४ पुस २०८१ बिहीबार
image/svg+xml
अन्य

तन्नेरी सन्तानलाई कसरी ‘ह्यान्डल’ गर्ने ?

डा. रवि शाक्य
मनोचिकित्सक
छोराछोरी टिनएज अर्थात् किशोर अवस्थामा प्रवेश गरेपछि उनीहरूलाई कसरी सही तरिकाले ‘ह्यान्डल’ गर्ने भन्ने चिन्ता हरेक आमाबुबामा हुने गर्छ । बच्चाभन्दा माथि र परिपक्व पनि भइनसकेको अवस्था हो, किशोर अवस्था । यस अवस्थामा छोराछोरीको विशेष ध्यान राख्नुपर्छ । टिनएज प्रवेश गरेकाले आफ्नो छुट्टै पहिचान बनाउन कोसिस गर्छन् । त्यसैले उनीहरूलाई के सही र के गलत भन्ने कुरा तर्कसहित बुझाउनुपर्ने हुन्छ ।
बाल्यकालमा ज्ञानी, आज्ञाकारी भन्दै पुलपुलाएर हुर्काएका बच्चा जब किशोर अवस्थामा प्रवेश गर्छन् उनीहरूले अभिभावकले भनेको किन मान्ने ? भन्दै आफ्नो छुट्टै पहिचान खोज्न थाल्छन् । आमा वा बुबाले गरेजस्तो किन गर्ने ? म अरूभन्दा बेग्लै देखिनुपर्छ भन्ने जस्ता सोच राखेर धेरै किशोरकिशोरीले त्यहीअनुरूप व्यवहार गर्ने गर्छन् । हिजोसम्म आफूले भनेको मान्ने आज्ञाकारी छोरा वा छोरीमा एकाएक परिवर्तन आएपछि बाबुआमालाई उनीहरूलाई कसरी ‘ह्यान्डिल’ गर्ने भन्ने समस्याले सताउन थाल्छ ।
छोराछोरीको सबैभन्दा पहिला यो गर्नु हुन्छ वा गर्नु हुँदैन भनेर सल्लाह दिने अभिभावकसँग नै मनमुटाव सुरु हुन्छ । उनीहरूको सोच आमाबुबासँग ठ्याकै मिल्दैन । अधिकांश बच्चा आफू वयस्क भएको महसुस गर्न सामान्यतया अभिभावक र समाजको मार्ग निर्देशनभन्दा भिन्न हुन खोज्छन् । उनीहरूलाई आइडल लागेको व्यक्तिसँग आफूलाई दाँज्ने र उसैलाई पछ्याउन थाल्छन् । उनीहरूले जसलाई आइडल मान्छन् त्यसकै हुलियासँग मिल्ने गेटअप गर्न थाल्छन् । यस्तो अवस्थालाई ‘आइडेन्टिटी क्राइसिस’ भनिन्छ । यस्तो अवस्थामा किशोरकिशोरी अभिभावक वा शिक्षकले भनेकोभन्दा ठीक विपरीत क्रियाकलाप गर्ने गर्छन् ।  

किशोरावस्थामा अनेकौँ शारीरिक बदलाव आउँछन् । यौनांग र  हार्मोनको विकासका कारण किशोरकिशोरीको व्यवहारदेखि सोचविचारमा उथलपुथल नै हुन्छ ।


