८ पुस २०८१ सोमबार
image/svg+xml
अन्य

चोख्याइएको गाउँ


हर्के झुण्डिएर मर्‍यो।

त्यसरी आफै पासो लागेर मर्लाजस्तो लागेको थिएन। लवाइखवाइमा निम्छरो भए पनि शरीर बलियो थियो। सात दिनको बाटो हिँडेर मधेसबाट ढाकरमा १५ पाथीसम्म नुनको भारी सजिलै घर पुर्‍याउँथ्यो। त्यसमाथि आफ्नो खाजा, सामल, भाँडाकुँडा र ओछ्याउने पनि हुन्थे। 'अब भने लाठे भएछ हर्के, भारी बोक्न त जत्रै पनि पछि हट्दैन है गाँठे' ऊप्रतिका टीकाटिप्पणीहरू यस्तैउस्तै हुन्थे।

अपशोच, अचानक झुण्डिएर मर्‍यो ऊ।

हर्कबहादुर अर्थात् हर्के घर्तीले ठडौरे बोलीको स्वभावका कारण 'ठेउके'को उपाधि नै पाएथ्यो। हुन त मेलापात गरेर जीवन गुजार्नेहरू १० वर्ष टेकेपछि नै मेला जान थाल्थे, तर हलीको काम गर्नलाई भने अन्यौ सोझ्याएर हलो धस्न १२ वर्ष नपुगी अलिक गाह्रो हुन्थ्यो गोरु अँचेटेर मेलोमा लगाउन। सानोतिनो खेती भएका घरहरूमा पहिले बानी परेपछि ठूला खेतीवालहरूकोमा चल्थे हलिया। हर्केले पनि यतिबेलासम्म तीन घरको हलो ठेग्दै–छोड्दै गरेर अहिले भने मुखियाको मूलहलीमा दर्ता भइसकेको थियो।

'चतुरे घर्तीका दिन सर्लक्कै फर्किए, छोरा भनेका नखत् हुन्, छ–छ भाइ छोरा हलो ठेग्ने र मेलापात गर्ने भइसकेपछि अब केको दुःख उसलाई?' यसरी गाउँघरमा कोही खुसी व्यक्त गर्थे भने कोही ईर्ष्या पनि गर्थे।

हर्केका दुई दाजुले छुट्टिएर बेग्लै घरजम गरिसकेका थिए। जे गर्न पनि बलै चाहिने। श्रीमतीहरू पनि बलैका भरमा मेलाबाटै बोकेर ल्याएका थिए दुई भाइले। हर्के साइँलोको भने बिहे गर्ने बेला भएर पनि हुन सकेको थिएन। बिहे हुन नसक्नुमा धेरै कारण थिए।

एकतले टाँडे घर, नाममात्रको घर! कटेरो नै भने पनि हुने। साँच्चै भन्ने हो भने लोग्ने–स्वास्नीले सुत्नेसम्मको ठाउँ पनि थिएन। दुई भाइ छुट्टिए पनि अरु चार भाइ सँगै थिए। दुइटी छोरी, बाबु–आमा, राखनधरन, चुलोचम्को, ओछ्यान, मुस्किलले चलेको थियो। आफ्नो धानको गाबो लाग्ने ठाउँ नहुनु र बारी घडेरीमात्रै हुनुलाई गरिबीको पराकाष्टा नै मान्नुपर्छ। हिम्मत गरेर जेठो र माइलोले गोठ बनाएरै भए पनि छुट्टिए। त्यस्तो बाँड्नुपर्ने के नै थियो र सम्पत्ति? तै पनि छुट्टिए, सानोतिनो रडाँको मच्चिहाल्यो। 'बजिया हो, बूढा भएका बाबु–आमालाई पौरख खुवाउनुपर्छ भनेर स्वास्नी कोरलेर निस्किएका' भनेर बाबु–आमाले रातोमुख गरे पनि यथार्थमा सँगै बसिरहने अवस्थै थिएन।

