१४ चैत्र २०८२ शनिबार
image/svg+xml
अन्य

गणतन्त्रमा जान प्रण गरेको पल

कृष्ण सिटौला-

मैले पछिल्लो ९ वर्ष उहाँको निकै समिप रहेर काम गरेँ। २०५८ को होलेरी काण्डपछि झन् नजिक भएँ। होलेरी काण्ड हुँदा गिरिजाबाबुकै क्याबिनेटमा उद्योग, वाणिज्य राज्यमन्त्री थिएँ।   राज्यमन्त्री भए पनि मन्त्रालय मेरै नेतृत्व भएकाले क्याबिनेट जान पाउने हैसियत थियो। यसले निकटता बढ्यो।
गिरिजाबाबु भन्नुहुन्थ्यो- होलेरी काण्ड दरबारको षड्यन्त्र हो। प्रजातन्त्रविरुद्ध दरबारले माओवादीसँग मिलेर गरेको षड्यन्त्र। त्यसको केही दिनपछि गिरिजाबाबुले राजा ज्ञानेन्द्रसँग नियमित भेटका क्रममा भएको एउटा वार्तालाप सुनाउनुभयो।
दरबारबाट फर्किंदा गिरिजाबाबुको मुहार आक्रोसित थियो। राजाले उहाँलाई ‘मुलुकमा हत्या-हिंसा व्याप्त छ, भ्रष्टाचार मौलाएको छ, जनतामा तपाईंको त्रे्कडिबिलिटी छैन, तपाईंले राजीनामा दिनुपर्दैन?' भनेर प्रश्न गरेछन्।
गिरिजाबाबुले कडा जवाफ दिनुभएछ- ‘जनतामा मौसुफ सरकारको पनि क्रेडिबिलिटी छैन, लेट किङ (दिवंगत राजा) को हत्याको आरोप मौसुफ सरकारमाथि छ नि?'
उहाँले यो कुरा बेडरुममै सुनाउनुभयो। गिरिजाबाबुले त्यही दिन गणतन्त्रमा जाने प्रण गर्नुभएको हो। निर्वाचित प्रधानमन्त्रीलाई अपमान गर्ने राजालाई अब बोक्नुहुन्न भने अठोट उहाँले त्यसै दिन गर्नुभयो।
त्यसको तीन-चार दिनपछि एकैचोटि राजीनामा दिनुभयो। हामीसँग कुनै सल्लाह भएको थिएन। म मन्त्रालयमै थिएँ। मैले रेडियोबाट उहाँको राजीनामाबारे थाहा पाएँ।
...


राजीनामा दिएको केही दिनमा गिरिजाबाबुले बोलाउनुभयो, महाराजगन्जको सशांक निवासमा। शेरबहादुरजी प्रधानमन्त्री हुनुहुन्थ्यो। म पार्टीमा समन्वय विभाग प्रमुख थिएँ। उहाँले भन्नुभयो, ‘केही कार्यक्रम राख्नुस्। जिल्ला घुम्नुपर्छ।'

हामीले कैलाली, कञ्चनपुरबाट सुरु गरी देश दौडाहा कार्यक्रम बनायौं। गिरिजाबाबुसहित हामी गयौं। कैलाली पार्टी कार्यालयमा कार्यक्रम थियो। कार्यक्रमको नाउँ जे दिएको भए पनि यसको मूल उद्देश्य पार्टी कार्यकर्ता परिचालन नै थियो। गिरिजाबाबुले कार्यक्रम उद्घाटन गर्नुभयो। उहाँ मञ्चमै हुनुहुन्थ्यो। एउटा दुःखद खबर आयो - पार्टीका सक्रिय सदस्य परशुराम चौधरीलाई माओवादीले कुटीकुटी मारे।

गिरिजाबाबु खिन्न हुनुभयो। उहाँ चौधरीजीको घरै गएर समवेदना दिन कस्सिनुभयो। सुरक्षा निकायले मानेन। माओवादीले एम्बुस बिछ्याएको हुनसक्छ भनेर ‘सुरक्षा दिन सकिँदैन' भन्यो। प्रहरीले राति पार्टी कार्यालयमा शव ल्यायो। गिरिजाबाबुले त्यहीँ चारतारे झन्डा ओडाइदिनु'भो।

भोलिपल्ट कञ्चनपुरमा कार्यक्रम थियो। पार्टीका पुराना साथी मदन शास्त्रीलाई माओवादीले घाँटी सेरेर हत्या गरेको खबर आयो। कार्यक्रम हुँदा-हुँदै पार्टी कार्यालय प्रांगणमा शव आइपुग्यो। हाम्रै एकमना सरकार छ। हाम्रै कार्यकर्ता मारिइरहेका छन्। स्थानीयले गिरिजाबाबुलाई बोल्नुपर्‍यो भनेर आग्रह गरे। आँसु झार्दै उहाँले भन्नुभयो, ‘होलेरीकाण्ड भयो। गाउँ-गाउँमा मेरा साथी मारिइरहेका छन्। घरसम्म पुगेर समवेदना दिनसक्ने स्थिति छैन। लोकतन्त्रमाथि ठूलो षडयन्त्र भइरहेको छ। प्रजातन्त्र सिंहदरबारमा मात्र छ।'

गिरिजाबाबुले त्यो दिनदेखि शान्ति र प्रजातन्त्रको एजेन्डा उठाउन थाल्नुभयो। यी दुई घटनाले उहाँ माओवादीलाई शान्तिपूर्ण राजनीतिमा नल्याई प्रजातन्त्र जोगाउन नसकिने ठहरमा पुग्नुभयो।

...

