२९ वैशाख २०८१ शनिबार
image/svg+xml
अन्य

कलाको मूल्य

'गरिब देश भन्दैमा कलाको विकास नहुने होइन,' कलाकार रत्नकाजी शाक्य भन्छन्, 'तर कलाको विकास नभएको देश नांगोजस्तै हुन्छ। किनभने, कलाले देशको इतिहास र वर्तमान झल्काउँछ, पहिचान बनाउँछ।' हो पनि, आफ्नो मौलिक कला, संस्कृति वा पहिचान नभएको देश नांगोजस्तै हुन्छ।

शाक्य भन्छन्, 'लाखौं खर्चले गरिएको साजसज्जाभन्दा कलाकारको एउटा चित्र झुन्डाउँदा देशको बेग्लै पहिचान दिन सक्छ।'

शाक्यको बोध र बुझाइमा चित्र आफैं त बोल्छ तर दोहोर संवाद गर्दैन। चित्र बुझ्ने मनले दोहोरो संवाद गरिरहेको हुन्छ, अद्भुत आनन्द लिइरहेकै हुन्छ। उनी भन्छन्, 'जसरी ऐनामा वस्तुको प्रतिविम्ब छर्लंग देखिन्छ, त्यसरी नै रङ संयोजनसहितको आकृतिले मानसिक अवस्था चित्रण गर्छ।'

कलामा नाम र दाम दुवै छ। बरु आफूले जन्म दिएका सन्तानले भविष्यमा सुख दिन्छन् नै भन्ने छैन। तर, कुनै सिर्जनामा दम छ भने प्रचारमा आएरै छाड्छ, लामो समय बाँच्छ र सर्जकलाई परम आत्मिक सुख पनि दिन्छ।

एउटा सर्जकले आफूले जन्म दिएका सन्तान र आफ्ना कला–सिर्जनालाई गर्ने मायामा फरक हुँदैन। जन्म दिनेलाई सन्तानले सेवा गर्न सक्छन्, बुढेसकालमा हेरविचार गर्न सक्छन्। के कला–सिर्जनाले पनि सर्जकलाई फाइदा पुर्‍याउला? के कलाले सर्जकलाई आर्थिक उपार्जनमा सघाउला? हामीकहाँ यो अहं प्रश्न हो। जब कि आजको व्यावसायिक दुनियाँमा विकसित देशका कलाकार आफ्नो कला बेचेरै आर्थिक रुपले सबल छन्।

मिथिला क्षेत्रका कलालाई चित्रकलामा उतार्दै आएका श्यामसुन्दर गुप्ता भन्छन्, 'कलामा नाम र दाम दुवै छ। बरु आफूले जन्म दिएका सन्तानले भविष्यमा सुख दिन्छन् नै भन्ने छैन, तर कुनै सिर्जनामा दम छ भने प्रचारमा आएरै छाड्छ, लामो समय बाँच्छ र सर्जकलाई परम आत्मिक सुख पनि दिन्छ।'

उनका अनुसार नेपालमा अहिले चित्रकलाले बिस्तारै व्यावसायिक गति लिएको छ। नेपाली कलाकारका चित्र देशी–विदेशी बजारमा बिक्री बढ्दै छ। विदेशी पर्यटकको आगमनसँगै र एक ठाउँबाट अर्को ठाउँमा जाने आन्तरिक पर्यटकले चित्रकलाको बजार विस्तारमा सहयोग पुर्‍याएको छ।

देशका अधिकांश चित्रकारका आफ्नै आर्ट ग्यालेरी छन्। पछिल्लो समय कला प्रदर्शनी बढ्दो छ, कला बिक्दो छ। कतिले आफ्नै ग्यालेरीबाट चित्र बेच्दै पनि आएका छन्।

'नेपालमा चित्रकार बढ्दै छन् तर नेपाली उपभोक्ता न्यून छन्, अहिलेसम्म खरिदकर्ता अधिकांश विदेशी पर्यटक हुन्,' मिथिला आर्ट ग्यालरीका सञ्चालकसमेत रहेका गुप्ता भन्छन्, 'घर बनाउँदा लाखौं खर्च हुन्छ, घर सजाउन पनि खर्च गर्नेहरु बढ्दै छन्, अब नेपालीले न्यून मूल्यको पेन्टिङ खरिद गर्ने बानी बसाल्नुपर्छ। अहिले नेपालमा ठूला होटेल, पार्टी हल र घरमै पनि चित्रकला सजाउने प्रचलन बढेको पाइन्छ।'