कुरो सानै हो, तर झगडालु स्वभाव र शंका गर्नेहरूलाई पुगिहाल्यो। दिनभर दाउरा चिरेर कमाएको एकपाथी मकै हर्केले घर नलगेपछि ऊमाथि परिवारका शंकाका आँखा गाडिएका थिए। 'अहिले दिएनन् ज्याला, पछि दिने अरे' भनेर ढाँटेथ्यो पनि। तर, उसले एकपाथी मकै उत्तिनै बेला ल्याएको पत्तो लागिहाल्यो। यसपछिका फाट्टफुट्ट बालीहरू पनि उसले गायब पारेर आफूलाई झन् बढी शंकाको घेरामा पार्‍यो। परिवारका लागि अनुसन्धानको विषय बनेको थियो हर्के।

लुँभी डाँडामा मतवालीहरूमा सार्की, कामी, दमाइ थिए भने एकघर खत्री र तीन घर घर्ती पनि स्थायीरूपमा बसेका थिए। उनीहरूलाई मुलुकी ऐनका दफाहरू थाहा छैन, संविधानका समानताका धारा पनि थाहा छैन। आफ्नो जातअनुसारका पेशा गर्ने, बनी गर्ने र दैनिक जीविकोपार्जन गर्नेभन्दा पर केही सोचिँदैनथ्यो त्यो डाँडोको बस्तीमा। सहरतिर केही झरेका थिए भने कोही भोटाङमा सुन्तला बोक्न भनेर हिँडेका पनि थिए। जेहोस्, मिश्रित बस्ती भए पनि आआफूले गरेर खाएका थिए, पाखुरीमा रमाएका थिए।

'बल कम हुनेको बुद्धि बढी हुन्छ र बुद्धिले खान्छन्' लुँभी डाँडोका खत्री मुखियामा यो भनाइ लागु हुन्थ्यो र उसलाई सबैले बुद्धिमान नै मान्थे। खत्रीको बुद्धिदेखि उनीहरू झस्किन्थे पनि। 'कतै केही गल्ती भेट्टाए भने धुत्नसम्म धुत्छन्, लहै केटा हो जोगिएर बस' बूढाहरू ठिटौलेलाई अर्ति दिन्थे।

पहिले त झन् कुरै थिएन, बहुदल आएपछि पनि उनीहरूको व्यवहार, रहनसहनमा कुनै परिवर्तन

आएन। 'ऐन–कानुनले जेसुकै भनोस्, बहुदल न सहुदल रीति–व्यवहार, छोइछिटो बार्नैपर्छ केटा हो' यसै भन्थे लुँभी डाँडाका मिश्रित जातिका बुजु्रकहरू। खिचडी गाउँ भएर पनि सत्व्यवहारमा त्यति बिग्रिएका थिएनन्। यसैपटक भने पत्याउनै नसक्ने घटना भयो डाँडोमा। 'एक कान–दुई कान–मैदान' जति ढाकछोप गर्न खोजे पनि हावासँगै हल्ला फिँजियो महामारीजस्तै।

'चार–चारवटा छोराछोरीकी आमा भएर पनि कस्तो बिग्रिएकी त्यो दमिनी। लुँभी डाँडाकै कलंक भएर निस्की' कुरा काट्नेहरूलाई भारी नै पुगिहाल्यो।

बिग्रिन त दमिनीमात्र होइन, ऊसँग लसपस गरेको आरोप लागेको मंगले सार्की पनि बिग्रिएकै हो। जातमा उस्तै–उस्तै भए पनि एक–अर्काले छोएको भात–पानी चल्दैनथ्यो दुवैथरिको। संविधान, ऐन–कानुन र सहरबजारमा होस् वा संघ–संस्थाहरूमा, छुवाछुतविरुद्ध जति नै आवाज उठे पनि लुँभी डाँडोलाई परिवर्तनको हावाले छुुनै सकेको थिएन। मतवालीमा पनि पानी बारिन्थ्यो। यस्तो सदाचार चलिरहेको अवस्थामा बूढी हुन लागेकी दमिनीसँग उमेर छिप्पिएर पनि बिहा नभएको मंगले सार्कीको लसपस!

