बलराम अधिकारी
म केबल सतह नपढूँ । म इच्छ्याउँछु– म जे पढ्छु त्यसले मलाई सोच्ने बनाओस् । मेरो चिन्तनलाई गहिराइतिर तन्काओस् । जे पढ्छु त्यसले मलाई तरंगित गराओस् र मेरो कल्पनालाई उचाइमा फैलाओस् । म पाठक हुँ । म शब्दको सहतमा विचरण गर्दा विचारको गहिराइ र कल्पनाको उचाइ दुवै चाहन्छु । यी दुईको समागममा प्राप्त हुने आनन्दको भोगी हुँ म । मेरो लेखकले म–पाठकलाई यात्रा गराओस् जीवनको त्यो अन्तरतहमा, जहाँ म आजसम्म पुगेको छैन, त्यो तह जुन मैले देखेको छैन या देखेर पनि त्यसमा मेरो ध्यान पुगेको छैन या ध्यान पुगे पनि त्यसलाई मनन् गरेको छैन । मेरो रोजाइका लेखकसँग मेरो याचना रहन्छ– तिमी नदेखिएका पक्ष देखाऊ, नसुनिएका आवाज सुनाऊ, नभेटिएकाहरूसँग भेटाऊ । जुुन दृश्य पहिले नै प्रष्ट छ, त्यसलाई फेरि देखाउनुको के औचित्य ? अदृश्यलाई दृश्यमा ल्याऊ । धेरैका आँखाले केन्द्र मात्र देख्छ । धेरैका कानले केन्द्रको आवाज मात्र सुन्छ । धेरैका नाकले केन्द्रको गन्ध मात्र थाहा पाउँछ । त्यसैले अधिक लेखकहरू आफ्नो लेखनीमा शक्तिकेन्द्र, व्यक्तिकेन्द्रलाई आफ्नो केन्द्र बनाउँछन् । तर, म चाहन्छु मेरो लेखकले किनारा लेखोस्, किनारको आवाजलाई पाठक कानसम्म पु¥याओस् । हरेक किनारको आफ्नै सौन्दर्य, गन्ध(दुर्गन्ध) हुन्छ केन्द्रको भन्दा निकै भिन्न । पाठक आँखालाई किनाराको सौन्दर्य देखाओस् । पाठक नाकलाई यसको गन्ध सँुघाओस् । अझ भनौँ, त्यस्ता स्थानहरू लेखिऊन् जो केन्द्रको पालनपोषण गर्छन् तर त्यही केन्द्रबाट उपेक्षित रहन्छन् । त्यस्ता व्यक्तिहरू लेखिऊन् जो केन्द्रको चम्किलो प्रकाशमा अदृश्यप्रायः रहन्छन् ।
कहिलेकाहीँ लेखनको प्रायः हाइब्रिड खेती बिग्रन्छ । आफ्नो मौलिकता र अर्काको सापटे विचारबीच सन्तुलन गुम्छ । मैले धेरै पटक यस्तो सन्तुलन गुमाएको छु । तर, दीपक मजति असन्तुलित भने छैनन् । लेखकले यसका बारेमा धेरै चिन्ता लिनुपर्दैन, किनभने असन्तुलन पनि कला बन्छ । पाठकको चाख बन्छ । उसले प्रष्ट देख्न सक्छ निबन्धकार कहाँनेर कसरी चिप्लिन्छ ।
म इच्छाउँछु– मेरो लेखकको शब्द शक्ति लिएर एब्सेन्स अर्थात् अनुपस्थितहरू वा गयलहरू उपस्थित बनून् । जो पहिल्यै उपस्थित छन् तिनका लागि तिमी नभए पनि हुन्छ । ती त आफै पनि देखिन्छन्, आफै पनि सुनिन्छन् । कतिपय शक्ति धारक त आफ्नाबारेमा अरुलाई लेख्न पनि लगाउँछन् । नभए, तिनलाई हेर्न, सुन्न, लेख्न मान्छेहरू आफै तिनकोमा धाइलाग्छन् । तिनका लागि तिमी आवश्यक छैनौ । तिम्रो लेखकीय उपस्थिति केन्द्रको छायामा परेर अदृश्यप्रायः भएकाहरूका लागि होस् ।
