हरेक वर्ष नोबेल पुरस्कारले पुरस्कृत व्यक्ति र तिनका सहकर्मी तथा मित्रवर्गलाई मात्र नभएर सर्वसाधारण समुदायमा पनि एउटा खुसीको लहर पैदा गर्छ।– अल्फ्रेड डे हार्सी
साहित्यकार पुरस्कारको लागि लेख्छ? कलाकार पुरस्कारको लागि कलाको सिर्जना गर्छ? यस्ता प्रश्नको उत्तर सहज छैनन्। कलाले अभिव्यक्ति खोज्छ। अभिव्यक्त हुनु त्यसको धर्म हो। तर, सिर्जनाले मान्यता पनि खोज्छ। मान्यताको एउटा स्वरूप पुरस्कार हो। चिकित्साशास्त्रमा १९६९ मा नोबेल पुरस्कार पाएका डे हार्सीले भनेझैँ पुरस्कारले पुरस्कृत व्यक्तित्वमात्र होइन, उसका इष्टमित्र र सर्वसाधारणमा पनि एउटा खुसीको सञ्चार गरेको हुन्छ। सामान्य अर्थमा पुरस्कार एउटा मानक हो। यसले लेखनको, कलाको स्तरलाई लालमोहर लगाइदिन्छ। बढीभन्दा बढी पुरस्कार पाउनुले मान्यताको व्यापकतालाई इंगित गर्छ। भारतीय चलचित्रकर्मी शाहरूख खानको यो भनाइ त्यसकै बिम्ब हो– 'मैले धेरै पुरस्कार जितेको छु र म अझै अरू पनि प्राप्त गर्न चाहन्छु। यदि तपाईं यसलाई भोक भन्नुहुन्छ भने म स्वीकार्छु म पुरस्कारको भोको छु।' अमेरिकी अभिनेता, निर्देशक, पटकथाकार, लेखक अल्यान आल्डाले भनेका छन्– 'तिमी जति तन्नेरी वा जति वृद्ध भए पनि पुरस्कारले तिमीलाई अझ राम्रो गर्नलाई असाध्यै प्रेरणा दिन्छ।'
पुस्तकलाई पुरस्कार
लेखक, साहित्यकारले पुरस्कारको कामना गर्नु अनौठो होइन। तर, यो पनि सत्य हो कि पुरस्कारकै ध्यान गर्ने, पुरस्कारको लागि नै लेख्ने लेखकले सुन्दर कृति तयार पार्न सक्दैन। संसारभरि नै सरकारी तथा गैरसरकारीस्तरमा विभिन्न शीर्षकमा पुरस्कारहरू स्थापना गरिएका छन्। पुरस्कारको महत्व त्यसको व्यापकता र पुरस्कारस्वरूप प्राप्त हुने राशिमा पनि भर पर्छ। पुरस्कारको राशिभन्दा पनि त्यसका कारण प्राप्त हुने चर्चा ज्यादा महत्वपूर्ण हुन्छ।
साहित्यमा नोबेल पुरस्कार पुस्तकलाई भन्दा लेखकलाई दिइन्छ। संसारको कुनै पनि भाषामा उत्कृष्ट साहित्य सिर्जना गर्ने व्यक्तिलाई उसको योगदानको कदर गरेर दिइने भएकोले यसको चर्चा विश्वव्यापी हुने गर्छ। नोबेल पुरस्कारबाहेक अन्य केही साहित्यिक पुरस्कार पनि अन्तर्राष्ट्रियरूपमा चर्चित छन्। अमेरिकाबाट प्रकाशित हुने र अमेरिकी नागरिकबाट लेखिएको पुस्तकलाई दिइने पुलिट्जर पुरस्कारको अन्तर्राष्ट्रिय चासो हुन्छ। विभिन्न २१ शीर्षकमा दिइने पुलिट्जर पुरस्कार पुस्तकका मात्रै ५ विधा (आख्यान, इतिहास, जीवनी र संस्मरण, काव्य र सामान्य गैरआख्यान)लाई दिइन्छ। बेलायतबाट दिइने म्यान बुकर पुरस्कार अंग्रेजी भाषामा लेखिएको र बेलायतबाट प्रकाशित हुने आख्यानलाई दिइन्छ। म्यान बुकर अन्तर्राष्ट्रिय पुरस्कार अंग्रेजीइतर भाषामा लेखिएको र अंग्रेजीमा अनुवाद भएको कुनै एक आख्यानलाई दिइन्छ।
नेपालमा पुरस्कार
