१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

कथाः छुट्टीको दिन

मन्जु ज्ञवाली

शनिबारको दिन थियो । नलिना आमासँग मामा घर जाने तयारी गर्दै थिइन् । अचानक फोनको घन्टी बज्यो ।

नलिना दौडिदै फोन उठाउन पुगिन, ‘हेलो को बोल्नुभो ..? ए, सबिता के छ ? बिहानै फोन ग¥यौ त !’
‘नलिना आज पनि स्कुल लाग्छ रे ! कोर्स सिध्याउनु पर्ने भएकोले शनिबार पनि क्लास चल्छ भन्नुभएको थियो । हिजो तिमी स्कुल आइनौ तिमीलाई थाहा छैन होला भनेर फोन गरेको नि !’ सबिताले भनिन् । ‘ए हो र ! म त आमासँग मामाघर जान लागेकी छु । के गर्ने होला ? नगई नहुने हो ?’ नलिनाले आत्तिँदै सोधिन् ।

‘हत्तेरिका ! झन् आज मामाघर जान पाइने भो भनेर खुसी भएको, आज पनि स्कुल जानुपर्ने भयो । हाम्रा सर पनि ....! कस्तो स्कुल होला शनिबार पनि स्कुल लगाइदिन्छ ?’ नलिना एक्लै फतफताई । कुनै कारणले स्कुल बन्द भयो भने छुट्टीको दिनमा पनि उनीहरुलाई स्कुल जानु पथ्र्यो ।

‘अरु कुरा नगर । ! ल ! ल ! स्कुल आऊ त्यहीँ कुरा गरौंला’ भन्दै सबिताले फोन राखिदिइन् ।
नलिना र सबिता मिल्ने साथी थिए । उनीहरू सँगै स्कुल जान्थे । सँगै खेल्थे । सँगै खाजा खान्थे । दुवै पढ्नमा चलाख थिए । छुट्टीका दिनमा पनि उनीहरू कहिलेकाहीँ एकअर्काको घरमा गएर सँगै पढ्थे । कहिले फोनबाटै गृहकार्यबारे छलफल गर्थे । कहिले मोबाइलमा च्याट गर्थे । कहिले पढाइका बारेमा त कहिले साथीहरूका बारेमा कुरा गर्थे । तर त्यस दिन भने मामाघर जान तयार भएकी नलिनालाई स्कुल लाग्ने कुराले झर्को लागेर आयो ।

‘हत्तेरिका ! झन् आज मामाघर जान पाइने भो भनेर खुसी भएको, आज पनि स्कुल जानुपर्ने भयो । हाम्रा सर पनि ....! कस्तो स्कुल होला शनिबार पनि स्कुल लगाइदिन्छ ?’ नलिना एक्लै फतफताई । कुनै कारणले स्कुल बन्द भयो भने छुट्टीको दिनमा पनि उनीहरुलाई स्कुल जानु पथ्र्यो ।

‘के भो छोरी किन एक्लै बोलिरहेकी छिटो गर । हिँड जाऊँ । भरे फर्किनु पर्छ  !’ आमाले नलिनालाई तयार हुन अह्राइरहनुभएको थियो ।
‘हेर्नुस न आमा आज पनि स्कुल लाग्छ रे । भर्खरै सबिताको फोन आएको थियो । हजुर मामाघर जानुहोस् म त स्कुल हिँडेँ ।’
नलिनाले छिटो छिटो झोला बोकेर स्कुलतिर लागिन् । ‘नलिना पख न एकछिन खाना ....!’ आमा नलिनालाई रोक्न खोज्दै हुनुहुन्थ्यो । उनी दोडिहालिन् ।
 ‘कहिले नेपाल बन्द, कहिले चाड पर्व वर्षैभरि बिदै बिदा । शिक्षकले पनि शनिबार नपढाएर के गरुन बरा । शिक्षकलाई समयमा कोर्स सक्नुपर्ने । यो केटी पनि ....!’ भन्दै आमा नलिना गएको बाटोतिर हेरिरहनुभयो ।
नलिनाले बाटोमा साथीहरूलाई पनि देखिनन् । ‘आज एकदमै ढिला भएछ !’ भन्दै उनी झन् छिटो छिटो हिँडिन् ।
स्कुल पुग्दा त्यहाँ कोही थिएन । नलिनालाई अचम्म लाग्यो । एकैछिन पर्खने विचारले उनी चौरको बेन्चमा बसेर किताब पढन थालिन् ।
अचानक पछाडिबाट कसैले नलिनाको आँखा छोपिदियो ।
‘आम्मै नि को हो ?’ नलिनाले दुवै हात हटाउन खोज्दै भनिन् ।
नलिनाका आँखा झन् जोडले थिचिए ।
‘ऐया ! मलाई दुख्यो छोड न को हो ?’ नलिनाले हात तान्न खोज्दै भनिन् ।
आँखा छोपिदिने मान्छे खितितिती नक्कली हाँसो हाँसेको सुनियो ।
‘प्रगति हो तिमी । मलाई थाहा छ । छोड न !’ नलिनाले हात छोड्न कर गरिन् ।
तर आँखा छोप्ने हातहरू झन्झन् कसिँदै गए । नलिनालाई डर लाग्यो । कोही बदमास केटोले पो हो कि भनेर उनले हात छामिन् । तर त्यो हात केटाको जस्तो लागेन ।
नलिनालाई रिस उठ्यो । उनले आँखा छोप्नेको हातमा ‘चिटिक्क’ चिमोटी दिइन् ।
‘आत्था ! कस्तो जोडले चिमोटेको ?’ भन्दै सबिताले हात हटाइन् ।
‘सबिता तिमी ? छि !  कस्ती बदमास ! कस्तो तर्सें म !’ नलिनाले ठुस्किँदै भनिन् ।
‘छुट्टीका दिनमा स्कुल आएकी ? एक्लै पढ्ने विचार छ ?’ सबिताले हाँस्दै भनिन् ।
‘किन ? आज स्कुल लाग्दैन ? त्यसो भए मलाई किन फोन गरेको ?’ नलिनाले झर्किंदै भनिन् ।
‘आज एप्रिल फूल बनाउने दिन तिमीलाई थाहा छैन ? एप्रिल फूल !’ सबिता हाँस्दै पर भागिन् । नलिना उनलाई लखेट्दै पछिपछि दौडिन् ।

प्रकाशित: १९ चैत्र २०७३ ०३:५४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App