२४ जेष्ठ २०७७ शनिबार
अन्य

लेख्ने कसरी? पढाउने कसरी?

भूमीश्वर पौडेल
बिहान राजधानीको एउटा कलेज र दिउँसो अर्को विद्यालयमा नेपाली विषय अध्यापन तथा बेलुकी एक दैनिक पत्रिकामा उपसम्पादकको जिम्मेवारी निर्वाह मेरो अहिलेको पेशागत दैनिकी हो। यसरी हेर्दा बिहानदेखि बेलुकीसम्म नेपाली भाषामै काम गरिरहेको हुन्छु म। तर, सबैभन्दा दुःखलाग्दो कुरो– त्यही नेपाली भाषालाई बिहानदेखि बेलुकीसम्म म एकै किसिमले न त पढाउन पाउँछु न प्रयोग गर्न नै! बिहान कलेजमा अध्यापन गर्दा त्यहाँ एक किसिमले वर्णविन्यासबारे चर्चा गर्नुपर्छ। दिउँसो विद्यालयमा सोही वर्णविन्यासबारे बिहानको भन्दा केही फरक तरिकाले विद्यार्थीलाई पढाउनुपर्छ। र, दैनिक पत्रिकामा त त्यसभन्दा झनै फरक वर्णविन्याससँग म अभ्यस्त हुनुपर्ने बाध्यता छ।

पत्रिकामा भाषाका लागि आफ्नै शैलीपुस्तिका (स्टाइल बुक) तयार गरिएको छ। त्यहाँ विशेषगरी संस्कृत भाषाबाट प्रभावित वर्णविन्यास प्रयोग हुन्छ। मैले त्यसलाई अनुसरण गर्नैपर्छ। अर्थात् फूल, दूध, तीतो (क्षतिपूर्तिस्वरूप दीर्घीभवन प्रक्रियाअन्तर्गत निर्मित शब्द)जस्ता शब्दलाई दीर्घ नै लेख्ने चलन छ। त्यहाँ पुरानो व्याकरणलाई पछ्याउने अभ्यास गरिएको हो।

बिहान कलेजमा अध्यापन गर्दा लेख्नुपर्ने शब्द 'विद्यालय'लाई दिउँसो 'विद्यालय' लेख्नुपर्छ। तर, आश्चर्यलाग्दो त के छ भने– तत्कालीन उच्च माध्यमिक शिक्षा परिषद्, सानोठिमी भक्तपुरबाट पाठ्यक्रमका लागि निर्धारण गरिएको साझा प्रकाशनद्वारा प्रकाशित कक्षा ११ र १२ (विज्ञान संकाय)को नेपाली पाठ्यपुस्तकमै एकरूपता छैन। नेपाली भाषाका प्राध्याप–डाक्टरहरूसमेतको संलग्नतामा तयार पारिएको उक्त पुस्तकमै एकरूपता नदेखिनु कतिसम्म लज्जास्पद हो, त्यसबारे यहाँ उल्लेख गरिरहनु नपर्ला। उहाँहरू अतिरिक्त शब्दलाई 'अतिरिक्त' लेखिदिनु हुन्छ। तर, यसो लेखिरहँदा अद्यावधिक शब्दलाई भने सोही रूप 'अद्यावधिक' नै लेखिदिनु हुन्छ, 'अद्यावधिक' लेख्न उहाँहरूको दृष्टि किन नगएको होला? (हेर्नुहोस्, सोही पुस्तकको उच्च माध्यमिक शिक्षा परिषद्को 'सम्मति' खण्डमा)। भाषामा यो डरलाग्दो समस्या हो।

भाषामा विकराल बन्दै गएको यो समस्या यतिमा मात्र सीमित छैन। अध्यापनका क्रममा पदयोग पदवियोगसम्बन्धी नियमबारे जानकारी गराउँदा मलाई दाँतमा ढुंगो लागेजस्तो हुन्छ।  किनभने, समस्त शब्दअन्तर्गत अघि दुई र पछि दुई शब्द (दुई±दुई) छन् भने मात्र जोड्ने अन्यथा छुट्ट्याउने नियम पढाउँदै गर्दा किन यसो भयो भन्ने प्रश्नमा चित्तबु‰दो जवाफ दिन सक्दिनँ। मैले अध्यापन गर्ने कक्षा ११/१२ को नेपाली पुस्तकमा 'गृहमन्त्री' शब्द जोडिन्छ भने 'सञ्चार मन्त्री' छुट्ट्याउनुपर्छ। तर, दुःख लाग्छ फेरि त्यही पुस्तक हेर्दा आफैलाई, स्वनामधन्य ठान्ने विद्वान्हरूले 'सानो ठिमी' शब्दलाई छुट्ट्याएर लेखिदिनु हुन्छ (हेर्नुहोस्, सोही पुस्तकको सम्मति र मन्तव्य पृष्ठमा)।