म केन्द्रीय सदस्य भएदेखि नै गिरिजाबाबुकहाँ नियमित जान्थेँ। प्रायः बिहान ६ बजेअघि नै पुगिसकेको हुन्थेँ। कहिलेकाहीँ ४ बजे नै चियाको साथी बन्न पुग्थेँ। उहाँ ३-४ बजे उठिसक्ने। उठेपछि ४५ मिनेट चिया पिउने। चिया समयमा प्रायः परिवारका सदस्यमात्र हुन्थे।

गिरिजाबाबु माओवादीसँग सम्पर्क गरिरहनुभएको थियो। चक्रजीहरू लागिरहनुभएको छ भन्ने हामीले सुनेका थियौ। शेरबहादुरले पनि गिरिजाबाबुको सक्रियताबारे थाहा पाइसकेका थिए। माओवादीलाई शान्तियात्रामा ल्याउन सक्रिय भइसकेका गिरिजाबाबु संकटकाल लम्ब्याउन नहुने पक्षमा हुनुहुन्थ्यो। संकटकाटल अनुमोदनको पक्ष र विपक्षमा कांग्रेस विभाजित थियो।

प्रधानमन्त्रीले संसद विघटन गरे। मध्यावधि निर्वाचन घोषणा भयो। राजाले असोज १८ को कदम चाले। गिरिजाबाबुले भन्ने गर्नुभएको ग्र्यान्ड डिजाइन होलेरीकाण्ड, संसद विघटन, पार्टी विभाजनदेखि असोज १८ को कदम हो। असोज १८ हुँदा म पार्टी संगठन विभाग प्रमुख थिएँ। जताततै दिपावली थियो। पार्टीकै केही साथी राजाकै मौन समर्थन गर्दै थिए। शाही कदमविरुद्व गिरिजाबाबुले मुख खोल्नुपर्‍यो।

मंसिर १० गते वसन्तपुरमा शाही कदमविरुद्व नेविसंघले सभा राख्यो। गिरिजाबाबु प्रमुख वक्ता। पार्टीकै केही साथीले पाँच सय मान्छे पनि आउँदैनन् भनेर गिरिजाबाबुको कान फुके। पाँच सय नभएको भेलामा कसरी बोल्ने? उहाँ आत्तिनुभएछ। ११ बजे गिरिजाबाबुले फोन गर्नुभयो। ‘मान्छे थोरै छन् रे हो?' उहाँले सोध्नुभयो। मैले ‘होइन आउनैपर्छ' भनेँ। उहाँ आउनुभयो। जुद्धशमसेरको सालिकसम्म मान्छे भरिएका थिए। सम्बोधनमा प्रतिगामी राजासँग अन्तिम लडाइँ लड्ने उद्घोष गर्नुभयो। संसद पुनर्स्थापनाको एजेन्डा उहाँले राख्नुभयो। सुरुमा कसैले मानेनन्। ‘मरेको लास फिर्ता आउँछ?' हाम्रै साथीहरूले गिज्याए। राजाले क्रमशः लोकबहादुर चन्द, सूर्यबहादुर थापा र देउवालाई प्रयोग गरे। तर, गिरिजाबाबु सडकमै बस्नु'भो।

थापाको राजीनापछि राजाले प्रधानमन्त्रीका लागि सार्वजनिक आह्वान गरे। एमाले कार्यालय बल्खुमा पाँच पार्टी बैठक थियो। गिरिजाबाबुले माधवकुमार नेपाललाई भन्नुभयो- ‘मलाई राजाको पत्रु प्रधानमन्त्री बन्नुछैन। तपाईं चाहनुहुन्छ भने बन्नुस्। मेरो भन्नु केही छैन।'

शेरबहादुरजी प्रधानमन्त्री मनोनित हुनुभयो। एमालेले सरकारमा जाने निर्णय गरिसकेछ। एमालेलाई रोक्न सकिन्छ कि भनेर गिरिजाबाबुले सरकारमा जाने निर्णय फिर्ता लिन माधवजीलाई भन्नुभयो। पार्टीका धेरै साथी मन्त्री खान खुट्टा उचालिसकेले निर्णय बदल्न नसक्ने विवसता माधवजीले व्यक्त गर्नुभयो।
...

चन्दको पालामा माओवादीले उच्चस्तरीय वार्ता टोली पठायो। त्यहीबेला माओवादी नेताहरू बाबुराम र महराजीसँग सम्पर्क थियो। राजाको निगाहामा बनेको सरकारसँग माओवादी वार्तामा लचकदार देखिएको थियो। राजाले माओवादी प्रयोग गरिरहेका छन् भन्ने प्रष्ट थियो। गिरिजाबाबु प्रजातान्त्रिक आन्दोलनमा माओवादीसँग सहकार्य गर्ने पक्षमा हुनुहुन्थ्यो। असारमा उहाँले म र नरहरीजीलाई हरिद्वार पठाउनुभयो। सिलगुढी हुँदै हरिद्वार पुग्यौं। शेखर (कोइराला) दिल्लीबाट आए। गिरिजाबाबुको माओवादीसँगको अघिल्ला भेटमा पनि शेखर थिए। माओवादीले भट्टराई र महरालाई खटायो।

हरिद्वारमा दुई दिन वार्ता गर्‍यौं। गिरिजाबाबुले दिनुभएको बटमलाइन - संसद पुनर्स्थापना, संविधानसभा घोषणा थियो। संसद पुनर्स्थापना भएपछि संविधानसभा हँुदैन भन्ने डर माओवादीलाई रहेछ। गोलमेच सम्मेलन हुँदै राष्ट्रिय सरकार र संविधानसभामा जाने अडान लिनुभयो। कुरा मिलेन। भोलिपल्ट अर्को प्रस्ताव राख्यौंं- सार्वभौमसत्ता र राजकीय सत्ता पूर्ण रूपमा जनतामा। बाबुरामजी सहमत हुनुभयो। फर्किएर गिरिजाबाबुलाई ‘ब्रिफिङ' गर्‍यौं। मओवादीसँग एउटा निष्कर्षमा पुग्न सकिन्छ भन्ने विश्वास भयो। यो सब माघ १९ अघिको कुरा हो।

माओवादी हामीसँग पनि कुरा गर्ने र राजासँग पनि सम्पर्कमा थिए। त्यसैले खासै उपलब्धि हनु सकेन।
...

