन्द्र नजिककालाई लखेट्ने र गोरखाको दमनकर्ताका रूपमा प्रस्तुत गरेका छन्। महाराज चन्द्रलाई बेलायतसँग सम्बन्ध विस्तार गर्ने, पहिलो विश्वयुद्धमा बेलायती पक्षलाई सहयोग पुर्‍याई अंग्रेजबाट नेपाललाई एक सार्वभौम तथा स्वतन्त्र राष्ट्र स्वीकार गराउन सक्ने एवं प्रशासनिक सुधार गर्ने महराजका रूपमा चित्रण गरिएको छ। साथै, चन्द्रलाई यातायात, विद्युत् र भविष्यको केन्द्रीय सचिवालयको जग बसाल्ने, समाज सुधारमा प्रतिबद्ध, शिक्षामाथि भने नियन्त्रण राख्ने महाराजका रूपमा चित्रण गरिएको छ।

'क्वेस्ट फर फ्रिडम एन्ड डेमोक्रेसी' शीर्षकको तेस्रो भागमा आठ परिच्छेद छन्।  यसै भागमा भारतको पवित्र सहर बनारसमा नेपाली राज खान्दानलगायत अन्य उच्च व्यक्तित्व पुगेको वर्णन गरिएको छ। बिपी राजनीतिक सिद्धान्तको विकास क्रम, उनको समाजवादीहरूसँगको सम्बन्ध, बनारस हिन्दू विश्वविद्यालय र नेपाली छात्र संघको वर्णन पनि पुस्तकमा गरिएको छ। साथै, भट्टराई बन्धुहरू, ईश्वर बराल, मनमोहन अधिकारीको राजनीतिक सक्रियताको पनि वर्णन गरिएको छ। यसै भागमा गान्धीको आह्वानमा भएको आन्दोलनमा धेरै नेपाली भारतका विभिन्न भागमा पक्राउ परी जेलमा राखिएको वर्णन छ।

तेस्रो भागको परिच्छेद ४ मा कलकत्ता महानगरको वर्णन गर्दै लेखकले यसलाई लन्डनपछि कमनवेल्थभित्रको सबभन्दा राम्रो सहर भनेका छन्। यस सहरमा नेपालीको भीडयुक्त आगमन, तिनको राजनीतिक क्रियाकलाप, यहीँ नै पुष्पलालको नेतृत्वमा कम्युनिस्ट पार्टीको जन्म, नेपालबाट धपाइएका राणाहरू र तिनको उन्नति, महावीरशमशेर, सुर्वणशमशेर जस्ताको त्यस समाजमा स्थान, राजा त्रिभुवनको यसै सहरमा भारतीय नेतृत्व वर्गसँग सम्बन्ध कायम, अखिल भारतीय गोरखा लिग र जनमुक्ति सेना, नेपाली कांग्रेसको जन्मको तयारीबारे पुस्तकमा उल्लेख गरिएको छ।

तेस्रो भागको अन्तिम दुई परिच्छेदमा लेखकले महाराज पद्मशमशेर र महाराज मोहनको शासनकालको वर्णन गरेका छन्। पद्मशमशेर सुधारक हुँदाहुँदै पनि बढ्दो क्रान्तिको हावाले उनको सुधारको प्रयासलाई उछिनेको पुस्तकमा उल्लेख छ। बिपी कोइराला र समाजवादीहरू, बिपीकै सयुंक्त आन्दोलनको आह्वान, विराटनगर जुटमिलमा श्रमिक आन्दोलन र गिरिजाप्रसाद कोइरालाको भूमिका, काठमाडौं सत्याग्रह, जयतु संस्कृतम आन्दोलनलगायत पद्मशमशेरको रुवाइपूर्ण देशबाट बिदा भएको वर्णन पनि पुस्तकमा गरिएको छ।