उच्च माध्यमिक शिक्षा परिषद्ले पाठ्यक्रमका लागि तयार गरेको उक्त पुस्तकमै '१६ अंक'लाई बुझाउन 'सोर्‍ह' शब्द यसरी प्रयोग भएको छ। मैले, पढे/जानेको शब्द 'सोह्र' यसरी लेखिन्छ। तर, दिउँसो कक्षा १० भन्दा तलका विद्यार्थीलाई पढाउनुपर्दा 'सोर' लेख्नुपर्छ। त्यस्तै, शब्द 'बाह्र'लाई 'बार' लेखिन्छ, 'तेह्र' लाई 'तेर'। यी शब्दलाई कसरी 'सोर', 'बार', 'तेर' बनाइयो भन्ने कुनै वैज्ञानिक आधारको भेउ मैले पाउन सकेको छैन! 

अहिले विद्यालय तहमा त झनै संयुक्त अक्षर (द्य, द्म, क्त आदि)लाई यसरी तिरस्कार गरिएको छ कि ती वर्णलाई लेखाइमा प्रयोग गर्नै हुँदैन। मानौँ, प्रयोग गरियो भने 'ब्रह्महत्या' नै लाग्छ, तिनको त नामै लिनु हुँदैन। तर, अरू संयुक्त वर्णलाई लेख्न निषेध गर्नेहरूले 'द्व' शब्दलाई किन बिनाहिचकिचाहट प्रयोग गरिदिनु भएको छ? विद्यालय तहदेखि उच्चशिक्षामा समेत प्रयोग हुने नेपाली पुस्तक सबैमा 'द्व' शब्दलाई छुट्ट्याएर लेखिएको मैले देखेको छैन (कहीँकतै देखिए सुझाइदिनु होला)।

महत्वपूर्ण यो हो, जसरी लेखिए पनि भाषा शुद्धचाहिँ हुनैपर्छ। चाहे त्यो शैली परम्परागत होस् अथवा अहिलेको पाठ्यक्रममा आधारित नै किन नहोस्। अहिले पाठ्यक्रम विकास केन्द्रद्वारा नै स्वीकृत पाठ्यपुस्तकमा मेरो दृष्टि धेरैपटक अडिएको छ। त्यहाँ कतिपय ठाउँमा यति धेरै अशुद्धि छन् कि 'यहाँ अशुद्ध छ है' भनेर विद्यार्थीलाई बुझाइरहँदा 'कतै शिक्षकले आफै नजानेर यसो भनेको त होइन? नभए पाठ्यक्रम विकास केन्द्रले नै स्वीकृति दिएको पुस्तकमा कसरी अशुद्ध हुन्छ?' भन्ने प्रश्न विद्यार्थीमा नउब्जिएला भन्न सकिन्न। हेर्नुहोस्, प्रा.डा. कुमारप्रसाद कोइराला, अनुपमा रेग्मी, चारुभा घिमिरेको लेखन एवं सम्पादनमा प्रकाशित कक्षा ३ को नेपाली भाषा बगैँचा नामक पाठ्यपुस्तकमा, जहाँ पाठ्यक्रम विकास केन्द्रद्वारा स्वीकृत पाठ्यपुस्तक भनेर सबैभन्दा माथि उल्लेख गरिएको छ। उक्त पुस्तकको विषयसूचीको पाठ १ कै 'साहसी दीपक' भन्ने शीर्षकमा 'दिपक' शब्द ह्रस्व प्रयोग भएको छ। तर, सोही पुस्तकको कथा समेटिएको भागमा भने उक्त शब्दलाई दीर्घ 'दीपक' नै प्रयोग गरिएको छ। अब हामीले के भनेर विद्यार्थीलाई पढाउने? हुन त दीपक शब्द दीर्घ नै हो। तत्सम शब्दलाई आफू्अनुकूल प्रयोग गर्ने अधिकार कसैलाई छैन। यस्ता अशुद्धिले मेरो मात्र होइन, सबै नेपाली शिक्षकको मथिंगल एकपटक खलबलाउँछ नै!