महाधिवेशन तयारीका लागि वीरगन्जमै थिएँ। त्यहाँबाट झापा जानुथियो। गिरिजाबाबुले माघ १६ गते काठमाडौं बोलाउनुभयो, सिमरा हुँदै। ‘स्थिति राम्रो छैन, होसियार रहनू,' उहाँले भन्नुभयो। उहाँले माघ १९ को तयारीको छनक पाइसक्नुभएको रहेछ। म प्रतिगमनविरुद्ध आन्दोलनमा अग्रिम मोर्चामा थिएँ। फोनबाट भन्न उचित नठानेर बोलाउनुभएको रहेछ। म माघ १८ मा झापा फर्किएँ। ‘माघ १९' राजाको सम्बोधन आइरहेको थियो। गिरिजाबाबुको फोन आयो। सहयोगी बालकृष्ण दाहालले भने, ‘जसरी पनि उम्किन भन्नुभएको छ, पक्राउ नपर्नू।'

म भूमिगत हुँदै सिलगुढी पुगेँ। सम्पर्कका सबै माध्यम विच्छेद थियो। खुलेपछि रामवरणजीलाई फोन गरेँ। पक्राउ पर्नुभएको रहेनछ। महन्थजी भिट्टामोडस्थित ससुरालीमा बस्नुभएको रहेछ। सितामाढीमा तीनजना भेट भयौं। शाही कदमविरुद्ध आन्दोलन चर्काउन राष्ट्रिय र अन्तर्राष्ट्रिय समुदाय र विशेषगरी भारतलाई विश्वासमा लिनुपर्ने निचोडमा पुग्यौं। रामवरणजीले पाँच हजार रुपैयाँ दिनुभयो। म दिल्ली गएँ। प्रदीप गिरी, राजेन्द्र महतो र एमालेका धेरै नेता दिल्ली पुगिसकेका रहेछन्। त्यहीँ सात पार्टीको सम्पर्क कार्यालय खोल्यौं।

फेरि माओवादीसँग सम्पर्क बढाएँ। सिलगुढीमै मैले महरालाई टेलिफोन गरेँ। ‘रोल्पा आउनू, सुरक्षा दिन्छौं,' महराले भने। मैले ‘ठट्टा गर्ने बेला छैन, मिलेर जानुपर्छ' भनेँ। यता म दिल्लीमा बिरामी परेँ। भोकल कर्डमा समस्या भएछ, झन्डै एक महिना स्वर खुलेन। डाक्टर शेखरको सहयोगमा एम्स अस्पताल भर्ना भएँ। मेरी श्रीमती काठमाडौंबाट दिल्ली पुगिन्। एक महिनापछि काठमाडौं फर्किनेबेला उनकै हात गिरिजाबाबुलाई चिठी पठाएँ। चिठीमा अन्तर्राष्ट्रिय समर्थन र माओवादीलाई पनि समेटेर राजाविरोधी मार्चा गठन गर्नुपर्ने उल्लेख गरेको थिएँ। उहाँले अघि बढ्नू भन्ने जवाफ पठाउनुभयो।
...

२०६२ असारतिर गिरिजाबाबु उपचारका लागि दिल्ली आउनुभयो। खासमा माओवादीसँग भेटवार्ता थियो। मैले र शेखरजीले ‘एरेन्ज' गरेका थियौं। माओवादीका तर्फबाट प्रचण्ड, बाबुराम र महराजी हुनुहुन्थ्यो। दिल्ली, नोयडामा भेट भयो । वार्तामा प्रचण्डले लामो बोल्नुभयो। कम्युनिस्टहरु एक वाक्य भन्न पृष्ठभूमिमा ५० वाक्य थप्छन। गरिजाबाबु एक वाक्यमा भन्नुपर्ने कुरा आधामै सकिदिने स्वभावको। प्रचण्डसँग भेट पनि त्यस्तै भयो। सोझै तीन कुरा राख्नुभयो- ‘तपाईंहरू शान्तिपूर्ण राजनीति, प्रजातन्त्र र संसद पुनर्स्थापनामा आउने कि नआउने?' प्रचण्डले संसद पुनर्स्थापनाबाट संविधानसभामा पुग्न गाह्रो हुने बताए। गिरिजाबाबुले ‘संविधानसभा खोज्ने हो भने संसद चाहिन्छ, नत्र सम्भव छैन' भन्नुभयो।

‘नत्र संविधानसभा घोषणा कसले गर्छ?' उहाँको स्पष्ट अडान थियो, ‘राजाले दिएको संविधानसभा म मान्दिनँ।' प्रचण्डले ‘अर्को चरणमा निर्णय गरौं' भन्नुभयो।
...