नेपाली बजारमा राशि र व्यापकताको हिसाबले निजीस्तरमा स्थापना गरिएका दुई पुरस्कार चर्चामा रहेका पाइन्छन्– मदन पुरस्कार र पद्मश्री। यी पुरस्कारको राशि दुई–दुई लाख रुपैयाँ छ। मदन पुरस्कारको इतिहास लामो भएकोले तुलनात्मकरूपले यसको चर्चा बढी हुन्छ। मदन पुरस्कारको दायरा विस्तृत पनि छ। नेपाली भाषामा प्रकाशित पुस्तकलाई पुरस्कृत गर्ने भनिएअनुसार यो पुरस्कार साहित्येतर विधाले पनि पाउने गरेका छन्। तर, पद्मश्री पुरस्कार साहित्यमा सीमित छ। प्राप्त पुस्तकहरूमध्ये आन्तरिक मूल्यांकन गरेर एकैचोटी पुरस्कृत पुस्तक सार्वजनिक गरिने ६० वर्षको परम्परालाई तोडेर मदन पुरस्कार गुठीले यो वर्ष ७ वटा पुस्तकलाई पुरस्कारको लागि 'श्रेष्ठ सूची' भनेर संक्षिप्त सूची बाहिर ल्याएको छ। बढीमा १० वटासम्म पुस्तकलाई प्रारम्भिक छनोट गर्ने भनिए पनि यो वर्ष ७ वटा मात्र छानिएको छ। उता, पद्मश्री पुरस्कारले पनि संक्षिप्त (पाँच पुस्तक) सूची प्रकाशित गरेको छ। त्यसमा गिरिश गिरीको 'वीरगन्ज', भूपिनको 'सुप्लाको हवाईजहाज', नीलम कार्की निहारिकाको 'चीरहरण' नगरकोटीको 'मिस्टिका' तथा रामलाल जोशीको 'ऐना' परेका छन्। यो वर्ष मदन पुरस्कारको लागि प्रारम्भिक छनोट गरिएका पुस्तकहरूमा सबै साहित्यिक परेका छन् ( चारवटा उपन्यास, एउटा कथासंग्रह, एउटा कवितासंग्रह र एउटा नियात्रा।
१. आमोई (उपन्यास) (भुवनहरि सिग्देल
२. ऐना (कथासंग्रह) रामलाल जोशी
३. चीरहरण (उपन्यास) नीलम कार्की निहारिका
४. निर्वाण (उपन्यास) घनश्याम खड्का
५. प्रश्नहरूको कारखाना (कवितासंग्रह) सरिता तिवारी
६. फिरफिरे (उपन्यास) बुद्धिसागर
७. सिमाना रंग सिमानाका तरंग (नियात्रा) दामोदर पुडासैनी 'किशोर'
आमोई
आमोई संस्मरणको आख्यानीकृत रूप हो। मूल पात्र आमोईको जीवनी हो यो। प्रथम पुरुष शैलीमा आमोईले आफ्नो जन्मको पृष्ठभूमि, बाल्यकाल, विवाह, वैधव्य र त्यसपछिका संघर्षलाई रेखीय शैलीमा बताएकी छन्। कथाले काठमाडौँ उपत्यकाको काँठ क्षेत्रको तत्कालीन समयको चित्र प्रस्तुत गर्छ। बाह्र वर्षकै उमेरमा बिधवा भएकी किशोरीले डुब्न लागेको आफ्नो परिवारलाई उकासेको गाथा हो यो उपन्यास। आमोईको जीवन पीडादायी र संघर्षपूर्ण रहे पनि सकारात्मक चिन्तनले प्रेरित छ। सामान्यतया बालबिधवाको स्थिति दयनीय हुन्छ। सामान्य चेतनासमेत नभएको त्यो अन्धकार युगमा बालबिधवाको नियति पलायन हुने नै हुन सक्थ्यो। तर, भवितव्यले संयुक्त परिवारको त्यो घरको जिम्मा नै उनको हातमा आयो। उनले गरेका केही निर्णय अहिले मात्र होइन तत्कालीन समयमा पनि अव्यवाहारिक नै थिए। निरक्षर तिनले अक्षर चिनिन्, महाभारतलगायत ग्रन्थहरू पढ्न सक्ने भइन्। यो सकारात्मक कुरा थियो। तर, जब तिनले बूढा जेठाजुलाई आफ्नी बालक बहिनी विवाह गराइदिइन्, त्यसको प्रशस्त आलोचना भयो। बहिनीको जीवनमाथि खेलिएको जुवा थियो त्यो। परिवारलाई सन्तान चाहिएको थियो। आमोईकी बहिनीले चाहिँदो सन्तान जन्माइदिइन्। हुर्काउने जिम्मा आमोईकै थियो। त्यसमा उनी सफल भइन्। उपन्यासको कथा यत्ति हो।
अहिलेको सन्दर्भमा प्रस्तुत कथाको अर्थ खोज्न सकिँदैन र उपयुक्त पनि हुँदैन। उल्लेखनीय पक्ष भनेको आमोईको सकारात्मक चिन्तन र निहीत उद्देश्यको लागि चालिएका दृढ पाइला हुन्। उपन्यासको सुन्दर लेखाइ र वर्णनले ग्रामीण वातावरणको बिम्ब सफलतापूर्वक बोकेको छ। तर, भाषाले समयलाई बोकेको छैन। लेखाइको भाषा अहिलेको र परिष्कृत छ। लेखकको ज्ञानले आमोईको भाषा र शैलीलाई थिचेको छ। कथाको प्रारम्भमा दिइएको परिवारको इतिहासमा केही अलमल छ। आमोईको बाल्यकालका संस्मरणमा पनि केही समस्या देखिन्छ। जस्तो, दोस्रो विश्वयुद्धको प्रसंग आमोईको बाल्यकालसँग मेल खाँदैन।
