५ चैत्र २०८२ बिहीबार
image/svg+xml
अन्य

लेखन जीवी

साहित्य लेखन सोखमात्रै हो वा आजीविकाको माध्यम? अहिलेसम्म ठेट उत्तर नभेटिएको प्रश्न हो यो। कतिपयका निम्ति साहित्य लेखन 'स्वान्तःसुखाय' काम होला भने कतिपय लेखक पछिल्लो समय अक्षरखेतीबाटै जीवन निर्वाह गर्न थालेका छन्।

साहित्य लेखन सोख मात्रमा अब सीमित छैन। यसले लेखकलाई धेरथोर आर्थिक मद्दत पनि गर्न थालेको छ। यसकारण पनि सृजनालाई आजीविकाको माध्यम बनाउन सकिने अवस्था आउन थालेका महसुस हुन्छ। फरक यति हो, साहित्यलाई आजीविकाको आधार बनाउन सफल हुनेको लेखनलाई 'व्यावसायिक' वा 'बजारु'को ट्याग लाग्ला भने अन्यलाई 'गम्भीर' मानिएला!

एकातिर लेखकमा अध्ययन, भ्रमण र चिन्तनको अभाव छ भने अर्कोतिर राम्ररी पढेर समीक्षा गरिदिनेको पनि चरम अभाव छ। स्तरीय लेखन, रूचिकर विषय तथा आकर्षक भाषा शैलीको पुस्तक नेपाली साहित्यमा आउने हो भने लेखकलाई लेखेर बाँच्नमात्र होइन एउटा उच्चस्तरीय जीवन बिताउन कुनै कठिनाइ नपर्ने देखिन्छ। 

साहित्य लेख्छु भन्दैमा आउने विषय होइन। कतिपय लेखकका निम्ति साहित्य लेख्नका लागि भित्र मनको कुनै कुनाबाट ज्वारभाटा उठेर आउनुपर्छ। बजार वा पाठकले खोजेको 'कन्टेन्ट' वा 'शैली' लेख्न यसरी मनबाटै विषय निस्कनु आवश्यक छैन भन्ने जमात ठूलो छ। यही कारण पनि नेपालमात्र होइन अन्य मुलुकमा पनि बजारु र गम्भीर साहित्यबीच कित्ताकाट हुन थालेको छ।

जसले साहित्य लेखनमा अधिक समय दिन सक्छ, मेहनत गर्छ, बजार र पाठकका रूचिबारे अध्ययन गर्छ त्यो लेखकले साहित्य सृजना गरेर जीवन चलाउन सक्ने भयो। समय नदिने वा मेहनत कम गर्ने लेखकलाई आजको प्रतिस्पर्धी लेखनदुनियाँमा टिक्नै पनि गाह्रो छ। सुरुसुरुमा लेख्दा लेखकले सोचेका पनि हुँदैनन् पूर्णकालीन लेखक बन्ने र यही कामबाट जीवन चलाउने। किनकि, पाठकले मन नपराउने हो भने न प्रकाशकले छाप्छ न त आम्दानी नै हुन्छ! यसकारण पनि व्यावसायिक लेखनमा आउनुअघि हरेक लेखकले 'परीक्षणकाल' भोगेका हुन्छन्। केही वर्षअघि नेपाल आएका भारतीय प्रख्यात लेखक तथा पूर्वबैंकर अमिश त्रिपाठीले भनेका थिए– 'किताब राम्ररी चल्छ भन्ने निश्चितता नभई जागिर छाड्नु हुन्न। जब आफ्नो पुस्तक राम्रै बिक्छ र यसैबाट जीवन चल्छ भन्ने विश्वास पैदा हुन्छ तबमात्रै जागिर छाडेर पूर्णकालीन लेखक बन्ने काम गर्नु उत्तम हुन्छ।'

नेपाली लेखकको अवस्था

नेपालमा निकै कम साहित्यकारले आफ्ना कृतिबाट जीवन चलाउन सकेका छन्। कृति सफल हुँदै गएपछि 'फुलटाइमर' लेखक भएर सृजना गरिरहेका छन्। पुस्तकको आम्दानीबाट जीवनको आर्थिक व्यवस्थापन गरिरहेका छन्। ती आफूलाई पाठकले व्यावसायिक लेखक भन्दा फरक नपर्ने बताउँछन्।