माओवादीसँग सम्पर्कमै थियौं। बाबुराम र महराजीसँग टेलिफोनमा कुरा भइरहन्थ्यो। २०६२ कात्तिकमा फेरि भेट्ने निधो भयो। भेट १२ बुँदे सम्झौताको जग थियो। कांग्रेसबाट गिरिजाबाबु, शेखर र म। एमालेबाट माधवजी र केपीजी। माओवादीबाट प्रचण्ड, बाबुराम र महराजी हुनुहुन्थ्यो। अरू पार्टीबाट पनि उच्च नेताहरू। खासमा १२ बुँदे प्रचार गरिएजस्तो दिल्लीमा हस्ताक्षर भएको होइन। सात दलले काठमाडौंमा हस्ताक्षर गर्ने र त्यसको दुई घन्टापछि माओवादीले जहाँकहीँबाट गर्ने भन्ने सहमति भएको थियो। त्यसलाई अतिगोप्य राख्ने सहमति भयो। हामी दिल्लीमै हुँदा काठमाडौंमा हल्ला चल्यो। गृहमन्त्री कमल थापाले ‘आतंककारीसँग वार्ता गर्ने पनि आतंककारी नै हुन्छ' भनेर वक्तव्य दिए। बिबिसीले दिल्लीमा गिरिजाबाबुलाई तारान्तार फोन गर्‍यो।

उहाँले मलाई ‘मिलाएर भन्ने' जिम्मा दिनुभयो। मैले ‘समझदारी भएको होइन, बरु गिरिजाबाबुले माओवादीलाई शान्तिपूर्ण राजनीतिमा आउन आग्रह गर्नुभएको' बताएँ। माओवादी सकारात्मक छन् भन्दिएँ।
...


काठमाडौं फर्किएपछि मंसिर ७ गते बिहान नौ बजेतिर गिरिजाबाबुकोमा नेताहरू जम्मा भए। हामी र माओवादीले हस्ताक्षर गरेपछिमात्र सार्वजनिक गर्ने योजना पहिल्यैको हो। नेमकिपा अध्यक्ष नारायणमान विजुक्छे काठमाडौंमा थिएनन्। उनले आफ्ना प्रतिनिधि प्रेम सुवाल र सुनिल प्रजापतिलाई बनाएका थिए। गिरिजाबाबुले पहिलो सही गर्नुभयो। त्यसपछि माधवजी, अमिक शेरचन, भरतविमल यादवलगायतले गर्नुभयो। असोज १८ पछिको सबै आन्दोलनमा गिरिजाबाबुले भनेपछि नारायणमान र अमिकजीले आँखा चिम्लेर सही गरेको म देखिरहेको छु। उनीहरूले कहिल्यै दुविधा र शंका गरेनन्।

कांग्रेस प्रजातान्त्रिकका कार्यवाहक सभापति गोपालमान श्रेष्ठले बाह्र बुँदेमा सही गर्न मान्नुभएन। देउवालाई सोध्नुपर्छ भन्नुभयो। देउवा प्रहरी तालिम केन्द्र महाराजगन्जमा थुनामा थिए। म, माधवजी र गोपालमानजी १० बजे भेट्न गयौं। सुरक्षाकर्मीको आँखा छल्दै हामीले देउवालाई सम्झौतापत्र देखायौं। जम्मा एकप्रति मात्रै थियो। सुरक्षाकर्मीले देखेको भए खोस्थ्यो। माओवादी र गिरिजाबाबुमाथि विश्वासघात गरेजस्तो हुन्छ भन्ने मलाई डर थियो।

देउवाले पनि त्यसमा हस्ताक्षर गर्न मान्नुभएन। एक बचन नसोधी यत्रो कुरा गर्ने भनेर गनगन गर्नुभयो। हस्ताक्षर गर्ने/नगर्ने स्पष्ट केही भन्नुभएन। सिभिल ड्रेसका एकजना सुरक्षाकर्मीले हप्काए। माधवजीले प्रतिवाद गर्न खोज्दा झन् जंगिए। मैले माधवजीलाई आँखाले इसारा गरेँ। हामी बाहिरियौं।

हामी गिरिजाबाबुकहाँ नै फर्किनुपर्ने। माधवजीसँग आएको थिएँ। फर्कनेबेला गोपालमानकै गाडीमा फर्किएँ। किनभने उहाँ नफर्किन पनि सक्छन् भन्ने डर थियो। सशांकको घरमा पुगिसकेपछि पनि उहाँ सही गर्न आनाकानी गरिरहनुभएको थियो। मैले भनेँ, ‘सिटी फुकिसक्यो, अब रेल कुद्छ, चढ्ने/नचढ्ने तपाईंको इच्छा'। गोपालमानले ‘मौलिक हक' थप्न आग्रह गर्दै सही गर्न मान्नुभयो। त्यो शब्द थप्नु आवश्यकै थिएन, तर उहाँ काम देखाउन चाहनुहुथ्यो।

नेपालगन्जमा रहेका बिजुक्छेजीलाई फोनमार्फत् सम्झौताको बेहोरा सुनाइयो। उहाँले ‘गिरिजाबाबुको विश्वासमा' हस्ताक्षर गर्न आफ्ना प्रतिनिधिलाई भन्नुभयो। अनि, बाह्र बुँदे सम्झौता सार्वजनिक भयो। गिरिजाबाबुले सबभन्दा विश्वास गरेका सुशील कोइरालालाई समेत यसको जानकारी थिएन। म पनि सुशील दाको निकट थिएँ। ‘यति ठूलो घटना हुँदासमेत मलाई थाहा नदिने?' भनेर उहाँ मसँग च्याँठि्ठनुभयो। दिल्लीमा सँगै रहेका शेखरलाई समेत सम्झौताको प्रति देखाएको थिइनँ। गिरिजाबाबुले नभन्नू भनेपछि म कसैलाई भन्दैनथेँ। सायद उहाँले मलाई यतिधेरै विश्वास गर्नुमा गोपनीयता प्रमुख कारणजस्तो लाग्छ।

...