'गाउँ कुह्यो अब, के बसाइँ भयो र जातभात हराएपछि? यिनीहरूलाई त गाउँ निकाला गर्नुपर्छ पन्चायत बसेर' बूढापाकाहरू सल्लाहमा लागे। गाउँलेले हर्के घर्तीका सम्बन्धमा पनि गाइँगुइँ कुरा सुनेका थिए, तर मुख फोरिहाल्न सकेका थिएनन्।

गाँउमा यस्तो हल्ला चलिसकेपछि 'के खोज्छस् काना– आँखो’ भइदियो खत्री मुखियाका लागि। उनी मुद्दा–मामिलाका लागि खप्पिस थिए। बाहुनहरूसँग पनि कुम जोर्न खोज्ने खत्री सबै मतवालीलाई थर्काएरै बसेका थिए। उनले मौकाको सदुपयोग गर्न चाहे। आफ्ना दुई छोरालाई बोलाएर भने– 'ए केटा हो, दुइटा दाम्ला ल्याओ त। यस्तो हुन थालेपछि कसरी बस्नु यो गाउँमा?' उनी छोराहरूसहित हान्निए मंगलेका घरतिर। छोराहरूको बल र आफ्नो हैकमले मंगलेलाई दाम्लोले कसेर– 'ल हिँड अब अड्डाथानातिर, बूढी दमिनीसँग सुत्नेलाई यो गाँउमा त्यसै कहाँ छोडिन्छ र! अड्डामा लगेर ठिंग्याएपछि देख्छस् तिरिमिरी झ्याइँ' भन्दै पशुलाई जस्तै घिस्याउन थाले।

मंगले र उसका परिवारको सातो उड्ने नै भयो। अनुनय–विनय गर्न थाले खत्री मुखियासँग। अड्डामा नलगी गाउँमै मिलाउन बिन्ती गरे। मंगलेले पनि सहजै आफ्नो गल्ती स्वीकार गर्‍यो।

'यस्तो जघन्य अपराध कसरी मिलाउने?' खत्री कड्किए। मंगलेका परिवारले जे–जसरी भए पनि घरमै मिलाउन खत्री मुखियाका खुट्टा समाते।

'त्यसो भए ल भन त कसरी मिलाउने?' जे–जसरी भए पनि मिलाउन गरिएको आग्रहलाई खत्रीले राम्रो अवसर सम्भि्कए। वार्ता भयो, गोठको एकमात्र लैनो भैँसी फुकाइयो। मंगलेकी आमाका नाक–कानका माखामुन्द्रा फुकालिए। पानी खाने गरेको गाग्री, सुँगुर बेचेर दसैँ टार्न राखिएका तीन हजार रुपैयाँ पनि रहेनन्। त्यसपछि मंगलेको घाँटीबाट फुकाइएका तिनै दुइटा दाम्ला लिएर खत्री मुखिया दमाइका घरमा पुगे। हकारपकार पारे दमाइ परिवारलाई। 'तेरिमा डुमि्रनी, जातभातको ख्याल नभएकी। घरमा लोग्ने छ, चार–चार वटा छोराछोरी छन् र पनि सार्कीसँग लसपस गर्ने नकचरी, यस्ता गाउँ बिगार्नेलाई जेल नहाली कहाँ छोड्छु र! लु हिँड् अड्डा' खत्रीले आफ्ना छोराहरूको सहायताले दमाइ दम्पतीलाई दाम्लालेे बाँधेर घिस्याउन थाले।

