नेपाली समाज अझै पनि ‘बन्द समाज’ हो । विभिन्न राजनीतिक आन्दोलनले पनि समाजको मनोविज्ञानमा खासै परिवर्तन ल्याउन सकेको देखिँदैन । संकुचित मान्छेका सोचाइलाई समयक्रमले आफै दह्रो थप्पड मार्दै परिवर्तनको मार्गमा हिँड्न बाध्य पार्दाेरहेछ । कतिपय विकसित मुलुकमा दशकौँअघि सुरु भएको अन्तर्जातीय विवाहलाई नेपाली समाज अझै पनि स्वीकार्न गाह्रो मान्छ ।
दक्षिण एसियाका कतिपय मुलुक अझै पनि अन्तर्जातीय विवाहलाई ‘अनौठो काम’ मान्छन् । विज्ञानले अन्तर्जातीय विवाहबाट पैदा हुने शिशु तेज दिमागको हुने प्रमाणित गरिसकेको छ । त्यतिमात्र होइन, यसले नेपालजस्तो मिश्रित बसोबास भएको समाजलाई सहिष्णु बनाउन झनै बढी मद्दत गर्छ । अन्तर्जातीय विवाहले एकअर्काप्रतिको विश्वास तथा सम्मानभावमा समेत अभिवृद्धि गर्छ । अन्तर्जातीय विवाहप्रति सहज सामाजिक स्वीकृति नभए पनि नेपालका कैयाैं लेखक–साहित्यकारले यस्तो कठिन काम गर्दै आएका छन् । साहित्यका माध्यमबाट समाज परिवर्तनको शंखघोष गर्ने लेखकहरू मुलुकमा सहिष्णुता बढाउन पनि अन्तर्जातीय विवाह अत्यावश्यक रहेको देख्छन् ।
नेपालको कानुनले आधा शताब्दीभन्दा लामो समयदेखि अन्तर्जातीय विवाहलाई वैधानिकता दिइसकेको छ । कानुनले मान्यता दिए पनि समाज भने यसलाई सहजै पचाउन अझै सकिरहेको छैन । समाजले नपचाए पनि माया–प्रेममा जातभातको कुरा हँुदैन भन्ने बुझेका व्यक्ति अन्तर्जातीय विवाहमा रमाइरहेका छन् । कतिपयले मागेरै पनि अन्तर्जातीय विवाह गरेका छन् । यसबाट नेपाली समाज कट्टरताबाट मुक्त हुँदै परिवर्तनको चरणमा प्रवेश गरेको बुझ्न सकिन्छ । ग्रामीण क्षेत्रका कुनाकाप्चाका बस्तीमा जातीय भेदभावका कुरा अझै पनि हट्न सकेको छैन । तर, विस्तारै गाउँघरले पनि अन्तर्जातीय विवाहलाई स्वीकृति दिने अवस्था बन्दै गएको छ ।
समाजमा नाम कमाएका, अलग पहिचान बनाएका तथा अग्रपंक्तिमा रहेका कतिपय व्यक्ति अन्तर्जातीय विवाहबारे फैलिएका भ्रम चिर्ने काममा अग्रसर छन् । कतिपयले त लेखेर वा बोलेरमात्र परिर्वतन नहुने नदेखेपछि मैदानमा उत्रेरै यसबारे चेतना जगाउन थालेका छन् । त्यस्तो जमात सक्रिय हुन थालेको पनि वर्षौं भइसकेको छ । ती लेखक जसले दशकौँअघि अन्तर्जातीय विवाह गरेका थिए, तीमध्येका एक हुन् परशु प्रधान । उनलाई अहिले ती दिन सम्झिँदा पत्यारै पनि लाग्दैन ।
मुलुकी ऐन २०२० जारी हुनुअगावै उनले जानुकादेवी रेग्मीसँग प्रेमविवाहा गरिसकेका थिए । ‘ऐन जारी भएपछि अन्तर्जातीय विवाहमा कानुनीरूपमै केही खुकुलो भए पनि त्यसअगाडि त धेरै नै अवरोध थियो,’ आधा शताब्दीअघिको समय सम्झँदै प्रधान भन्छन्, ‘त्यसबखत अन्तर्जातीय विवाह गर्नु भनेको काल निम्त्याउनुजस्तै थियो ।’