अन्तिम परिच्छेद महाराज मोहनको उदय, उनको भारत भ्रमण र उनले त्यस देशसँग गरेको शान्ति र मैत्री सन्धि

(१९५० को सन्धिका रूपमा चिनिएको सन्धि), मुलुकभित्र बढ्दो राजनीतिक असन्तोष र दमन, बिपी कोइरालाको थुनाई, कलकत्तामा नेपाली कांग्रेसको जन्म, राजा त्रिभुवनसँग भेटको प्रयास, पाल्पाको समर्थन प्राप्तिका प्रयास र राजा त्रिभुवन, लेखककै शब्दमा भारतीय चंगुलमा फसाई, नेपाली कांग्रेसले गरेको सशस्त्र क्रान्ति, दिल्ली सम्झौता र नेपालबाट राणाशासनको अन्त्यसँग सम्बन्धित घटनाको वर्णन गरिएको छ।

टिप्पणी वा समीक्षा

भाषा कतै–कतै अप्ठेरो भए पनि सरल नै छ। किताबको खण्डन–मण्डन इतिहासका विद्वान्ले पक्कै गर्नेछन्। यद्यपि त्रुटि देखाइदिने काम समीक्षकको हुन्छ नै। साथै, किताब पढ्दा लागेका अप्ठेरा र अनुभव गरेका कुरा पनि औँल्याइदिनुपर्छ।

सम्पादनको दृष्टिकोणबाट किताब कमजोर लाग्छ। कारण एकै पद धारण गरेकाको भिन्न ठाउँमा भिन्न नाम उल्लेख गरिएका छन्, एउटै विषयका मिति पनि फरक–फरक उल्लेख भएका छन। त्यस्तै, नाम र थर पनि गलत रुपमा प्रस्तुत भएका छन्। साथै तथ्य पनि गलत रुपमा दिइएका छन्।

पृष्ठ २८ को अन्तिम हरफमा जंगबहादुर बेलायत जाँदा भाइ बमबहादुरलाई आफ्नो पदीय दायित्व सुम्पिएर गएका थिए भनेर लेखिएको छ। तर, पृष्ठ ३२ तेस्रो पंक्तिमा जंगबहादुरले युरोपबाट भाइ तथा कार्यवाहक प्रधानमन्त्री रणोदीपलाई अनेक पत्र पठाएर सुशासनका विषयमा धेरै अर्ती–उपदेश दिएका थिए भनेर लखिएको

छ। यसले जंगबहादुर बेलायत र फ्रान्सको भ्रमणमा जाँदा कसलाई कार्यवाहक दिएर गएका थिए भन्ने भ्रम सिर्जना गरिदिएको छ। यसबारे इतिहासकारले स्पष्ट पारिदेलान्।

भाइभाइबीच एकअर्काप्रतिको शंकाको आधारमा प्राइम मिनिस्टर पदबाट बर्खास्त गरी काठमाडौंबाट पश्चिमतर्फ धपाइएर पाल्पाका गभर्नर भएका खड्गशमशेर भनी पृष्ठ १६६ मा उल्लेख छ। जब कि काठमाडौंबाट धपाइँदा खड्गशमशेर प्राइममिनिस्टर थिएनन्।

नेपाल र ब्रिटिस इस्ट इन्डिया कम्पनी सरकारबीच भएको लडाइँ सुगौली सन्धिपछि औपचारिक रूपमा सिद्धिएको थियो। यो सन्धि सुगौलीमा डिसेम्बर २, १८१५ मा सम्पन्न भए पनि दुवै पक्षका बीच हस्ताक्षरित प्रतिहरू मार्च ४, १८१६ मा आदान–प्रदान भएको थियो। यसै दिनलाई सुगौली सन्धि भएको दिन मानिन्छ। यस सन्धिको मितिबारे लेखकले पृष्ठ १७ पहिलो पंक्तिमा सन्धि भएको मिति डिसेम्बर १८१५ भनेर लेखेका छन् भने पृष्ठ ३७ मा सुगौलीको सन्धि १९२३ भनेर लेखेका छन्।