ऐना
सुदूर पश्चिमका विषय साहित्यमा उतिविधि आएका छैनन्। सुदूरपश्चिमलाई राजनीतिबाट पनि हेपिएको क्षेत्र भनेर चित्रित गरिन्छ। सुदूरपश्चिमको चित्रण गर्ने क्रममा जहिल्यै त्यहाँको गरिबीलाई अगाडि सारिन्छ। पहाडमा भौगोलिक विकटता, गरिबी, भोकमरी र तराई क्षेत्रमा पनि केही जमिनदारबाहेक गरिबी नै सुदूरपश्चिमको पहिचान बन्ने गरेको छ। भाषाको कारण पनि यिनीहरू मूलप्रवाहमा समेटिन सकेका छैनन्। ऐनाले पछिल्लो समयमा भएको थरुहट आन्दोलनसमेतलाई समेटेर त्यस क्षेत्रको प्रतिनिधित्व गर्ने जनजीवनको चित्र उतारेको छ। सीमान्तकृत र भेदभावको सिकार भएकाहरूको जीवनको प्रतिबिम्ब पस्केको छ।
१९ वटा कथा संग्रहमा संकलित छन्। अनमेल विवाह, उर्लंदो उमेरको चाहना, एकल महिलाका संघर्ष, जातीय विभेद, भोकमरी र आत्महत्या, अतृप्त यौन, कुमारी आमा, आधुनिक सञ्चारले ल्याएको विसंगतिलगायत समाजका चित्र हुन्। रामलाल जोशीका कथाहरू यसकै वरिपरि घुमेका छन्। 'रंगमञ्च', 'मध्यान्तर' र 'खेल' कथामा केटाकेटीका खेलका कुरा छन्। केटाकेटी ठूला हुन्छन्, हिजो खेलेका खेल तिनका वास्तविक जीवन हुन्छन् र तिनका केटाकेटी तिनै खेल खेल्छन्, जुन खेल हिजो तिनका बाबुआमाले खेलेका थिए। 'नायक' कथामा एउटा बालकको मनोविज्ञानलाई उतारिएको छ। बालक जे कुरा देख्छ, त्यसैलाई आफ्नो आदर्श ठान्छ तर ठूलो भएपछि त्यो आदर्शको भ्रम च्यातिएको प्रमाण स्वयं नै बन्छ। काली र सेतीका कथामा यी नदीजस्तै दुई दुखिया स्त्रीको पीडा वर्णित छ।
श्रीमतीका लागि, छोरीका लागि, आमाका लागि यौनग्राहक खोज्नुपर्ने यथार्थतालाई 'भर्जिन' कथामा उतारिएको छ। भर्जिन शब्दले दुई अर्थलाई बोकेको छ– पहिलो, भर्जिन ब्रान्डको रक्सी र दोस्रो कुमारी। 'श्रीमान बीरबहादुर' कुमारी आमाको कथा हो। आधुनिक सञ्चारले मान्छेलाई दिएको उन्मुक्तिको कसरी दुरुपयोग भैरहेको छ भन्ने चित्र 'साइबर सेक्स' मा देखिन्छ।
संरचनात्मक दृष्टिले कथाहरू सुन्दर छन्। पात्र संयोजन र द्वन्द्वको विकास पनि आकर्षक शैलीमा छ। उपकथाहरूको संयोजन पनि प्रभावकारी छ। कथा पढिसकेपछि केही प्रश्न मनमा उब्जिन्छन्। आर्थिक अभावमा मान्छे मुस्कुराउँदैन? अभावको जीवनमा सुखको परिभाषा के हो? ऐनाले समग्र सुदूरपश्चिमलाई बिम्बित गर्छ कि सीमान्तकृत वर्गलाई मात्र? संग्रहको भाषा अर्को खट्किने कुरा हो। स्थानीय भाषालाई आवश्यकताअनुसार प्रयोग गरे पनि नेपाली भाषाको प्रयोगमा भने स्थानीयता झल्किँदैन।
चीरहरण
