१२ मंसिर २०८१ बुधबार
image/svg+xml
अन्य

चिकित्सकको कांग्रेस झुकाव

शंकरप्रसाद उप्रेती चिकित्सक हुन् कि राजनीतिकर्मी? उनको जीवनयात्रा पुस्तकले उनी दुवथरि भएको देखाउँछ। दुवै भूमिकामा निष्ठाका साथ प्रस्तुत भएको उनले आफ्नो पुस्तक 'जीवन एक सपना'मा औल्याएका छन्। उनको राजनीतिक यात्रा प्रजातन्त्रकालको राष्ट्रिय पञ्चायत सदस्यको नाताले बढी परिचित हुन सक्छ। तर, कांग्रेसका निम्ति उनी त्योभन्दा ठूलो दायराका राजनीतिकर्मी ठहरिन्छन्, पुस्तकले त्यसै भन्छ। पञ्चायतको बिगबिगिमा सरकारी जागिरे भएर घनगढी हुँदा होस्, भोजपुरमा रहँदा वा झापामा निजी क्लिनिक चलाउँदा उनी कांग्रेसको प्रचारमा लागेको थुप्रै घटनाहरू उल्लेख गरेका छन्। उनका कथनले उनी बीपीका सच्चा अनुयायी तथा बीपीवादका प्रचारक रहेको बु‰न सकिन्छ। त्यसैले उनी बीपीपछिको पुस्ताका नेताहरूसँग आफ्ना कुरा निर्धक्क राख्न सक्थे।

पुस्तकमा लेखक आफूले भोगेका ठाउँहरू, उनले वर्णन गरेका पात्र, उपचार गरेका कतिपय विरामी र तत्कालीन परिवेश, सामाजिक जीवन र पञ्चायती राजनीतिका आरोहअवरोह कथात्मक पाराले बुनिएका छन्। उनको आफ्नो जीवनयात्राको वर्णनमा त्यसबेलाको समाजका तस्बिर खिचिएका छन्। आजभन्दा आठ दशकअघिको तेह्रथुमको चुहानडाँडामा जन्मिएका शंकरको बाल्यकालका स्मृतिहरू छन्। भँैसी गोठालोबाट प्रमोसन भएर गाई गोठालो बनेका सन्दर्भ आम ग्रामवासिकै भोगाइ हो। हिउँदे पाठशालाबाट सुरु भएको अध्ययनको दायरालाई उनी आफैले फैलाउँदै फैलाउँदै भारतको जयपुरबाट डाक्टरी शिक्षा आर्जन गरेको कथा आफैमा मर्मस्पर्शी कथाजस्तै लाग्छ।  काठमाडौँको दरबार स्कुलमा ७ कक्षामा भर्ना हुनुअघिको परीक्षामा हिसाब र अंग्रेजीमा फेल भएपछि मनमनै बनाएका योजनाले लखेटिँदैलखेटिँदै भारतको कानपुर पुगेको चर्चा उनले गरेका छन्।

'कुनै समय झापा कांग्रेसमा म गिरिजाबाबुको निकै नजिक थिएँ। तर, संसदीय दलको बैठकमा मैले भ्रष्टाचारको कुरा निकालेपछि भने गिरिजाबाबु मबाट टाढिए। छत्तीसे र चौहत्तरेको विवाद मिलाउनुहोस् भन्न थालेपछि त झन् भेटघाट हुनै छाड्यो।' किसुनजीलाई अन्तर्घात गरेर हराएको भन्ने सुनेपछि आफूले गिरिजाप्रसादलाई भनेका कुरा यसरी सम्भि्कएका छन्– 'यदि अन्तर्घात गरेर हराएको हो भने यो पाप हो। धर्मले भन्छ, पाप बाह्र वर्षपछि धुरीबाट कराउँछ।'