इतिहासको किताब हुनाले विभिन्न व्यक्तिको नाम र थर समावेश हुनु स्वाभाविक हो। एउटा व्यक्तिको नाम किताबभरि एउटै हुनुपर्छ। यस विषयमा लेखक ठाउँ ठाउँमा चुकेका देखिन्छन्। उदाहरणका लागि, डाइमन्डशमशेर राणालाई पृष्ठ १३६–१३७ मा डिमनशमशेर भनेर लेखिएको छ। यस्तै गरी पृष्ठ १८० मा लाकोट शब्द प्रयोग भएको छ, हुनुपर्ने हो, लाकोल। अर्को उदाहरण हो, पृष्ठ १७० मा प्रयोग भएको शब्द दागाधारी, यो तागाधारी हुनुपर्ने हो।

तत्कालीन शब्दमा दरबार स्कुल भवनको माथिल्लो खण्डमा अंग्रेजी पढाउने दरबार स्कुल थियो भने तल्लो तलामा राजकीय (?) संस्कृत विद्यायल थियो। संस्कृत दरबार हाइस्कुल भन्ने भएको कसैलाई पनि सम्झना छैन। जब कि लेखकले पृष्ठ १७१ मा कलमराज रेग्मीको वर्णनको क्रममा उनले 'मलाई संस्कृत दरबार हाइस्कुलमा भर्ना गरियो' लेखेका छन्। मलाई लाग्छ, रेग्मीजीले राजसंस्कृत विद्यालय भनेको हुन सक्छ।

२००७ सालको सशस्त्र क्रान्तिमा पूर्वीपहाडी क्षेत्रका सेनानीका रूपमा नारदमुनि थुलुङलाई लिइन्छ। यिनी गुमनाम व्यक्ति पनि होइनन्। अतः उनको नाम किताबमा गलत रूपमा प्रस्तुत हुनुपर्ने होइन। लेखकले पृष्ठ १८७ मा उनको नाम 'नारायण मनी थुलुङ' उल्लेख गरेका छन्।

पृष्ठ ८८ मा त वाक्यांश नै अपुरो लाग्छ। किनकि लेखाइ यस्तो छ– 'इभन इफ इट वाज डिपोजिटेड इन द स्टेट टि्रजरी, इट कुड बी युज्ड फर द बेनिफिट अफ पिपल हु सफर ड्यु टु सम नेचुरल कलामिटी' हुनुपर्ने '... इट कुल्ड नट बी युज्ड फर द बेनिफिट अफ पिपल...'  थियो जस्तो लाग्छ।

पृष्ठ २३२ मा अफर्ड हुनुपर्ने अफर्स हुन पुगेको पाएँ। २००७ सालको क्रान्तिको समयमा विराटनगरका बडाहाकिम थिए, उत्तमविक्रम राणा र उनका छोरा हुन्, क्षेत्रविक्रम राणा। तर लेखकले विराटनगरको बडाहाकिम भनेर उक्तमविक्रम थापा भनी पृष्ठ ३६६ मा लेखेका छन्। पृष्ठ ३८० मा लेखकको लेखाइ ढाँचाले क्षेत्रविक्रम हुनुपर्नेमा उत्तम लेखिदिएका छन्।

बिपी कोइरालाका भाइ एवं नेपाली कांगे्रसका नेता गिरिजाप्रसाद कोइराला ०४७ पछि मुलुकको धेरैचोटि प्रधानमन्त्री हुनेहरूमा पर्छन्। उनकी छोरी सुजाता कोइराला पनि ०४७ सालमा बहुदलको पुनर्स्थापना भएपछि मुलुकको राजनीतिक परिदृश्यमा छाइरहने महिला मात्र होइनन्, गिरिजाप्रसाद कोइराला र सुषमा कोइरालाकी एक मात्र छोरी हुन् भन्ने व्यापक भएको कुरा हो। सुषमा कोइरालाको पहिलो पतितर्फका छोरा सुरेश एक प्रकारले गुमनाम बसेका थिए। यस कुराको सट्टा लेखकले पृष्ठ २०४ मा सुषमा कोइरालाको पहिलो श्रीमान्को तर्फको सन्तान भनेर सुजाताको नाम उल्लेख गरेका छन्।