महाभारतको कथालाई कुरुवंशका स्त्रीहरूले आफ्नो दृष्टिबाट पुनर्कथन गरेका छन् यो उपन्यासमा। महाभारत युद्धको बिजारोपण हस्तिनापुर नरेश शान्तनुले सत्यवतीसँग गरेको विवाहको साथ भएको विश्वास गरिन्छ। चीरहरणमा सत्यवती, अम्बिका, अम्बालिका, गान्धारी, कुन्ती, द्रौपदीले मुख्यरूपमा र उलूपी तथा भानुमतीले संक्षिप्त अनुभव सुनाउँछन्। मूलकथा चार खण्डमा विभाजित छ। आआफ्ना अनुभव सुनाउनका लागि उलूपीको सक्रियतामा एउटा भेला आयोजना गरिन्छ। भेलामा महाभारतका प्रमुख पात्रहरू सबैलाई आमन्त्रण गरिएको हुन्छ। उपसंहारमा महाभारत युद्धका मुख्य दोषी ठानिएका दुर्योधन, दुशासन, कर्ण र धृतराष्ट्रले अआफ्नो गल्ती स्वीकार्छन् र आफूहरूको कारण नारीले दुःख पाएको, उनीहरूले कष्ट भोग्नु परेकोमा क्षमाप्रार्थी हुन्छन्। पहिलो खण्डमा सत्यवतीको अनुभव वर्णन छ। दोस्रोमा तीन अध्याय छन्– पहिलो र तेस्रो अध्यायमा अम्बिकाको र दोस्रो अध्यायमा अम्बालिकाका अनुभव छन्। अम्बिका र अम्बालिका भीष्मले सत्यवतीपुत्र विचित्रविर्यको लागि काशीबाट अपहरण गरेर ल्याइएका काशीनरेशका पुत्रीहरू हुन्। तेस्रो अध्यायमा दुई खण्ड छ। पहिलो खण्डमा गान्धारी र दोस्रो खण्डमा कुन्तीले आफ्ना कुरा राख्छन्। चौथो खण्ड सबभन्दा ठूलो, पुस्तकको आधा भाग छ। यसमा चौथो पुस्ताका नारीपात्रहरू उपस्थित हुन्छन्– द्रौपदी, उलूपी र भानुमती।
प्रचलित महाभारतमा नारीपात्रहरू बोल्दैनन्। महाभारतका रचनाकार व्यासले नारीपात्रहरूलाई स्थान नै दिएनन्। मौन रहन र आफ्ना बारेमा पुरुषहरूले गरेको निर्णय चुपचाप सहन उनीहरू बाध्य थिए। अम्बिका र अम्बालिका विचित्रविर्यसँग विवाह गर्न बाध्य भए। विचित्रविर्यको मृत्यु भएपछि सत्यवतीको आग्रहमा व्यासबाट एक एक पुत्र जन्माउन उनीहरू राजी हुनुपर्यो। हस्तिनापुरको डरले गान्धारीले दृष्टिहीन धृतराष्ट्रसँग विवाह गर्नुपर्यो। बिना कुनै गल्ती कुन्तीले पति पाण्डुबाट दाम्पत्य सुख भोग्नबाट वञ्चित हुनुपर्यो। द्रौपदीले पाँचजना पतिसँग विवाह गर्नुपर्यो। यी घटना पुरुष इच्छाका कारणमात्रै भएका थिए। त्यतिमात्र होइन युधिष्ठिरले द्रौपदीलाई जुवामा हारे। जितिएकी द्रौपदीलाई धृर्तराष्ट्र र कर्णले सभामा ल्याएर बेइज्जतपूर्वक नंग्याउन खोजे।
द्रौपदीलाई नंग्याउन खोजिएको यो सन्दर्भ अर्थात् चीरहरण महाभारतको सबभन्दा विवादास्पद घटना मानिन्छ। प्रस्तुत उपन्यासमा चीर भनेर अस्मिता र स्वतन्त्रतालाई समेत समेट्न खोजिएको छ। यसअर्थमा अम्बिका, अम्बालिका, गान्धारी, कुन्ती र द्रौपदीको पटकपटक चीरहरण भएको छ। द्रौपदीको एक पुरुषसँग विवाह हुन पाउने अधिकार मात्र हनन् भएन नंग्याउन पनि खोजियो। तर, द्रौपदीको बेइज्जतले पाण्डवहरूलाई गहिरो प्रभाव पारेन। उनीहरू अझै सम्भव भएसम्म शान्तिको नाममा क्षमादानमै कटिबद्ध थिए। उपन्यासले नारीपात्रमार्फत् पुरुषहरू नारीका संवेदना बुझ्दैनन्, आफ्ना निर्णय जबरजस्ती लाद्नमात्र खोज्छन् भन्ने सन्देश दिएको छ। त्यसैले यो उपन्यास व्यासले रचना गरेको महाभारतको पूरकको रूपमा पनि बुझ्न सकिन्छ, जसमा नारीपात्रहरू आफ्ना कुरा पुरुष पात्रलाई सुनाउँछन्। नारीका कुरा सुनेपछि उनीहरूको आँखा खुल्छ र क्षमाप्रार्थी हुन्छन्।