त्यसो त लेखेरै बाँच्छु भनेर तिनले सुरुका दिनमा सोचेका थिएनन्। ती पनि अन्य लेखकजस्तै रहर पूरा गर्न र नाम कमाउन साहित्यमा हामफालेका थिए। तिनको पनि मुख्य उद्देश्य मनमा उठेका ज्वारभाटा शान्त पार्नु नै थियो। तिनले निरन्तर आफ्ना रहर पूरा गर्दै गए, भाव पोख्दै गए। पाठकले तिनका रचना मन पराउँदै गए। र, आज ती पूर्णकालिक लेखकमा दरिए। ती कुनै पेसा वा जागिर खाँदैनन्। रातदिन सृजनामै व्यस्त हुन्छन्।

युवा पुस्तामा चर्चित मानिने लेखक सुविन भट्टराई भन्छन्, 'मैले लेख्न सुरु गर्दा सोचेकै थिइन, लेखन मेरो व्यवसाय वा आजिविकाको आधार बन्ला भनेर।' रहरमै कथा लेख्न सुरु गरेका सुविन अहिले लेखनबाटै आफ्नो जीवन चलाइरहेका छन्। 'लेखेर आफूले चाहेजस्तो जिन्दगी चलाउन सकिँदो रहेछ,' सुविन भन्छन्, 'लेखनबाहेक अन्य मेरो कुनै जागिर वा व्यवसाय छैन। चाहेको ठाउँ घुम्न, चाहेको खाना खान, पहिरन किन्न, चाहेको काम गर्न सबै लेखनकै आम्दानीले धानिरहेको छ। लेखनबाटै आएको पैसाले निजी गाडी चढेर हिँड्न सकेको छु।'

कुनै मध्यमस्तरको सरकारी कर्मचारीको जीवनभन्दा आफ्नो दैनिकी स्तरीय भएको उनलाई लाग्छ। 'सरकारी कर्मचारीलाई बरु स्वतन्त्रता नहोला, तर मैले राम्रो आम्दानीसँगै स्वतन्त्र समेत महसुस गरेको छु,' सुविन भन्छन्। नेपालमा साहित्य लेखेर बाँच्न सक्ने वातावरण बनिसकेको उनको दाबी छ। तर, समयको माग, पाठकको रूचिअनुसारको अध्ययन गरेर साहित्य सृजना गर्न सक्नेले यही कामबाट नाम, दाम सबै कमाउने सुविनको अनुभव छ। त्यसो त सुविनले लेखेका उपन्यास साहित्य नभएर 'बजारु किताब' भएको आरोप लगाउनेको पनि कमी छैन।

उननको पहिलो पुस्तक 'कथाकी पात्र' हो। यसलाई उनी आफैले प्रकाशन गरेका थिए। 'जिन्दगीमा लेखक भनेर चिनाउने रहर पूरा गर्न कथाकी पात्र आफ्नै लगानीमा प्रकाशन गरेको हुँ,' सुविन भन्छन्, 'उक्त कृतिले पनि पाठकको प्रशंसा राम्रै पायो र लेखनमा हौसिएर हामफालेँ।’ त्यही पुस्तकपछि उनले 'समर लभ' उपन्यासको कल्पना गरेका हुन्। कथाकी पात्रले नहौस्याएको भए सायद अहिले युवापुस्ता विशेषगरी 'प्लसटु' पुस्तामा चर्चित उपन्यास समर लभ, साया र मनसुन नजन्मिन सक्थे भन्ने उनलाई लाग्छ।

मदन पुस्कार जित्न सफल उपन्यास 'सेतो धरती'का लेखक अमर न्यौपानेले पनि पहिलो कृति रहर पूरा गर्न लेखेको थिए। 'लेखनबाट यति धेरै चर्चा पाइएला भन्ने सोचेकै थिइनँ,' उनी भन्छन्, 'पानीको घाम आफ्नै लगानीमा प्रकाशन गर्ने तयारी गरिरहेको थिएँ। प्रकाशनअघि केही व्यक्तिलाई पाण्डुलिपि देखाएको त एक पटक प्रकाशकलाई देखाऊ भनेर सुझाए। नभन्दै प्रकाशकले मन पराए र छापियो।'