गुप्ताका पेन्टिङ सर्वाधिक ७५ हजार रुपैयाँदेखि न्यूनतम पाँच हजारसम्ममा बिक्री भएका छन्। भुइँचालो तथा नाकाबन्दीले पर्यटक आगमनमा आएको कमीसँगै पेन्टिङ व्यापारमा गिरावट आएको गुप्ता बताउँछन्।

गुप्ता भन्छन्, 'कलाकारलाई प्रोत्साहन गर्न मात्रै होइन, कलाको देश भनेर चिनाउन पनि अब हरेक सरकारी कार्यालयमा पेन्टिङ राखिने नीति नै बन्नुपर्छ।'

नेपाली चित्रकलाको विकासमा पौभा चित्रलाई मूलधारका चित्रका रूपमा लिइन्छ। जुन बौद्ध धर्मस“ग सम्बन्धित छ। पौभा कलाको संरक्षणमा चार दशकदेखि लागिपरेका व्यक्तित्व हुन्, लोक चित्रकार। 'म सामान्य परिवारको मान्छे मध्यवर्गीय परिवारमा उक्लिएको छु। म चित्रकलाबाटै जीविकोपार्जन गर्न सफल भएँ,' लोक चित्रकार भन्छन्, 'मेरो धैर्यताकै कारण पौभा आर्टले मलाई माया गरेको हो।'

चित्रकारका अनुसार तिब्बेतियन भाषा परिवारअन्तर्गत नेपाली भाषाको 'पत्र–भत्तारक' भन्ने शब्दको अपभ्रंशको रुप हो– पौभा। जसको अर्थ हुन्छ, भगवानको आकृति।

पौभा कलाले अलौकिक संसारमा कल्पना गरिने भगवानको आकृति पस्कन्छ। जसमा भगवानका विभिन्न स्वरुप कोरिन्छन्। यो कलामा ऐतिहासिक विषयवस्तु जीवन्त प्रस्तुत गरिन्छ। यसमा दर्शनशास्त्र लुकेको हुन्छ। त्यसैले अध्यात्ममा रुचि भएका मानिसलाई थप बोध गराउन भूमिका खेल्छ पौभा कलाले।

'कहिलेकाहीं दुःख लाग्छ, थांका चित्रसँग पौभा चित्रको तुलना गरिँदा,' चित्रकार गुनासो गर्छन्, 'पौभा आर्र्ट नेपाली मौलिक कला हो, थाङ्कापछि त्यसैको कपी हो।'

थुप्रै पौभा कला कोरेका लोक देश–विदेशमा यसको उच्च माग रहेको बताउँछन्। 'जापानको 'खान्जोइन मन्डला म्युजिसियममा मैले नै कोरेका एक सय ५० पौभा कला राखिएका छन्। प्राइभेट कलेक्सनमा धेरै माग छ,' उनी भन्छन्, 'मरो आर्ट कतिमा बिक्री हुन्छन् भन्दा पनि कतिको सन्तुष्ट छु भन्ने महŒवपूर्ण हो।'

उनले २० वर्षदेखि एउटा पौभाकला कोर्दै छन्, जुन अझै पूरा भएको छैन। 'खोज अनुसन्धान तथा दर्शन प्रयोग गर्नुपर्ने भएकाले यत्तिका समय लाग्यो,' उनी भन्छन्, 'पूर्वराजा ज्ञानेन्द्र शाहले पनि यसबारे उतिबेलै जिज्ञासा राखेका थिए। मूल्य सोधेका थिए। मैले अहिल्यै मूल्य तोक्न नमिल्ने बताएँ।'

उनी आर्ट प्रदर्शकका लागि जापान, अमेरिका, थाइल्यान्ड, सिंगापुर, जर्मनी, फ्रान्स लगायत देश घुमिसकेका छन्। 'धैर्यताबिना कलामा टिक्न सकिन्न, कलामा पैसा मात्रै होइन इज्जत पनि छ। यो जीवित कला हो,' उनी भन्छन्, 'टियुमा ब्याचलरसम्म  कोर्स भएर पनि यो विषयको महŒव बढ्दै छ।'

इतिहास, दर्शनशास्त्रको समीक्षा र अध्ययन तथा अनुसन्धानका लागि कलाको अत्यन्तै महŒव हुने गर्छ। चित्रकलाको विश्लेषण, व्यावसायिक अवस्था, त्यसको भविष्य, देश विकासको योगदान र अर्न्तराष्ट्रिय प्रचारका क्षेत्रमा अध्ययन गरिनुपर्ने बेला आएको छ।