काठमाडौँबाट भाग्दाको एउटा घटनाबारे उप्रेती भन्छन्– '...रातभरि निदाएकै थिइनँ। बिहान अलिअलि आँखा देखिने उज्यालो भएपछि त्यही बर्को आढेर टाप दिएँ। अर्को शब्दमा भन्दा मैले गरिबको बर्को चोरेँ र के गर्ने परिस्थितिले मलाई बर्को चोर बनायो। बर्को चोरेर हिँडेपछि त्यहाँ पनि समात्छन् भन्ने डर छँदै थियो। म कुदेको कुद्यै गरेँ।' काठमाडौँबाट दाजुहरूलाई छलेर भाग्ने क्रममा बर्को चोर्न पुगेका उप्रेतीले धादिङ साल्दुङ, सिंखडा गाउँमा विष्णुप्रसाद सिंखडाको घरमा बसेर उनी तथा उनका भाइका छोराहरू ९ महिना पढाएपछि त्यहाँबाट बिदा भएका थिए। सिंखडाहरूको शिक्षक बनिरहेको बेला पनि दाजुहरूले भेट्छन कि भन्ने चिन्ता थियो। भारतको कानपुर पुगेर काम पनि गर्ने, पढ्दै जाने भित्री चाहनाले तानिरहेको  बेलिविस्तार पुस्तकमा छ। २००६ सालको बुटवलबारे उप्रेती लेख्छन्– '...खोलाको पूर्व र पश्चिममा केही छाप्रा र टिनका छानो भएका २–४ वटा घर थिए।  खोलाको पश्चिमलाई बटौली र पूर्वलाई खस्यौली बजार भन्दा रहेछन्। मेरो कल्पनामा बुटवल(बटौली) बजार धरानजस्तो होला भन्ने थियो, तर त्यस्तो रहेनछ। धरानकै जस्ता दोकानहरू, तर त्यहाँ मानिसको आवतजावत त्यत्ति थिएन।' अभिभावक नभएका केटाकेटीलाई नेपाली प्रहरीले सीमापार गर्न नदिने बुझेपछि बु्टवलबाट एक जना व्यापारीको भान्सेको भूमिकामा उनकै साथ लागेर २ रुपैयाँ घुस दिएर सीमा पार गरेको  वर्णन गर्दै उप्रेती लेख्छन्– 'पुलिस मान्दैन, २ रुपैयाँ घुुस खुवाउनु भने दिएँ। मेरो जीवनमा आफ्नो हातले दिएको घुस त्यही हो।'

बाल्ययकालदेखिको पढ्ने चाहना र स्वाभिमानी स्वभावले हुनसक्छ उनलाई विराटनगर, जोगबनी, काठमाडौँ हुँदै १४ वर्षको उमेरमा भागेर भारत पुग्नुअघि घादिङमा केटाकेटी पढाएर बसेको छद्मरूपले उनी कुनै सामाजिक कथाका नायकजस्तै लाग्छ। त्यहाँबाट कानपुरसम्मको यात्रा वर्णन, भान्से र घरको सहयोगी बनेर डाक्टरी पढेको शंकरका कथा मर्मस्पर्शी छ छन् नै साथमा प्रेरणादायी पनि छन्। कानपुर पुगेपछिको उनका भोगाइ यस्ता छन्– '...चियानास्ता गरेपछि फुलीवालीले भाँडा मा‰न लगाइन्। त्यस उमेरसम्म मैले एउटा चम्चा पनि पखालेको थिइनँ।' कानपुरको कहानी उनी यसरी बताउँछन्– '...विस्तारै थाहा भयो, मलाई घरमा ल्याउने मान्छेको नाम आरएस नारायण रहेछ। दक्षिण भारतीय तमिलभाषी नारायणका दुई सन्तान थिए, मभन्दा साना। २–४ दिनमा मेरो  ड्युटी बद्लियो। मलाई उनले तरकारी किन्ने बजार, रासन किन्ने पसल, दूध लिने ठाउँ, पोस्ट अफिस सबै देखाए। ती सबै काम मैले गर्नुपर्ने भयो। म फूर्तिसाथ काम गर्न थालेँ।'

शंकर खासमा काम गर्ने र त्यसबाट आएको पैसाले पढ्ने योजनामा थिए। त्यही उद्देश्यका साथ नारायणको घरमा काम गर्दागर्दै तिनै नाराणण आफैले उनलाई पढाउन थाले। शंकरको जीवनको अर्को मोड त्यही थियो। घरेलु सेवकको रूपमा प्रवेश पाएको एउटा किशोरले त्यहीँ बसेर स्कुल पढ्यो। त्यसैबेला नेपालमा आफ्ना परिवारसँग सम्पर्क हुन पुग्यो। उप्रेती लेख्छन्– '...म कानपुरमा नारायणजीको घरमा एउटा नोकरको रूपमा प्रवेश गरेको मान्छे, चार वर्षपछि त्यस घरको छोरोजस्तो भई हाइस्कुल पास गरेर निक्लेँ। त्यसमा नारायण दम्पत्तिको मप्रतिको माया र मेरो इमानदारी  बराबर थियो। कानपुर छोड्ने बेलामा नारायणजीका साथीहरूले भनेका थिए– पढाइको सिससिलामा हाम्रो सहायता चाहिए सम्झनु। त्यस्तै लखनौमा सुव्रमण्यम स्वामी र उहाँकी श्रीमतीले मलाई बाबुआमाको साथ दिनुभयो। मेरा शुभचिन्तक डा. मुखर्जी पढाइबारे सोधिरहुनुहुन्थ्यो। पछि कसैसँग भेट भएन। तर, मेरो मानसपटलमा सबै छन्, उहाँहरू सबैप्रति श्रद्धा रहिरहेकै छ।'