त्यस्तै, किताबमा २१ तस्बिर वा चित्र समावेश गरिएको छ। निश्चय पनि सबै महŒवपूर्ण छन्। तर, आश्चर्यलाग्दो कुरा प्रचण्ड गोरखा काण्ड (राणा शासनविरुद्ध स्थापना भएको पहिलो राजनीतिक संगठन प्रचण्ड गोरखाका संस्थापकलाई भीमशमशेरले जन्मकैद हालेका थिए, त्यसका संस्थापकमध्ये खड्गमान सिंहको जेलमै निधन भएको थियो) मा परी अमानवीय रूपमा थुनामा राखिएका खड्गमान सिंहको तस्बिर किताबमा समावेश छैन। प्रचण्ड गोरखापछि मुलुककै पहिलो राजनीतिक दलको रूपमा जन्मेको प्रजापरिषद्का नेताको तस्बिर कम्युनिस्ट नेता पुष्पलालपछि राखिएको छ, चारजना सहिदको तस्बिर पनि समावेश भएका छैनन्। आज मुलुकमा प्रजातन्त्र वा लोकतन्त्र जे छ भनिन्छ, यसमा कलकत्तामा जन्मेको नेपाली कांग्रेस र कम्युनिस्ट पार्टीका देनभन्दा प्रजापरिषद्को देन कुनै दृष्टिकोणबाट पनि कम छैन। साथै किताब बिपी कोइरालामा समर्पण गरिएको भए पनि यिनको औपचारिक बेग्लै तस्बिर किताबमा देखिँदैन।

सिंहदरबार वा जुद्धशमशेरको ग्रान्ड सिकारको तस्बिर जसरी राखिएको छ, त्यसले तिनको सान र सोकतलाई बिगारिदिएजस्तो लाग्छ। प्रस्तुतीकरणको दृष्टिकोणबाट तस्बिर अझ राम्रोसँग राख्न सकिन्थ्यो।

महाराज मोहनशमशेरसम्बन्धी परिच्छेदको पृष्ठ ३१० मा शताब्दी पुरुष सत्यमोहन जोशी तथा नूतन थपलियाको वर्णन जिउमा नमिलेका मासुका रुपमा देखापर्छन्। किनकि, यिनीहरू सूचना सामग्रीका रुपमा देखापर्छन्। त्यसैले यिनलाई या त पाद टिप्पणी वा नोट्स (पृष्ठ ३९५ देखि ४०९) मा प्रस्तुत हुनुपर्ने थियो। फेरि नोट्स खण्डमा सन्दर्भ सामग्री र भनाइ साथसाथ राखिएका छन्। नोट्स सन्दर्भ ग्रन्थ राख्ने यो नयाँ तरिका रहेछ कि थाहा भएन।

विषयसूचीमा तीन भाग र १७ परिच्छेद दिइएको छ। तर किताबको भित्री भागमा १६ परिच्छेद कायम गरिएका छन्। अन्तिम भागको प्रथम परिच्छेद बेग्लै राखिए पनि त्यसलाई नम्बर दिइएको छैन। सामान्यतः परिचय किताबको सुरुमा राखिने प्रचलनमा लेखकले तेस्रो भागमा राख्न पुगेका छन्, यसलाई परिचय राख्ने नयाँ तरिका मान्ने हो कि?