दमाइलाई ठूलै आपत् आइलाग्यो। खत्रीले नछोड्ने भए। सोझो दमाइ श्रीमतीलाई त्याग्न पनि सक्दैनथ्यो। छोराछोरीको बिजोक हुन्थ्यो फेरि। चुक्न त चुकेकै रहिछे सार्कीसँग भन्ने दमाइलाई अब भने विश्वास भयो। खत्रीले चंगुलमा पारेपछि सितिमिति उम्किन दिँदैन भन्ने दमाइलाई स्पष्टै थियो। दमिनीले केही समययता निकै पैसा खेलाउँथी। मेलापात जान पनि अल्छी गर्ने। दमिनीले के गरिरहेकी छे भनेर शंकाको घेरामा राखे पनि दमाइले मुख फोरिहाल्न सकेको थिएन। त्यसैको परिणति हुनुपर्छ आज मैले भोेगेको यो दसा भन्ने सम्भि्कयो दमाइले।

खत्री मुखियासँग अनुनय–विनय गरेर जे–जसरी भए पनि समस्या नटुंग्याइ भएन। अड्डामै पुर्‍याए भने त कत्रो आपद् आइपर्ने हो? बरु भएको सर्वस्व सुम्पिएरै भए पनि मिलाउनैपर्‍यो भनेर दमाइले खत्री मुखियाका खुट्टा समात्यो।

खत्री मुखिया मुसुक्क मुस्कुराए– 'यस्तो जघन्य पाप पनि कसरी त्यसै छाड्ने थाहा पाइसकेपछि। कारबाही नगरी त छोड्ने कुरै आउँदैन पनि। यस्तै भइरहे के बसाइँ हुन्छ गाउँको यो डाँडोमा अब। तैपनि आइन्दा यस्तो नहुने वचन तेरी स्वास्नीले दिन्छे भने र मेरो चित्त बुझाउँछस् भने विचार गरौँला' खत्री मुखिया दयाले पग्लिएको भावमा देखिए।

दमाइको घरको लैनी गाई, दमिनीका भएका माखामुन्द्रा, जोरजाम गरेर राखेका पाँच हजार रुपैयाँ सबै खत्री मुखियालाई सुम्पिएपछि घाँटीमा बाँधेको दाम्लो फुकाइदिए। दमाइ परिवार र सार्की परिवारले संयुक्तरूपमा गाउँलेलाई भोज खुवाउनुपर्ने निर्णय पनि मुखियाले गरिदिए। त्यति गरेपछि दुवै परिवारले गाउँमा यथास्थितिमा बस्न पाउने भएका थिए।

थाहा पाएर पनि मुख खोल्न नसकेको अवस्थामा थियो यो अर्को समस्या। दमिनी उस्ती हो कि ऊसँग लसपस गर्ने लाठेहरू उस्ता हुन् भन्ने छुट्याएर पनि केही हुनेवाला थिएन। खत्री मुखियाले आफ्नो अनुकूल बनाएर समस्याका पोकाहरू फुकाइदिँदै आएका थिए। अर्को यो ठूलो समस्यामा भने खत्री मुखियाले पनि हात हाल्न सकेका थिएनन्। गुप्तचरको काम गरेर पत्तोचाहिँ सबै लगाएका थिए खत्रीले। पक्क मुख फोरिहाल्न सकेका थिएनन्। घर्तीलाई दमिनीको बात्! कसले मुख खोल्ने पहिले भन्नेमा गाउँघरमा मुख ताकाताक भइरहेकै अवस्थामा खत्री मुखियाले गाउँभेला गराइदिए।

गाउँभेलामा दमाइ र सार्की परिवारसहित सबै उपस्थित थिए। घर्तीका परिवार पनि उपस्थित थिए, तर गाइँगुइँ हल्ला सुनिसकेकाले हर्के घर्ती भने आएन। दमिनी र मंगलेको अनैतिक सम्बन्ध त स्पष्टै थियो। संयुक्त भोज खुवाएर चोखिने निर्णय भइसकेको थियो। यसका लागि बाहुन, क्षेत्रीलगायत सबै जातका मान्छेलाई चल्ने भान्से लगाएर भोज खुवाउने बन्दोबस्त मिलाउने निर्णय भएको थियो। तर, अब हर्के घर्ती र उही दमिनीको पनि अनैतिक सम्बन्धका कुरा उठेपछि भने थाहा पाएर पनि मुख फोर्न नसकेकाहरू– हो हो, मैले पनि मेलामा जिस्किरहेको देखेको भन्न सक्ने देखिए। दमाइ नभएको अवस्थामा हर्के घर्ती दमाइकै घरमा छिरेको देखेको हुँ भन्ने पनि निस्किए। घर्तीले अन्नका पोकाहरू दमिनीलाई दिएको देख्नेहरूले पनि मुख खोल्ने अवसर पाए।