कानपुरको स्कुले शिक्षा, लखनौको आइएस्सीपछि उप्रेती काठमाडौँ फर्किएर त्यसबेलाको कोलम्बो प्लानअन्तर्गत भारतकै जयपुरमा एमबीबीएस पढ्न गएको प्रसंग निकै रोचक छ। उनलाई सहयोग गर्ने भारतीय दम्पत्तिहरू, आफ्ना बाबुको डाक्टर पढोस् भन्ने इच्छा, उनको आफ्ना परिवारबाट कुनै सहयोग नलिइ पढ्ने अठोट र त्यसबेलाको कोलम्बो प्लानबारेे नीतिगत व्यवस्थाले शंकरलाई डाक्टर बनाएको रहेछ। किताबमा अक्षरीकृत उनका कहानीले यसै भन्छ। कोलम्बो प्लानअन्तर्गत परीक्षामा सहभागी हुँदा लखनौबाट शंकरको मार्कसिट आएको थिएन। त्यसैले उनको नाम पहिलो लिस्टमा परेन। प्लानमा जाने पहिलो लिस्टमा सबै काठमाडाँैका केटाहरूमात्र परेको  पृष्ठभूमिमा उनलाई मेडिकल पढ्ने मौका मिलेको रहेछ। शंकरले लेखेका छन्– '...२००९ सालतिर एउटा नियम बनेको रहेछ–मेडिसिन र इन्जिनियरिङ पढ्न पठाउँदा एउटा पहाडको एउटा मधेसको अनिवार्य पठाउनुपर्नेछ। सप्तरीका अनिरुद्धप्रसाद सिंह, भगवतीप्रसाद सिंह राजाका नजिकका थिए। उनीहरूलाई आफ्नो मानिस मेडिसिनमा पढाउनुपर्नेरहेछ, ...उनीहरू राजाकहाँ पुगेछन्। हुकुम भएछ– मेडिकल पढ्न जानेमा एक जना पहाडको र एक जना मधेसको राख्नु। त्यसपछि मधेसबाट सिंहहरूका मान्छे गए, पहाडबाट मार्कििसट देखाउन नसके पनि अरु्क कोही नभएकाले मेरो नाम आएको रहेछ।'

कोलम्बो प्लानमा मेडिसिन पढ्न पाउने भएपछि उनले आफूलाई यसरी व्यक्त गरेका छन्– '...कृष्ण भगवान्लाई सम्झेँ मनमनै र आँखा बन्द  गरेर भनेँ– हे भगवान्, तिम्रो कृपाले नै आज मेडिकल पढ्न गइरहेछु। एमबीबीएसभन्दा ज्यादा पनि पढ्दिनँ, त्यत्ति भए मलाई पुग्यो। मैले आफ्नो अन्तरआत्मासँग बाचा गरेँ– मेरो शरीरले साथ दियो भने ५० वर्ष गाउँमा बसेर सेवा गर्ने छु। कालान्तरमा मैले आफ्नो अन्तरआत्मासँग गरेको बाचा पूरा गरेँ। यसैमा मलाई जीवन सार्थक भयो भन्ने लागेको छ।'

शंकरको त्यही ५० वर्ष गाउँमा सेवा गर्ने बाचाकै कारण घनगढी, भोजपुर र झापा शनिश्चरेमा काम गरे। उनी जहाँ बसे त्यहाँको अस्पताल सेवालाई विस्तार गर्न, विकास गर्न र आधुनिक चिकित्साप्रति सामान्य मानिसको ध्यान तान्न उनी सफल भएको देखिन्छ। घनगढीको अस्पताल र भोजपुरका अस्पताल चहार्दाका स्मृतिहरू, अस्पताल सेवालाई जनमुखी बनाएका प्रसंगहरु र भारतीय  चेलीलाई धर्मपत्नी बनाएका रोचक कहानीहरू पुस्तकमा छन्। उनको डाक्टरी पेशा र सीपको लाभ झापाका शनिश्चरेआसपासको ठूलो क्षेत्र, झापासँग जोडिएको इलामको तल्लो क्षेत्र र सुदूरपश्चिम कैलालीका फराकिला फाँटहरू अनि भोजपुरका पाखापखेरुले पाएको सगर्व चर्चा गरेका छन्।