विभिन्न परिच्छेदमा अरुका भनाइ उद्धृत गरिएका छन्, तिनमा कतै–कतै कसको भनाइ भनेर स्पष्ट गरिएको छ त कतै माथिका पंक्तिमा प्रयोग गरिएको अक्षरको अनुपातमा सानो अक्षरमा बेग्लै पंक्ति दिइएको छ। त्यसको माथिल्लो पंंक्तिसँग सम्बन्ध कायम गरिएको पाइँदैन। कसको भनाइ उद्धृत गरिएको भन्ने जान्न पछिल्तिरको नोट्स खण्डमा जानुपर्ने हुन्छ। यसको उदाहरणको रुपमा पृष्ठ २३०–२३१ र २५१ मा साना अक्षरमा राखिएका पंक्तिलाई लिन सकिन्छ।

किताबका विषयवस्तु कसरी प्रस्तुत गरिएका छन् भन्ने लेखकीयमा उल्लेख नगरिदिँदा ठाउँ–ठाउँमा लेखकले परिच्छेदको शीर्षक बिर्सेर अर्कोतर्फ बग्न खोजेको आभास पाइन्छ। यस्तै, शीर्षकभन्दा बाहिर गएर अन्य कुनै व्यक्तिको वर्णन गरेको आभास पाइन्छ। जस्तो, महाराज जुद्धसम्बन्धी परिच्छेदमा अलि बढी नै शिक्षाका निर्देशक जनरल मृग्रेन्द्रलाई उल्लेख गर्न पुगेको आभास हुन्छ। जसले पाठकलाई महाराज जुद्धबारे पढिरहेको छु कि जनरल मृग्रेन्द्रबारे भनी छुट्याउन अप्ठेरो हुन्छ जस्तो मलाई लाग्यो।

यसै परिच्छेदमा औद्योगिक नीति र सामाजिक सुधार विषयक वर्णनमा सरदार गुञ्जमान सिंहको नामबाहेक उनी पछिका नाम समावेश छन्। जब कि नेपाल बैंकको जन्ममा सरदार गुञ्जमानको महŒवपूर्ण देन छ भनेर सुनेको हुँ।

२००७ सालको क्रान्ति वर्णनमा लेखकले बनारसका अलावा देशभित्र पाल्पा, पूर्वी पहाड र तराईका जिल्लामा विराटनगरमा भएका घटनालाई विशेष महŒव दिएका छन्। यसमा त समस्या भएन। तर यी ठाउँको वर्णन गर्दा कतैकतै एक ठाउँबाट हामफलाई तरिका अपनाइएको पाएँ। उदाहरणका लागि पृष्ठ १७१–१७७ मा एकान्तको जीवन र समुदायको सहयोग

उपशीर्षकमा गरिएको वर्णनलाई लिन

सकिन्छ। यसअन्तर्गत दलित, महाराज चन्द्र र नेपालगन्जका कृष्णगोपाल टन्डन सम्म राख्न भ्याइएका छन्। माहिला गुरुज्यू हेमराज पाण्डे, एक अत्यन्त विद्वान् तर तत्कालीन समाज एवं सरकार सञ्चालनका कार्यमा राणा शासकलाई सल्लाह दिने एक प्रमुख अनुदारवादी व्यक्ति थिए भनेर सुनेको, कतैकतै पढेको पनि थिएँ। उनका सम्बन्धमा लेखकले पनि महाराज जुद्धशमशेर र महाराज पद्मशमशेरको शासनकालको वर्णन (पृष्ठ १५० र २९४)मा पनि माहिला पण्डित हेमराज पाण्डेलाई अनुदार वादीकै रूपमा प्रस्तुत गरेका छन्।