कलाले आर्थिक विकास र पर्यटन विकासमा पनि सहयोग पुर्‍याउँछ। कलाकार नरबहादुर बिकेले बुद्ध र हिमालका चित्रमार्फत देश चिनाइरहेका छन्। 'नेपालकै प्रतिनिधित्व गर्ने हिमाली, याक, मानव इतिहास, रहनसहन नै मेरा चित्रका विषयवस्तु हुन्,' बिके आर्ट ग्यालरी सञ्चालन गर्दै आएका उनले भने, 'शान्तिको प्रतीक गौतम बुद्ध र नीलो रङको प्रयोगले मेरा आर्ट सज्जित हुन्छन्।'

बिकेले आर्टमा मार्स्टस डिग्री गरिसकेका छन्। अर्डरअनुसारका चित्र पनि कोर्ने उनले अहिले १० हजारको हाराहारीमा चित्र कोरेका छन्। 'प्रदर्शनीमा पनि मेरा चित्र राम्रैे बिक्री भएका छन्। सबैभन्दा महँगो भनेको दुई लाख ५० हजार रुपैयाँमा बिक्री भएको थियो,' उनले भने, 'सबैभन्दा सस्तो भनेको तीन हजार रुपैयाँसम्ममा बिक्री भएका छन्।'

पेन्टिङ प्रर्दशनकै लागि कोरिया, बंगलादेश, अफगानिस्थान, इन्डोनेसिया, भारतलगायत देश भ्रमण गरेका उनले विदेशमा पनि चित्र बिक्री हुने बताउँछन्। 'आजकाल आर्किटेक्चरहरूले पनि सजावटका सामानमा पेन्टिङ राख्नुपर्ने सल्लाह दिने गर्छन्, यो सकारात्मक हो,' बिकेले भनेे, 'दसैं–तिहार र पर्यटक आगमनको सिजनमा धेरै पेन्टिङ बिक्री हुन्छन्।'

उनले कहिलेकाहीं दिनमै चार–पाँचवटा चित्र तयार गर्छन्। 'क्रियटिभ पेन्टिङ तयार गर्दा सबैभन्दा लामो समय १० दिनसम्म लागेको छ,' उनले भने, 'निरन्तरता चाहिन्छ, उमेर बढ्दै जाँदा कलाकारको मूल्य, इज्जत बढ्ने हुँदा खुसी लाग्छ।'

चित्रकलाको विकास, प्रवर्द्धनमा कलाकारको पनि भूमिका र सक्रियता आवश्यक हुने उनी बताउँछन्।

ज्योति प्रकाश आधुनिक तथा समसामयिक विषयमा चित्र सिर्जना गर्ने चित्रकारमा गनिन्छन्। २४ वर्ष चित्रकला क्षेत्रमा लागेका प्रकाशले कलामा धार्मिक तथा ऐतिहासिक विषयलाई समेट्दै आएका छन्।

उनीमा चित्रप्रतिको रुचि सानैदेखि थियो। 'पेन्टिङमा लाग्ने रहर बच्चैदेखि रहेछ' प्रकाश भन्छन्, 'मैले कक्षा २ मा पढ्दादेखिका कपी भेटिए, त्यसमा पनि चित्र थिए। ४ कक्षा पढ्दा त म राजारानीको पेन्टिङ गर्ने भइसकेको थिएँ।' चित्रप्रतिको यही हुटहुटीले उनी ललितकलामा भर्ना भए, ०५२ सालमा। अनि, उनको व्यावसायिक यात्रा सुरु भयो।

प्रकाशका आर्टका धेरैजसो ग्राहक विदेशी नै हुन्। 'हालसम्म मेरा हातले चार हजार चित्र कोरिसके,' उनी भन्छन्, 'मेरो चित्र सबैभन्दा महँगोमा बिकेको भनेको ९० हजार रुपैयाँमा हो। सबैभन्दा सस्तो चार–पाँच हजारमा बिकेका छन्। मैले पेन्टिङबाट सरल जीवन जिउन सकेको छु, इज्जत पाएको छु, खुसी लाग्छ। ढुक्कले भन्न सक्छु, पेन्टिङमा नाम र दाम दुवै छ।'

चित्रकलामा परसंस्कृतिकरण बढ्दै गएकोप्रति प्रकाश चिन्तित छन्। 'हामी लैनसिङ वाङदेल, चेतबहादुर चित्रकार, चन्द्रमानसिंह मास्के, बालकृष्ण सम तथा सिद्धमुनि शाक्यबारे परिचित हुनुपर्छ,' प्रकाश भन्छन्, 'हामीले अंग्रेजी भाषा सिक्दैमा अमेरिकाकै कुरा बोल्नुपर्छ भन्ने छैन, आफ्नै विचार पनि व्यक्त गर्न सकिन्छ।'