सहरको काँठमा, नारायणी नदीको किनारामा खेली–हुर्की–बाँचेको भएर पनि होला म किनाराको गन्धमा, दृश्यमा रमाउँछु । किनाराको व्यथा, उमंग, उदासीपन, बेफिक्री पढ्दा आफैलाई पढेझैँ लाग्छ । मैले आफ्नै किनारे जीवनको, सहरका शक्ति केन्द्रहरूमा प्रायःजसो गयल हुने आफ्नै जीवनको, आफ्नै गुप्त मनोजगत्को लोकेसन खोज्दै जाँदा दीपक सापकोटाको निबन्धसंग्रह ‘लोकसन’ भेटेँ । यिनको पाठक बनी यिनका गोडाले हिँडेका भौगोलिक लोकेसनहरूको यात्रा गरेँ । पढ्दै जाँदा यिनका मानसिक लोकेसनभित्र प्रवेश गरेँ ।
लेखकको मूल लोकेसन उनकोे आफ्नो मस्तिष्क हो । उनकोे लेखनको दायरा र गहिराइ यही लोकेसनको विस्तार र घनत्वले निर्धारण गर्छ । यो लोकेसन यस्तो म्याग्नेटिक फिल्ड हो जसले बाहिरी लोकेसन र पात्रहरूलाई आफूमा समाहित गर्छ । यो मानस लोकेसन चेतना प्रोजेक्टर पनि हो । यही प्रोजेक्टरद्वारा लेखकले बाहिरी लोकेसन हेर्छ, देख्छ, ग्रहण गर्छ । उनकोे जीवनको समग्रता यही लोकेसनमा रहन्छ । यही लोकेसनले निर्धारण गर्छ– लेखकले बाहिरी दुनियाँमा के देख्छ, आफ्नो लेखनमा के उतार्छ, कसरी उतार्छ, पाठकसँग के संवाद गर्ने इच्छा गर्छ ! लेखकको मनोलोकेसनले निर्धारण गर्छ ऊ कस्तो भौगोलिक लोकेसनहरूमा जान्छ, कस्ता पात्रहरू भेट्छ र लेख्छ । दीपकको मनोलोकेसन रहस्यमयी र धूमिल स्थान, पात्र, समय र कर्मले भरिएको छ । उनले मनमा बोकी हिँडेका, पुगेका कतिपय स्थान, भेटेका कतिपय पात्र बर्जितझैँ लाग्छन् । उनकोे यस्तो लोकेसनमा प्रवेश गर्दा ‘म’ पाठक पुगेँ आर्यघाट– अवश्यम्भावी मेरो अन्तिम टुंगो या टुंगोको प्रतीक । उनले सुनाए मलाई मृत शरीर पोलेर जीवन पाल्नेको गुप्त व्यथा । यिनका निबन्धका वाक्यहरूको धर्सो टेकेर म पुगेँ रेडलाइट एरिया । यो म जान नसकेको तर मेरा लागि अधिक कौतूहलताको स्थान हो । उनले मलाई भेटाए त्यस्ता पात्रहरू जो शरीर बेचेर शरीर बाँच्छन् र जो शरीर खरिदेर शरीरको आनन्द लिन्छन् । पुगँे कुमारीघर जुन मैले धेरैपटक बाहिरबाट देखेको छु, तर आजसम्म भित्र हेरेको छैन । त्यहाँ यिनले मलाई भेटाए त्यस्तो पात्रसँग जो आफूलाई सामान्य मानव ठान्छ, तर जगत् देवित्वको दायित्व बोकाउँछ ।
