५ वैशाख २०८१ बुधबार
अन्य

भाषाको गति

नेपाली साहित्यमा आख्यानिक र आख्यानेतर दुवै भाषाको अध्ययन रोचक हुन्छ। आख्यानिक र गैरआख्यानिक भाषाको विकास २०१७ सालपछिको राजनीतिक फेरबदलपश्चात् नयाँ मुहावरासाथ विकसित भएको हो। भाषालाई हिज्जे वा लेख्य एकरूपता, व्याकरणिक सुगठितताका प्रसंगभन्दा बाहिरबाट हेर्नु आवश्यक छ। किनभने, भाषा हिज्जे र लेख्य एकरूपता वा व्याकरणको हद भित्रभन्दा भिन्न सन्दर्भमा परिवर्तित र विकसित भइरहेको हुन्छ। परन्तु यो सतत जारी रहने प्रवि्र्कया हो। उदाहरणका लागि नेपाली साहित्य र साहित्यइतर प्रयोगको भाषामा एक समय 'कन' (यथा 'भनीकन, 'गरीकन') को प्रयोग बढी थियो। त्यसपछि एक किसिमको भारतमा पठित र शिक्षितहरूको नेपाली प्रशासन, अनुसन्धान र प्राध्यापन क्षेत्रमा प्रवेशपछि 'बाबजुद' प्रयोग गरी लेखिएका मिश्रित वाक्यको समय आयो। तर, ती 'कन' र 'बाबजुद' स्थगित भए पनि पूर्णतः लोप भएका छैनन्। ती प्रयोग भएका तार्किक भाषाको लेख्य रूप अझै पनि कायमै छ। 'कन' र 'बाबजुद' का प्रयोगले गम्भीर देखिने प्रयासमा लागेको भाषा पछि आएर अर्थात् हालको समकालीन पुस्तामा कम प्रयोग हुन्छ र 'जुन', 'जे' 'जसले/जसलाई' आदि प्रयोग गरिएको मिश्रित तार्किक भाषाको एकछत्र प्रयोग अगाडि उभिन आएको छ। यसभन्दा भिन्न नेपाली छापावाल मिडियाले छोटो तर सूचना विधिका लागि विकसित गरेको लेख्य भाषाको स्वरूप अझ भिन्न छ।

भाषाका माध्यमबाट साहित्यिक वा असाहित्यिक रचनाको अध्ययन विश्लेषण भिन्न विषय ठहरिन्छ तर सामान्यतः भाषामा आएको परिवर्तनले समाज, राजनीति र सांस्कृतिक परिवर्तनको स्वरूप र गति पहिल्याउन कति पनि गाह्रो हुँदैन। यो विषय अत्यन्त गम्भीर छ तर गम्भीरता आवरणगत नभई अध्ययनको भित्री चुरो भइदिएमा त्यसले वास्तवमै भाषाप्रति हितकारी परिणाम दिन सक्छ।

पहिलोचोटि फुटबल खेलको सन्दर्भमा हारेको टिमलाई जितेको टिमले 'स्तब्ध पार्‍यो' भनेको सुन्दा अचम्म लाग्यो। पछि बु‰दै जाँदा खेलकुदमा स्तब्ध पार्नु भनेको हराउनु नै रहेछ। यस्ता प्रयोग साहित्यिक कृतिमा प्रवेश पाइरहेका छन् वा छैनन् त्यो समीक्ष्य छ। साहित्य र मिडियाको भाषामा अन्तर हुनुपर्छ र हुन्छ पनि। मिडिया सूचनात्मक स्वभावको भाषा प्रयोग गर्छ भने साहित्यले त्यसभन्दा फरक। नेपाली मिडिया खबरका लागि मात्र अहिले स्थापित छैन। तिनमा विशेषतः राजनीतिक विश्लेषणका लेख–रचनाका भाषाले विश्लेषणात्मकताको प्रयोग गरेको हुन्छ। यसरी हेर्दा छापा माध्यममा देखापर्ने राजनीतिक लेखरचनाको भाषिक क्षमता र विषयको प्रस्तुतिमा विगतभन्दा धेरै नै सक्षम अभिव्यक्तिसाथ विकसित अन्तर आइसकेको पाउँछौँ।

साहित्यिक भाषाका लागि नेपाली प्रबुद्ध पाठक प्रमुख दुई वर्गमा विभाजित छ। एउटाले गरिबको शोषणबाट मात्र यो सम्पन्न संसारको सृष्टि भएको छ भन्छ र त्यही विचार वा त्यही शोषणविरुद्ध जाने वैचारिक पक्षधरता देखाउने भाषाका रचनालाई श्रेष्ठ मान्छ र अन्य प्रकारका कृतिलाई रद्दीमा बेच्नुपर्ने मान्छ। यसले बौद्धिक कमजोरी देखाउने मात्र होइन, रचनात्मकताको सन्दर्भलाई नै आफ्नो वैचारिकअनुकूल नपर्ने पाटोलाई कालो मसी पोत्ने काम गर्छ। तर अर्को पक्षले पहिलो पक्षका रचना र कृतिलाई समग्रमा अध्ययन गरेर तिनको विवेचना गर्छ।

