१९ असार २०८१ बुधबार
image/svg+xml
अन्य

ऐतिहासिक उपन्यासले तेस्रो आँखा खोलिदिन्छ

कुन्द दीक्षित, लेखक तथा पत्रकार

लेखक तथा पत्रकार कुन्द दीक्षित जलवायु तथा द्वन्द्वबारे कलम चलाउन रूचाउँछन्। अंग्रेजी भाषाको साप्ताहिक पत्रिका 'नेपाली टाइम्स'का सम्पादक तथा प्रकाशक दीक्षित काठमाडाँै विश्वविद्यालयका पत्रकारिता विषयका प्राध्यापक पनि हुन्। उनले पत्रकारिताको 'डेटलाइन अर्थ' पुस्तक लेखेका छन्। स्वदेशी तथा विदेशी लेखकहरूका पुस्तकको गहिरो अध्ययन र समीक्षा गर्ने उनी पछिल्लो समय गैर–आख्यान पुस्तक बढी पढ्न थालेको बताउँछन्। यस पटकको पुस्तक परिक्रमामा उनै दीक्षितलाई समावेश गरेका छाँै।

तपाईंको हातमा अहिले कुन पुस्तक छ?

भारतीय उपन्यासकार अमिताभ घोषको 'दि ग्रेट डिरेन्जमेन्ट' पढिरहेको छु। उपन्यासकार घोषले लेखेको नन–फिक्सन पुस्तक हो यो। वातावरण तथा जलवायु परिवर्तन सम्बन्धी यस पुस्तकले भूगोलमा जलवायु परिवर्तनले पारेको प्रभावका बारेमा उल्लेख गरिएको छ। साहित्यले हरेक विषयलाई समेट्ने भए पनि जलवायु परिवर्तन सम्बन्धी विषयले फिक्सनमा स्थान नपाएको र आफूले पनि साहित्यमा उक्त विषयलाई समेट्न नसकेको बारेमा पनि लेखकले उल्लेख गरेका छन्।

यसअघि कुन पुस्तक पढ्नुभएको थियो?

कोरियन लेखिका हान काङको प्रसिद्ध उपन्यास 'दि भेजिटेरियन' पढेको थिएँ।

मन पर्‍यो कि परेन?

मन पर्‍यो। सन् २०१६ मा 'म्यान बुकर इन्टरनेसनल पुरस्कार' समेत जितेको यो पुस्तकको शैली मलाई निकै नै मन पर्‍यो। एउटै घटनालाई तीन जनाले प्रस्तुत गरेजस्तो लाग्ने यसको कथामा तीन पात्र छन्। कथामा मुख्य पात्रले एक्कासि मासु खान छाडेको विषयलाई आकर्षक ढंगले उतारिएको छ। ती पात्रले मासुका साथै सागपात समेत खान छाडेको विषयलाई कथामा रोचक शैलीमा प्रस्तुत गरिएको छ। 

अब के पढ्ने योजना छ?

रवि थापाको 'ठमेल' पढ्ने योजनामा छु। ठमेलको इतिहासदेखि वर्तमानसम्मका विविध विषयलाई समेटेर लेखिएको यो पुस्तक मेरो हातमा आइसकेको छ। अब यसलाई पल्टाउने मुडमा छु।

नेपालमा कस्तो पुस्तक लेखियोस् भन्ने लाग्छ?

ऐतिहासिक उपन्यासहरू लेखिनुपर्छ भन्ने लाग्छ। कुनै ऐतिहासिक घटना वा परिवेशलाई आधार बनाएर लेखिएका उपन्यासले हाम्रो तेस्रो आँखा खोलिदिने काम गर्छन्। तर, यस्ता उपन्यास पूर्ण रूपमा काल्पनिक भने हुनु हुँदैन। मैले मेरो पिताजी भएर भनेको होइन, आदरणीय कमलमणि दीक्षितले लेखेका पुस्तकमा यस्तो कुरा भेटेको छु। उहाँको देवहासनपछि उहाँले लेखेका पुस्तकहरू पनि अध्ययन गरिरहेको छु। उहाँले लेखेका पुस्तकमा प्रायः ऐतिहासिक घटनाक्रम जोडिएको हुन्छ। इतिहाससँग जोडेर लेखिने उपन्यास साँच्चिकै महत्वपूर्ण हुन्छन्। 

पढेकामध्ये सबैभन्दा मन परेको पुस्तक?

