७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
अन्य

रंगमञ्च एक भर्याङ

टंक चौलागाईं

‘सरले पत्रिकामा लेख्नु भएको आर्टिकल पढेको थिएँ ।’ अनुप बराल सरलाई थिएटर भिलेजमा अकस्मात् भेट्दा अकस्मात नै निस्किएको प्रसंग हो । ओहो ! भेट अकस्मात् हैन क्यारे ! उहाँकै नाटक हेर्न गएपछि भेटिने सम्भावनालाई कसरी अकस्मात् भन्नु ?

‘ए हो ऽऽ ।’ उनको प्रतिक्रिया भावविहीन थियो त भन्न मिल्दैन, तर सामान्यचाहिँ थियो, मुख्य कम्पन हैन परकम्पनजस्तो भनाँै कि ! जस्तो कि, लेखबाट खासै सन्तुष्टि नभएजस्तो, कसैको अनुरोधमा लेख लेखिएजस्तो, यो त नियमित काम हो लेखिरहन्छु भनेजस्तो वा लेखबारे थप कुरा निकालिइदिए हुन्थ्योजस्तो ! यस्तै केही भाव पाएको थिएँ । यी सबै भाव असत्य हुन पनि सक्छन् ।

‘फिल्मसम्बन्धी भन्दा नाटकसम्बन्धी आर्टिकल लेख्नु न ।’ त्यसपछिको मेरो दोस्रो वाक्य निस्क्यो ।
‘नाटकसम्बन्धी अब लेख्नुपर्छ, पत्रिकाले भनेर लेखेको हुँ । पत्रिकाले जस्तो खोज्छन् त्यस्तै लेख्नुप¥यो नै ।’ तान्दै गरेको चुरोटको एक सर्काे धुवाँ आकाशतिर फालेर मुसुक्क हाँस्दा उनका गालामा चाउरी देखेँ । उनले यसो भनिँरहँदा नाटक ‘थर्टी डेज इन सेप्टेम्बर’का कलाकारलाई तयारी हुन बेलाबेलामा आदेशसमेत दिइरहेका थिए । ‘नाटकका बारेमा कसैले केही लेख्दैनन् ।’ म यही परिवेशमा रहेर केही कुरा जान्न चाहन्थेँ धिमा गतिमा ।


नवआगन्तुक कलाकारहरू फिल्म प्रवेशका लागि केही समय रंगमञ्चमा अडिन्छन् । कुन निर्देशकसँग कक्षा लियो भने फिल्ममा बिक्न सकिन्छ, त्यो उनीहरूले टुंगो लगाउन जानेका छन् । चलेका फिल्मकर्मीहरू आफूले आफैलाई रंगकर्मीको ट्याग लगाउँछन् । साहित्यकारहरू झुक्किएर लेखेको आफ्नो नाटक मञ्चन होस् भन्ने चाहन्छन् ।

‘आज समय मिलायौ ? कसरी थाहा पायौ आज सो छ भनेर ! ...ल, नाटक हेर है ।’ कुराको पाँग्रो अर्काे घुम्तितिर मोडेर उनी हतारहतार हलभित्र पसेपछि मैले सुरु गर्न खोजेको कुरामा एक्कासि ब्रेक लाग्यो ।
भारतीय लेखक महेश दत्तानीले लेखेको नाटक थर्टी डेज इन सेप्टेम्बरको थिएटर भिलेजमा लामो समय सफलतापूर्वक मञ्चन भइसकेपछि एकदिन अकस्मात् प्रायोजकका लागि एक सो राखिएको रहेछ ! म त्यही दिन नाटक हेर्न थिएटर भिलेज पुगेको थिएँ । ओह ! स्टार दुनियाँ, कोर्ट मार्सलले पनि चर्चा र आम्दानी प्रशस्तै गरेका नाटक हुन् । विदेशी लेखकका नाटक निर्देशन गर्ने निर्देशकमा बरालको नाम पहिलो पंक्तिमा पर्छ भन्दा गल्ती भयो भने सस्तो छ माग्नलाई यही, माफि, मागेँ ।

