सामान्यतः ब्रान्डी (अल्कोहल बेभेरेज) अंगुरबाट बन्छ। यो विश्वव्यापी मान्यता हो, आलुबाट भोड्का बनेजस्तै। (ब्रान्डीमा ३५ देखि ६० प्रतिशतसम्म अल्कोहलको मात्रा हुन्छ) वि.सं. २०३२–०३३ को आसपासमा मुस्ताङबाट ब्रान्डी उत्पादन सुरु भएको थियो। पञ्चायतकालमा सुरु भएको यो ब्रान्डी अंगुरबाट नभई स्याउबाट उत्पादन गरिएको थियो। ब्रान्डी उत्पादन गर्ने व्यक्ति थिए, पासाङ खम्बाचे शेर्पा।
दशकभन्दा बढी युरोपमा बसेका खम्बाचेले फ्रान्समा बागवानी (हर्टिकल्चर) अध्ययन गरेर नेपाल फर्किएका थिए। स्वदेश फर्किएपछि उनले सुरुमा नेपाल आएर स्याउबाट ब्रान्डी उत्पादन सुरु गरेका थिए। कृषि वैज्ञानिक तथा कृषि विभागका पूर्वमहानिर्देशक शिवबहादुर प्रधान नेपालबाट उत्पादन गरिएको स्याउको ब्रान्डी विश्वमै पहिलो अभ्यास भएको अनुमान गर्छन्।
पासाङको योजना अनुसार वि.सं. २०३२–०३३ बाट मुस्ताङबाट ब्रान्डी उत्पादन सुरु भयो। उनको काम सफल भयो र चौतर्फी प्रशंसा पनि। 'पासाङले कुशलतापूर्वक स्याउको ब्रान्डी बनाउन सफल भए, उनको ब्रान्डीको तत्कालीन राजा वीरेन्द्रसमेत पारखी बनेका थिए,' प्रधानले भने। मुस्ताङको ब्रान्डी आउँदासम्म राजा वीरेन्द्रले अन्य मदिरालाई बेवास्ता गरेको प्रधान बताउँछन्।
बेलायती प्रोफेसर डेभिड स्नेलग्रोभ बौद्ध धर्मसम्बन्धी अध्ययन गर्न भारत हुँदै नेपाल आउँदा सन् १९५६ मा पासाङ उनको सहयोगी बनेर काम गरेका थिए। तिब्बतको तासिलन्पो विहारमा तिब्बतियोलोजी अध्ययन गरिरहेका पासाङ भारतको कालिङपोङमा तिब्बतियन पाण्डुलिपिमा काम गर्दै गर्दा उनीसँग जोडिएका थिए। पासाङलाई नजिकबाट चिन्ने कृषि वैज्ञानिक प्रधान पासाङले प्रोफेसर स्नेलग्रोभको कुक तथा पथप्रदर्शकका रूपमा काम गरेको बताउँछन्। उनै प्रोफेसर स्नेलग्रोभले पासाङलाई पछि युरोप लगेर एक दशकसम्म बस्ने वातावरण मिलाइदिए। पासाङसँग नेपालका विभिन्न मन्दिर तथा गुम्बामा घुमेर विभिन्न धार्मिक कार्यक्रमको जानकारी संकलन गरेका स्नेलग्रोभले सन् १९५७ मो 'बुद्धिस्ट हिमालय' पुस्तक प्रकाशित गरेका थिए।
पासाङबारे डेनिस कूटनीतिज्ञ माइकल भिन्डिङले आफ्नो पुस्तक 'दी थकाली' मा लेेखेका छन्, 'पासाङ खम्बाचे शेर्पाले प्रोफेसर स्नेलग्रोभको १९५६ को चर्चित यात्रामा साथ दिएका थिए। पछि स्नेलग्रोभले उनलाई युरोप लगे, जहाँ उनी दशकभन्दा बढी बसे र फ्रान्समा केही वर्ष हर्टिकल्चरसम्बन्धी अध्ययन समेत गरे।' कृषि वैज्ञानिक प्रधान पासाङ करिब आठ वर्ष स्नेलग्रोभसँग बेलायत बसेको र पछि फ्रान्स गएको बताउँछन्। उनी फ्रान्समा रहेका बेला सन् १९६६ मा तत्कालीन राजा महेन्द्र फ्रान्स भ्रमण गएका थिए। त्यतिबेला पासाङले पनि राजा महेन्द्रलाई भेट्ने अवसर पाएका थिए। भेटमा