पानीको घामले हौसला बढी, आम्दानी ठीकै दिएको अमर बताउँछन्। 'त्यही बढी हौसला र ठीकै आम्दानीले सेतो धरती लेख्न प्रेरणा र खर्च जुटाइदियो,’ उनी भन्छन्। सेतो धरतीले अमरलाई नाम र दाममात्रै दिएन, साहित्यको प्रख्यात पुरस्कार समेत दिलायो। सोही उपन्यास लेख्न थालेपछि नै उनी शिक्षण पेसा छोडेर पूर्णकालिक लेखक बनेका हुन्। ‘बाह्र वर्षसम्म शिक्षण पेसा गरेँ,’ अमरले साहित्यमा मोडिएको जीवनका समय सम्झे, ‘त्यति लामो समय शिक्षण पेसाबाट कमाएको भन्दा बढी आम्दानी सेतो धरतीले दियो।’ सो पुस्तकको आम्दानीले नै अमरलाई पूर्णकालिक लेखक बनाएको हो। ‘सोचेँ लेखनमै यति राम्रो हुन्छ भने अरु पेसा किन गर्नु? बरु लेखनमै सबै समय दिएर राम्राराम्रा कृति लेख्दै जान्छु,’ उनले भने, 'लेखेरै मस्तीको जीवन बिताउने वातावरण त बनिसकेको छैन। तर पनि पुस्तककै आम्दानीबाट व्यवहार चलाइरहेको छु।' उनलाई पुस्तकको आम्दानी भरपूर सदुपयोग गर्न मन लाग्छ, उडाउन वा फजुल खर्च गर्न मन लाग्दैन। आफ्नो जीवन सरकारी अधिकृतको भन्दा कमजोर नभएको उनी बताउँछन्। तथापि, साहित्य सृजनाको आम्दानीबाट जीवन चलाउनु भनेको एकप्रकारको संघषकै समय भएको बताउन पनि उनी भुल्दैनन्। 'लेखनकै आम्दानीबाट जीवनलाई मध्यमस्तरबाट चलाइरहेको छु,' उनी भन्छन्।

लेखेर बाँच्ने सर्जकको जीवन धेरै हाइफाइ नहुने धारणा 'कर्नाली ब्लुज'का लेखक बुद्धिसागरको छ। पूर्णकालिक लेखक हरेक क्षण लेख्नमै व्यस्त रहने हुनाले मस्ती गर्ने समय नै नहुने बुद्धिसागरले अनुभव सुनाए। तर, लेखनकै आम्दानीले आफूले राम्रैसँग व्यवहार धानिरहेको उनको भनाइ छ। 'यति पैसा भए यसो गथर्ें भन्ने केही छैन,' उनले भने, 'जागिर छोडेरै फुलटाइम लेखनमा बिताइरहेको छु। अहिलेसम्मको जीवन त लेखनकै आम्दानीले मज्जाले चलिरहेको छ।'

बुद्धिसागर पहिलो उपन्यास कर्नाली ब्लुज प्रकाशन हुँदासम्म पनि मिडियामा काम गर्थे। त्यसपछि भने उनी पूरै समय लेखनमै छन्। 'जागिरमा भन्दा राम्रो आम्दानी लेखनबाटै पाएको छु,' बुद्धिसागर भन्छन्, 'जागिर गर्दा लेखनमा असर पुग्ने भयो। जागिरमा भन्दा लेखनमै राम्रो आम्दानी हुन्छ भने किन फुलटाइम नलेख्ने भनेर पूर्णकालिक लेखक बनेको हुँ।' सुरुका दिनमा उनले सोचेकै थिएनन् फुलटाइमर लेखक बनिएला भनेर। लेखनकै आम्दानीले जीवन चलाउन सकिएला भनेर। 'सुरुमा रहर पूरा गर्न लेख्न थालेको हुँ,' उनी भन्छन्, 'किताब लेखेर पैसा आउला भन्ने त सोचेकै थिइनँ। जागिर खाएर जीवन चलाउने अनि मनको रहर पूरा गर्न सृजना गरिरहने सोच थियो।' पहिलो उपन्यासबाट राम्रै रोयल्टी पाएपछि बुद्धिसागरले अब भने लेखनकै आम्दानीबाट बाँच्न सकिन्छ भन्ने विश्वासका साथ जागिरभन्दा प्यारो साहित्य सृजनामै लागेका हुन्। नियमित पाठक(किताब पढिरहने समूह)को मन छुनेभन्दा पनि सर्वसाधारण(कहिलेकाहीँ किताब पढ्ने, राम्रो किताब पाएमा किन्ने)लाई प्रभाव पार्न सक्ने हो भने लेखनलाई पेसा बनाएर जीवन चलाउन गाह्रो नहुने बुद्धिसागरको बुझाइ छ।