मैले आजसम्म पढेकामध्ये गिया भिन्सको 'एड्भेन्चरस एन्थ्रोपोसिन' नामक पुस्तक सबैभन्दा मन परेको छ। संसारभर डुलेर लेखेको ननफिक्सन यो पुस्तकमा मानिसले पृथ्वीको बाहिरी स्वरूपमा गरेको व्यापक परिवर्तनका विषयमा उल्लेख छ। मानव इतिहासमा मात्र नभएर पृथ्वीको पूर्वकालमा समेत यति धेरै परिवर्तन नभएको विषयमा विस्तृत अध्ययन–अनुसन्धान गरी लेखिकाले पुस्तकमा सटिक ढंगले विश्लेषण गरेकी छन्।

नपढी नहुने पुस्तक?

म्याट रिड्लीको 'जेनोम' र म्याथ्यु रिचार्डको 'ह्याप्पिनेस' नपढी नहुने पुस्तक हुन् भन्ने लाग्छ। जेनोमको अध्ययनले मानवजातिको उत्पत्तिका बारेमा राम्रोसँग जानकारी प्रदान गर्छ। त्यस्तै, ह्याप्पिनेसले खुसी कसरी पाउन सकिन्छ भन्नेबारे महत्वपूर्ण जानकारी दिन्छ।

नेपाली लेखकका पुस्तक अन्य मुलुकमा किन नपढिएका?

नेपाली पुस्तकहरू अंग्रेजीमा उल्था नभएकाले विदेशमा नपढिएका हुन्। विदेशमा नेपाली पुस्तक नपढिए पनि पछिल्लो समय विदेश जाने नेपालीमा पुस्तक पढ्ने बानीको विकास भएको पाएको छु। पहिले विदेश भ्रमण गर्ने नेपालीसँग यात्रामा राहदानी तथा अन्य कागजातमात्र देख्न सकिन्थ्यो। पछिल्लो पटकको मेरो विदेश यात्राका क्रममा भने अधिकांश नेपाली यात्रुका हातमा कागजातका साथै हातमा पुस्तक पनि देखेँ। यसले साक्षरताको बृद्धि, समाजमा आएको परिवर्तन, किताबबाट प्राप्त हुने ज्ञान अन्य कुराबाट पाइँदैन भन्ने सोचको विकास र नेपाली पुस्तकहरूको संख्यात्मकसँगै गुणात्मक बृद्धिलाई संकेत गर्छ।

पढ्न मन लागेर पनि नपाएको पुस्तक?

समय अभावका कारण चार्ल्स एलनको 'दि प्रिजनर अफ काठमाडौँ' नामक पुस्तक पढ्न पाएको छैन। यो तत्कालीन बेलायती आवासीय प्रतिनिधि ब्रायन हड्सन (जसलाई नेपालका लागि बेलायतका पहिलो राजदूत पनि भनिन्छ) का बारेमा लेखिएको पहिलो बायोग्राफी हो। उनलाई फादर अफ हिमालयन स्टडी भनेर पनि  चिनिन्छ। तत्कालीन परिवेश, उनले नेपालमा खेलेको भूमिकालगायतका विषयमा लेखिएको उक्त पुस्तक मसँगै छ, तर पनि पढ्न पाएको छैन। सुगौली सन्धि भएको ४ वर्षपछि नेपाल आएका उनलाई तत्कालीन राजा राजेन्द्रविक्रमले दूतावासमै बन्दीजस्तो बनाएका थिए। प्रकृतिसँग नजिक हुन चाहने उनले काठमाडौँको  विभिन्न ठाउँका ऐतिहासिक चित्रहरू बनाएका छन् भने प्रकृतिबारे पनि विभिन्न अध्ययन गरेका छन्। उनको जीवनसँग जोडेर ऐतिहासिक उपन्यास पनि लेख्न सकिन्छ।  

घरमा कतिवटा पुस्तक छन्?

ठ्याक्कै यत्ति पुस्तक छन् भन्न गाह्रो हुन्छ। लगभग एक हजार पाँच सयको हाराहारीमा पुस्तक होलान्।

प्रस्तुति : वसन्त खड्का

प्रकाशित: २३ वैशाख २०७४ ०६:२६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App