१६ चैत्र २०८० शुक्रबार
अन्य

परेवा उडाएर संविधान दिवस मनाइयो

तस्बिर : दिपेश श्रेष्ठ

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारी शान्तिका प्रतीक परेवा उडाएर संविधान दिवस मनाएकी छन्। नेपालको संविधान जारी भएको प्रथम वार्षिकोत्सवका अवसरमा सैनिक मञ्च टुंडिखेलमा आयोजित विशेष समारोहमा राष्ट्रपति भण्डारीसँगै प्रधानमन्त्री पुष्पकमल दाहालले पनि परेवा उडाएका थिए। 

कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्की, उपप्रधानमन्त्रीद्वय विमलेन्द्र निधि र कृष्णबहादुर महरा, मन्त्रिगण, सांसदहरु विभिन्न राजनीतिक दलका नेता, सहभागी थिए। 

राष्ट्रपति विद्यादेवी भण्डारीले वर्तमान संविधानको कार्यान्वयनमार्फत लोकतन्त्रको जगेर्ना र राष्ट्रिय हित, एकता र समृद्धितर्फ मन, वचन र कर्मले लाग्न देशका सबै राजनीतिक दल र सम्पूर्ण नेपालीलाई समर्पित हुन आह्वानसमेत गरिन्। उनले नेपाली जनताको लामो सङ्घर्ष, बलिदान र प्रतीक्षापछि संविधानसभाबाट सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान प्राप्त भएको दिन असोज ३ गते संविधान दिवस तथा राष्ट्रिय दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति, प्रगति र समृद्धिका साथै देशमा राष्ट्रिय एकता, अखण्डता, सहकार्य एवम् आपसी सद्भाव कायम हुन सकोस् भनी हार्दिक शुभकामना व्यक्त गरिन्।

आजको यस दिनले राष्ट्रिय एकताको जगमा शान्त, समुन्नत, समृद्ध, न्यायपूर्ण, सन्तुलित र समावेशी सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संस्थागत र बहुआयामिक विकासका लागि अघि बढ्न थप प्रेरणा दिनुपर्ने भन्दै यसप्रति सबै नेपाली कृत्सङ्कल्पित हुनुपर्ने सन्देशमा उल्लेख छ ।

त्यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले नेपालको संविधान कार्यान्वयनलाई गति दिन सम्बद्ध सबै पक्षको ध्यानाकर्षण गराएका छन्। उपराष्ट्रपति पुनले संविधान दिवसका अवसरमा आज शुभकामना दिनुहुँदै संविधान कार्यान्वयन प्रक्रिया अगाडि बढिरहेको भए तापनि संविधानको तीव्र कार्यान्वयनतर्फ सबै नेपालीको ध्यान केन्द्रित हुनुपर्ने र कार्यान्वयनको विषय सबैको साझा एजेन्डा बन्नुपर्नेमा जोड दिए।

उपराष्ट्रपति पुनले भनेका छन्- आफ्नो संविधान आफैँ जारी गर्ने नेपाली जनताको एजेन्डा पूरा हुनेगरी संविधानसभाबाट संविधान जारी भएको एक वर्ष पूरा भएको छ। सङ्घीय लोकतान्त्रिक गणतन्त्र, धर्म निरपेक्षता, सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्थालगायत विभिन्न कालखण्डका जनआन्दोलन, सशस्त्र सङ्घर्ष, जनयुद्ध र २०६२-६३ को ऐतिहासिक जनआन्दोलनका उपलब्धि संस्थागत भएको स्वर्णीम दिन संविधान दिवस हो।

प्रकाशित: ३ आश्विन २०७३ ०४:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App