रत्नपार्क र शरीरकै लागि शरीरको कारोबार, खोकनाका अँध्यारा गल्लीहरू, काठमाडौँका भट्टी, एनाकोन्डाको भावमा सलबलाइरहेको ठमेलको प्रतिसंस्कृति, जामे मस्जिदको चिहान दीपकले ठम्याएका यस्ता लोकेसन हुन् जहाँ म पुगेकै छैन । जहाँ म हत्तपत्त पुग्ने पनि छैन । यहाँका अधिकांश पात्रलाई मैले भेटेको छैन । केहीसँग जम्काभेट भयो पनि होला काठमाडौँका गल्लीहरूमा, सडकपेटीहरूमा, पार्कहरूमा, तर मैले देखिनँ यिनीहरूलाई । देखे पनि चिनिनँ । उनकोे मनोलोकेसनको यात्री बनेपछि भने अहिले लाग्छ आँखिर म रहस्यमयी देखिने, बर्जितझैँ लाग्ने यस्तै पात्रहरूसँगै यात्रारत् रहेछु । म आफै पनि दीपकको लेखनको पात्र रहेछु । यसको एउटा दृष्टान्त । ‘बेरोजगारको कुटिर उद्योग’ (त्रिभुवन विश्वविद्यालय) को एउटा अब्बल पात्र मै हुँ । यस उद्योगमा कार्यरत म पनि निष्क्रिय बौद्धिक जमात तयार गर्ने एक सक्रिय कामदार हुँ ।
दीपकले ताकेका, पुगेका, हिँडेका सत्ता यी भिन्न लोकेसन उनकोे सभिप्राय छनोट हुन् । यी लोकेसनहरू हिँड्दै जाँदा संयोगले पुगिएका होइनन् । निर्दिष्ट उद्देश्य लिई खोजिएका, पुगिएका लोकेसन हुन् । न त यहाँका पात्रहरू केवल संयोगले भेटिएका नै हुन् ! रेडलाइटभित्रको कोठीजस्तो गुप्त लोकेसन, आर्यघाटजस्तो भयमिश्रित कौतूहलतापूर्ण लोकेसन, खोकना र ओशो तपोवनजस्ता किनाराका मौन लोकेसनमा सामान्यतः संयोगले पुगिँदैन । गुप्तस्थान, किनारा र रहस्यको लत लागेको यात्री मात्र यस्ता लोकेसनमा रमाउँछ । त्यसैले यिनको भ्रमण लिप्सा सोद्देश्य देख्छु म । यिनी कुन स्थानमा जाने र कसलाई भेट्ने भन्ने पूर्वचेतना लिएर निस्किएका फिरन्ते लेखक हुन् ।
कहिले यी पहिले खास लोकेसन पत्ता लगाउँछन्, त्यहाँको परिवेश खिच्छन् र पात्रका मनोलोकेसनमा प्रवेश गर्छन् । कहिले भने यिनी पात्रको मनोलोकेसनबाट बाहिरी लोकेसनको व्यापकता र गहनता खिच्छन् । दीपकको लोकेसन भौतिक(भौगोलिक) र मानसिक दुवै हो । पात्रको मनोलोकेसन खिच्दा उनकोे हृदयको र मस्तिष्कको अँध्यारो खोपामा आफ्नो लेखकीय लेन्स केन्द्रित गरेका छन् । बाहिरी परिवेशलाई पाठकको दृश्यपटलमा ल्याउँदा स्थानपरिवेशको सामान्य वर्णन, त्यहाँको ऐतिहासिक तथ्य, मिथ, किंवदन्तीको सहारा लिएका छन् ।