डाक्टरी पेशासँगै कांग्रेसमा राजनीतिक लगाव राखेका कारण उनी आफूले नचाहँदानचाहँदै राष्ट्रियसभामा पुगेको बताएका छन्। धनगढी, भोजपुर हुँदै झापा झरेपछि राजनीति अझ प्रखर बनेको देखिन्छ। उनले भनेका छन्– '...सायद २०४६ सालको आन्दोलनमा  सबैभन्दा पहिले जेल जाने मेडिकल प्राक्टिसनर मै थिएँ। मलाई जेल हालेपछि टिचिङ अस्पतालमा डाक्टर र विद्यार्थी पनि आन्दोलनमा उत्रिएछन्। ममा अलिकति अहंकार जाग्यो, म ठूलो मान्छे भएछु।'

नेपाली कांग्रेसको राजनीतिलाई नजिकबाट नियालेका उप्रेतीले कतिपय भित्री कुरा पनि खोलेका छन् पुस्तकमा। कांग्रेसका नेता तथा प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको नेतृत्वका बेलामा सरकारको नीति तथा कार्यक्रम कांग्रेसका छत्तीसे सांसदका कारण फेल भएको घटनाबारे उप्रेतीको भोगाइ रोचक छ। नीति तथा कार्यक्रममाथि मतदान हुने दिन कांग्रेसका छत्तीसेहरू एक ठाउँमा बसेका र गिरिजाप्रसादले बोलाएमात्र सदनमा आउने नत्र नआउने अडानमा रहेको र आफूहरू बसेको स्थानको टेलिफोन पनि दिएको उल्लेख गरेका छन्। त्यो थाहा पाएर तत्कालीन राष्ट्रियसभा अध्यक्ष बेनीबहादुर कार्कीलाई साथ लिएर कोइरालासमक्ष गएको चर्चा गर्दै उप्रेतीले लेखेका छन्– '...हामी दुवै जना गिरिजाबाबुसामु पुग्यौँ। गिरिजाबाबुले मतिर हेरेर भन्नु्भयो– डाक्टरसाहेब केलाई आउनुभयो?' मैले बेनिबहादुरले भनेको कुरा सुनाएँ। गिरिजाबाबु सिरियस भएर बसिरहनुभयो, बोल्नु भएन। मैले नै भनेँ– 'तपार्इंलाई फोन गर्न असजिलो लागेको छ भने आदेश दिनुहोस्, तपाईंको तर्फबाट म फोन गर्छु। त्यसपछि भने गिरिजाबाबु ‰वाँक्किएर  भन्नुभयो— छाडिदेऊ। हामी फर्कियौँ। छत्तीसेहरू आएनन्। धन्यवाद प्रस्ताव अल्पमतमा पर्‍यो।'

राजनीतिबारे उनको अर्को अनुभव अझ पेचिलो छ। उनी लेख्छन्– 'कुनै समय झापा कांग्रेसमा म गिरिजाबाबुको निकै नजिक थिएँ। तर, संसदीय दलको बैठकमा मैले भ्रष्टाचारको कुरा निकालेपछि भने गिरिजाबाबु मबाट टाढिए। छत्तीसे र चौहत्तरेको विवाद मिलाउनुहोस् भन्न थालेपछि त झन् भेटघाट हुनै छाड्यो।' किसुनजीलाई अन्तर्घात गरेर हराएको भन्ने सुनेपछि आफूले गिरिजाप्रसादलाई भनेका कुरा यसरी सम्भि्कएका छन्– 'यदि अन्तर्घात गरेर हराएको हो भने यो पाप हो। धर्मले भन्छ, पाप बाह्र वर्षपछि धुरीबाट कराउँछ।'

चौहत्तरेमध्येका केहीले उनलाई किसुनजीको मान्छे भन्थे। वास्तवमा आफू कसैको मान्छे नरहेको उनले बताएका छन्। 'बीपीको आदर्शको समर्थक, कांग्रेसको सदस्य र एउटा सामान्य नेपालीमात्र थिएँ म,' उनले लेखेका छन्। शंकरको शब्दमा सामान्य नेपालीको असाधारण जीवनयात्राको लेखेट हो 'जीवन एक सपना'। पुस्तक सरल शब्दमा बगेको छ। शंकरको जीवनीजस्तै तीन खण्डमा विभाजित छ। पुस्तक कांग्रेसजन र चिकित्सा पेशाकर्मीका लागि उपयोगी, प्रेरणादायी बन्न सक्छ।

पुस्तक :  जीवन एक सपना

डा. शंकरप्रसाद उप्रेती

विधा :  संस्मरण

प्रकाशक :  अक्षर क्रिएसन

मूल्य रु. :  ३६५/

प्रकाशित: १५ माघ २०७३ ०५:१० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App