जानुकादेवी खोटाङबाट भोजपुरको विद्यालयमा पढ्न गएकी थिइन् । त्यहीबेला जानुका र परशुको भेट भयो । दुवैजना साहित्यमा रूचि राख्थे । विचार मिलेसँगै भेटघाटको क्रम पनि बाक्लिँदै गयो । साहित्यिक भेटघाटले नै उनीहरूबीचको माया गाढा हुन थालिसकेको थियो । ‘मन मिलिसकेपछि जात मिल्नु–नमिल्नुको सरोकार नै भएन,’ परशु भन्छन्, ‘सामाजिक परिर्वतन गर्नुपर्ने सोच दुवैमा भएकाले नै जातको वास्ता भएन ।’ दुवैको मन मिल्यो, विवाह भयो तर समाजभन्दा पर रहेर । त्यसबेलाको कट्टरताको पक्षपाति समाजले त उनीहरूको विवाहलाई स्वीकार्ने गर्ने अवस्था नै थिएन । भोजपुरबाट उनीहरू भागेर बनारस पुगे । त्यहीँ विवाह गरे र गाउँ फर्किन सक्ने अवस्था नभएपछि धर्मशालामा मागेर एक वर्षसम्म जीवन गुजारा गरेको परशु अझै पनि झल्झली सम्झन्छन् ।
‘२०१९ सालमा भागेर गयौँ, २०२० सालमा मुलुकी ऐन बनेपछि गाउँ फर्कियौँ,’ परशु भन्छन् । ऐन बनेर कानुनले खुकुलो त पा¥यो, तर समाजको चेतना भने उही पुरानै थियो । उनको परिवारमा छोराले बाहुनी विवाह गरेकोमा कोही पनि खुसी भएन । पीडा लुकाएरै भए पनि ‘भइसकेको गल्ती’लाई परिवारले जसोतसो स्वीकृति दिँदै गयो, तर उनीसँग सिंगो गाउँ भने परै बस्यो । जानुकादेवीका माइतीखलकले तीव्र विरोध गरे । जताबाट जसरी र जुन रूपमा विरोध भए पनि उनीहरू विचलित भएनन् । ‘हामीलाई थाहा थियो परिवर्तनको संघारमा रहँदा कसैले पनि पचाउँदैन,’ उनले भने, ‘हामी विरोधबाट विचलित नभई आफ्नो काममा अघि बढिरह्यौँ । हामीले नराम्रो काम गरेका थिएनौँ, तसर्थ विरोध गर्नेहरू नै विस्तारै थाक्दै गए ।’ त्यसो त गाउँमै परशु अलि पढेका र बुझेका व्यक्तिका रूपमा चिनिन्थे । उनको व्यक्तित्व र ज्ञानका कारण पनि समाजबाट धेरै प्रताडना भोग्नुपरेन ।
विवाहको ५ वर्षपछि उनीहरू काठमाडौँ आए । उनले साझा यातायातमा जागिर पाए । २०२७ सालमा लोकसेवा पास गरे र २०३६ सालमा त उनी प्रमुख जिल्ला अधिकारी (सीडीओ) नै भए । त्यसबखतसम्म त ससुराली पक्षबाट विरोध हुनै छाडिसकेको थियो । संयोग उनी त्यही समयको सेरोफेरोमा सीडीओ भएर खोटाङ जाने अवसर जु¥यो । यहीबेला उनी पहिलो पटक ससुराली पुगे । ‘श्रीमतीसहित विवाहको करिब १८ वर्षपछि घोडा चढेर ससुराली पुगियो,’ परशु सम्झन्छन् ‘त्यसबेला त ससुरालीको विरोधको आवाज पूरै हराइसकेको थियो । जिल्लाकै सीडीओ भएर गएको ज्वाइँ पाएपछि विरोध गर्ने आँट कसरी गरुन् !’ अन्तर्जातीय विवाह गर्नु नराम्रो होइन भन्ने सन्देश फैलाएका उनलाई ससुराली पुगेपछि यो सन्दर्भकै पटाक्षेप भएजस्तो लाग्यो । पछि सासुसमेत पाल्ने मौका उनलाई जु¥यो भने ससुरालीलाई सघाउने अवसर पनि धेरै पटक पाए । सहज अवतरण हुन सकेकै कारण उनले अन्तर्जातीय विवाहलाई लिएर गाउँ, समाज तथा परिवारबाट उतिविधि दुःख भोग्नुपरेन ।