कुनै लेखकले आफ्नै परिवारको इतिहासबारे कलम चलाउन खोज्छ भने, उसले परिवारका सदस्य, त्यसमा पनि बाबुबाजेलाई महŒव दिन खोज्नु स्वाभाविकै हो। जुन राजनीतिक दलको आस्था बोकेको छ, जुनमा एक प्रकारले जिन्दगी बिताएको छ, त्यसको संस्थापक र नेतालाई महŒव दिनु पनि अस्वाभाविक होइन। यस दृष्टिकोणबाट विचार गर्दा ठाउँठाउँमा महाराज मोहनपछि महाराजको लाइनमा रहेका बाजे बबरशमशेर र लामो अवधिसम्म सार्वजनिक शिक्षा विभागको महानिर्देशक  रहेका मृग्रेन्द्रशमशेर जबराको वर्णन गरिनु ठीकै हो, तर तारिफ अलि बढी नै भएझैँ लाग्छ। त्यस्तै, कोइराला परिवार र उनको विराटनगरको विकासको वर्णन पनि बढी नै भयो कि? पृष्ठ २०२ मा पिताजी कृष्णप्रसाद कोइरालालाई अदृश्य शक्तिले गाली गरेको कुराको वर्णनलाई उदाहरण लिन सकिन्छ। फेरि लेखकले पिताजीलाई अदृश्य शक्तिले गाली गरको कुराको स्रोत भने उल्लेख नगर्नाले विश्वसनीयतामा प्रश्न उठाउने ठाउँ रहन गएको छ।

मुलुकबाट राणाशासनको अन्त्य नभएको भए लेखक रोल क्रममा पर्ने व्यक्ति हुन्, त्यसमा पनि बबरशमशेरका नाति र मृग्रेन्द्रशमशेरका छोरा। त्यसैले उनीसँग कैयौँ बाहिर नआएका सूचना हुन सक्छ वा दस्तावेज पनि हुन सक्छन्। बाहिर धेरै आएको तर औपचारिक रुपमा पुष्टि हुन बाँकी रहेको एउटा कुरा हो, ब्रिटिसले भारत छोड्दा नेपाललाई समुद्रसम्मको बाटो दिन चाहेको थियो। दार्जिलिङ फिर्ता दिन चाहेको थियो। तर, राणा प्राइम मिनिस्टरले नचाहेकाले पाइएन।  यिनबारे बबरशमशेर वा मृग्रेन्द्रशमशेरसँग केही जानकारी थियो कि वा उनीहरूले केही छोडेका थिए कि, यी कुरा लेखकले बाहिर ल्याउन सक्थे कि?

यस्तै, जंगबहादुरको जन्मस्थान अर्घाखाँची जिल्लाको वाङ्लाबाट चुत्राबेसी जानेसम्म मैदानी भागको लाम्पाटी भन्ने ठाउँ भनिन्छ, सो ठाउँ जाँदा स्थानीयले सोही कुरा बताउँछन्। तर लेखकले पृृष्ठ २१ मा थापाथली दरबारमा जंगबहादुर जन्मेको भनेर लेखेका छन्। अर्को कुरा आज राणाहरू आफ्ना नामका पछि जबरा भनेर लेख्छन्। तर तिनै जंगबहादुरका सन्तानको लखेटाइबारे वस्तुगत समीक्षा गरी उनलाई अन्याय भएको हो वा होइन, लेखकले केही कुरा उल्लेख गरेका छैनन्। अर्थात्, धीरशमशेरका सन्तानले जंगबहादुरका सन्तानप्रति गरेको व्यवहारबारे आत्मालोचना गरेका सामग्री कमसे कम मैले पढ्न पाएको छैन, सागरशमशेर जबराले पनि सिंहदरबारमा यसबारे कुनै कुरा उल्लेख गरेको पाइनँ। 

नेपाली ज्ञानको भण्डार बढाउने सामग्री अझै प्रशस्त उत्पादन हुनुपर्छ। अतः यस काममा लाग्ने सबैलाई धन्यवाद दिनैपर्छ। यस मानेमा लेखक सागरशमशेर पनि यो पुस्तक लिएर देखापर्नु राम्रो हो।

प्रकाशित: ७ श्रावण २०७४ ०७:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App