८ पुस २०८१ सोमबार
image/svg+xml
अन्य

भूकम्पपीडित साेध्छन्– 'कहिलेसम्म शीतकाे सिरानी ?'

घाम तापेर शरीर तताउँदै सिन्धुपाल्चोक, स्याउलेका भूकम्पपीडित वृद्धा। तस्बिरः ध्रुव दंगाल

सिन्धुपाल्चोक– मध्याह्न १२ बज्न खोज्दै थियो । अग्लो डाँडो छिचोल्दै बुधबारको सूर्यको किरण जस्ताको टहरोमा ठोक्किएपछि स्याउले–९, धाउखानीकी ६३ वर्षीया रत्नकुमारी नेपाली बल्ल बाहिर निस्किन्, घाममा शरीर तताउन । बुढ्यौली शरीर घिसार्दै टुसुक्क भुइँमा मात्र के बसेकी थिइन्, प्राण जाला झैं गरी खोक्न थालिन् । दमकी रोगी रहिछन् । त्यहींमाथि नाम मात्रको अस्थायी टहरोको बसाइँले रोगले थप च्याप्दै लगेको छ । त्यसैले झन्–झन् शिथिल बन्दैछिन् उनी ।

खोकी थामिएपछि दुई हातले छाती अठ्याएर रत्नकुमारीले भनिन्, ‘टहरोमा काल पर्खेर बसेकी छु ।’ मंसिरको कलिलो घामले उनको शरीर राम्ररी तात्न नपाउँदै दक्षिणतिरबाट आएको चिसो सिरेटोले हान्यो । उनले शरीरमा लगाएको ढाकाको चोली तानतुन पार्दै चिसो छेक्न खोजिन् । बेगले चलेको सिरेटो नरम कपडाले के छेक्थ्यो ! शरीरमा चिसो छिरेपछि पुनः निम्तिएको खोकी थाम्न हम्मे प¥यो उनलाई ।

सरकारी ढिलासुस्ती, निर्माण सामग्री र कामदारको अभावलगायत कारण पुनर्निर्माणले गति नलिँदा पीडित चिसो जस्ता र त्रिपालको अस्थायी संरचनामा गुडुल्किन बाध्य

‘अहिल्यै त यस्तो छ । पुस–माघको ठन्डी कसरी कटाउनु ?’ पोहोरको ठिही सम्झँदै रत्नकुमारी आतिइन् । चिसोले सताएपछि उनी गत वर्षको हिउँदमा लामो समय ओछ्यान परिन् । आगोमा शरीर सेकाउँदै निकै दिन तोरी तेलले माडेपछि उनी उठ्न सकेकी थिइन् । यसपालि पनि दुई सातादेखि बढिरहेको चिसोले टहरोमा गाँज्दै लगेको उनी बताउँछिन् । जस्ताको छानो र जस्ताकै बार रहेको टहरोबाट शीत चुहिन थालिसकेको सुनाउँछिन् उनी । ‘दिउँसो त जसोतसो घाममा शरीर तताउँछु, साँझ परेपछि चुहिने शीत र सिरेटोले ओछ्यान तात्दैन,’ उनले दुखेसो पोखिन् ।

तीन छोरा भए पनि पति बितेपछि एक्लै बस्दै आएकी छन् रत्नकुमारी । भुइँचालोले घर भत्काएपछि राहतको जस्ताले टहरो बनाएर बस्दै आएकी छन् । घरबार बिग्रेकाले माइतीमै बस्दै आएकी छोरी सरस्वतीले उनलाई जसोतसो तातोपानी तताएर खुवाउँछिन् । आवास अनुदान पाउनेको सूचीमा उनको नाम अटेको छैन । ‘नापजाँच गर्न आएका थिए तर नाम छुटाइ दिएछन्,’ उनले गुनासो गरिन् । गुनासो फारम भरेकी रत्नकुमारीको आर्थिक हैसियत नहुँदा घर बनाउने कुनै योजना छैन । सम्पत्तिको नाममा एकबिहानको मेलो भएको दुइटा पाटा रहेको बताउने उनले भनिन्, ‘यो हिउँद कटाउन मुस्किलै छ ।’