तर नेपाली छापा मिडियामा पाइने भाषा प्रस्तुतिको विशेषता अनुसार बेसी आलोचनात्मक वा आफ्नो पक्षपोषणको भनाइमा खर्चिएको स्वरूपको छ, जसले गर्दा भाषा प्रयोगको नवीनता कमै पाइन्छ। राजनीतिक लेख–रचना भाषा प्रयोगको क्षेत्र पनि होइनन्। जे भए पनि नेपाली विद्युत् मिडियाले नयाँ शब्दावली 'क्वाइन' गर्ने प्रयास गर्छ। आधुनिक नेपाली मिडिया क्रान्तिमा एफएमको भूमिका निर्विवाद महत्व छ। यो 'स्तब्ध' पनि त्यसैले अलग सन्दर्भमा अर्थात् खेलकुदको सन्दर्भमा 'क्वाइन' गरेको हो। समाजलाई सूक्ष्म रूपमा गतिशील तुल्याइरहने वा सूचनाले भरिभराउ गरिराख्ने माध्यम विद्युत् मिडिया नै हो। यसले पहिले त पठनको परिश्रम माग्दैन र श्रवणको सुविधाद्वारा श्रोतालाई आकर्षित गर्छ। यसका श्रोता वर्गको समझको स्तरलाई ध्यानमा राखेर एक किसिमको गति भएको तर संक्षेपमा अभीष्ट विषय प्रस्तुत गर्न सक्ने भाषाको माग गर्छ। त्यो उत्साहमा यसरी क्वाइन गरिएको 'स्तब्ध' ले शब्दकोशीय अर्थलाई अस्वीकार गरेको पनि छ र त्यसको अर्थ विस्तार पनि एकैसाथ गरेको छ। तर, साहित्य लेखनमा यस्तो सुबिस्ता उपलब्ध छैन।

मिडियाका अनुसार भाषा दोयम हो र प्रस्तुत गरिने सूचनाको विषय पहिलो। विद्युत् मिडियाले पनि विषयअनुसारको भाषा श्रोता वर्गको ख्याल गरी प्रयोग गरिनुपर्ने हुन्छ। यसरी 'स्तब्ध' शब्द क्वाइन भएकामा खासै अचम्भित हुनुपर्ने छैन। पारम्परिक अर्थभन्दा पछि हटेर हार्नुलाई स्तब्ध हुनु भनेको सुन्दा अलिक मात्र होइन, निकै अनौठो लाग्ने गर्थ्यो आरम्भमा। स्तब्ध हुनुको प्रचलित अर्थ साहित्यिक पाठकलाई थाहै छ। तर, मिल्दोजुल्दो शब्दका रूपमा साहित्यमा पढ्दै आइएको थियो, 'रातको निस्तब्धता' पछि फेरि नयाँ जस्तो प्रतीत हुने 'सुनसान रात' आयो। यी दुईमा अर्थको खासै फरक नदेखिए पनि फरक त छ, तर त्यसको व्याख्या जरुरी छैन। मिडियाको विकासको आधार पनि विश्वमा देखापर्दै आएका साधन–स्रोत र तिनको प्रयोगको क्षेत्रको विस्तारअनुसार आफूलाई अनुकूलन गर्दै उपयोग गर्नु हो। नेपाली छापा र विद्युत् दुवै मिडिया यस्तै उपयोगमा दक्ष हुँदै आजको विश्वस्तरको पत्रकारिताको हाराहारीमा पुगेको छ भन्दा हुन्छ। मिडियाले जस्तै साहित्यले पनि विश्वका साहित्यिक गतिविधि, चिन्तन र सोचलाई आत्मसात् गरेरै आफ्नो लेखनको संरचनागत स्वभाव र लेखकीय शैलीमा परिवर्तन ल्याएको छ।