सरकारी निकायका कला शाखाले पनि कलाकार नै नियुक्त गर्ने गरेका छन्। मूर्तिकला विभाग प्रमुख धनु याखा त्यसका उदाहारण हुन्। 'स्कुले जीवनदेखि नै मूर्ति तथा चित्रकला गर्दै आएको हुँ, व्यावसायिक रूपमा लागेको १५ वर्ष भयो,' याखा भन्छन्, 'मोरङमा जन्मिएको म सानैदेखि माटोको आकृति सिर्जना गर्ने गर्थें, पछि मूर्तिकलामै मेरो हात बस्यो।'

ललितकला क्याम्पसबाट सात वर्ष र प्राइभेट आर्टमा चार वर्ष अध्ययन गरेका याखाले कलामा भूगोल र भोलुम खोजेको बताउँछन्। 'त्योे मूर्तिकलामा भेटाएँ,' याखा भन्छन्, 'म अहिले पनि घरेलु सामग्रीमा प्रयोग हुने डोको, नाम्लो, गुन्द्रीलगायत सामग्री बनाउन सक्छु, जुन कलासँगै सम्बन्धित छ।'

उनी कलामा नारी र प्रकृति प्रधान सिम्बोल प्रयोग गर्छन्। 'नारी सुन्दरताका प्रतीक हुन्। नारीलाई सिर्जनाका रुपमा प्रयोग गरिनु भनेको आमाको रूपमा चित्रित गर्नु हो, आमाको साथ र काख पाएको बालकमा शक्ति प्राप्त हुन्छ,' उनले नारी सिम्बोल प्रयोग गरिनुबारे प्रस्ट्याए, 'काली, दुर्गाजस्ता पौराािणक पात्र पनि  नारीकै प्रतीक हुन्।'

याखाले अहिलेसम्म एक सय ५० मूर्ति सिर्जना गरेका छन्। 'सबैभन्दा लामो समय लुभुमा रहेको गणेशमान सिंहको मूर्ति बनाउँदा लाग्यो,' उनी भन्छन्, 'त्यो मूर्ति बनाउन मलाई १८ महिना लागेको थियो। नेपाल इन्जिनियरिङ एसोसिएसनको लोगो बनाउँदा पनि धेरै समय लागेको थियो।'

अर्डरको काममा समय लाग्ने गरेको उनको अनुभव छ। आफ्नो खुसीले मूर्ति बनाउँदा उनले प्रायः महिना दिनभित्र सिध्याउँछन्।

मूर्तिबाट राम्रै आम्दानी हुने उनी बताउँछन्। 'मैले बनाएका मूर्ति एक लाखदेखि २५ लाख रुपैयाँसम्ममा बिक्री गरेको छु,' उनी भन्छन्, 'महँगोमा नेपाली मूर्तिकला बिक्री हुनु कला क्षेत्रकै लागि प्रेरणामूलक विषय हो।'

उनलाई विभिन्न देशले मूर्तिकला विशेषज्ञका रूपमा बोलाउँछन्। तर, उनी कला कहिल्यै सिकेर नसकिने सागर भएको बताउँछन्। 'रूचिको विषय भएकाले सन्तुष्ट छु, तर सिकाइ पूर्ण नहुने हुँदा असन्तुष्ट पनि छु किनकि थप सिक्न चाहन्छु,' उनी भन्छन्, 'लामो समयको अध्ययन, धैर्य र लगनशीलताले सफलता दिलाउँछ।' व्यावसायिक रूपमा पनि मूर्तिकलाको वातावरण राम्रोे बन्दै गएको उनले बताए।

'नेपालमा शालिक, स्मृति कक्षमा मूर्तिको माग बढ्दै गएको छ,' उनले भने, 'पहिलेदेखि नै प्रयोग हुँदै आएकाले हाम्रोमा मूर्तिकलाप्रति सकारात्मक नै बुुझाइ छ।' कलामा दर्शन मिसाएपछि मात्र कलात्मक हुने उनको अनुभव छ। तर, नेपालमा धेरै कलाकारले रोजीरोटीका लागि आफ्नो कला बेच्नुपरेकोमा उनी गुनासो गर्छन्।

आफै सरकारी नीति–निर्माण निकायमा रहेकाले पनि उनले छरिएर रहेका कलालाई एकीकृत गरेर कलाको विकास गरिने बताए। 'मूर्तिकलाले पर्यटनमा मद्दत पुग्छ, त्यसका लागि मूर्तिकला विभागले सक्दो गर्छ,' मूर्तिकला विभाग प्रमुख याखाले भने, 'पुर्खालाई देखाएर मात्र हाम्रो इज्जत धानिँदैन, अबको पुस्ताले नयाँ कार्यशैली र रणनीति अपनाउनुपर्छ।'

प्रकाशित: ११ मंसिर २०७३ ०५:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App