कहिलेकाहीँ मैले केही पुस्तक सम्पादनको अवसर पनि पाउँदै आएको छु। तर, ती पुस्तक सम्पादन गर्नुअघि मैले सम्बद्ध लेखक/प्रकाशकलाई सोध्नुपर्छ– कुन शैलीको वर्णविन्यासको प्रयोग गरूँ? पुरानो, बीचको या नयाँ? के हाम्रो भाषाको टेक्ने स्थायी आधार केही छैन? यसलाई कुनै एक सीमामा आबद्ध गरेर लेख्न/प्रयोग गर्न पाइँदैन? भाषामाथि भइरहेको अन्योल बढाउने प्रयोग कहिलेसम्म कायमै रहिरहने हो? बु‰न सकिएको छैन।

मैले सुनेको छु, शुद्ध लेखनका लागि शिक्षित र सचेत महाकवि, नाट्यसम्राट्, युगकवि, राष्ट्रकवि आदि उपाधिप्राप्त तथा स्वनामधन्य साहित्यकारहरू नै अशुद्ध लेख्थे भन्ने भ्रम फैलाउन उनीहरूबाट होशियारीपूर्वक प्रयोग गरिएका सयौँ शुद्ध शब्द नेपाल प्रज्ञा–प्रतिष्ठानबाट प्रकाशित 'नेपाली बृहत् शब्दकोश'का नयाँ संस्करणबाट हटाइएका छन्। यसरी भाषामाथि भइरहेको प्रहार कहिले रोकिएला?

यहाँ प्रस्तुत सन्दर्भ र शब्द नेपाली भाषामा बढ्दो भद्रगोलका केही प्रतिनिधि उदाहरणमात्र हुन्। हामीले सिकाउने नेपाली पुस्तकमै कैयौँ यस्ता शब्द अशुद्ध रूपमा प्रयोग भएका छन्, जसलाई अशुद्ध हो भन्दा विद्यार्थीले नै शिक्षकलाई गलत नठहर्‍याउलान् भन्न सकिन्न। किनकि, विद्यार्थी आफ्नो सिकाइको आधार 'पुस्तक'मा कहिल्यै गलत लेखिएको हुँदैन/लेखिँदैन भन्ने विश्वासमा हुन्छन्। विद्यार्थीको यो विश्वासको संवेदनशीलतामाथि हेलचेक्र्याइँ गर्दै किन दिन्छ पाठ्यक्रम विकास केन्द्रले त्यस्ता लेखकलाई लेखन अनुमति, जसले लेखेको भाषा सिकाउने पुस्तकमै अशुद्धिहरू बग्रेल्ती देखिन्छन्।

यस्ता अशुद्धिले पछिल्लो समय प्रकाशित नेपाली भाषाका साहित्यिक पुस्तक–पत्रिकालाई पनि गाँज्न थालेको देखिएको छ। अखबारहरूमा त भद्रगोल यसै पनि कायम छ। दृश्य तथा श्रव्य सञ्चारमाध्यमका उच्चारण सुन्ने हो भने त लाजै लाग्छ। साहित्यिक पुस्तक तथा पत्रिकाहरूमा प्रयोग भएको भाषा/व्याकरण परम्परागत वा नवीन कुन शैलीको हो भन्ने छुट्ट्याउन सकिने अवस्था छैन। यसरी वर्णविन्यासमा एकरूपता कायम गर्न नसक्दा नेपालीमा लेखिएका वा लेखिने पुस्तकले विस्तारै भाषाको खिचडी पस्किएको अनुभव हुँदैछ। तसर्थ, हाम्रा भाषाविद्हरूसमक्ष मेरो प्रश्न छ– किन र कहिलेसम्म हाम्रो भाषामा यस्तो भद्रगोल? हामीले नेपाली भाषाप्रति गौरव गर्ने अवस्था आउने कहिले हो?

प्रकाशित: ११ भाद्र २०७३ ०९:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App