स्मरणीय छ, बालकृष्ण समका नाटकको संवाद–संरचना शेक्सपियरेली प्रकारको छ भने त्यस प्रकारका नाट्यसंवाद उस बखतको नेपाली साहित्यमा भित्रिएको एक अपूर्व उपलब्धि थियो। तर, त्यस्तो सधैँ रहेन। त्यस्ता नाटकको प्रभाव पनि दीर्घकालिक रहेन तर उनका कृति क्लासिकमा गनिए। समय परिवर्तनशील छ भने लेखन पनि परिवर्तनशील छ। विश्व साहित्यमा पश्चिमाले दुःखदायी रूपमा भोगेको विध्वंसक दुई विश्वयुद्धपछि साहित्यमा एब्सर्ड लेखन, आधुनिकता, उत्तरआधुनिकता, लेखकको मृत्यु, डेरिडा, विनिर्माण, समावेशिता, मार्क्सवाद, पुँजीवाद, किनारीकृतको पक्षपोषण आदि विचार एकपछि अर्को फड्दो मार्दै पसे। बीचमा रुसको सर्वहारा क्रान्तिले पनि विश्वसाहित्यलाई एक अर्को दिशाबारे सूचना दिँदै जागरूक गरायो। पहिलो र दोस्रो विश्वयुद्धले क्षतविक्षत पश्चिमा मुलुकमा आएको मूल्य र सांस्कृतिक विखण्डन एवं विचलनले उब्जाएका अनेक सामाजिक र वैयक्तिक प्रवृत्ति नेपाललगायत एसियाका देश र यिनका साहित्यमा समय–समयमा प्रवेश गरेकै हुन् र यिनको अनुरूपको लेखकीय भाषिक शैली पनि विकसित भएको हो। अहिले विश्वसाहित्य ती सबै विचलन र विमुक्तिबारे विस्मृतिमा गइसकेको छ, पहिलो र दोस्रो विश्वयुद्धका परिदृश्य ओझेलिएका छन् तर नयाँ किसिमका निमित्त युद्ध जन्मेका छन्, जन्माइएका छन्।

पर्यावरणीय क्षय विश्व चिन्तनलगायत साहित्यमा प्रमुख विषय बनेको छ। यसका अभिव्यक्तिको आफ्नै वैज्ञानिक भाषा छ तर त्यो वैज्ञानिक शब्दावली नेपाली साहित्यमा आंशिक मात्रामा मात्र छिरेको छ। अनेक मूल्यगत–लेखनगत, सांस्कृतिक विचलन र विखण्डनजनित दृष्टि परिवर्तनले बेलाबेला लेखकीय विचार प्रभावित हुँदै गरे पनि साहित्यको मूल स्वभाव अपराजित र अकलुषित नै रह्यो, यो मननीय छ। त्यो स्वभाव भनेको साहित्यले सदाकाल वहन गर्ने मानवतावादी, मूल्यवादी दृष्टिकोण र विचार नै हो। यसअनुसार सबैभन्दा पहिले मान्छे र मान्छेको अस्तित्व नै साहित्यको मूल अभिव्यत्ते्कय हो भन्ने स्थापित हुन्छ र यस मान्यतालाई साहित्यमा देखापरेका अन्य कुनै र कस्तै खालका वाद, विचार र विमर्शले स्थायी रूपमा भत्काउन चोइटाउन सकेनन् बरु मान्छे र मान्छेको जीवनलाई प्रभावित पार्ने मूल्यक्षय आदि तत्वको विश्लेषण चित्रणलाई नै सविरोध विस्तार र उच्च प्राथमिकता दिएको पाइन्छ। जीवनलाई स्वस्थकर परिवर्तनद्वारा समानतामा स्थापित गर्नुपर्छ भन्ने नेपाली साहित्यको लेखनगत मूल्य रहेको छ। यसै मूल्यले भाषालाई ओज दिन्छ। नेपाली साहित्यको भाषिक प्रयोगमा राजनीतिक र सामाजिक परिवर्तनसँगै धेरै फरक र फरक अभिव्यक्तिका भंगिमा आएका छन्। ती भंगिमा साहित्य लेखनका विषयगत भिन्नतासँगै तिनको प्रस्तुतिका लागि क्रमिक विकसित भाषिक आवश्यकता हुन्। अझ अर्को अर्थमा भन्दा भाषिक आविष्कार हुन्। एक समय शब्द चयनमा समेत शासकीय त्रासको जुन मनोवैज्ञानिक बाधा थियो, त्यो हटेपछिको साहित्यिक भाषा अहिले अनुपम र पारदर्शी बनेको छ। बीचमा द्वन्द्वकालका शक्तिले केही अवरोध उत्पन्न गरेकाले भाषा खुम्चिन खोजेको थियो, तर त्यस भयकारी आतंकी सोचलाई नेपाली जनता र राजनीतिले पूर्णतः अस्वीकार गरेपछि भाषाका अगाडि पुनः खुला क्षितिज स्थापित भएको छ।