लेखन क्षेत्रमै ३० वर्षदेखि लागिरहेका नयनराज पाण्डे पनि लेखन क्षेत्र फैलँदै गएको बताउँछन्। 'दिनप्रतिदिन साहित्यका पाठक बढिरहेका छन्,' उनी भन्छन्, 'राम्रो लेख्नेहरूका लागि यसैका आम्दानीले जीवन चलाउन कठिन छैन।' उनले लेखनकै आम्दानीबाट घरव्यवहार राम्रैसँग चलाइरहेको बताए। २०४४ सालमा पहिलो कृति प्रकाशन गरेर पाठकमाझ आएका नयनराजले दर्जनको हारहारीमा आख्यान(उपन्यास र कथा)का पुस्तक लेखिसकेका छन्। केही वर्षपहिलेसम्म फिल्मी तथा टेलिभिजन पटकथा, स्त्रि्कप्ट  लेख्दै आएका उनी ६० को दशकयता साहित्य लेखनबाहेक कुनै कार्यमा संलग्न छैनन्।

पछिल्लो समयमा शिक्षाको स्तरवृद्धि, प्लसटु पुस्ताको आख्यानमा रूचि, सामाजिक सञ्जालमा लेखक र पाठकको भेटघाटका साथै मिडियाले साहित्यलाई दिने स्पेसका कारण पाठक बढ्दै गएको उनको भनाइ छ। यसले साहित्यिक कृतिको बिक्री बढेको नयनराजको बुझाइ छ। 'केही समयअघिसम्म आत्मसन्तुष्टिका लागि लेख्ने गरिन्थ्यो,' नयनराजले भने, 'अब भने व्यावसायिक भएर आमपाठकका लागि सृजना गरिन्छ।' उनले २/४ जनामात्रै पूर्णकालिक नभएर दर्जनौँ लेखकपूर्णकालीन हुने वातावरण बन्नुपर्ने धारणा राखे। पूर्णकालिक लेखकको संख्या बढाउन पाठक जन्माउनुपर्ने र पाठक जन्माउनका लागि उत्कृष्ट कृति सृजना गर्नपर्ने नयनराजको धारणा छ। पूर्णकालिक लेखक भन्दैमा जे लेख्दा पनि हुन्छ भन्ने हुँदैन। पाठकका मन जितेर लेख्न सके लेखनकै आम्दानीबाट सहजै जीवन चलाउन सकिने उनको भनाइ छ।

पहिचानवादी धारका लेखकका रूपमा चिनिएका राजन मुकारुङ पनि पूर्णकालीन लेखक हुन्। २०६० सालदेखि कतै जागिरमा नअलमलिइकन साहित्य सृजनामा लागेका राजनले पनि अहिलेसम्म लेखनकै आम्दानीबाट घरव्यवहार चलिरहेको अनुभव सुनाए। ‘फुरमाइसी खर्चमा अलि बढी खर्च हुन्छ मेरो,’ दमिनी भीर उपन्यासका निम्ति मदन पुरस्कार जितेका  उनले भने, ‘चार वर्षदेखि किताब निकालेको छैन। अहिलेसम्म व्यवहार चलाउन पुर्पुरोमा हात अड्याउनुपरेको पनि छैन।’ हिजोआज राम्रो कृति लेख्न सके १० हजार प्रति बिक्न गाह्रो नभएको उनको अनुभव छ। ‘१० हजार पुस्तक बिक्दा लेखकले ८/१० लाख पाइहाल्छ। २/२ वर्षमा कृति लेख्न सक्ने हो भने जीवन धान्न के गाह्रो छ र लेखेर, ’ उनी भन्छन्। राजनलाई पनि कुनै समय यस्तो आउला, जुनबेला आफ्नो सृजनाबाट जीवन धान्न सकिएला भन्ने लागेकै थिएन। २०५६ सालमा पहिलो कृति 'सेतो आरोहण' प्रकाशन गरेका राजनले त्यसबेलै केही कमाउन सफल भएका थिए। ‘मेरो त चिनजानकै साथीले किनिदिँदा पनि राम्रै आम्दानी हुन्थ्यो,’ उनले भने, ‘अहिले त चिनजान कुरिहरनु नै पर्दैन। राम्रो लेख्न सक्दा पढ्न पर्र्खिएर आमपाठक बसेका छन्।’ अरुको भन्दा फरक सोचेर लेख्न सक्नुपर्ने राजनको भनाइ छ।