दीपकको ‘लोकेसन’को यात्रा गर्नु भनेको मूलतः किनाराको यात्रा गर्नु हो । दीपक किनारामा हिँड्ने सचेत यायावर हुन् । यिनी किनारा मन पराउँछन् । किनाराका पात्रहरूसँगको अन्तक्र्रियामा रमाउँछन् । विश्वस्त देखिन्छन्– धेरैको आँखा पर्दै गए पनि किनारा एक दिन आफै पनि केन्द्र बन्नेछ । अनि त्यस केन्द्रले अरु किनारा जन्माउँछ । अनि फेरि निस्कन्छन् दीपकजस्ता अन्य किनारे यात्री जसलाई पढ्नेछन् मजस्ता किनारे पाठकले । मैले यो किनारे यात्रीसँग उनकोे पाठ्यभूमिमा सँगसँगै यात्रा गरेँ । कारण, म पनि किनारा मन पराउँछु । कारण, केन्द्र ज्यादा शक्ति सोहोर्छ परिधिबाट, किनाराबाट । केन्द्र शक्तिको बोझ बोक्छ, चाँडै थाक्छ । शक्ति–केन्द्रमा ज्यादा तनाव हुन्छ– तँ छाड्ने कि म छाड्नेको, शरीरको ठेलमठेलको, मनको उकुसमुकुसको, मस्तिष्कको चालबाजीको । त्यसैले नगर, महानगर तनावमा, भयमा हतासहतास कुदिरहन्छ । तर, किनारा प्रायः द्रष्टा भाव राख्छ । ऊ केन्द्रको खेललाई रमाइलो मानी हेर्छ । ‘लोकेसन’भित्रका खोकना, तपोवन, बाग्लुङ, आर्यघाटजस्ता विभिन्न लोकेसनमा पुग्दा नगर र महानगरको तनाव–केन्द्रबाट पर उभिनुको रोमान्चकता थाहा लाग्छ ।
दीपकले ‘लोकेसन’मा जोखिमपूर्ण लेखनीय यात्रा गरेका छन् । एक त निबन्ध साहित्यको सबैभन्दा जोखिमपूर्ण लेखन हो । कारण, यो तथ्य र कल्पनाको कलात्मक संयोजनमा बाँच्छ । यस्तो संयोजनको, सन्तुलनको कुनै मापदण्ड छैन । कला नै यसको मापदण्ड हो । सन्तुलन गुम्दा निबन्ध या त सूचनाको थुप्रो बन्छ र अखबारी रिपोर्टमा खुम्चिन्छ या काल्पनिकताको उडान मात्र बन्छ र आफ्नो बैधता गुमाउँछ । यसमा विचारको गहिराइ र कल्पनाको उचाइ दुवै चाहिन्छ । त्यस्तै, निबन्ध गद्य र पद्यबीचको अर्धलेखन हो । अर्धगद्य र अर्धपद्य शैली बोकेर निबन्ध पूर्ण हुने प्रयत्नमा रहन्छ । यी दुवै अर्धलाई समेटेर दीपक आफ्नो ‘लोकेसन’मा सन्तुलित उभिएका छन् । लेखनमा इमानदारी र आत्मस्वीकृति यिनले उठाएको अर्को जोखिम हो । विभिन्न भौगोलिक लोकेसनका बारेमा लेख्दा यिनले आफ्नै मनोलोकेसन लेखेका छन् । यिनी कस्ता ठाउँमा जान्छन्, कस्ता पात्र भेट्छन्, कस्तालाई भेट्ने कल्पना गर्छन् भन्ने आधारमा म पाठक सहजै अनुमान गर्न सक्छु यिनको मनोलोकेसन कस्तो छ, यिनी को हुन् र कस्ता छन्, मेरो अनुमान यिनको मूर्त शरीरको होइन, यिनको अमूर्त मनोस्थिति र यसबाट चल्ने मूर्त जीवनशैलीको हो । मेरो तात्पर्य, भौगोलिक लोकेसनहरू देखाउँदा लेखक आफै देखिएका छन् । लेखक द्रष्टा आफै दृष्टित भएका छन् । कतिपय निबन्धका लोकेसन केवल माध्यम बनेका छन् आफूलाई प्रस्तुत गर्ने । लेखेको त उनले आफ्नै यायावरीय जीवन हो । लेख्दा प्रायशः यिनी स्टार्क नेकिड अर्थात् आवरणरहित प्रस्तुत भएका छन् । अकलात्मक लाग्ने यस्तो प्रस्तुतिको भाषा अनपेक्षित, ठाडो र झड्का दिने खालको लाग्छ । कहीँ भने यिनी न्युड अर्थात् कलाको चलिआएको आवरणमा प्रस्तुतिएका छन् ।