बृहत् कालखण्ड र प्रशस्त पात्र रहेको महाभारतको कथालाई सीमित नारीपात्रबाट अभिव्यक्त गर्दा धेरै कुरा छुटेका छन्। सबभन्दा महत्वपूर्ण कुरा उही घटनाका साक्षी बनेका पात्रहरूले ती घटनामाथि बोलेका छैनन्। जस्तो कि मूल विषय चीरहरणकै कुरामा गान्धारी, कुन्ती आदिको प्रतिक्रिया आएको छैन। दुर्योधन पत्नी भानुमतीको पनि केही अवधारणा आउनुपर्ने हो, त्यो आएको छैन। सत्यवतीको अंशले कथाको शीर्षकलाई कसरी न्याय गर्यो भनेर प्रश्न उठ्न सक्छ। उपन्यास पढ्दै जाँदा यो कुरा खटि्कन्छ। उपन्यास रेखीय शैलीबाट लेखिएकोले त्यस्तो भएको हो। भाषा सरल छ, केही परिघटनाबाहेक महाभारतको कथा थाहै नभएका पाठकले पनि सहजैसँग पढ्न सक्छन्। महाभारतको कथावस्तुलाई लिएर नयाँ पुस्ताले कलम चलाउनुलाई स्वागतयोग्य मान्नुपर्छ।
निर्वाण
निर्वाणको कथा मनोवैज्ञानिक दृष्टिले लेखिएको छ। 'म' पात्र बोधी पटकपटकको मानसिक संघर्षबाट गुजि्रन्छ। उसलाई घरमा बाबुको अनुशासन मन पर्दैन। त्यसैले ऊ बिनासूचना, बिनाउद्देश्य घरबाट हिँड्छ। दोस्रो मानसिक द्वन्द्व आफैले पढाएकी किशोरी श्वेतासँगको प्रेमोन्मादमा देखिन्छ। यहाँ पनि ऊ पलायनकै मार्ग रोज्छ बिनाजानकारी। तेस्रो द्वन्द्व तिनै श्वेतासँग सहरमा भेट भएपछि ऊसँग विवाह नगरी विश्वयात्रामा निस्कँदा देखिन्छ। उसको आफ्नो कुनै योजना छैन। श्वेताका कारण ऊ परिवार र कामसमेत छोडेर विश्वयात्राको नाममा पलायन हुन्छ। चौथो द्वन्द्व मोनिकासँगको संगतबाट गुरु गोविन्दको आश्रममा पुग्ने क्रममा देखिन्छ। गोविन्दसँगको सत्संगबाट उसको यात्रा निर्वाणतर्फ मोडिन्छ। यसरी मुख्य पात्रको चरित्र स्पष्टरूपमा आफै सही निर्णय गर्न नसक्ने, तर परिस्थितिजन्य कारणबाट प्रभावित भएर पलायन हुनेमा देखिन्छ। त्यसो त बोधी आफै मनोविश्लेषक हो। तर, उसको ज्ञान ऊ आफ्नै लागि प्रयोग हुन सकेको छैन।
उपन्यासलाई सघाउन अन्य तीन युवती पात्र छन्, भिन्नभिन्न पृष्ठभूमिका। ती तीनै पात्र बोधीसँग नजिकिन्छन्, तर अलगअलग स्वार्थमा। बोधी त्यो स्वार्थ केलाउन सक्दैन। मोनिका चिकित्सक हो। हवाइ दुर्घटनामा परिवार गुमाएकी ऊ विक्षिप्त छे र ध्यानमार्गमा लागेकी छ। उपन्यासमा मोनिकालाई अतिरञ्जित ढंगले आदर्श पात्र बनाइएको छ। एउटी वयस्क युवती भएर पनि उसमा पुरुषप्रति कुनै राग छैन, कुनै आकर्षण छैन। ध्यानको प्रारम्भिक चरणमै भए पनि उसमा देखिएको असाधारण अपरिग्रह र अनाकर्षणको स्पष्ट व्याख्या उपन्यासमा फेला पर्दैन। श्वेता गाउँमा पहिरोले बाबुको निधनपछि कुनै प्रकारले सहर पुग्छे र आफूमा भएको चित्रकलाको क्षमतालाई असाधारण स्तरमा विकास गर्छे। तर, उसलाई चाँडै नै भौतिक सम्पन्नतासँग विकर्षण हुन्छ। अकस्मात सक्रिय जीवन त्यागेर बोधीको साथ विश्वयात्रामा निस्कन्छे। उसलाई बोधीको सामीप्यबाहेक केही चाहिँदैन। तेस्रो पात्र दीप्ती एउटा अन्तर्राष्ट्रिय हवाईकम्पनीकी मालिक हो। ऊ भौतिक उपलब्धिले अघाएकी छैन। उसलाई विश्वको नम्बर एक बन्नु छ आफ्नो व्यवसायमा।