नेपाली भाषाको आरम्भिक प्रयोगगत रूप 'मुन्सीका तीन आहान' मा पाइन्छ। त्यसमा तत्कालीन नेपाली गद्यको विकसित हुँदो स्वरूपको छनक पाइन्छ तर त्यसले पहिले यसरी पनि नेपाली भाषा लेखिँदो रहेछ भनेर स्तब्ध पार्दैन। तर अन्यत्रका प्राचीन र नृपकालीन शिलालेखमा जुन संस्कृतप्रधान तर भोजपुरी, मैथली, अवधी, उर्दु, फारसी र अरबी मिश्रित भाषाको प्रयुक्त गरिएको थियो। त्यो हेर्दा उसबेला अहिलेका दृष्टिले अविकसित तर सर्वसाधारण नेपाली समाजमा प्रचलित भाषाको स्वरूप 'मुन्सीका तीन आहान' ले प्रयोग गरेको रहेछ भन्न सकिन्छ। अहिले त नेपाली गद्यले निकै नै छरितो परिवर्तित रूप प्राप्त गरिसकेको छ।

आजको मिडियाले नेपाली भाषामा छोटो लेखाइमा बढी अर्थ विस्तारको खोजी गर्ने प्रयत्न–दुष्प्रयत्न पनि गरेको छ। त्यसले भाषाको रूप बुच्चिन पुगेको पनि छ, जस्तै 'शंकास्पद वस्तु फेला'। खबरको शीर्षकका लागि यो उपयुक्त र आकर्षक छ। तर, लोकले यसलाई स्विकारिसकेको छैन। अखबारमा हेरेर यो ऊ आसय बु‰छ तर व्यवहारमा स्विकार्ने र मान्ने गरेको छैन। राणाहरूको जहानियाँ शासन र शाहहरूको हुकुमी शासन त मानेनन् भने यस्ता टुटाफुटा भाषालाई स्वीकृत गर्ने लफडा बेसाइएको छैन। उसले त पूर्णरूपका वाक्य प्रयोग नगरी चित्त बुझाउँदैन– 'शंकास्पद वस्तु फेला पर्‍यो।' तर मिडियाको एउटा अति वा विडम्बना यो छ, उसले भाषाको प्रयोग होइन, भाषाको सवार गर्न चाहन्छ, तर भाषाको आफ्नै दुर्दम्य प्रवाह हुन्छ जुन लोक, समय र समाजले निर्माण गरेको हुन्छ। मिडियालाई भाषा दुर्घटनामा परोस् वा बचोस्, त्यसको पर्वाह छैन। ऊ विश्वास गर्छ, भाषालाई मनचिन्ते अनुसार हिँडाउन लगाम लगाउन सकिन्छ। अहिले मेरो सत्ता समानान्तर स्थापित छ। तर यति भएरै पनि प्रशंसामा मिडियाले नै नेपाली भाषाको प्रयोग र लोकप्रियता अझ बढाएको छ भन्दा हुन्छ तर केही त्रुटिजन्य प्रयोग छन्, जसलाई मिडियाले सच्याउनु जरुरी छ। यति भन्दाभन्दै पनि नेपाली भाषाको प्रयोगको क्षेत्रलाई आजको नेपाली मिडियाले बृहत् विस्तार गरेको अवश्य हो।

चलायमान भाषा हो नेपाली। यस सन्दर्भमा यो पनि विचारणीय छ, यो शास्त्रीय रूपमा र गैरशास्त्रीय रूपमा विकसित भाषा हो। संस्कृतनिष्ठता यस भाषाले पचाउन सक्तैन र अति लोकीकृत भाषालाई पनि यसले मान्दैन। मूल कारणमा यो प्रयोग गर्ने विविध समाज छ। समाजअनुसार यसको प्रयोग विविधता छ। तर मानक रूप कायम गर्ने आवश्यकताले यसले धेरै विचलनलाई अन्तर्भुक्त गरेको छैन। भाषाको बाध्यता पनि हो, एउटा मानक रूपलाई स्वीकृत नगरी धरै छैन। भाषा वर्तमान नेपालको राजनीतिजस्तो अराजक हुन सक्दैन। यसको प्रेषणीय हुनुपर्ने बाध्यताले यसलाई अराजक हुनबाट रोक्छ। तर, यताको समयमा साहित्य लेखनको एक प्रमुख विधा आख्यान र काव्यमा भाषाको विकसित क्षमता देख्न पाइन्छ। आख्यानिक भाषाका लागि भवानी भिक्षु र गोविन्द गोठालेले प्रयोग गर्ने भाषालाई तुलनीय सन्दर्भमा हेर्न सकिन्छ। यसको यो अर्थ लाग्न पनि सक्छ र नलाग्न पनि सक्छ, भवानी भिक्षु निक्खर मधेसी हुन् भने गोविन्द गोठाले काठमाडौं उपत्यकाका मल्ल नेवार। यसमा एकलाई हिन्दीको संस्कृतनिष्ठताले र अर्कोलाई नेवारी लेखनको संवादमय वा कथनात्मक भाषाको प्रयोगले उत्प्रेरित गरेको छ। यसरी आ–आफ्ना भाषा संस्कारले उनीहरू उत्प्रेरित वा बाधित भएको अनुभव हुन्छ अनि त्यस किसिमका विशेषता उनीहरूको चित्रणगत गद्यमा देखिन्न आउँछ। भवानी भिक्षु बढी संस्कृतनिष्ठताको परिचय दिन्छन् भने गोविन्द गोठाले सामान्य नेपाली बोलचालको परिपक्व भाषाको चित्रणबाट पात्रहरूको मनस्थिति छर्लंग्याउँछन्।