यिनले मलाई बारम्बार देखाए आफ्नो अनुभूतिको सघनता र अध्ययनको गहनता पनि । तर, कतिपय लोकेसनको यात्रामा यिनी सतही द्रष्टा बनेका छन् । अनि पात्र–परिवेशको रिपोर्टिङमा सिमितिएका छन् । कहीँकहीँ मलाई सतहमात्र देखाए अनि सतहमा नै छाडिदिए । जस्तो नि, ‘पश्चिमी धुनमा नृत्यमग्न ठमेल’ मेरा लागि झन्डै रिपोर्टिङमा अन्तिएको पाठ्यजग्गा हो । म बुझ्छु यसो हुनुको कारण । हेर्नुपर्ने धेरै । हेरेका, देखेका सबै लेखुँ भन्ने आकांक्षा, धृष्टता पनि । पाठकले एकै बसाइमा पढोस् भन्ने लेखकीय लोभ पनि । अनि भित्र गहिरिन न त समय, प्रस्तुत गर्न न त पर्याप्त पाठ्यजग्गा नै । त्यसैले कतिपय अवस्थामा यिनले पाठकलाई सतहमा मात्र टेकाएका छन् । पाठकलाई नै भित्र पस्ने जिम्मा लगाएका छन्– आआफ्नै इच्छाशक्ति, चेतना र बोधको तहअनुसार ।
आफ्ना निबन्धहरूमा यिनले मलाई आफूले देखे–सुने–भोगेको मात्र देखाएनन्, उनले पढेको पनि मलाई पढाए । मेरो सूचनाको दायरा फराकिलो पारिदिए । मौका पाउनासाथ यिनले अन्य पाठजग्गाका आफूले भेटेका उब्जनी ल्याएर आफ्नोमा भित्राएका छन् । निबन्धकारमा यस्तो हाइब्रिड खेती गर्ने इच्छा ज्यादा हुन्छ । कहिलेकाहीँ लेखनको प्रायः हाइब्रिड खेती बिग्रन्छ । आफ्नो मौलिकता र अर्काको सापटे विचारबीच सन्तुलन गुम्छ । मैले धेरै पटक यस्तो सन्तुलन गुमाएको छु । तर, दीपक मजति असन्तुलित भने छैनन् । लेखकले यसका बारेमा धेरै चिन्ता लिनुपर्दैन, किनभने असन्तुलन पनि कला बन्छ । पाठकको चाख बन्छ । उसले प्रष्ट देख्न सक्छ निबन्धकार कहाँनेर कसरी चिप्लिन्छ । तर, लेखक लाज मान्दैन आफूले सन्तुलन गुमाएकोमा, आफू चिप्लिएकोमा, पछारिएकोमा ! ऊ पनि उसकोे पाठकसँगै मज्जाले हाँस्छ, आफ्नो हविगत देखेर । यतिखेर मेरो पठनले दीपकलाई फ्रान्सेली निबन्धकार मोन्टेनसँग जोड्न चाह्यो— असल निबन्धकार न त अहंकारमा छाती पिट्छ न त आफ्नो कमजोरीमा हीनताबोध नै गर्छ । ऊ केबल आफ्नो कमजोरीमा मज्जाले हाँस्छ आफ्ना पाठकसँगै । लोकेसन पढ्दै जाँदा कतिपय स्थानमा लेखक दीपक र पाठक म सँगसँगै हाँसेका छौँ एक–अर्को चिप्लिएको देखेर ।
प्रकाशित: २८ फाल्गुन २०७३ ०५:४७ शनिबार