महत्वपूर्ण वस्तु गुमाएपछि र जीवनमरणको दोसाँधमा पुगेको अनुभूतिले मानिसमा जीवनप्रतिको तृष्णा मेटिन्छ भन्ने विचारले कथालाई निर्देशित गरेको छ। त्यो भूमिका बाँध्न लेखकले उपन्यासको ठूलो खण्ड प्रयोग गरेका छन्। जिन्दगीसँगको लुकामारीमा पराजित भएर मान्छे मुक्तिको मार्गमा हिँड्न चाहन्छ भन्ने सन्देश छ। तर, गहिरोगरी हेर्दा त्यस्तो देखिँदैन। मुक्ति अर्थात् निर्वाणको लागि जिन्दगीसँगको पौँठेजोरीमा पराजित भएर मात्र पुग्दैन, त्यसको लागि पुर्वजन्म र जन्मजन्मान्तरको संस्कार चाहिन्छ भन्ने धारणालाई जोड दिइएको छ। यो निष्कर्ष निकाल्न उपन्यासमा धेरै नाटकीय घटनाहरू प्रस्तुत गरिएको छ। बोधी दुई दिनसम्म समुद्रमा तैरिएर बाँच्छ र अन्त्यमा मोनिकाले उद्धार गर्छे। बोधीका पिता विख्यात ज्योतिष हुन् र उनलाई आफ्नो मात्र होइन बोधीको जन्मजन्मान्तरको सम्पूर्ण कुरा थाहा छ। भौतिक उपलब्धिको सीमा हुँदैन भन्ने सन्देश दिने दीप्तीको कथा छ, तर बीचमै बिलाउने दीप्तीको कथा किन राखियो स्पष्ट हुँदैन।
उपन्यासमा पात्रहरूको चरित्र विकास क्रमिकरूपले गरिएको छैन। प्रारब्ध र पूर्वजन्मको संस्कारले निर्देशित गरेका कारण परिस्थितिजन्य परिघटनाहरू गौण मानिनुपर्छ। निर्वाण मानव जीवनको लक्ष्य भए पनि त्यसको लागि पुर्वजन्मकै संस्कार चाहिने जिकिर गरेको देख्दा निर्वाण हरेक व्यक्तिको तत्कालिक लक्ष्य हुन नसक्ने ठहर्छ। बोधीकै बहिनी विवाह गरेर सुखी जीवन बाँचेकी छे, दीप्ती अझ अगाडि बढ्ने तृष्णाले जेसुकै गर्न पनि पछि नपर्ने चरित्रकी छे। निर्वाण आफैमा जटिल र प्राविधिक अवधारणा हो। तर प्रेम, यौन र मृत्युको कारुणिक र रोमाञ्चक पृष्ठभूमिमा निर्वाणलाई चतुरतापूर्वक यसमा प्रस्तुत गरिएको छ।
प्रश्नहरूको कारखाना
इतिहासका गल्ती, भोगिएका पीडा र बेहोरिएको विभेदबाट वर्तमानलाई ब्युँझाएर भविष्य सुन्दर बनाउन सकिन्छ भन्ने आशाका कविताहरू हुन् प्रश्नहरूको कारखाना। संग्रहको पहिलो कविताले त्यही आशालाई उजागर गर्छ। यथास्थितिमाथि प्रश्न गर्नु नै परिवर्तनको प्रथम प्रयास हो। कवितालाई तीन समूहमा वर्गीकरण गरिएको छ। पहिलो खण्डका कविताहरूले शोषण र उत्पीडनबाट पराश्रित तुल्याइएका र पहिचान गुमाउन बाध्य समुदायको आवाजलाई मुखरित गरेको छ। दोस्रो खण्डमा परम्परा तथा मूल्यमान्यताका नाममा दबिएका महिलाले आफू दबिनुपर्ने, शोषित हुनुपर्ने र स्वतन्त्र हुन नपाउने कारणबारे प्रश्न सोधेका छन्। सारमा सरिताका कविताहरूले विद्रोह ओकलेका छन्, शोषण र उत्पीडनविरुद्ध आवाज बुलन्द गर्न आह्वान गरेका छन्।
कविताका महत्वपूर्ण खण्डहरू वर्णनात्मक छन्। वर्णनको क्रममा कविताभित्र कवि प्रवेश गरेर एक्कासि विद्रोहको आवाज ओकल्दा कविताको प्रवाह विच्छेद भएको भान हुन्छ। सुललित बगेको काव्यिक सौन्दर्य खस्किएको अनुभूति हुन्छ। यदाकदा भाषण र नाराको रूप लिन पुगेको पनि आभास हुन्छ। यद्यपि, कुनै पनि अभिव्यक्ति विचारबाट मुक्त हुन सक्दैन भन्ने सत्य हो। तर, यसमा विचारलाई प्रधानता दिँदा कविताका संरचनागत सौन्दर्य भत्केका छन्। कवितामा रूपकहरू छन्, तर ती विस्मयकारी, रोमाञ्चक र रहस्यमयी छैनन्। विचारहरू सपाट, सीधा र स्पष्ट छन्। कविताका सन्देश के हुन् भनेर कमै घोत्लिनुपर्छ।
फिरफिरे