विदेशी लेखकका नाटक निर्देशन गर्ने बरालमात्र भनेचाहीँ हैनन् । पछिल्लो पटक सुनील पोखरलले ‘रसोमन’ निर्देशन गरेका थिए । गुरुकुलमा उनी निर्देशित थुप्रै विदेशी लेखकका नाटक हेर्ने मौका दर्शकले पाएका थिए । मन्डला थिएटरमा भारतीय लेखकको नाटक ‘चरनदास चो’र मञ्चन भयो । प्रवीण खतिवडाको निर्देशनमा ‘हेड्डा ग्याब्लर’ नाटक शिल्पी थिएटरमा मञ्चन भयो । कसैले विदेशी नाटक अनुवाद गरिदियो र निर्देशन गर्ने मौका मिल्यो भने नाटक निर्देशकहरूको  मुहारमा ‘स्पटलाइट’ परेझैँ चमक आउँछ । चमक आउँदा खुसीको भन्दा बाध्यात्मक रस बढी निस्कन्छ । अझै पनि केही साथी अनुवादक राखेर विदेशी नाटकमा काम गरिरहेका छन् । सेलिब्रेटी लेखकलाई हावा भरेर रंगमञ्चीय दुनियाँको सयर गराउने चलन झन् झाँगिदो छ । आखिर कसले लेखिदिन्छ निर्देशकले खोजेजस्तै नाटक ?
धेरै समय भयो सहर कवितामाथिको बहसले रन्किएको छ । सञ्चार माध्यममा कवितासम्बन्धी लेखहरूले निरन्तरता पाइरहेका छन् । उपन्यासको त बाढी नै आइरहेको छ । बाढीमा भुरा माछा पनि बग्छन्, ठूला माछा पनि बग्छन् । बाढी हो, त्यसले टुंगो वा गन्तव्यमा पु¥याउला–नपु¥याउला के जान्नु ! त्यसैगरी निबन्ध, कथा सबैले सञ्चार माध्यममा बलियो उपस्थिति देखाएका छन् । साहित्यका सबै विधाको समीक्षात्मक लेख–टिप्पणीहरू आइरहन्छन् । यसरी आउने समीक्षाले पाठक, लेखक बढ्नुका साथै स्तरोन्नतिमा पनि सघाउन पु¥याइहेको छ, यही मान्नुपर्छ ।

साहित्यको महŒवपूर्ण विधा नाटकको समीक्षा किन आउँदैनन पत्रपत्रिकामा ? नाटकसम्बन्धी लेखहरू किन लेखिँदैनन् ? नाटकबाट साहित्यिक लेप हराउँदै गएको हो ? या नाटक सस्तो हुँदै गएको हो ?
काठमान्डुमा गुरुकुलपछि व्यावसायिक रंगकर्मका लागि खुलेका पाँचवटा नाटक घर थिए, अहिले थिएटर भिलेज बन्द भएपछि चारवटा छन् । अशेष मल्लको सर्वनाम थिएटर, दयाहाङ राई अध्यक्ष भएको मन्डला थिएटर, घिमिरे युवराजको शिल्पी थिएटर अनि केदार श्रेष्ठको थिएटर मल । यी चारवटै थिएटरमा कहिलेकाहीँ एकैपटक चारवटा नाटक मञ्चन भइरहेका हुन्छन् र राम्रो व्यावसायिक सफलता आर्जन गर्छन् पनि । कहिले दुईवटा थिएटरमा नियमितजसो, कहिले तीनैवटामा नियमितजसो लामो अवधिसम्म नाटक मन्चन भइरहन्छन् । ती चारवटा थिएटरमा मञ्चन भइरहेका नाटकले केही मात्रामा भए पनि फाइदा नै कमाएका छन्, अर्थात् कुनै पनि नाटक घाटा भएर घरखेत बेच्नुपरेको समाचार अहिले पढ्नुपरेको छैन ।
रंगकर्मीहरू नाटक अध्ययनका लागि छुट्टै कलेज स्थापनामा लागिरहेका छन् । भयो भने, यस्तो सुरुवात कुनै रेक्टरले नहल्लाउने जग हो नेपाली रंगमञ्चका लागि । तर, अहिले जग छैन, छानामात्रै छ । स्वाध्यायन, स्वज्ञान नै सर्वाेपरि बुझियो भने जगबिनाको घरको के भर !   