काव्यका क्षेत्रमा गोपालप्रसाद रिमालपछि ठ्याक्कै काव्यभाषाको विकसित तेवर भूपिमा आएर देख्न सकिन्छ। बीचमा वैरागी काइँला वा ईश्वर वल्लभ आदि कविले मूर्त र अमूर्त काव्यगति अँगाले पनि सामान्यतः रिमाल वा भूपि बढी सर्वसाधारणका मन–मथिंगलमा बस्न पुगेका छन्, त्यो पनि भानुभक्तपछिको आधुनिककालमा। मतलब आधुनिक कालमा पनि गद्यकविता मौखिक वा जनश्रुति परम्परामा कोटेबल बनेको छ भने ती रिमाल र भूपिका कविता हुन्। काव्यको बृहत् धारमा आ–आफ्ना अवदान लिएका सबै कवि नेपालीका भाषाका लागि स्तुत्य छन् तर केही यस्तो छ, जसले रिमाल र भूपिलाई भीडभन्दा भिन्नमा उभ्याउँछ।

औपन्यासिक भाषाको प्रयोगको स्वभाव यताका गद्यकार (आख्यानकार) पुस्ताले गोविन्द गोठालेलाई पछ्याएका छन्। पाठकीयका लागि त्यही भाषा अनुकूलित हुनाले नै यसो भएको हो। संस्कृतनिष्ठ भाषाको प्रयोग एक तहमा संस्कृत बुझेकाको अर्थव्याख्या सामर्थ्यको विषय हो। यताका उपन्यासकार पुस्तामा संस्कृत शब्दका क्लिष्ट रूप वा अर्थ जटिलताको प्रयोगनिष्ठताप्रति झुकाव छैन र उत्सुकता पनि छैन। संस्कृतका सामान्यभन्दा बाहिरका अप्रचलित शब्दद्वारा चित्रणलेखनको प्रयत्नमा यी लाग्दैनन्। त्यो विगतको विषय बनिसकेको सिद्ध छ। आख्यानगत चित्रण र पात्र–परिवेशको लेखनलाई सजीवता एवं रोचकता दिन आजको आख्यानमा गद्यको सरल र प्रवाहमय विशेष प्रयोग पाइन्छ। घटना र पात्रको सामञ्जस्य स्थापित हुने संवादमय भाषाको लोभलाग्दो प्रयोग गरिएको हुन्छ। यो कतैकतै स्थानीय गद्यरूपको प्रयोगले पे्ररित हुन्छ भने कतैकतै नेपाली भाषाको ऐतिहासिक विकासको परिणतिका रूपमा अत्यन्त सुष्ठु रूपमा गठित र प्रयुक्त भएकोे पनि पाइन्छ। आजको लेखक विश्वका अनेक भाषाका मौलिक र अनुदित विविध कृतिको अध्ययन पनि गर्छ र उसले तिनबाट नवीन प्रस्तुतिको शैली र संरचनागत शिल्पको ज्ञान पनि प्राप्त गर्छ। मान्छेको जीवनलाई नवीनतापूर्वक हेर्ने दृष्टिकोण पनि पाउँछ। यसले आख्यानेतर गद्य लेखनको भाषा क्लिष्ट शब्दसंग्रहको आतंकदायी प्रभाव सिर्जनामा रुमलिरहँदैन, अनेक सरल शब्द समूहले निर्मित गर्ने अर्थव्यञ्जकताको गतिशीलतामा निर्भर रहने गर्छ।