भोलिपल्ट पार्टीको बैठक भयो। माओवादी सेना र शाही सेना सुपरीवेक्षणमा राष्ट्रसंघलाई बोलाउने बुँदामा गिरिजाबाबुको व्यापक आलोचना भयो। बाह्र बुँदेका विरोधी साथीहरूले सेनालाई माओवादी लडाकुसरह दर्जा दिइएको भनेर गिरिजाबाबुको उछित्तो काढे। गिरिजाबाबुलाई राजाको र माओवादी दुवैको बन्दुकमाथि विश्वास नभएकाले सेनालाई सीमिति गरिएको हो। उहाँ भन्नुहुन्थ्यो, ‘बिपी र शेरबहादुरलाई थुन्ने राजाको यही सेना हैन? सेनाको बन्दुक हैन?'

हामीले राष्ट्रसंघलाई क्यान्टोनमेन्ट अनुगमनको जिम्मा दियौं। राष्ट्रसंघको हतियार अनुगमन, निर्वाचन पर्यवेक्षण र मानवअधिकारको निगरानी निकै खुकुलो देखियो। तीन वर्ष लामो अनुभवले बाह्र बुँदेमा सामान्य कमजोरी भएछ कि जस्तो लाग्यो - मलाई पनि गिरिजाबाबुलाई पनि।

निर्वाचनमा राष्ट्रसंघले निष्पक्ष र प्रभावकारी पर्यवेक्षण गर्न सकेन। उसले शान्तिपूर्ण निर्वाचन भएको प्रतिवेदन दियो। निर्वाचन किन रद्द नगरेको भनी आयोगले गाली खानुपर्‍यो। हतियार व्यवस्थापन झनै भुत्ते भएको छ। क्यान्टोनमेन्टबाट हतियार लिएर लडाकु बाहिर निस्किँदा उसले देख्दैन। प्रहरीले पक्राउ गर्‍यो भने उल्टो छुटाउन दबाब दिन्छ। गिरिजाबाबु युएनको भूमिकाबाट प्रसन्न हुनुहुन्थेन।

...

बाह्र बुँदे भएको केही सातापछि गिरिजाबाबुले दिल्ली जान भन्नुभयो। भारत उड्दा प्रहरीलाई शंका हुने भएकाले विरानगरको टिकट लिएँ। बोर्डिङ पास लिइसकेको थिएँ। म पक्राउ परेँ। बन्दी प्रत्यक्षीकरणको रिट दिएर छुटेँ। फेरि पक्राउ गरे। दिल्ली जानैपर्ने थियो। फेरि अदालतको आदेशले छुटेँ। अदालत परिसरबाट मानवअधिकारवादीहरूसँगै निस्किएँ। प्रहरीको आँखा छलेर एकरात अन्यत्रै सुतेँ।
भालिपल्ट झिसमिसेमा हिँडेँ। बाइरोडको बाटो भएर रक्सौल पुगेँ। प्रहरीले नचिन्नेगरी गएको थिएँ। महन्थजी पहिल्यै पुगिसक्नुभएको थियो। झलनाथ, बामदेव, प्रचण्डलगायत अरू नेता बसेर आन्दोलन कार्यक्रम तय गरियो।

चैत २४ देखि चारदिन शान्तिपूर्ण आमहडताल गर्ने निर्णय भयो। हामीले माओवादीलाई भन्यौं, ‘पटाकामात्र पनि पड्काउनभयो भने विश्वास टुट्नेछ।' उनीहरूले बचन दिए।

यो दस्तावेज पनि सही गर्न काठमाडौं ल्याइयो। आमहडताल कार्यक्रममा समेत अरू दलका नेताले हस्ताक्षर गर्न मानेनन्। गिरिजाबाबुले नै पहिलो सही गर्नुभयो। बाह्र बुँदे र आमहडताल दुवै कार्यक्रममा अन्य दललाई उहाँको साहसले घिसारेर पुर्‍याएको हो।
...

दिल्लीबाट फर्कियौं। आमहडताल सुरु भयो। माओवादीले आन्दोलनलाई भूमिगत रूपमा सहयोग गर्ने भन्ने थियो। दोस्रो दिन भएको थियो, सहयात्री दलका नेता र हाम्रै पार्टीका साथीले समेत हडताल बन्द गरौं भने। उद्योग व्यापार ठप्प भयो, जनताले दुःख पाए भन्ने उनीहरूको भनाइ थियो। गिरिजाबाबुले ‘जबसम्म निरंकुश राजतन्त्रले घुँडा टेक्दैन, आन्दोलन रोकिँदैन' भन्नुभयो। गिरिजाबाबु आन्दोलनकारी र माओवादी दुवै शक्तिको अभिभावकको भूमिकामा हुनुहुन्थ्यो।

राजाले वैशाख ८ गते एउटा वक्तव्य दिए। ‘ढिलो भइसक्यो, अब हुँदैन,' गिरिजाबाबुले भन्नुभयो, ‘पूर्ण लोकतन्त्र नभई मान्नेवाला छैनौं।' राजाले दबाउनसक्ने स्थिति थिएन। अरू ३/४ दिन आन्दोलन गर्ने र घुँडा टेकाएरै छाडिन्छ भन्ने विश्वास भयो।

आन्दोलन चर्किंदै थियो। ११ गते दरबारबाट प्रमुख स्वकीय सचिव पशुपतिभक्त महर्जन महाराजगन्जस्थित कोइराला निवास आए। उनी साँझ ७ बजे लुकिलुकी आएका थिए। एउटा वक्तव्य ड्राफ्ट भयो। माधवजी पनि हुनुहुन्थ्यो। हामीले भन्यौं, ‘एउटा कमा पनि तलमाथि भएको रहेछ भने जनता मान्नेवाला छैनन्। राजाले ‘सरेन्डर' गरेको देखाउनुथियो। जति राति भए पनि आजै राजाले सम्बोधन गर्नैपर्छ भन्ने सन्देश पठायौं, पशुपतिभक्तमार्फत्। भोलि भए मानिँदैन भन्ने चेतावनी दिइयो।

दरबार धेरै अत्तालिएको रहेछ। राति उनले फोन गरे, ‘वक्तव्यमा प्रतिनिधिसभाको बैठक बस्नेमात्र भन्ने छ, समय उल्लेख छैन, कति बजे राखौं?' पशुपतिले हामीले भनेअनुसार नै गरे।

...