झण्डै पाँच दशकदेखि लेखनमै लागिरहेका खगेन्द्र संगौलाको धारणा भने अलि फरक छ। साहित्य सृजनाबाट नै लेखक बाँच्न सक्ने वातावरण बनिनसकेको, तर बन्दै गरेको खगेन्द्रलाई लागेको छ। 'पञ्चायतकालमा लेखेर आम्दानी गर्ने कल्पना पनि गर्न सकिँदैनथ्यो। ०४६ सालपछि लेखन थोरबहुत आम्दानीको स्रोत बन्न थाल्यो। अहिले कमाइको राम्रै आधार साहित्यिक पुस्तक बन्ने क्रममा छ,' उनी भन्छन्। अब केही वर्षपछि लेखेरै चाहेको जस्तो जीवन चलाउन सक्ने वातावरण बन्नेमा खगेन्द्र विश्वस्त छन्। ‘अहिले जो पूर्णरूपमा साहित्य सृजनामा लागिरहेका छन् ती चुनौतीमा छन्,’ उनले भने, ‘किनभने लेखनमा सधैँ एउटै लेखकको चार्म हुन्छ भन्ने हुँदैन। कुनैबेला मेरै पनि लेखनमा चार्म थियो तर अहिले छैन।’ तर, विभिन्न विधामा कलम चलाउन सक्दा भाषा, शैलीमा मौलिकता भएमा जसोतसो जीवन चलाउन सकिने उनी बताउँछन्। अनुवाद तथा अन्य लेखनबाट राम्रै आम्दानी गरे पनि साहित्य सृजना गरेर आफूले जीवन नचलाएको उनको स्वीकारोक्ति छ। ‘म पूरा समय लेखनमै व्यस्त छु,’ खगेन्द्रले भने, ‘तर, लेखनको आम्दानीमात्रैले मेरो घरव्यवहार चलिरहेको छैन्।’ श्रीमतीको पेन्सन आउने तथा छोराछोरीसमेत कमाउने भएकाले त्यसैबाट जीवन सहज चलिरहेको उनको भनाइ छ। 'एक दशकजति कुर्ने हो भने लेखनमा उज्यालो दिन आउने देख्छु,' उनले भने। प्रकाशकले लेखकलाई ठग्ने हुँदा पनि अहिलेसम्म आफूले लेखेरै जीवन चलाउन नसकेको उनको आरोप छ।

एब्स्ट्र्याक्ट लेखनमा नाम बनाएका कुमार नगरकोटी भने तीन वर्षदेखि पूर्णकालिक लेखक भएर व्यवहार धानिरहेका बताउँछन्। 'शिक्षण पेसा गरेको समयभन्दा पूर्णकालिक लेखक भएर गरिएको आम्दानीले जीवन राम्रोसँग चलेको छ,' उनी भन्छन्, ‘चुनौती लिएर शिक्षण पेसा छोडेर यता लागेको हुँ।’ राम्रो सृजना गरेपछि पाठकले मन पराउँदै जाने र लेखक लेखनकै आम्दानीमा निर्भर हुँदै जाने उनको बुझाइ छ। सुरुमा त कुमारलाई लेखक बन्छुजस्तो लागेकै थिएन। झन् पूर्णकालिक लेखक भइएला भनेर त सोच्नै नभ्याएको उनी बताउँछन्। ‘लेख्दै जाँदा साहित्यमा रस बस्दै गयो। कृति निकालेपछि पाठकको हौसला र आम्दानी पनि भयो,’ उनी भन्छन्, ‘अरुको अन्डरमा बसेर काम गर्नुभन्दा स्वतन्त्र भएर लेखेरै जीवन चलाउँछु भनेर जागिर छोडेको हुँ।’