विगतको एक खास समयमा गद्यका नवीन मानक रूपका प्रयोक्ता र तत्कालीन नेपाली समाज र पाठकवर्गलाई चकित पार्ने कृति महाकवि देवकोटाको 'लक्ष्मी निबन्ध संग्रह' हो। बालकृष्ण समले आफ्ना नाटकमा दर्शन बोकेका संवाद, तारानाथ शर्मा (ताना सर्मा) ले आफ्ना नियात्रामा आख्यानेतर सशक्त गद्यको रूप प्रस्तुत गरे। यता आएपछि वा उनीहरू सँगसँगै अर्का एक गद्य प्रतिभा वा निबन्ध प्रतिभा शंकर लामिछानेको उदय भयो। तिनको गद्यलेखनले नेपाली भाषाको अनुद्घाटित एक नयाँ रूप पनि स्थापित गर्‍यो। उनका निबन्धले आधुनिक समयका वैयक्तिक भोगाइ र वैचारिक अन्तर्द्वन्द्वलाई व्यक्त गर्नुका साथै आफ्ना निबन्धका धेरै पछिसम्म प्रभाव कायम राख्यो। उनले नैबन्धिक विषयका लागि नयाँ तर अक्षत विषय चामत्कारिक गद्यमा प्रस्तुत गरे। यसपछिका यस्तो नवीन वैचारिक उद्घाटन डिपी भण्डारीका निबन्धमा यदाकदा पाइन्छ। उता प्रवासमा रामकृष्ण शर्माको समालोचकीय गद्य पनि यस्तै चामत्कारिक थियो। यद्यपि उनीहरूका शैलीका प्रयोक्ता वा अनुयायी धेरै भएनन्। जति भए तिनले पनि उनीहरूको जस्तो चामत्कारिक गाद्यिक प्रभाव उत्पन्न गर्न सकेनन्।

नेपाली भाषामा अर्का नैबन्धिक प्रतिभा थिए, कृष्णचन्द्रसिंह प्रधान। नेपाली भाषामा नैबन्धिक प्रतिभाको उदय जारी छ र तिनले निबन्ध लेखनको निर्मल र गहन धारलाई कायम राखेका छन्। उनीहरूको आख्यानेतर गद्यको चमत्कारको प्रभाव स्थापित पृष्ठभूमिमा तत्कालीन नेपाली समाजको आधुनिकता प्रवेशको समय थियो। त्यस समय सबै क्षेत्रमा पुरानालाई नवीनताले स्थानापन्न गर्दै थियो। साहित्यमा पनि शैली, शिल्प र भाषाको नवीनताले ठाउँ ओगट्दै थियो। पत्रकारितामा नयाँ भाषाको सम्भव भइरहेको थियो। आख्यानेतर गद्यको चामत्कारिक प्रभाव समाजले दैनिक जीवनमा अनुभव गर्न पायो। हालको समयमा आख्यानेतर गद्यमा त्यस्तो स्थापना र चमत्कारको अनुभवको आवश्यकता रहेन। अनेक विद्युत् सञ्चारका माध्यमले समाजलाई नयाँ लोकभित्र दैनिक रूपमा प्रवेश गराइरहेको थियो। अझै पनि विषयगत नवीनताको अनुभव गर्न त सकिन्छ तर खुला समाजको गतिविधिमा विचारको नवीनताले आकर्षित गरे पनि त्यसले समाजलाई पहिलेजस्तो हल्लाइहाल्ने प्रभाव राख्न छाडेको थियो।

नेपाली साहित्यका एक अत्यन्त मान्य उपन्यासकार बिपी कोइरालाका औपन्यासिक कृतिले नेपाली समाजमा नारीवादी वा नारी स्वतन्त्रताको नयाँ आयाम प्रस्तुत गर्‍यो र उनका औपन्यासिक कृतिमा त्यसअनुरूपको संरचना र गाद्यिक दक्षता देखियो। उनका ती विचारलाई स्वतन्त्रतापूर्वक विस्तारमा विश्लेषण गर्दै तत्कालीन समाजले बहसमा ल्याउन सक्दैनथ्यो। तत्कालीन शासनले अख्तियार गरेको राजनीतिक प्रतिबन्धभित्र बिपीको प्रजातान्त्रिक समाजवादी राजनीतिक विचार मात्र पर्दैनथ्यो, उनका औपन्यासिक कृति पढ्नमा पनि बन्देज थियो। तत्कालीन समाजले साहित्य र राजनीतिलाई अलग गरेर हेर्दैनथ्यो। बिपीका नारी स्वतन्त्रताका हिमायती औपन्यासिक कृतिले राजनीतिक स्वतन्त्रतापछि बहस–विमर्शको विस्तृत अवसर पाए तर नयाँ पुस्ताबीच उनको गद्यको प्रभावले उनको विचार जति विस्तार पाउन सकेन। त्यस समयसम्म नेपाली भाषामा आख्यानिक भाषा र आख्यानेतर विधाका भाषाको व्यापक प्रायोगिक गतिशीलता आइसकेको थियो।