पुनबर्हालीपछि पहिलो दिन सदन सुरु गर्न चार घन्टा ढिलो भयो। संसदमा रहेको राजसिंहासन र राजदन्ड राख्ने कि नराख्ने भन्ने विवादले बैठक सुरु हुन घन्टौ कुर्नुपरेको हो। आन्दोलनरत दलका नेताहरू नै राजाका ती प्रतीक राख्नुपर्छ भन्ने वकालत गरिरहेका थिए। कांग्रेस, एमाले नेताहरूले आन्दोलनलाई चटक्कै बिर्सेजस्तो गरे। राजाको कृपाले प्रतिनिधिसभामा प्रवेश गर्न लागकोजस्तो भान थियो उहाँहरूलाई।

गिरिजाबाबु संसद राजतन्त्रको अवशेषरहित होस् भन्ने चाहनुहुन्थ्यो। पटकपटक र त्यसपछि पनि मन्त्री भएका कांग्रेसकै एक साथीले ‘आसन र राजदन्ड हटाए रक्तपात मच्चिन्छ' भन्नुभयो। लामो छलफलपछि राजदन्डलाई सलाम गरेर संसद सुरु गर्ने परम्परा तोडियो। जेठ ४ गते प्रतिनिधिसभा घोषणाको दिन थियो। गृहमन्त्रीका रूपमा मस्यौदामा संलग्न थिएँ। ९ बजे बालुवाटारबाट निस्केको मात्र थिएँ, मोबाइल बज्यो।

गिरिजाबाबुले डाक्नुभयो। फर्कंदा तीन चारवटा सेनाका गाडी देखेँ। मन्त्रिपरिषद् बैठक बस्ने कोठामा छिरेँ। अर्थमन्त्री महत र सेनापति प्यारजंग थापा थिए। गिरिजाबाबुले ‘प्रधानसेनापति के भन्नुहुन्छ, सुन्नुस् त' भनेर उनलाई बोल्न इसारा गर्नुभयो। थापाले ‘घोषणा रोक्नुपर्‍यो' भने। महाराजधिराजसँग समन्वय, समझदारी गरेर गर्नुपर्थ्यो भन्ने उनको भनाइ थियो। मैले कुरा बुझिहालेँ। गिरिजाबाबुलाई उनको कुरा चित्त नबुझेर मलाई डाक्नुभएको रहेछ। मेरो रगत खल्बलिएर अइहाल्यो। महाराजाधिराजको सन्देश ल्याउने तपाईं को? भनेर हकारे। चिफको राजासँग कसरी सिधा औपचारिक सम्पर्क भइरहेको छ भनेर प्रधानमन्त्रीलाई प्रश्न गरेँ।

रामशरणजीले म र चिफ दुवैलाई सम्झाएजस्तो गर्नुभयो। त्यत्तिकैमा सेनाले संसद घेरेको हल्ला चलिसकेको थियो। मलाई धेरै फोन आयो। मैले ‘होइन' भन्ने जवाफ दिएँ। किन हल्ला चलेको थियो भन्ने सोधिखोजी गर्न जरुरी ठानिनँ।
...