भूकम्पपछि बस्दै आएको टहरो भत्काउँदै गरेको अवस्थामा भेटिए डाँडागाउँका रामचन्द्र चुहान । ‘आफ्नै थातथलो फर्कन लागेको,’ काठपातको भारी बनाउँदै उनले भने । छँदाखाँदाको टहरो भत्काएर बसाइँ सर्नुको कारण उही रहेछ, बढ्दो चिसो । विस्थापित भएर बस्दै आएको लेकको साङ्लीभञ्ज्याङमा चौबिसै घन्टा मुटु कमाउने सिरेटो सहन नसकेपछि उनको परिवार जोखिमयुक्त डाँडागाउँ फर्किसकेको रहेछ ।
    भूकम्पले गाउँमाथि र तल दुवैतिर पहिरो लागेपछि रामचन्द्रसहित डाँडागाउँका १९ परिवार नजिकको साङ्लीभञ्ज्याङ विस्थापित भएका थिए । भलबाढी सोहोर्दै र शीत छल्दै कठिनपूर्वक डेढ वर्ष गुजारेका उनीहरू यो हिउँदको ठिही खप्न नसक्ने भन्दै पुरानै ठाउँ फर्किरहेका छन् । त्यसैले साङ्लीभञ्ज्याङको अस्थायी शिविर उखेलिँदै छ । ‘जस्ताको टहरोबाट शीत चुहिए पनि सिरेटो त चल्दैन,’ पहिरोले घेरेको बस्ती फर्कनुको कारण खुलाउँदै उनले भने ।
    भूकम्पपछिको डेढ वर्ष टहरो सर्दैमा बित्यो डाँडागाउँवासीको । गत वर्ष वैशाख १२ को भूकम्पले घर ढालेपछि उनीहरू त्यहीं टहरो बनाइ बसे । २९ गतेको अनुकम्पले दुवैतिर पहिरो निम्त्याएपछि उनीहरू साङ्लीभञ्ज्याङ पुगे । अहिले चिसो छल्न आफ्नै गाउँ फर्किए पनि त्यहाँ सुविस्ता मिल्नेमा उनीहरू विश्वस्त देखिँदैनन् । ‘शीत चुहिन्छ, चिसोले शरीर नतात्दा चार दिनदेखि निदाएका छैनौं,’ चिसो छल्न बनाएको तेस्रो टहरोको अवस्था सुनाउँदै रामचन्द्रले भने ।
    चाडपर्व मान्दा र टहरो सर्नुपर्दा घर बनाउन पहिलो किस्तामा पाएको ५० हजार रुपैयाँको आधा सकिएको उनले सुनाए । जमिनै चर्किएकाले त्यहाँ घर बनाउने÷नबनाउने दोधारमा छन् डाँडागाउँबासी । ‘पुस, माघको ठन्डी सम्झँदा कहाली लागेर आउँछ,’ शरीर सिरिंग पार्दै रामचन्द्रले भने ।
    भूकम्पबाट सर्वाधिक क्षतिग्रस्त सिन्धुपाल्चोकका पीडित यसपालि पनि स्याँठ छिर्ने र शीत चुहिने जस्ताको टहरोमा बस्न बाध्य छन् । बल्ल हिँउद सुरु हुँदा शरीर तताउन घामको सहारा लिन थालिसकेका भूकम्पपीडित पुस, माघ सम्झिएर आत्तिइसकेका छन् । भूकम्पमा बाँचेका १५ भन्दा बढी पीडितको ज्यान गत वर्षको ठिहीले लिएको थियो । यसले पीडित थप संत्रस्त छन् ।
    सरकारी ढिलासुस्ती, निर्माण सामग्री र कामदारको अभावलगायत कारण पुनर्निर्माणले गति नलिँदा पीडित चिसो जस्ता र त्रिपालको अस्थायी संरचनामा गुडुल्किन बाध्य छन् । माथिल्लो क्षेत्रका ३५ गाविस हिमाली क्षेत्रसँग जोडिएका छन् । हिउँदमा त्यहाँ हिमपात हुन्छ । तातोपानी, लिस्ती, फुल्पिङडाँडा, मार्मिङ, घोर्थली, लिशंखु, ठूलोधादिङ, गोल्चे, गुम्बा, हगाम, सेलाङ, हेलम्बु, किउल, भोताङ, गुन्सा, थाङपालकोट, इचोक, बरुवालगायत हिमाली गाविसमा चिसो ह्वात्तै बढेसँगै टहरोमुनिको बास कष्टकर बन्दै गएको छ । न्यानो मानिएको बेंसी क्षेत्र नदी किनारमा रहेकाले तुवाँलो, हुस्सु र शीतले ढाकिन्छ । भोटेकोसी, इन्द्रावती, ब्रह्मायणी, सुनकोसीलगायत नदी तटीय क्षेत्रका बस्तीमा तुवाँलो, हुस्सु र शीतले जाडो बढाउँदै लगेको छ ।