०४६ पछि नेपाली साहित्यको गाद्यिक क्षेत्रको अर्को विशेषता थियो– व्यंग्य, यसले नयाँ गति प्राप्त गर्‍यो। भैरव अर्याल, केशवराज पिँडाली, श्याम गोतामेलगायत व्यंग्यकारको युग बितिसकेको थियो तर तिनका व्यंग्य रचनाको समाजमा पुनर्पाठ र पुनर्विश्लेषणको अवसर थियो, प्रभाव पनि थियो र छ। ०४६ पछि अभिव्यक्ति स्वतन्त्रताको प्रयोग गर्दै राजनीतिक विकृति, विसंगति, विडम्बना र भ्रष्टाचार, सत्ता दुरुपयोगका अनैतिकता आदिमाथि निर्भीकताका साथ गहिरा घाउ गर्ने चोटिला व्यंग्य लेखिए। यस्ता व्यंग्य बाह्य रूपमा असाहित्यिक प्रतीत भए पनि अन्ततः यिनलाई साहित्यले आफ्नो क्षेत्रमा हुल्न र मान्यता दिन बाध्य भयो। साहित्यको अवधारणागत व्यंग्यको स्वरूप र लेखनका परिसीमा पुनर्व्याख्यायित हुन बाध्य भए। यद्यपि केही मार्क्सवादी आलोचकले यस लेखनलाई अखबारी लेखन भनेर खारेज गर्न खोजे। तर व्यंग्यले ०४६ देखि ०६२/६३ सम्मको जनआन्दोलन अवधिसम्म आफ्नो सशक्त गद्यद्वारा जनमानस र राजनीतिक जगत्लाई आन्दोलित पारिरह्यो। त्यस अवधिमै साहित्यमा व्यंग्यप्रति रहेको अवहेलनाको दृष्टि र आग्रह भत्कियो, नयाँ दृष्टिकोण निर्मित भयो। यो सबै यस कारण भयो, व्यंग्यिक गद्यले जनमानसको प्रतिनिधित्व गर्दै एक अनौठो र अकल्पित भाषा रूप र त्यसको मारक क्षमता देखायो। यस अवधिका व्यंग्यले प्रयोग गर्ने भाषाको अध्ययनले यो स्पष्ट पार्छ, नेपाली भाषाको व्यंग्यिक प्रहारात्मक क्षमता कति शक्तिशाली थियो। तर यस शक्तिका पछाडि समकालीनलाई बाटो देखाउने पूर्वव्यंग्यकारको व्यंग्यात्मक भाषिक प्रयोग र रचनाशिल्पको प्रेरणा रहेको स्वीकार्य छ।

व्यंग्य विधा हो वा सबै विधामा अन्तर्निहित रहने भाव हो भन्ने विषय विवादास्पद बन्यो, विवाद कायमै छ। व्यंग्य निबन्धको एक अंग हो तर व्यंग्य लेखनको वैचारिक क्षमता र गाद्यिक प्रयुक्तिको विशेषतालाई ध्यानमा राखी विश्लेषण गर्दा यो बेगल विधामा परिगणित हुन सक्छ। व्यंग्य लेखनका लागि एक विशेष प्रकारको अपक्षपाती, तटस्थ र भेदक दृष्टि चाहिन्छ। यसले निबन्धबाट व्यंग्यलाई अलग रहेको परिचय स्थापित नगरिहाल्ला तर आख्यानेतर सबै लेखन निबन्ध हुन सक्तैन भने व्यंग्य लेखनलाई पनि एक–अर्को विधा मानिदिँदा आपत्ति गर्नुपनर्ेे छैन। यसको आफ्नै संरचानगत विशेषता र भनाइको शैली विकसित छ। भाषा त यसको मूल ऊर्जा भइहाल्यो र यस्तै व्यंग्यात्मक भाषा समकालीन आख्यान साहित्यले पनि ग्रहण गरेको छ। यद्यपि त्यस्ता आख्यान विशुद्ध व्यंग्य होइनन् तर आफूमा निहित व्यंग्य भावलाई व्यक्त गर्न व्यंग्यिक भाषाको सहारा भने लिएका हुन्छन्। आजको आख्यान लेखनमा व्यंग्यभाषा एक विशेष परिचयात्मक साहित्यक तत्व पनि बनेको छ।