गिरिजाबाबुले मलाई वार्ता टोली संयोजक तोक्नुभयो। माओवादी वार्ता टोली र हामीबीच एक चरण कुरा हुन्थ्यो। नेताहरूलाई सोेधेरमात्र टुंग्याउनुपर्थ्यो। अलमल भइरहेको थियो। गिरिजाबाबुले यसरी वार्ता अघि बढ्दैन, प्रचण्डलाई ल्याउनुस् भन्नुभयो। म, शेखर र महरा कास्कीको सिकलेस गयौं। गार्ड पनि लगेको थिइनँ।
वार्ता सफल पार्न काठमाडौं जानुपर्‍यो भन्ने गिरिजाबाबुको सन्देश दिएँ। प्रचण्डले सार्वजनिक हुन चाहन्नँ भन्नुभयो। वार्ता बिथोलियो। पछि पोखरा लिन आउन भन्नुभयो। मै गएर प्रचण्ड, पत्नी सीता र बाबुरामलाई हेलिकप्टरमा लिएर आएँ। एयरपोर्टबाट गृहमन्त्रीको गाडीमा कोच्चिएर बालुवाटार आइपुग्यौं। २०६३ असार २ को त्यही दिन ८ बुँदे समझदारी भयो।
गिरिजाबाबुले प्रचण्डहरूलाई तपार्इंले नै पुर्‍याउदिनू भनी अह्राउनुभयो। हेलिकप्टरबाट पश्चिमको जंगलमा छाडेर आए। गिरिजाबाबु त्यही दिन भारत भ्रमणमा जाने कार्यक्रम भएकाले हेलिकप्टरबाट भुइँमा नओर्ली काठमाडौं फर्किए। मुलुकले गृहमन्त्रीलाई माओवादीले कब्जा लिन सक्छन् भन्ने डर थियो।
मलाई जाऊ भन्नुको अर्थ रहेछ।
प्रचण्डलाई अत्यधिक सुरक्षा खतरा थियो। हेलिकप्टरमा आक्रमण हुन सक्थ्यो। हेलिकप्टर दुर्घटनामै परे पनि ठूलो षडयन्त्र गरेको आरोप लाग्न सक्थ्यो। केही भवितव्य भए गृहमन्त्री पनि परे भने सरकारलाई सजिलो हुन्छ भन्ने गिरिजाबाबुको आकलन रहेछ। आफ्नो विश्वासिलो मन्त्रीलाई पनि खरानी बनाएर षडयन्त्र गरेनन् भनी मानिसलाई विश्वास दिलाउन सजिलो हुन्छ भन्ने उहाँको सोच रहेछ।
प्रचण्डहरूलाई पुर्‍याउन गएको भनी मलाई माओवादीको सवारी मन्त्री भने। एमालेका रघु पन्तले संसदमा बोले नै।
...
संविधानसभाको चुनाव तालिकासमेत प्रकाशन भइसकेको छ। मधेसवादीको आन्दोलन तात्यो। वार्ताको जिम्मेवारी शान्तिमन्त्री रामचन्द्र पौडेलको थियो।
म निर्वाचन तयारीकै सिलसिलामा झापा पुगेको थिएँ। गिरिजाबाबुले तुरुन्त काठमाडौं आउन भन्नुभयो। सरसार बालुवाटार पुगँे। आन्दोलनलकारीलाई नमिलाई संविधानसभा सम्भव नभएको भन्दै गिरिजाबाबुले मलाई पहल गर्न भन्नुुभयो। उपेन्द्र यादव वीरगन्जमा थिए। नाइट भिजन हेलिकप्टर पठाएर उपेन्द्र यादवलाई ल्यायौं।
दुई दिन दुई रात वार्ता गरियो। उनीहरूको मूल माग एक मधेस एक प्रदेश हुनुपर्ने भन्ने थियो। एक मधेस प्रदेश हुने सहमति भयो। एक मधेसको क्षेत्रफलजति सानो पनि हुन सक्थ्यो। सबै कुरा मिलेपछि प्रचण्ड, माधवजीहरूको उपस्थितिमा मधेसवादी दलहरूसँग सहमति भयो।
कांग्रेसको आधार मधेस हो। यो सम्झौताले कांग्रेसलाई घाटा पुग्छ भनेर गिरिजाबाबुले हामीसित भन्नुभएको छ। संविधानसभा निर्वाचन, गणतन्त्र स्थापना र शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्‍याउन दलीय स्वार्थ तिलाञ्जली दिनुपर्छ भन्ने मान्यता थियो, उहाँको।
तराईका हाम्रा सबैभन्दा प्रभावशाली नेता महन्थ ठाकुर, विजयकुमार गच्छदार जस्ता नेताले छुट्टै पार्टी खोलेका थिए। हामीलाई निर्वाचनमा ठूलै धक्का लाग्छ तर स्वार्थी हुनुहुन्न भनेर गिरिजाबाबुले फराकिलो छाती गर्नुभएको थियो।
...
गणतन्त्र कार्यान्वयनको दिन नजिकिँदै थियो। नेपालमा कुनै न कुनै रूपको राजा चाहिन्छ भन्नेको सक्रियता बढिरहेको थियो। ज्ञानेन्द्रलाई सांस्कृतिक राजा बनाउनुपर्छ भन्ने पनि देखिए। कांग्रेस एमालेभित्रै। ज्ञानेन्द्र र पारसलाई कुनै पनि नामको राजा मान्न उहाँ तयार हुनुहुन्थेन। होलेरी काण्डपछि निर्वाचित प्रधानमन्त्रीलाई अपमान गर्ने राजालाई गद्दिच्युत गर्ने कसम त्यही दिन खानुभएको थियो।
नाति राजादेखि अन्य कुरा पनि आए। त्यसमा उहाँ केही हदसम्म सकारात्मक पनि हुनुहुन्थ्यो होला। तर यो प्रसंग धेरै दिन टिकेन।
प्रतिनिधिसभा घोषणाको बेला जस्तै सेना ‘मुभ' हुन्छ भन्ने हल्ला आइरहेको थियो।
प्रस्ताव

गणतन्त्र कार्यान्वयनको सन्देश लिएर म नै राजालाई भेट्न गएँ। मसँग केही उच्चपदस्थ कर्मचारी र ज्ञानेन्द्र पनि दरबारका कर्मचारीसँग थिए। उनले मसँग एक्लै कुरा गर्न खोजे।
असाध्यै नम्र शैलीमा प्रस्तुत ज्ञानेन्द्रले निवास, सुरक्षा र आमाहरूका विषयमा चासो देखाए। मैले प्रधानमन्त्रीको हवाला दिँदै सकारात्मक संकेत दिएँ। सरकारमा भएका माओवादी मन्त्रीहरूले किन सुविधा दिने भनी आपत्ति जनाए।
पूर्व राजाले राजमुकुट सँगै लान खोजेका थिए। राणाहरूले राजमुकुट लगेको प्रसंग उनले सम्झाए। मैले मानिनँ। मुलुकको इतिहास हो। नारायणहिटी संग्रहालयमा रहनुपर्छ भन्ने जिकिर गरेँ। राणाहरूको मुकुट अहिले कता हरायो? मुलुकको संग्रहालयमा जोगिएर रहनु राम्रो भएन र भन्ने मेरो प्रस्ताव ज्ञानेन्द्रले स्विकारे।