राजा महेन्द्रले नेपाल फर्किन आग्रह गरेपछि पासाङले नेपालमा काम लाग्ने केही सीप सिकेपछि फर्कने बताएका थिए। उनले महेन्द्रसामु हर्टिकल्चरसम्बन्धी अध्ययन गर्ने इच्छा व्यक्त गरेका थिए। लगत्तै राजा महेन्द्रले तत्कालीन फ्रान्सका राष्ट्रपति जनरल चार्ल्स डिगललाई पासाङको चाहना पूरा गरिदिन अनुरोध गरेको प्रधान बताउँछन्। त्यसपछि उनले हर्टिकल्चरसम्बन्धी अध्ययन गर्ने अवसर पाएका थिए। पासाङलाई राजा महेन्द्रले स्वदेश फर्कन आग्रह गरेको विषयलाई भिन्डिङले आफ्नो पुस्तक 'दी थकाली'मा पनि उल्लेख गरेका छन्।
वि.सं. २०२१ तिर कीर्तिपुर बागवानी अनुसन्धान केन्द्रमा इन्चार्ज रहेका प्रधानले मध्याह्नको टन्टलापुर गर्मीमा एक जना मानिसले सिंहदरबारस्थित पुतली बगैँचामा काम गरिरहेको देेखे। फान्समा हर्टिकल्चर अध्ययन सकेर पासाङ स्वदेश फर्किएको विषयमा जानकार भए पनि बगैँचामा काम गरिरहेको व्यक्ति पासाङ हुन् भन्ने प्रधानलाई थाहा थिएन। किनकि उनले पासाङबारे सुने पनि भेटेका थिएनन्। उनले बगैँचामा काम गरिरहेका व्यक्तिलाई पासाङजी भनेर बोलाए। काम गरिरहेका व्यक्ति बोलेपछि उनी नै पासाङ हुन् भन्ने कुरा प्रधानलाई थाहा भयो।
पासाङको काम गर्ने शैली देखेर प्रधान निकै प्रभावित भए। 'दिउँसोको चर्काे गर्मीमा पनि उनको काम गर्ने शैली देखेर म साँच्चै प्रभावित भएको थिएँ,' प्रधानले विगत स्मरण गर्दै भने। पासाङको कामबाट प्रभावित प्रधानले उनलाई सहयोग गर्न सुरुमा कन्ट्र्याकमा लिएर अंगुरखेतीको अध्ययन सुरु गरे। सुरुमा काठमाडौंको नारायणथानभन्दा माथिको टुङ बगैँचामा अंगुरखेती गर्नेबारे अध्ययन गरे। पासाङले त्यहाँ अंगुरखेती नहुने बताएपछि त्यो योजना त्यहीँ टुंगियो। केही समयपछि पाँच वर्षको कन्ट्र्याकमा पासाङ दुर्गम क्षेत्रमा गए।
शैक्षिक योग्यता हिसाबले पासाङसँग बौद्ध गुम्बामा दुई वर्ष पढेको अनुभव मात्र थियो। फ्रान्समा हर्टिकल्चर तालिम लिएका उनीसँग व्यावहारिक ज्ञान भने थियो। त्यही ज्ञानका आधारमा उनले पाँच वर्ष दुर्गम क्षेत्रमा सेकेन्ड क्लास अधिकृतसरहको सेवा सुविधामा काम गरे। उनलाई सिफारिस गर्ने प्रधान नै थिए। पासाङले पाँच वर्षको समयावधि सकेर काठमाडौं फर्कंदा प्रधान कृषि विभागको महानिर्देशक बन्दै थिए। पासाङले प्रधानलाई भेटेर आफूलाई फर्स्ट क्लास अधिकृतमा बढुवा गरिदिन र दुर्गम क्षेत्रमा नपठाउन अनुरोध गरे। त्यतिबेला प्रधानले उनीसँग एउटा सर्त राखे, मुस्ताङ, मनाङ र डोल्पोमा गएर स्याउ र अंगुर फार्मको सुपरभिजन गरे फर्स्ट क्लास अधिकृतमा बढुवा गरिदिने। त्यो प्रस्तावलाई पासाङले स्वीकार गरेपछि पासाङलाई मुस्ताङ पठाएको प्रधान बताउँछन्।