काठमाडौँकी खाँटी नेवार समुदायकी लेखिका सुलोचना मानन्धरले पनि अन्तर्जातीय विवाह गरेकी हुन् । उनको डा. सरोज धितालसँग २०३८ सालमा विवाह भएको थियो । सुलोचना परिर्वतनकामी राजनीतिक विचार बोकेर हिँड्दै गर्दा दुईबीच भेट हुन पुग्यो । सुलोचना पढाउँदापढाउँदै परिवर्तनको धारणासहित मजदुरी गर्न पुगिन् । २०३६ सालमा विद्यार्थी आन्दोलन चकिएरहेको थियो । विद्यार्थीसँगै सडकमा मजदुर पनि उत्रिएका थिए । सुलोचना मजदुर भएर सडकमा आइपुगेकी थिइन् । यही क्रममा एक जना मजदुर नेताकी श्रीमती विरामी परेर भक्तपुरको एउटा अस्पतलमा उपचार गराउन पुग्दा डा. धितालसँग देखभेट भयो । डा. धितालले विरामीसँग गर्ने व्यवहार र उनको विचारबाट समेत प्रभावित हुन पुगिन् । ‘पहिलो भेटमै म उहाँप्रति प्रभावित भइसकेकी थिएँ,’ सुलोचना भन्छिन्, ‘कुरा हुँदै जाँदा विचारसमेत मिल्दो रहेछ । पछि उहाँबाट दर्शनको कक्षा लिने मौका मिल्यो । त्यहीबेला अझ नजिकबाट चिन्ने अवसर पाएँ । त्यहीबेला हाम्रो सम्बन्धले प्रेममा रूपान्तरण हुने मौका पाएको थियो ।’
उनीहरूबीच भेटघाट बढ्दै गएपछि पार्टीमा पनि सम्बन्धबारे कुरा चल्न थाल्यो । र, २०३८ सालमा पार्टीकै रोहबरमा सामान्य ढंगमा विवाह भयो । ‘पार्टीमा विवाह भए पनि दुवैतिरको घरपरिवारमा थाहा थिएन,’ उनी भन्छिन्, ‘थाहा दिएको भए विवाह हुन गाह्रो पर्न पनि सक्थ्यो !’ विवाहपछि उनीहरूले घरपरिवारबाट टाढा बस्ने उद्देश्यले छुट्टै कोठा लिए । सुलोचनाको माइती मध्य काठमाडौँको झोछेँमा थियो भने डा. धितालको घर लाजिम्पाट । कहिलेकाहीँ उनीहरू आआफ्ना परिवारसँग भेटघाटका निम्ति जान्थे, तर दुवैजना एकै पटक गएनन् । विवाहको ३ वर्ष बितिसकेपछि एक दिन डा. धिताललाई उनका बाबुले बुहारी लिएर घर आउन भनेपछि सुलोचना पहिलो पटक श्रीमानको घर गएकी थिइन् ।
केही समयपछि उनीहरूलाई ६ वर्षका लागि अमेरिका जाने मौका मिल्यो । त्यहाँबाट फर्केपछि भने घरपरिवारसँग बस्न सहज हुन थाल्यो । ‘अमेरिकामा ६ वर्ष बिताएर फर्कने बेलासम्म ससुराबुवा त परिवर्तन भइसक्नु भएको थियो,’ सुलोचना भन्छिन्, ‘अन्तर्जातीय विवाह गरेका बुहारीले मृत्युपछि छोएमा स्वर्ग गइँदैन भन्ने भ्रमलाई बुवाले चिरेर मृत्युपछिको काजक्रिया तथा श्राद्धको पिण्डसमेत मलाई नै बनाउनु भन्ने आदेश दिनुभयो ।’ यसअघिसम्म अन्तर्जातीय विवाह गरेर नराम्रो गरेँ कि भन्नेर शंका मनमा पाल्दै आएकी सुलोचनाले ससुराबाटै त्यस्तो अधिकार पाएपछि भने आफूलाई भाग्यमानी ठान्न थालिन् । ‘घर परिवारबाट टाढा बस्नु पर्दा पछुतो लागेको थियो,’ उनले भनिन्, ‘पछि त अन्तर्जातीय विवाह गरेकी बुहारीलाई ससुराबुवाबाटै त्यति धेरै अधिकार दिएपछि आफूलाई भाग्यमानी नै सम्झेँ ।’