चुनौतीका चाङ

नेपालका न्यून संख्याका लेखकले पुस्तकको आम्दानीबाट जीवन चलेको बताए पनि लेखेरै आजिविका चल्ने वातावरण बनिसकेको देखिँदैन। आशावादी भएर हेर्ने हो भने सम्भावना बलियो भने पक्कै बन्दैछ। नेपाली साहित्यले अन्य मुलुकका पाठकसम्म राम्ररी पुग्ने अवसर पाएको छैन। भाषा–साहित्यको प्रवर्द्धनका निम्ति सरकारी ढुकुटीबाट सञ्चालित नेपाल प्रज्ञा–प्रतिष्ठानमा राजनीतिक दलका झोले नियुक्त हुनाले पनि नेपाली साहित्यको उन्नति हुन नसकेको अधिकांश लेखकको गुनासो छ। नेपालमा विषयवस्तुको कुनै अभाव नभए पनि अनुवाद तथा नेपाली साहित्यका बारेमा अन्य मुलुकका पाठकसम्म जानकारी पुर्‍याउन नसक्नाले लेखक आर्थिक अभावमा पर्नुपरेको पनि कतिपयको भनाइ छ। कुनै पनि लेखकको ५० हजार किताब बिक्ने हो भने लेखकको जीवन त्यसको रोयल्टीले चाहेजसरी चल्न सक्ने अमरको भनाइ छ।

उता, पाठक बढाउन लेखककै भूमिका हुने बुद्धिसागर बताउँछन्। लेखकले सामान्य मान्छेले बु‰ने र पढ्ने कथा सृजना गर्न सक्नुपर्ने उनको तर्क छ। निरक्षर पाठकलाई समेत कथाले छुन सक्ने बनाउन सके पाठक पढ्दै जाने उनी बताउँछन्। सुविनको धारणा पनि अमर र बुद्धिसागरसँग मिल्छ। पूर्णकालिक लेखक हुन सृजना बिक्नुपर्ने र त्यसका लागि पाठकको मन जित्नुपर्ने धारणा लेखकहरूको छ।

लेखनशैली कि विषय!

साहित्यका पाठकलाई लेखनशैली वा विषय केले बढी आकर्षित गर्छ भन्ने कुरो बहसकै विषय हो। कसैले साहित्यमा विषय राम्रो हुनुपर्छ भनेका छन् त कसैले विषय जति राम्रो भए पनि प्रस्तुति राम्रो भएन भने पाठकको ध्यान तान्न नसक्ने धारणा राख्छन्। नयनराज भने विषय राम्रो हुनुपर्ने र विषयसँगै लेखनशैली पनि राम्रो हुनुपर्ने बताउँछन्। बुद्धिसागरचाहिँ विषय जस्तो भए पनि लेखनशैली राम्रो भए पाठकको मन जित्न सकिने तर्क गर्छन्। ‘फिरफिरेमा खासै कथावस्तु छैन, तर धेरै पाठकको मन जितेको छ,’ बुद्धिसागरले भने, ‘किनभने त्यहाँ मेरो आफ्नै शैली छ जुन शैलीमा पाठकले छुट्टै स्वाद पाएका छन् र त मन पराएका छन्।’ दमदार शैली भए पनि विषय कमजोर हुन नहुने कुमारको बुझाइ छ।