जिम्मेवारी वहन गरी मुस्ताङ पुगेका पासाङले केही समयपछि प्रधानसामु एउटा प्रस्ताव लिएर आए। त्यो थियो, स्याउको ब्रान्डी बनाउने। पासाङको प्रस्ताव सुनेर प्रधान आश्चर्यमा परे। 'मैले स्याउको ब्रान्डीबारे कहिल्यै सुनेको समेत थिइनँ, त्यसैले उनको प्रस्तावले मलाई आश्चर्यमा पार्यो,' प्रधान भन्छन्। प्रधानलाई स्याउको साइडर र वाइन बन्छ भन्ने थाहा थियो। ब्रान्डी बनाउने प्रस्ताव नौलो र आश्चर्यजनक थियो। प्रस्तावलाई उनले स्वीकार गरिदिए। त्यसपछि पासाङले प्रधानसँग त्यसको प्रशोधन मेसिनको माग गरे । मेसिन कहाँबाट ल्याउने भनेर प्रधानले प्रश्न गर्दा पासाङले पाटन औद्योगिक क्षेत्रमा आफैँले बनाउन लगाउने बताए।
आफूलाई त्यस विषयमा जानकारी नभए पनि प्रधानले पासाङलाई अनुमति दिए। मेसिन बनिसक्दा यति ठूलो भयो कि ट्रकमा पनि राख्न नमिल्ने र हवाई जहाजमा पनि नअट्ने। पासाङले मेसिनलाई हेलिकोप्टरमा झुन्ड्याएर जोमसोम लैजाने प्रस्ताव गरे। त्यो प्रस्ताव पनि स्वीकृत भयो। जोमसोम लगेको मेसिन स्याउ फार्ममा लगे पनि घरमा भने अटेन। त्यसका लागि पासाङले घरको सिलिङ भत्काएर घरभित्र मेसिन राखेको र पछि छाना लगाएको प्रधान बताउँछन्। पासाङको त्यो गज्जबको तरिका देखेर आफू अझ बढी प्रभावित भएको तत्कालीन कृषि विभागका महानिर्देशक समेत रहेका प्रधान बताउँछन्।
पासाङको योजनाअनुसार वि.सं. ०३२/३३ बाट मुस्ताङबाट ब्रान्डी उत्पादन सुरु भयो। उनको काम सफल भयो र चौतर्फी प्रशंसा पनि। 'पासाङले कुशलतापूर्वक स्याउको ब्रान्डी बनाउन सफल भए, उनको ब्रान्डीको तत्कालीन राजा वीरेन्द्रसमेत पारखी बनेका थिए,' प्रधानले भने। मुस्ताङको ब्रान्डी आउँदासम्म राजा वीरेन्द्रले अन्य मदिरालाई बेवास्ता गरेको प्रधान बताउँछन्।
मार्फाका व्यापारी विष्णुराज हिराचन पनि त्यतिबेला मुस्ताङमा पासाङले उत्पादन गरेको स्याउको ब्रान्डी नियमित दरबारमा जाने गरेको बताउँछन्।
हर्टिकल्चरको क्षेत्रमा नयाँ अभ्यासको सुरुवात गर्ने पासाङको ०५३ वैशाखमा ७० वर्षको उमेरमा निधन भयो। नेपालको कृषि क्षेत्रमा उनले पुर्याएको योगदान भने सधैँ सम्भि्कन लायक रहेको कृषि वैज्ञानिक प्रधान बताउँछन्।
पासाङबारे माइकल भिन्डिङले आफ्नो पुस्तक 'दी थकालीमा' लेखेका छन्, 'पासाङले एक दिन थाकखोलालाई फलफूलका रूखले छोप्नेछन् भनेर सहमत गराएको थियो, भविष्यले ऊ सही थियो भन्ने पुष्टि गरेको छ।'
प्रोफेसर डेभिड स्नेलग्रोभले 'प्लेस अफ पिल्गिमेज इन थाग(थाकखोला)' मा पहिलोपटक सन् १९५६ मा भेटिएका पासाङलाई १९७८ को नेपाल भ्रमणमा भेटेका बेला विगतको सबै सम्झना ताजा भएको उल्लेख गरेका छन्। स्नेलग्रोभले आफ्नो पुस्तक 'नेपाल पिल्गिमेजमा' त पासाङलाई जीवित बुद्धको संज्ञा दिएको प्रधान बताउँछन्।
प्रकाशित: २४ असार २०७४ ०४:१२ शनिबार