पश्चिम नेपालको तराईको एउटा गाउँका दुई किशोरको मित्रताको दस्तावेज हो फिरफिरे। दुईमध्ये एक किशोर लामो समय काठमाडौँमा बसेर गाउँ पुगेपछि सम्झेको कथा हो यो। २० वर्षमा पनि गाउँमा उल्लेखनीय परिवर्तन भएको छैन। बाँसबारी नेपालको प्रतिनिधि गाउँ हो। त्यहाँ अन्धविश्वास छ। जालीफटाहा छन्, इमानदार मान्छे पनि छन्। एकल महिला, एकल पुरुष छन्। लोग्ने परदेश गएकी एक्ली महिला पनि छिन्। माथिल्ला, तल्ला जात छन्। हिन्दी फिल्मको प्रभाव गाउँमा छिरिसकेको छैन। तर, नजिकै बजारमा त्यसले युवालाई मज्जाले प्रभावित पारेको छ। बजारमा फिलिम हल छ, समोसा तरकारी खाने चमेना गृह छ, साइकलको संस्कृति छ र फिल्मी नक्कलले भित्राएको छ दादा संस्कृति र तन्नेरी मनमा प्रेमको चाहना।
उपन्यासमा केही रमाइला र अविस्मरणीय पात्र छन्– जुठीआमै, चिलगाडी, पिच्कु माझी, जीवाराम, सर्वजित मास्टर, कोहीनुर झाँक्री, जसोदादेवी आदि। जुठीआमै तल्लो जातकी, तर साह्रै सफा मनकी। गाउँका मान्छे लुकीचोरी जुठीआमैकहाँ जाँड खान पुग्छन्। परदेश गएको लोग्ने पर्खेर बसेकी छन् ती। आमै विभिन्न कथा हालेर केटाकेटीलाई भुलाउन सिपालु छिन्। तिनको सम्पत्तिमा जीवारामको आँखा गड्यो। मौका पाउनासाथ जुठीआमैलाई बोक्सी भनेर अपमानित ढंगबाट गाउँबाट निकालियो। जीवारामले षड्यन्त्रपूर्वक जुठीआमैको जमिन आफ्नो नाममा ल्याइछाड्यो। सर्वजित मास्टर छन् पढेलेखेका, तर बोक्सी हुँदैन भन्ने विश्वास तिनलाई हुँदैन। जुठीआमैलाई बेइज्जतपूर्वक गाउँबाट निकाल्न सहयोग गर्छन्। मास्टर एक छोरा र छोरीलाई लिएर एकल पुरुषको जीवन बाँचिरहेछन्। चाँडै रिसाउँछन्, तर छोराछोरीको पढाइमा ध्यान दिन्छन्। जसोदादेवी एकल महिला हुन्। आफै लुगा सिउने सीप विकास गर्छिन् र एउटा छोरालाई जसोतसो स्कुल पठाउँछिन्। तिनै जसोदादेवीको छोरा वसन्त र सर्वजित मास्टरको छोरा पवनको मित्रताको कथा हो यो। केटाकेटीदेखिको मित्रता पवन बेपत्ता भएपछि टुंगियो। सानोमा उनीहरूको प्रिय खेल थियो फिरफिरे बनाएर दौडिने, पौडी खेल्ने, गाउँ चहार्ने र उट्पट्याङ गर्ने। अकस्मात पवन बिरामी भयो। सर्वजित मास्टर झारफुकमै व्यस्त भए। अन्तिम अवस्थामा अस्पताल त पुर्याए, तर पवनको स्मृति विलुप्त भयो। उसले बिरामी हुनुअगाडिको कुनै पनि कुरा सम्भि्कन सकेन। यो घटना उपन्यासको उत्कर्ष हो। एकदिन पवन अकस्मात हरायो। पवन हराएपछिको वसन्तको मानसिक द्वन्द्वलाई उपन्यासकारले सफलतापूर्वक उतारेका छन्।
उपन्यासको भाषा सरल र सुमधुर छ। पात्रहरूको बोलीमा स्थानीय लवजलाई उतार्ने प्रयास गरिएको छ। आञ्चलिकताको झलक दिन खोजिएको छ। घटना र पात्रहरूको वर्णन दुरुस्त छ। भाषाले शब्दचित्रको काम गरेको छ। उपन्यासको अब्बल पक्ष यही हो। विस्तृत वर्णन गर्ने लोभमा लेखाइ धेरै लम्बिएको छ। भाषाको मिठासले लम्बेतान वर्णनलाई छोप्न गरेको प्रयास सबै ठाउँमा सफल छैन। उपन्यासको ठूलो समयस्या भनेको स्थानीय लवजमा देखिएको त्रुटि हो। पात्रहरूलाई स्थानीय र अनौपचारिक भाषा बोल्न लगाइएको छ। तर, यो प्रयास एकदमै कमजोर छ। लेखकको अघिल्लो उपन्यास कर्णाली ब्लुज पढिसकेका पाठकले शैली र भाषामा नयाँपन पाउँदैनन्। उस्तै फ्रेमवर्कमा लेखिएको दुई भिन्न कथाको रूपमा पाठकले पठन प्यास मेट्न बाध्य हुनुपर्छ।