किशोरावस्थामा अनेकौँ शारीरिक बदलाव आउँछन् । यौनांग र हार्मोनको विकासका कारण किशोरकिशोरीको व्यवहारदेखि सोचविचारमा उथलपुथल नै हुन्छ । नयाँ पहिचान खोज्ने क्रममा ड्रग्समा फस्ने, जथाभावी रिलेसनसिपमा पर्ने लगायतका समस्या पनि देखापर्छन् । यही बेलामा सेक्स र सेक्सुआलिटीमा पनि पहिचान खोज्ने क्रम सुरु हुन्छ । आफ्नो बेग्लै पहिचान खोज्ने यो समयमा अभिभावकले भनेको फिटिक्कै नटेर्ने किशोरकिशोरी धेरै हुन्छन् । यो बेलामा साथीभाइले भनेको चाहिँ मान्ने गर्छन् । यस्तो बेलामा साथीसंगत निकै शक्तिशाली हुन्छ । साथीकै कारण कतिपय किशोरकिशोरी गलत काम गर्न उत्प्रेरित हुन्छन् । छोराछोरी र आमाबाबुका बीचमा हुने उमेरको भिन्नताका कारण पनि उनीहरूका रुचि तथा प्राथमिकता फरक हुन्छन् । तर, हुर्कंदै गरेका छोराछोरीको चाहना र भावनालाई आमाबाबुले पनि बुझ्नुपर्ने हुन्छ । ‘हामी यसो गर्दैन थियौँ’ भनेर आफ्नो जमानाको जस्तै गतिविधि छोराछोरीले पनि गरुन् भन्ने सोचाइ राखियो भने त्यसले थप समस्या सिर्जना गर्न सक्छ । त्यसैले किशोरावस्था प्रवेश गरेका छोराछोरीलाई उनीहरूको भावना बुझेर तर्कसहित कारण बुझाएर के गर्न हुने वा नहुने भन्ने कुरा बुझाउनुपर्छ । ‘मैले यसो गरेको थिइनँ त्यही भएर तैँले पनि गर्न हुँदैन’ भनेर जिद्दी गर्न थालियो भने छोराछोरी भड्किने र गलत बाटोमा लाग्ने जोखिम बढी हुन्छ ।
के गर्नु हुन्छ र के गर्नु हुँदैन ?
–आमाबाबुले आफ्ना छोराछोरीलाई उनीहरूका साथीभाइका अगाडि बेइज्जत गर्ने काम गर्नु हुँदैन । कुनै गल्ती गरेकै भए पनि साथीहरूका अगाडि गाली गर्ने वा यसले यस्तो गलत गरेको छ भनेर सुनाउनु हुँदैन । यो उमेरमा साथीलाई आमाबुबाभन्दा बढी महत्व दिने भएकाले साथीहरूका अगाडि आफ्नो बेइज्जत भयो भने किशोरकिशोरीमा त्यसको नकारात्मक असर पछिसम्म परिरहेको हुन्छ ।
–कुराकानी गर्दा आमाबुबाले आफू अनुभवी र पाको भएको भान दिनुपर्छ । तर, उनीहरूलाई स्वतन्त्र रूपमा सोच्न सक्ने महसुस गर्न पनि दिनुपर्छ । कुनै निर्णय लिनुपर्दा ‘म भएको भए यसो गर्थें, तिमी पनि बुझ्ने भइसकेका छौ जे निर्णय गर्छौं गर’ भनेर आफैँ निर्णय लिन दिनुपर्छ ।
–जाँड रक्सी सेवन तथा लागुऔषधका नराम्रा पक्षबारे जानकारी दिनुपर्छ । प्रेम तथा सम्बन्धमा उनीहरूको विचार सुन्नुपर्छ । कुनै गल्ती भइहालेमा त्यसलाई सम्हाल्ने किसिमले अभिभावकले ‘हामी छौँ’ भनेर भविष्यमा गल्ती नदो¥याउनेतर्फ सचेत गराउनुपर्छ ।
–आफूलाई एकदमै उदार र आधुनिक देखाउन छोराछोरीसँग बसेर रक्सी, चुरोट खाने गर्नु हुँदैन । हुर्कंदै गरेका छोराछोरीलाई आमाबुबाले साथीको जस्तै व्यवहार गर्नुपर्छ भन्ने तर्कहरू पनि सुनिन्छन् । साथीसाथीका बीच हुने जस्तो व्यवहार बाउ छोरा र आमा छोरीबीच हुँदा त्यसले खराब परिस्थिति पनि निम्तन सक्छ ।  
–छोराछोरीका अगाडि आमाबाबुले झगडा गर्नु हुँदैन ।
–आफ्नो कमजोरी लुकाएर छोराछोरीका अगाडि सबै जान्ने छु भन्ने भ्रम दिनु हुँदैन । उनीहरूलाई आफ्नो कमजोरी पनि बताउनुपर्छ । आफूले नजानेको कुरा जानेको छैन भन्नुपर्छ । वयस्क अवस्थामा पुगेपछि छोराछोरीले आफ्ना आमाबुबामा ‘हिरोइक फिगर’ कम देख्न थाल्छन् । बच्चा बेलामा मेरा आमाबुबाले सबैथोक गर्न सक्नुहुन्छ भन्ने लागेको हुन्छ । जब उनीहरू हुर्किंदै जान्छन् उनीहरूले आफ्ना आमाबाको सीमा पनि बुझ्न थाल्छन् ।
–आफूले गर्न नसकेको काम छोराछोरीबाट होस् भन्ने चाहना धेरै आमाबाबुमा हुने गरेको पाइन्छ । छोराछोरीलाई रुचि नै नभएको क्षेत्रमा जबर्जस्ती धकेल्ने काम गर्नु हुँदैन । उनीहरूलाई रुचि लागेको क्षेत्र र विषयमा करिअर बनाउने अवसर दिनुपर्छ ।
–छोराछोरीको साथीसंगतको बारेमा चासो दिनुपर्छ । ‘फलानोको कुरै नगर’, ‘घरमा लिएर नआऊ’ आदि भन्नु हुँदैन । नजिकका साथीहरूको गतिविधि नियाल्नुपर्छ । जसले गर्दा केही गलत भइरहेको छ भने पनि पत्ता लाग्छ ।

 किशोरावस्था आफ्नो बेग्लै पहिचान खोज्ने समय पनि हो । यो समयमा अभिभावकले भनेको फिटिक्कै नटेर्ने किशोरकिशोरी धेरै हुन्छन् । यो बेलामा साथीभाइले भनेको चाहिँ मान्ने गर्छन् । यस्तो बेलामा साथीसंगत निकै शक्तिशाली हुन्छ ।

 

छोराछोरीको यस्तो अवस्था देखिए
विचार पुर्याऔँ

-   विनाकारण राति ढिला आउनु
-    अगाडि परेर कुरा गर्न नखोज्नु
-    अस्वाभाविक रूपमा सुतिरहनु
-    बाथरुममा घण्टौँ बसिरहनु
-    पैसा धेरै खर्च गर्नु
-    दैनिक गतिविधि गडबड हुनु तथा पढाइ खस्कनु
-    बिरामी पर्नु
-    विनाकारण घरबाहिर जानु
-    पारिवारिक जमघटमा नबस्नु
-    कोठाभित्र अरू पस्दा असजिलो मान्नु वा पस्न नदिनु
यस्ता लक्षण देखिएमा छोराछोरी लागुपदार्थको दुव्र्यसनमा फसेका पनि हुन सक्छन् । यस्तो अवस्थामा आमाबाबु चनाखो हुनुपर्छ ।

 

 

प्रकाशित: १० वैशाख २०७४ १०:३६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App