    ‘यो साल त चिसो पनि चाँडै सुरु भयो,’ पिपलडाँडा बेङ्चेपानीका ७७ वर्षीय रामबहादुर विक विगतको अनुभव सुनाउँदै भन्छन्, ‘अहिल्यै शरीर तात्न छाडिसक्यो ।’ केटाकेटीलाई चिसोले सताउँदा ज्वरो, खोकी र रुघा सुरु भएको उनले बताए । उनको सात सदस्यीय परिवार टहरोमा बस्दै आएको छ । अनुदानको पहिलो किस्ता खर्च गरिसकेका उनको नयाँ घर बनाउने कुनै योजना छैन । ‘अरु पैसा कहिले आउने टुंगो भएन । त्यतिले घर नबन्ने भएपछि तेल मसलामा खर्च गरियो,’ उनले भने ।
    भूकम्पको १८ महिना बित्दा सबैभन्दा बढी जनधनको क्षति बेहोरेको जिल्लामा पुनर्निर्माणले गति लिन सकेको छैन । अहिलेसम्म औंलामा गन्न सकिने संख्यामा मात्र नयाँ घर बनेका छन् । जिल्लाको सबैतिर थोरै संख्यामा पुनर्निर्माण सुरु भए पनि गति लिन सकेको छैन । कामदारको अभाव छ । तालिमप्राप्त सिकर्मी, डकर्मी छैनन् । निर्माण थालिएका संरचना कामदार अभावमै अलपत्र छन् । पीडित पुनर्निर्माणको लागि मानसिक रूपमा तयार छन् तर, समस्या एउटै छ कामदार अभाव ।
    गुन्सा गाउँका यज्ञ श्रेष्ठ कामदार अभावमै घर पुनर्निर्माण थाल्न नसकेको बताउँछन् । ‘अनुदानको ५० हजार बैंकमा थन्किएको छ । यता टहरोमा बस्न बाध्य भइरहेका छौं,’ उनले भने । छिमेकी–छिमेकी मिलेर पालैपालो घर बनाउने योजना रहेको उनले सुनाए । ‘रातारात घर बन्दैन । यो वर्ष पनि टहरोमै बित्ने भो,’ चिसोमा सात वर्षीया एक्ली छोरी जोगाउने चुनौती सुनाउँदै ४१ वर्षीय यज्ञले भने ।
    जिल्लामा भूकम्पपीडित लाभग्राहीको संख्या ७९ हजार छ । तीमध्ये अनुदान सम्झौता ७४ हजारले गरेर पहिलो किस्ता पाएका छन् । झन्डै ५ हजारसँग अनुदान सम्झौता हुन सकेको छैन । छुटेको भन्दै १५ हजारभन्दा बढी गुनासा संकलन भएका छन् । उनीहरूको गुनासो कहिले सम्बोधन हुने पत्तो छैन ।
    बर्खामा अवरुद्ध सडक खुलेकाले गाउँ–गाउँमा निर्माण सामग्री लैजान सहज भएको छ । जिल्लाको गोल्चेबाहेक सबै गाविस सडक सञ्जालले जेलिएको छ । निर्माण व्यवसायी बुद्धकुमार श्रेष्ठ ठूलो संख्याका पीडितले निर्माण सामग्रीको जोहो गरिसकेको अनुमान लगाउँछन् । ‘कामदारकै अभाव छ,’ व्यक्ति र व्यापारिक गरी दर्जन घरको पुनर्निर्माण हेरिरहेका उनी भन्छन्, ‘तराईका जिल्लाबाट कामदार मगाउनु परेको छ ।’ पीडित घर बनाउन जुटे पनि संरचनाको प्रकृति हेरी निर्माण सक्न दुईदेखि सात महिना लाग्ने भएकाले यो हिउँद टहरोमै बित्ने उनी बताउँछन् ।
    सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय सिन्धुपाल्चोकका निमित्त प्रमुख टंक गौतमका अनुसार बुधबारसम्म १ हजार ६ सय २३ पीडितले मात्र पुनर्निर्माण थालेका छन् । २ सय १९ ले जमिन संरचना तयार भएको भन्दै दोस्रो किस्ता अनुदान मागेका छन् । पुनर्निर्माण अभियान सुरु हुनु अगावै पीडित आफैंले ५ सय ९३ घर बनाएका थिए । ती प्राविधिक रुपले बस्नलायक छन्÷छैनन् निरीक्षण हुनै बाँकी छ । ‘पुनर्निर्माण सुरु मात्रै भएको छ, गति लिइसकेको छैन,’ इन्जिनियर गौतमले भने ।

  

प्रकाशित: १० मंसिर २०७३ ०२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App