यसको मतलब व्यावसायिकरूपमा रंगमञ्च सफल छ । रंगकर्मीहरू अरु कुनै पेसामा प्रतिस्थापन भए पनि वा सँगसँगै थप काम गरे पनि वा रंगकर्म नै गरिरहे पनि या कर्म सर्वथा प्रतिष्ठित छ । यो प्रतिष्ठाको झोलीभित्र कसैले साहित्य अटाएका छन्, कसैले फिल्मलाई त कसैले गीत–संगीतलाई । कसैले जागिरलाई त कसैले व्यवसायलाई अटाएका छन्, कोही भने झोलीभरि रंगमञ्चका फुले–नफुलेका फूल बोकेर निरन्तर यात्रामा छन् ।

साहित्यको रूपमा नाटकको कतै पनि समीक्षात्मक उपस्थिति भएको पाइँदैन । अरु सबै साहित्यिक विधाको समीक्षा हुनु, तर्क–कुतर्क आउनु तर नाटकको नआउनु रंगमञ्चको लागि राम्रो संकेत हैन । समीक्षात्मक बहसले नाटकका दर्शक, पाठक, लेखक, कलाकारको स्तरोन्नतिमा मद्दत गर्छ । अहिले नाटकलाई संख्यात्मक भन्दा स्तारोन्नतिको आवश्यकता छ ।   

दर्शकको हौसलाले हो वा के कुराले, नाटकमा फिल्मी लेप लाग्दै गएको छ । नाटकमा हाँस्य रस थपिँदै जानुको जस दर्शकलाई दिन्छन् निर्देशकहरू, जुन नाट्य विकासका लागि उज्यालो बाटो हैन । रंगमञ्चको भ¥याङ चढ्दै सिनेमाको छानामा पुग्ने आशामा नाच्दै गरेका कलाकारको आँखामा सम्पूर्ण रंगमञ्च देख्ने समीक्षकहरू पनि सल्बलाइरहेका छन् ।

चेपुवामा कविता, कथा संकटमा, उपन्यासमा बाढी, निबन्धमा संकट यस्ता विषयमा बहस अधिक भइरहेका छन् । साहित्यको महŒवपूर्ण पाटोको रूपमा रहेको नाटक दशकौँदेखि भ¥याङमात्र बन्दै आइरहेको उदाहरण हाम्रैअगाडि छ । यसको चिन्तन गर्ने कोही छैन ! के नाटक चिन्तनको विषय हैन ?

साहित्यका अरु विधाजस्तै नाटकको, नाटक मञ्चनको समीक्षा हुनु पर्छ कि पर्दैन ? समीक्षा किन भइरहेको छैन ? (माधवी नाटकको राम लोहनी, कृष्णमुरारी भण्डारी, अभय श्रेष्ठले गरेको समीक्षाले धेरै दर्शकलाई रंगमञ्चसम्म ल्याएको थियो ।) यो चिन्तनमा शिल्पी थिएटरका निर्देशक घिमिरे युवराजको विचार यस्तो छ, ‘साहित्यका अरु विधाजस्तै नाटकको पनि समीक्षा हुनुपर्छ । यसले रंगमञ्चलाई दिशानिर्देश गर्न मद्दत गर्छ । अखबारहरूले समाचारबाहेक समीक्षालाई पनि स्थान दिनुपर्छ । रंगमञ्च बुझेकालाई रिपोटिङमा पठाउनुपर्छ । रंगकर्मीहरू पनि समीक्षा र कमजोरी सुन्न उदार हुनुपर्छ । हामीकहाँ बलियोसँग समीक्षा लेख्नेहरूलाई गाह्रो छ । नेपाली रंगकर्मीहरू राम्रोमात्रै सुन्न चाहन्छन् ।’

प्रोफेसरहरू नाटककार भनेर चिनिन लालायित छन् । नाटकको खुट्किलो चढेर धेरैले चर्चित कलाकारको उपाधि पाएको उदाहरण हाम्रैअगाडि छ । चलेका केही फिल्म निर्देशक रंगमञ्चकै उपज हुन् । नेपालमा नाटक उत्पत्तिकालदेखि नै भ¥याङ बनेको तर्फ किन कसैको चासो नभएको होला ? नेपाली रंगमञ्चले नेपाली सिनेमाको भन्दा लामो इतिहास बोकेको छ ।