मिडियाले साहित्यलाई ओझेलमा पारेको छ भन्न हिचकिचाउनुपर्ने हुन्छ। साहित्य पढेर पाइने भाषिक आस्वाद अचेलका छापा माध्यमबाट सग्लै प्राप्त गर्न सकिन्छ। साहित्यलाई अवहेलना गरिनेभन्दा भाषाको सुन्दर र सटिक प्रयोगले मिडियाका खबरमा साहित्यिक झझल्को पाइन्छ। यो मिडियाले प्रयोग गर्ने नेपाली भाषाको सुन्दर र प्रभावकारी विविधताको उपलब्धि नै हो। आख्यानिक वा आख्यानेतर भाषाको प्रयोग नेपाली जगत्मा बढेर आएको छ। साहित्यका संवाहकका रूपमा अचेलका राष्ट्रिय समाचारपत्रले परिणाममूलक भूमिका निर्वाह गरेका छन्। साहित्यिक रचना यिनका परिशिष्टांकमा देख्न पाइन्छ र यिनले नै नेपाली रचना जगत्को भाषिक क्षमतालाई वा रचनात्मक भाषा क्षमतालाई हालको समयमा बलियो भूमि दिएका छन्। स्वतन्त्र दृष्टिकोणका साहित्यिक पत्रिकाको अभावमा आजको स्वतन्त्र अभिव्यक्तिका प्रेरणाले लेखिएका रचना छाप्न/छपाउन कठिनै छ। त्यस्ता रचनालाई विचारको भिन्नता बोकेका आजका समाचारपत्रहरूका सम्पादकले वैचारिक जगत्मा तरंग पैदा गर्न वा खबर कागतको बिक्री बढाउन वा गम्भीरता देखाउन वा यीभन्दा अत्यन्त बेग्लै कारण व्यक्तिगत परिचय र विश्वासका आधारमा सुरुचिपूर्ण तरिकाले छापिदिने गरेका छन्। नेपाली साहित्यिक जगत् र भाषाजगत् नेपाली समाचारपत्रका सम्पादक र स्वयं समाचारप्रति पनि आभारी रहनुपर्ने देखिन्छ।

यति भए पनि समाचारपत्रहरूको भाषिक नीति एकरूपतामुखी छैन। लेखको सुरुमा भनिएझैँ विचारको प्रधानता नै भाषा प्रयोगको सरोकार हो। तर, भाषाको हिज्जे वा लेख्य एकरूपता गौण हो भनिए पनि अभिव्यक्ति स्वतन्त्रता प्रत्याभूत गरिएका राजनीतिक माहोलको दशकभन्दा बढीको यात्रा पूरा गरिसकेका आजको छापा मिडियाले वा विद्युत् मिडियाले यसतर्फ पनि गम्भीर मात्र होइन, दरो पाइला टेक्ने अवस्था छ। टिभीका स्क्रोलमा देखापर्ने भाषा उत्पातै बिग्रेको हुन्छ। भाषाको गम्भीरता र विश्वसनीय तिनले बिगारेका छन्। तिनको सुधारभन्दा विज्ञापनको मुख्य उपलब्धताप्रति अखबारका मालिक र सम्पादक चिन्तिन र प्रयत्नशील छन्। यो स्वाभाविक हो, व्यापारिक बढोत्तरी नभएमा मिडियाको आर्थिक अवस्था दुब्लाउने पक्कै छ। तर भाषाको न्यूनतम शुद्धता र शुद्ध शब्दको प्रयोगका लागि पनि सजग रहनु बढ्दो नेपाली छापा वा विद्युत् मिडियाका लागि एक अनिवार्य पक्ष बन्दै आएको छ।

साहित्य लेखनको भाषामा पनि अनेकता देखिन्छ। 'आभास' वा 'आभाष', 'अनुसरण' वा 'अनुशरण' आदिको प्रयोगको भ्रम अझै समाधान हुन सकेको छैन। साहित्य लेखन, प्रकाशन र सम्पादनमा यी कुराको सजगता वा एकरूपता अत्यन्त आवश्यक छ। साहित्यिक पत्रिकाले समेत यस्ता सन्दर्भमा मतैक्य बनाउन सकेका छैनन्। एक विकसित भाषाको आधारभूत स्थिर रूप यस्तै प्रयोगका शुद्धता र एकरूपताले बताउँछन्।

साहित्यका सबै विधा आख्यान वा आख्यानेतर वा काव्यमा प्रयुक्त हुने भाषाको अध्ययन एउटै लेखमा हुनु सम्भव छैन तर गरियो। भाषाका माध्यमबाट साहित्यिक वा असाहित्यिक रचनाको अध्ययन विश्लेषण भिन्न विषय ठहरिन्छ तर सामान्यतः भाषामा आएको परिवर्तनले समाज, राजनीति र सांस्कृतिक परिवर्तनको स्वरूप र गति पहिल्याउन कति पनि गाह्रो हुँदैन। यो विषय अत्यन्त गम्भीर छ तर गम्भीरता आवरणगत नभई अध्ययनको भित्री चुरो भइदिएमा त्यसले वास्तवमै भाषाप्रति हितकारी परिणाम दिन सक्छ।

प्रकाशित: २० जेष्ठ २०७४ ०४:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App