...
शान्ति प्रक्रियाको सबैभन्दा जटिल अध्याय सेना समायोजन हो। गिरिजाबाबुले माधवजीलाई पटक-पटक समायोजन गर्न भन्नुभयो। बिरामी अवस्थामा समेत संसदमा आफै उभिएर बनाएको प्रधानमन्त्रीले मूल विषयप्रति गरेको बेवास्ताप्रति गिरिजाबाबु खिन्न हुनुहुन्थ्यो।
‘लडाकु समायोजन प्रस्ताव विशेष समितिमा लानुस्,' प्रधानमन्त्रीलाई गिरिजाबाबुले धेरैपटक भन्नुभयो।
संयन्त्र गठन भएपछि पनि यही विषयमा चासो दिनुभएको थियो। संयन्त्रको सुरु दिनकै बैठकमा गिरिजाबाबुले भन्नुभयो, ‘तीन हजार समायोजन गर्ने भनेका हौं। प्रचण्डले चार/पाँच हजार भन्नुभएको।' प्रचण्डले खण्डन गरेनन्। गिरिजाबाबुले त्यति सजिलो बनाइदिँदा पनि माधवजी तात्नुभएन।
गिरिजाबाबुले पटक-पटक माधवजी ‘म हुँदै गर्नुस् सजिलो हुन्छ' भन्नुभएको छ। प्रचण्ड सरकारले पनि चासो देखाएन। माधव नेपालले समायोजन/पुनर्स्थापना प्रस्ताव नल्याएकोमा उहाँ साँच्चिकै दुःखी हुनुहुन्थ्यो।
...
  संविधानसभा निर्वाचनपछि उहाँ निकै दुःखी हुनुहुन्थ्यो। प्रधानमन्त्री नरहेपछि उहाँको निवासमा ओहोरदोहोर गर्ने पातलिँदै गए।
यो सबै देखेर मलाई कहिलेकाहीँ राजनीतिदेखि दिक्क लागेर आउँछ। के राजनीतिमा मानवीय संवेदना हुँदैन? राजनीतिमा भावना हुँदैन? आत्मियता हुँदैन? गिरिजाबाबुका पछिल्ला दिन सम्झँदा मनमा यी कुरा खेलिरहन्छन्। के राजनीति दुष्टहरूको खेल मात्र हो?
गिरिजाबाबुले कसलाई सहयोग गरेनन्? आज शेरबहादुर कसका कारण शेरबहादुर भए? रामचन्द्र, सुशील, खुमबहादुरहरू कसका कारण बने? गिरिजाबाबुकै कृपाले गोविन्दराज, विजय गच्छदारहरु वर्षौं मन्त्री बनेका हैनन्? पछिल्ला दिनमा उहाँ निकै गल्नुभएको थियो। धेरैको सहयोग र साथ खाँचो परेका बेला उहाँलाई धेरैले छोडे।
गिरिजाबाबु केही पनि दिन सक्ने नभएपछि मैले उहाँसँग सम्बन्ध झनै बाक्लो बनाएँ। बिहानै निवास पुग्थेँ। नभेटे पनि तल गएर बसिरहन भए पनि जान्थेँ। उहाँका सहयोगीले कृष्ण आएको छ भन्ने खबर पुर्‍याइदिन्थे। उहाँलाई सान्त्वना हुन्थ्यो।
मैले निर्वाचन हारँे। शान्ति प्रक्रियाका सार्थक बनाउन मेरो भूमिका आवश्यक छ भन्ने महसुस थियो उहाँलाई। मन्त्रिपरिषद्ले मनोनीत गर्ने सभासदमा जाऊ भन्नुभयो। मैले मानिनँ। विश्वनाथ उपाध्यायले मनोनीत सभासद छाडिदिनुभयो। ‘कृष्ण जाऊ' भन्नुभयो। मैले गिरिजाबाबु, साथीहरूले बेकार तपार्इंलाई समेत गालीगलौज गर्छन्, भैगो भन्दिएँ।

...
बिरामीले गालिसकेछि पनि गिरिजाबाबु जहिल्यै कुर्ता सुरुवालमा सफाचट बस्नुहुथ्यो। हरेक दिन बिहान ६ बजे भेटघाट सुरु गर्नुअगावै उहाँ आफै दाह्री काट्नुहुन्थ्यो। उहाँको अन्तिम इच्छा पनि त्यही थियो, म जस्तो छु त्यसरी नै मरूँ। लास पनि स्मार्ट होस्।
चैत ६ गते रातिदेखि नै बोल्न नसक्ने भइसक्नुभएको थियो। ७ गते बिहान नाडी थिएन, पूरै अचेत हुनुहुथ्यो। हामीलाई लाग्यो, उहाँ अब बौरिनुहुन्न।
उहाँले भनेको सम्झेर दाह्री खौरिदियौं। मरासिनीले काटिदिएका हुन्। प्राण गैसकेको जस्तै थियो। चारैतिरबाट समातेर अड्यायौं। कपडा फेरेर सफा कुर्ता सुरुवाल लगाइदियौं।
...
गिरिजाबाबुको काजक्रिया नसकिँदै राजाका भूतप्रेत जागेका छन्। ज्ञानेन्द्रको अन्तर्वार्तादेखि भट्टराईको वक्तव्य आएको छ। माघ १९ पछि आन्दोलनको सिलसिलामा धेरै पटक म एक्लै थिएँ। गिरिजाबाबुले मलाई ढाडस दिनुहुन्थ्यो। एक्लै हुँदा पनि आफू १०, २० लाख मानिसको बीचमा भएजस्तो लाग्थ्यो।
गिरिजाबाबुको शवयात्रामा म लाखौं मानिसको बीचमा थिएँ। तर मैले आफूलाई एक्लो पाएँ। त्यसपछिका बैठक, भीड, परिवारमा रहँदा पनि म एक्लो छु।

(किरण भण्डारी र लेखनाथ पाण्डेले गरेको कुराकानीमा आधारित)

 

प्रकाशित: १९ चैत्र २०६६ ०५:५७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App