६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
अन्य

हुसेनको मुद्दामा लामालाई सफाइ, अर्को मुद्दाको फैसला पर्खाइ

लण्डन– सशस्त्र द्वन्द्वकालमा नेपालमा सर्वसाधरण नागरिकलाई यातना दिएको अभियोगमा बेलयातमा मुद्दा खेपिरहेका नेपाली सेनाका कर्नेल कुमार लामाले दुई मध्ये एक मुद्दामा सफाइ पाएपछि स्वदेश फर्कनका लागि दोस्रो मुद्दाको फैसला कुरेर बसेका छन्।

दुई आरोपित मध्ये एक व्यक्तिको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने निर्णय जुरीले सुनाएपछि उनी नेपाल फर्कने सम्भावना कायम राख्दै दोस्रो मुद्दाको पर्खाइमा बस्ने निर्णयमा पुगेका हुन्। गत मंगलवार ओल्ड बेली फौजदारी अदालतमा जस्टीस स्वीनीसहितको १२ सदस्यीय जुरीमा सात हप्ता लामो सुनुवाइ सकिएपछि एक व्यक्तिको मुद्दा मात्र फैसला सुनाएको हो।

दुवै मुद्दाको अन्तिम फैसला आउने अपेक्षा गरिएता पनि पटक पटक बसेको जुरी कुनै पनि निश्कर्षमा पुग्न नसकेपछि एक व्यक्तिको मात्र निर्णय आएको हो । सोमबार बसेको जुरीले लामामाथि लगाइएको यातानासम्बन्धी दुई आरोपमध्ये एउटा मुद्दामा सफाइ दिने निर्णय सुनाएपछि लामाले केही राहत पाएका छन्।

लामा कपिलबस्तुस्थित एक सैनिक ब्यारेकमा कार्यरत हुँदा आफुलाई चरम यातना दिएको भन्दै करम हुसेन र जनकबहादुर राउतले उनी बिरुद्ध मुद्दा दायर गरेका थिए। सेन्ट्रल क्रिमिनल कोर्ट ओल्ड बेलीमा लामाको मुद्दाको नेतृत्व गरिरहेका जस्टिस स्वानीको इजलासले हुसेनको मुद्दामा लामालाई दोषी ठहर गर्न नसकिने फैसला सुनाएको हो। तर अर्का अभियोजनकर्ता राउतको मुद्दामा भने पटकपटक बसेको जुरीले टुंगो लगाउन नसके दुई महिनापछिका लागि स्थगित गरेको छ।

लामाविरुद्धको दोस्रो मुद्दामा सेप्टेम्बरको पहिलो साता पुनः सुनुवाइ हुने छ। १२ सदस्यीय जुरीबीच १०, २ वा ११, १ को मतले मात्र अन्तिम फैसला दिन सक्ने कानुनी प्रावधान रहेकोमा राउतको मुद्दामा आवश्यक संख्या नपुगेको कारणले लामाबिरुद्धको मुद्दामा पुनः सुनुवाइ हुनुपर्ने भएको हो। हुसेनको मुद्दामा भने वहुमत जुरीका सदस्यको बहुमत भएपछि लामाले सफाइ पाएका हुन्। आरोपीतहरुले बयानका क्रममा यातना दिँदा आँखा छोपेर दिइएको तर लामाको जस्तो आवाज सुनेको भनेको थिए।

हुसेनले लामा नै भएको एकिनका साथ बयान दिन नसकेपछि जुरीले उनलाई सफाइ दिने निर्णय सुनाएको हो। तर, राउतको मुद्दा पुनः निर्णय गर्नुपर्ने भएपछि कारवाही पुनः अगाडि बढाउने वा कसरी मुद्दा किनारा लाउने भन्ने बिषयमा सेप्टेम्बर ६ मा तय हुनेछ। बेलायतले लामामाथि संयुक्त राष्ट्र संघको यातनाविरुद्धको महासन्धिअन्तर्गत, अन्तर्राष्ट्रिय क्षेत्राधिकार उल्लंघन गरेको आरोपमा पक्राउ परेका थिए। तर, लामाले ती आरोपहरुलाई अस्वीकार गर्दै आएका छन्। उनले नेपालको अदालतबाट आफूले सफाइ न्याय पाएको भन्दै अन्तराष्ट्रिय फौजदारी अदालतमा बयान दिनसमेत अस्वीकार गरेका थिए।

लामाले सन् २००५ मा कपिलवस्तु जिल्लाको गोरुसिंगेस्थित सैनिक ब्यारेकमा थुनामा रहेका बेला आफूलाई आँखामा पट्टी लगाई चरम यातना दिएको आरोप छ। बेलायती समाजका लब्धप्रतिष्ठित व्यक्ति रहेको निर्णायक मण्डली (जुरी) मा भइरहेको सुनुवाइमा घटनाका प्रमाण प्रस्तुतः अभियोग पक्षका वकिल डन्कन पेन्नी क्युसीले अभियोजक राउतलाई आँखामा पट्टी लगाई यातना दिएको, यातनाका निकृष्ट उपाय अवलम्बन गराई दीर्घकालीन अपांग बनाएको र विभिन्न त्रास देखाई जबर्जस्ती अपराध स्वीकार गर्न बाध्य पारेको जिकिर अदालतमा गरेका थिए।

उक्त कुरा पीडितबाटै अदालतले सुन्न चाहेपछि राउत गत साता लन्डन गएका थिए। सुडान मिसनमा कार्यरत रहेका बेला उनी छुट्टीमा बेलायतमा रहेका परिवारलाई भेट्न आउँदा सन् २०१३ जनवरीमा पक्राउ परेका थिए। अदालतले लामालाई निर्दोस सावित गरे उनी नेपाल फर्कने छन् भने दोषी ठहर गरेका सजाय काटेपछि मात्र आउन पाउने छन्।

 

प्रकाशित: १८ श्रावण २०७३ ११:३२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App