अहिले सुलोचना ससुराबुवाको श्राद्ध सकेसम्म टुटाउँदिनन् । श्राद्धमा पिण्ड उनी नै तयार पार्छिन् । सुरुका दिनमा कसैलाई पनि अन्तर्जातीय विवाह गर्न नसुझाउने सुलोचना अहिले त यस्ता काममा सकेसम्म प्रोत्साहन दिने गरेको बताउँछिन् । विवाहको सुरुताका ‘मानन्धर’ मात्रै लेख्ने सुलोचना अहिले भने ‘मानन्धर धिताल’ लेख्छिन् । नामका पछिल्तिर दुवैजनाको थर लेख्दा अन्तर्जातीय विवाहलाई प्रोत्साहन मिल्ने उनको बुझाइ छ ।
अन्तर्जातीय विवाह गरेका झापाका कवि तथा निबन्धकार भीष्म उप्रेतीले ललितपुरकी इन्दु तुलाधरलाई साहित्ययात्राकै क्रममा भेटेका थिए । भीष्म साहित्यकार मञ्जुलको घरमा गइरहन्थे । इन्दु पनि त्यहाँ नियमित पुग्थिन् । २०४४ सालतिर भेटघाटको अवसर पाएका यी दुवैजनालाई कविताको लत लागेको थियो । कविता लेख्ने जोसुकैलाई प्रोत्साहन गर्थे कवि मञ्जुल । भीष्म र इन्दुको भेटघाट क्रमशः बाक्लिँदै गयो । ‘भेटघाटकै हुँदै गर्दा नै हामी एकअर्काबीच मायापिरती भइसकेको रहेछ,’ भीष्म भन्छन्, ‘दुईमध्ये कसैले प्रस्ताव त गरेनौँ, तर मन मिलेपछि–माया बसेपछि विवाह गर्नपर्छ भन्ने सोच्यौँ ।’
२०४२ सालमा काठमाडौँ प्रवेश गरेका भीष्मले अध्ययन, साहित्य लेखनसँगै सुरु भएको अन्तर्जातीय प्रेमलाई विवाहमा बदल्न घरपरिवारसँग सल्लाह गरे । सुरुमा अस्वीकार गरेको परिवारलाई राम्ररी सम्झाएपछि सकारात्मक अवस्था तयार भयो । ‘झापाको समाज तुलनात्मकरूपमा त्यसबेला नै धेरै खुल्ला भइसकेको थियो,’ उनी भन्छन्, ‘मैले अन्तर्जातीय विवाह गर्न लागेको कुरा सुरुमा अस्वीकृत भए पनि कन्भिन्स गरेपछि सबै तयार भए ।’ यता भीष्मको घरपरिवार तयार भए पनि इन्दुको परिवार भने यसमा सहमत भएन । त्यसबेलासम्म भीष्मले कुनै काम थालेका थिएनन्, अर्थात् उनी बेरोजगार नै थिए । त्यसकारण पनि इन्दुको परिवारले उनलाई स्वीकार गर्न मानेन । भीष्म–इन्दु दुवैले प्रेमलाई विवाहमा परिणत गर्नका निम्ति सम्झाउन प्रयास गरेपछि परिवार मान्न तयार भयो । विस्तारै वातावरण सकारात्मक बन्दै गयो । भीष्मले इन्दुकै घरमा उनलाई माग्न गए । सामाजिक हिसाबले मागेर विवाह सम्भव नहुने देखेपछि भीष्म इन्दुलाई लिएर झापा गए । ‘झापा घर गएर परम्परागत प्रक्रिया पूरा गरेरै विवाह गरेँ,’ भीष्म भन्छन्, ‘विवाह अन्तर्जातीय भएकै कारण पछि कतै–कसैबाट त्यस्तो अपहेलना भोग्नुपरेन ।’