सिमानाका रंग सिमानाका तरंग
लेखकले २०६२ सालको असोज १७ देखि २६ गतेसम्म १० दिन श्रीलंका, थाइल्यान्ड, म्यानमार र बंगलादेशको भ्रमण गर्दाको यात्रानुभूति हो यो। वास्तवमा यो पुस्तक काठमाडौँको विमानस्थलबाट उडेदेखि फर्केर आइपुग्दासम्मको आद्योपान्त वर्णन हो। वर्णन अटूट छ। संग्रहको पहिलो लेखमै लेखक यात्रालाई कसरी स्मरणीय बनाउन सकिन्छ भनेर परिस्थितिलाई रोमाञ्चक बनाउने ध्याउन्नमा देखिन्छन्। श्रीलंका पुगेकै दिन बुद्धको दाँत हेर्ने योजनाअनुसार क्यान्डी पुग्छ लेखकसहितको समूह। कोलम्बोबाट क्यान्डीसम्मको बाटोमा देखेभोगेका रोमाञ्चक र त्रासमय वातावरणको शब्दचित्र छ दोस्रो लेखमा। नेपाल र श्रीलंका दुवै हिंसात्मक द्वन्द्वको चपेटामा परेको कुराको तुलना आकर्षक छ। थाइल्यान्ड पुगेपछि त्यहाँको विकाससँग नेपालको तुलना गरेर लेखक खिन्न हुन्छन्। थाइल्यान्डमा लेखक रेडलाइट एरिया पुग्छन् र आधारातसम्म नग्न नृत्य अवलोकन गर्छन्।
त्यसपछि म्यानमारको भ्रमण विविधरूपले सार्थक रह्यो। म्यान्मार लेखकको ससुराली मुलुक रहेछ। अन्तरक्रिया गरिहाल्ने र हरेक कुरामा जिज्ञासु स्वभावले गर्दा यात्रारत् प्रत्येक स्थानको तथ्यगत तथा सौन्दर्यगत वर्णन जीवन्त छ। बंगलादेशमा आइपुगेपछि लेखकको भावुकताले बेग्लै आयाम लिन्छ। ढाकेश्वरी मन्दिरको दर्शनदेखि रिक्सा यात्रासम्मका रोमाञ्चक अनुभूति छन्। देशको सीमालाई बिर्सेर त्यहाँको जनजीवनसँग एकाकार हुन प्रयास गर्दा यात्रा अविस्मरणीय बन्छ भन्ने सन्देश यो नियात्रा संग्रहले दिन्छ। भाषाको प्रवाह काव्यात्मक छ, तर रूपक र शब्दहरूमाथि खेल्ने शैलीमा भिन्नता फेला नपर्दा पठन उत्तरोत्तर एकांगी हुँदै जान्छ।
पुरस्कारमा विवाद
पुरस्कृत नहुनु वा पुरस्कारको प्राथमिक छनोटमा नपर्नु कमजोर लेखनको परिचायक होइन। मदन पुरस्कारको संक्षिप्त सूचीमा पर्नु एक चरणमा पुरस्कृत हुनु हो। लेखकको वास्तविक अदालत पाठक हुन्। पाठकमाझ लोकप्रिय हुनु औपचारिकरूपले पुरस्कृत हुनुभन्दा माथिल्लो उपलब्धि हो।
मानिसको चेतनस्तरमा भिन्नता हुन्छ। मूल्यांकनका आधारहरू पनि फरकफरक हुन सक्छन्। मानिसमा आग्रह पनि हुन्छ। पुस्तकको मूल्यांकन जति नै गरे पनि शतप्रतिशत वस्तुगत हुन सक्दैन। यसकारण पनि पुरस्कारको निर्णय पूर्णरूपले विवादबाट मुक्त हुँदैन। बहुसंख्यक पाठकको मूल्यांकनसँग मेल खाएमा पुरस्कारको निर्णय सही भएको ठान्नुपर्छ। पुरस्कारको लागि पुस्तक चयन सामान्यतया निर्णायक मण्डलको बहुमतबाट गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ। नेपालमा पनि पुरस्कार र भर्खरै प्रकाशित श्रेष्ठ सूची समितिको निर्णयअनुसार गरिएको भनिए पनि यो प्रक्रिया पारदर्शी छैन। समितिका सदस्यहरू सार्वजनिक गरिएका छैनन्। निर्णयमा प्रभाव पार्ने प्रयास हुन सक्ने देखेर त्यसो गरिएको होला। निर्णायकहरू निष्पक्ष र इमानदार रहे सही पुस्तक छनोट हुन्छ। राम्रामध्ये केही राम्रा पुरस्कृत हुँदा विवाद कम हुन्छ।
प्रकाशित: १५ श्रावण २०७३ ०६:०७ शनिबार