सम्पादनको अभाव

कृृतिलाई पाठकको रोजाइमा पार्न लेखककै  महŒवपूर्ण भूमिका रहन्छ। लेखकका हातबाटै कृति जन्मँदा स्तरीय भयो भने त्यसलाई सम्पादकले अझै राम्रो बनाएर हुर्काउन सक्छन्। तर, कृतिलाई राम्रो बनाएर हुर्काउन सक्ने सम्पादक नेपालमा जन्मिन नसकेको अधिकांश लेखकको भनाइ छ। अमर भने लेखक आफै सम्पादक भएकाले कृतिलाई राम्रो बनाउन सम्पादकको महŒवपूर्ण भूमिका नहुने देख्छन्। तर, राजन मुकारुङलाई भने सम्पादकको भूमिका अत्यन्तै महŒवपूर्ण लाग्छ। कृतिमा 'सुनमा सुगन्ध भर्ने' काम सम्पादकले गरे पनि त्यस्ता सम्पादक नेपालमा अभाव रहेको उनको भनाइ छ। राजनको भनाइसँग नयनराज र सुविन पनि सहमत देखिन्छन्। नयाँनयाँ विषय, नयाँ सोच, नयाँ प्रस्तुति भएका लेखकको पर्खाइमा सयौँ पाठक रहेको कुमार, राजन र अमरको भनाइ छ।

नेपालमा किताब निकाल्न हतार गर्ने लेखकको संख्या पनि बढेको छ। एउटा किताब चल्यो भने अर्को किताब बिना कुनै मेहनत निकाल्नाले दोस्रो किताबमै लेखक डुबेका उदाहरण पनि प्रशस्त छन्। किताब निकाल्ने निश्चित समय अमरले बनाएका छैनन्, तर २/३ वर्षको फरकमा एउटा किताब पाठकलाई दिनुपर्छ भन्ने उनको ठम्याइ छ। अबको एक–दुई महिनाभित्रै पाठकलाई अर्को किताब दिने तयारीमा उनी जुटेका छन्।

सुविनले भने १८ महिनाभित्रमा पाठकको हातमा एउटा किताब पुर्‍ाउने लक्ष्यका साथ अघि बढिरहेको बताए। बुद्धिसागर भने ३ वर्षसम्ममा एउटा किताब पाठकलाई पुर्‍याउनुपर्छ भन्ने सोचमा छन्। किताब आएपछि वर्ष दिन त त्यतिकै बित्ने बताउँदै बाँकी रहेको समयमा किताब लेखेर पाठलाई दिनुपर्ने उनको धारणा छ। त्यसैगरी नयनराज र राजनको पनि किताब निकाल्ने कुनै समयसीमा छैन। केही महिनाअघि मात्रै सल्लिपिर उपन्यास ल्याएका नयनराज अर्को किताबको लागि कथाको खोजीमा लागिसकेको बताउँछन्। राजन भने ४ वर्षदेखि पाठकलाई किताब दिन सकिरहेका छैनन्। कुमार पनि नियमित किताब ल्याइरहेका लेखक हुन्।

अध्ययनको अभाव

साहित्यमा लाग्ने चाहनेले सीमातीत अध्ययन गर्नुपर्ने विश्वव्यापी मान्यता छ। बाटोमा जे देखिन्छ, त्यो अध्ययन गर्नुपर्ने बुद्धिसागर बताउँछन्। तर, नेपाली लेखकमा किताबसँगै समाज, राजनीति, इतिहास, धर्म–संस्कृतिको अध्ययनको अभाव रहेको कतिपय विद्वान् पाठकको गुनासो छ। त्यतिमात्र होइन, समकालीन लेखकका कृति छुँदै नछुने रोगले ग्रस्त छ नेपाली साहित्यजगत्। यसले आफ्नो पुस्ताका लेखकबारे बु‰न त सकिँदैन नै, आफ्नो लेखनीबारे तुलनात्मक अवस्था पनि थाहा पाइँदैन। एकातिर लेखकमा अध्ययन, भ्रमण र चिन्तनको अभाव छ भने अर्कोतिर राम्ररी पढेर समीक्षा गरिदिनेको पनि चरम अभाव छ। स्तरीय लेखन, रूचिकर विषय तथा आकर्षक भाषा शैलीको पुस्तक नेपाली साहित्यमा आउने हो भने लेखकलाई लेखेर बाँच्नमात्र होइन एउटा उच्चस्तरीय जीवन बिताउन कुनै कठिनाइ नपर्ने देखिन्छ। 

प्रकाशित: ९ पुस २०७३ ०६:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App