गीतकार तथा आख्यानकार राजेन्द्र थापाले पनि अन्तर्जातीय विवाह गरेका हुन् । तर, उनी यसलाई अन्तर्जातीय मात्र भनेर नपुग्ने हुनाले ‘अन्तरसमुदाय विवाह’ भन्न रूचाउँछन् । २०३५ सालमा ज्योति राजभण्डारीसँग विवाह गरेका थापाको नेवार समुदायमा राजभण्डारीलाई क्षेत्री मानिने हुँदा खस समुदायको क्षत्रीसँग विवाह गर्दा अन्तरसमुदाय हुने बुझाइ छ । राजेन्द्र र ज्योति काठमाडौँकै रैथाने भएका कारण उनीहरूबीचको चिनजान पुरानै थियो । राजेन्द्रले ज्योतिलाई कुनै समय ट्युसनसमेत पढाएका थिए । ज्योतिका बाबु पनि सेनामै थिए । यी दुई जोडीबीच चिनजान वा सम्बन्ध बच्चैदेखिको भए पनि प्रेम भने धेरै पछिमात्र हुन पुग्यो । नेपाली सेनामा कार्यरत रहँदा राजेन्द्र लप्टन भएर ज्योतिकै बुवाको कमान्डिङमा काम गर्न पुगेका थिए । त्यसबेला पनि ज्योतिसँग भेट हुन्थ्यो, तर प्रेम भने भएको थिएन । ‘धेरै पछि हामीबीच प्रेम झाँगियो । विडम्बना प्रेम झाँगिएको केही दिनमै शान्तिसेनामा जानुपर्ने भयो,’ राजेन्द्रले ती दिन स्मरण गरे, ‘म शान्तिसेनाबाट आउँदा उनी भारतको दिल्ली पढ्न गइसकेकी थिइन् ।’ दुई जनाबीच पत्र आदानप्रदान हुन थाल्यो । ज्योतिलाई प्रभाव पार्न उले चिठी लेख्ने क्रममा एउटा गीत नै रचना गरेका थिए ः
पर लैजाऊ फूलहरू
छोपीदेऊ तारा जुन
बन्द गर गीतहरू
तिम्रो याद आउने सबै चिजहरू
संगीत र स्वरमा सजिएपछि यो गीत निकै चर्चित पनि भयो । केही समयपछि उनीहरूको विवाह गर्ने कुरा चल्यो । राजेन्द्रको परिवार नेवार समुदायमै बसोबास गर्ने हुनाले यसलाई नौलो कामचाहिँ मानेन । तर, ज्योतिको परिवारले भने यसलाई असहज देख्यो । परिवारले राजेन्द्रलाई अस्वीकार गर्ने छाँट देखेपछि ज्योतिले राजेन्द्रबाहेक अरु कसैसँग विवाह नगर्ने निर्णय घरपरिवारलाई सुनाइदिइन् । परिवारमा कोकोहोलो मच्चिाहाल्यो ।
विस्तारै उनका परिवार कन्भिन्स हुँदै गए । र, राजेन्द्र–ज्योतिको विवाह भयो २०३५ सालमा । उनीहरूले विधिवतरूपमै विवाह गरे । ‘बग्गीमै गएर विवाह ग¥यौं,’ राजेन्द्रले सुनाए, ‘म र ससुरा नेपाली सेनाकै उच्च पदमा रहेकाले हामीले बोलाएका पाहुनासमेत दुवैतिरका एउटै थिए ।’ समाजको सोचाइ पृथक भए पनि यी दुईले आजसम्म पनि अन्तर्जातीय विवाहकै कारण हेपाइको व्यवहार भोग्न परेन ।
सांस्कृतिक घुलमिल
अन्तर्जातीय विवाह गर्नु र यसलाई प्रोत्साहन गरिनु आवश्यक रहेको भनाइ छ । समाजमा सकरात्मक प्रभाव पार्न र विविध संस्कृतिबीच घुलमिल गराउन कट्टर समयमा साहस गरेका उनी भन्छन्, ‘मायामा केही कुराको पनि अवरोध हुँदैन, भगवान्ले नै जुराएर पठाएपछि समाजले विस्तारै स्वीकार गर्दोरहेछ ।’ भीष्मको अनुभव पनि परशुको जस्तै छ । दुई समुदायको सांस्कृतिक घुलमिलकाल लागि अन्तर्जातीय विवाहले सहयोग पु¥याउने उनको बुझाइ छ । ‘कहिलेकाहीँ कुनै पनि समारोह उनको प्रचलनअनुसार गर्ने कि मेरोबाट भन्ने दोधारचाहिँ हुन्छ,’ भीष्म भन्छन्, ‘हामी त दुई जनाकै प्रचलनमध्ये जुन सजिलो लाग्छ त्यही गर्छौं । अझ कतिपय अवस्थामा त दुवैतिरको अलिअलि सजिलो प्रचलन तथा रीतिरिवाजलाई अनुशरण गरेर अर्को नयाँ तथा सजिलो प्रचलन पो विकास हुन्छ ।’ उनका अनुसार दुईवटा समुदायबीच रहेको रिक्ततालाई घटाउन पनि अन्तर्जातीय विवाहले सहयोग गर्छ । सुलोचनालाई अब दुईखालका जातिबीचको वैवाहिक सम्बन्धलाई ‘अन्तर्जातीय विवाह’ नभनी विवाहमात्रै भने हुन्छ भन्ने लागेको छ । प्रेममा प्रगाढता जातअनुरूप नभएर साथीको विचार, बोली तथा स्वभावमा हुने धारणा राख्ने उनी भन्छिन्, ‘आज मैले मेरा ससुरालाई पिण्ड चढाउने काम गर्छु । त्यो अधिकार मलाई मृत्युअगाडि नै ससुराबुवाले दिएर जानु भएको थियो ।’
बढ्नुपर्छ अन्तर्जातीय विवाह
संख्यात्मक हिसाबमा नेपालमा यस्तो विवाह न्यून छ । यद्यपि, अहिले यसप्रतिको आकर्षण भने बढ्दो छ । समाज पनि क्रमशः खुल्ला बन्दैछ । विवाहपछिको कठिनाइका कारण पहिले नै डराउनाले पनि कपितय अन्तर्जातीय प्रेमले विवाहको रूप लिन सकेको छैन । प्रेम सम्बन्धपछि पनि जात नमिलेकाले विवाह नभएका उदाहरण प्रशस्त छन् । तर, अन्तर्जातीय विवाह गरेर जीवन सुखपूर्ण बिताइरहेका जोडी भने यसले जीवनशैलीमा कुनै फरक नपार्ने बताउँछन् । बरु समाजमा उदाहरणीय जोडी बन्ने अवसर पाइने तिनको अनुभव छ । ‘सुरुसुरुमा हाम्रो समाजले नबुझेका कारण केही गाह्रो महसुस गरेका थियौँ,’ सुलोचना भन्छिन्, ‘अहिले त हाम्रो समाज धेरै उदार भइसकेको छ । अन्तर्जातीय विवाहमा अब कुनै समस्या छ जस्तो मलाई लाग्दैन ।’
परशु पनि यस्तो विवाहमा अहिले कुनै समस्या नभएको बताउँछन् । ‘मेरो जेठो छोरा (प्रतीक प्रधान–पत्रकार) तथा आफन्त धेरैले अन्तर्जातीय विवाह गरेका छन्,’ उनले भने, ‘उनीहरूले कुनै समस्या झेल्नुपरेका छैन । त्यसबेला हामीले समस्या झेल्न पर्दा त पछि हटेनौँ भने अहिलेका पुस्ताले अन्तर्जातीय विवाहसँग डराउनु आवश्यक नरहेको उनको भनाइ छ ।
पछिल्लो समय नेपाली समाजको शैक्षिकस्तर उक्लँदो छ । यसकारण पनि अन्तर्जातीय विवाहको क्रम पनि बढेको छ । तर, भीष्म भने शैक्षिकस्तर भन्दा पनि चेतना बढेमा मात्रै सामाजिक परिवर्तनमा सहयोग पुग्ने बताउँछन् । ‘कतिपय अगाडि डाक्टर लेखाएकाबाटै दुव्र्यवहार हुने गरेको छ,’ उनी भन्छन्, ‘तर गाउँमा नपढेकाहरूसँग पनि राम्रो व्यवहार गरेको उदाहरण देखेको छु ।’
राजेन्द्र पनि अन्तर्जातीय विवाह अहिले भइरहेको भन्दा अझ बढी हुनुपर्ने बताँउछन् । संस्कृति, धर्म, भेषभुषामा फरक पर्ने धारणाले गर्दा पनि अन्तर्जातीय विवाह बढ्न नसकेको उनको बुझाइ छ । लेखकमात्र होइन, समाजमा प्रतिष्ठा कमाएका थुप्रै व्यक्तिले अन्तर्जातीय विवाह गरेका छन् । समाजले सम्मान गर्ने व्यक्ति तथा तिनका परिवारबाटै अन्तर्जातीय विवाहलाई जोड दिन सक्दा अन्य वर्गलाई सजिलो हुने देखिन्छ ।
प्रकाशित: १ आश्विन २०७३ ०२:१० शनिबार