संस्कृतिविद् सत्यमोहन जोशीले कहिले नाटक लेखिदिन्छन्, कुनचाहिँ साहित्यकारलाई नाटक लेखनका लागि घच्घच्याउने, कसले विदेशी नाटक अनुवाद गरिदेला, नाटक निर्देशकहरू पालो पर्खिनुलाई गर्व ठान्नुको सट्टा, चर्चाको विषय बनाउनुको सट्टा नयाँ रंगमञ्चमा समर्पितलाई नाटक लेखन शिल्प बाँड्नु पो गतिलो कर्म ठहरिन्थ्यो होला ! दर्शक तान्नका लागि पनि त्यसो गर्दा हुन् सायद ! दर्शकको रूचिका पछाडि कहिलेसम्म दौडिरहने होला नेपाली रंगमञ्च ! नेपाली रंगमञ्चले यो अवस्थाबाट कहिले फड्को मार्ने ?

चढ्नेहरू होऊन् वा झर्नेहरू त्यसको प्रत्यक्ष लाभ तिनलाई मात्रै छ, जो भ¥याङ चढ्न र झर्नमा कुशल खेलाडी मानिन्छन् । सर्वनाम मार्गमा फूल कति काँडा कति, गुरुकुल मार्गले रंगमञ्चलाई कहाँ पु¥यायो ? कोको पात्रले रंगमञ्चमा कस्तो योगदान पु¥याए ? खै रंगमञ्चको नेपथ्यभित्र पसेर समीक्षा–बहस भएको ?

नाटकको स्तर कहाँ पुगेको छ ? नाटकको प्रस्तुति अभिनयमा सिनेमाको लेप लाग्दै गएको हो ? हो भने, यस्तो सिनेमाको लेपबाट नाटकलाई बचाउनु पर्दैन ? खै समीक्षात्मक टिप्पणी ?  

बालकृष्ण सम, विजय मल्ल, सत्यमोहन जोशी, सरुभक्त, अभि सुवेदी, अशेष मल्ल, विजय विस्फोट, गोपी सापकोटा, कृष्ण शाह यात्री, खगेन्द्र लामिछानेलगायतले लेखेका नाटक मञ्चन भएका छन् । उनीहरूका नाट्यकृतिको यो दशकमा समीक्षा हुन सकेको देखिँदैन । समीक्षाहरू भइदिए, निर्देशकको विवेकसम्म पुग्दो होला ! निर्देशकले नेपाली नाटक लेखिरहेका रंगकर्मीलाई उनीहरूका नाटक मञ्चन गरेर चिनाइदिए नयाँ नाटक लेखनमा प्रोत्साहन हुन्थ्यो ।

नवआगन्तुक कलाकारहरू फिल्म प्रवेशका लागि केही समय रंगमञ्चमा अडिन्छन् । कुन निर्देशकसँग कक्षा लियो भने फिल्ममा बिक्न सकिन्छ, त्यो उनीहरूले टुंगो लगाउन जानेका छन् । चलेका फिल्मकर्मीहरू आफूले आफैलाई रंगकर्मीको ट्याग लगाउँछन् । साहित्यकारहरू झुक्किएर लेखेको आफ्नो नाटक मञ्चन होस् भन्ने चाहन्छन् । आफूभन्दा पछाडिका वा समकालीनलाई गन्धे झार ठानेर निर्देशकहरू आफ्नो सम्बन्धको भ¥याङलाई आकाशतिर फर्कारहेका छन् अनि तलतिर हेर्दै नहेरी चढिरहेछन् त्यही भ¥याङ ! अकास्सिएको भौतिक संरचना होस् वा महŒवाकांक्षा, त्यो अफाप नै हो देशको लागि अनि रंगमञ्चको लागि पनि ! जगबिनाको घरजस्तै !

सिनेमा क्षेत्रको निराशालाई रंगमञ्चभित्र डो¥याउने उत्साहित दर्शकलाई रंगमञ्चमै टिकाइराख्न अब समीक्षात्मक बहस तथा डिस्कोर्सको आवश्यकता छ ।        

 

            

प्रकाशित: २५ भाद्र २०७३ ०३:४९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App