दमिनीलाई केेरकार गरियो। उसले पनि सजिलै स्वीकारी हर्के घर्तीसँग पनि लसपस हुँदै आएको हो भनेर। दमिनीले आरोपजति सबै हर्केलाई नै थोपरी। हर्केले ललाइफकाइ गरी अन्न–पैसासमेत दिएर आफूसँग अनैतिक काम गर्न लगाएको बताइ।

घर्ती परिवारको टाउको निहुरियो। चार छोराछोरीकी आमासँग सुत्ने हर्केका कारण घर्ती परिवारले आजसम्म धानेको इज्जत माटोमा मिल्यो। समस्या निकै गम्भीर देखियो। अर्को भेला भोलिपल्ट बस्ने र त्यो भेलामा हर्केलाई पनि उसका परिवारले कसैगरी उपस्थित गराउनुपर्ने सर्त राखेर त्यस दिनको भेला टुंग्याइएथ्यो।

हर्केको परिवार समाजको आँखामा पतीत ठहरियो। आफूभन्दा तल्लो जातमा बिग्रिएकाले परिवारले हर्केमाथि सहानुभूति राख्ने कुरै थिएन। रिसाएका दाजुभाइ र आमाबाबुले हर्केलाई निर्घात पिटे। हर्केले आफ्नो गल्ती स्वीकार्‍यो, तर पनि कुटाइको क्रम रोकिएन। उसले अब गाउँमा नबस्ने, भोटाङ जाने वा सहर गएर कुल्ली काम गर्ने वाचा–बन्धन गरे पनि बेहोस् नहुन्जेल उसका शरीरमा लात्ती, मुड्की, लठ्ठी बर्सिरहे।

भोलिपल्ट तोकिएमुताविक स्थानमा गाउँभेला सुरु भयो। हर्केलाई भेलामा ल्याउने जिम्मा पाएका उसका परिवारले उपस्थित गराउन सकेनन्। हर्के राति नै भागेकाले उपस्थित गराउन नसकिएको जानकारी सभालाई दिए। सभाले उसको अनुपस्थितिमा कुनै गम्भीर निर्णय गर्न सकेन।

'त्यसलाई जिम्मा लगाउनुपर्छ, बिग्रेको ठेट्नुलाई त्यसै छोड्नु हुँदैन' भन्नेहरू असमञ्जसमा परे। दमाइ उँधोमुन्टो लगाएर बसिरहेथ्यो भने दमिनी पनि अपराधबोधको भावमा निहुरिरहिथी।

त्यसले भागेर सुख पाउँछ र? कि तिमीहरूले नै भगाएका हौ? जसरी पनि त्यसलाई उपस्थित गराउनैपर्छ। होइन भने तिमीहरूको परिवार नै भातपानीबाट काढिन्छौ! गाउँलेले अन्तिम चेतावनी दिएर भेला टुंग्याएथे।

केही दिनपछि लुँभीडाँडाकै सिरानमा एउटा थोत्रो कटेरोमा ह्वासह्वासी सिनो गन्हाएर बाटो हिँड्नेहरू नाक–मुख थुनेर हिँड्न थाले। थोत्रे कटेरोमा कुुकुर, स्याल केही मर्‍यो होला भनेर लख काटे पनि भित्र पसेर हेरेनन् कसैले। के कति कामले हो कुन्नि उही दमिनी त्यो कटेरोमा पुगिछ। नाम्लोले गलामा पासो लगाएर हर्के घर्ती पो झुण्डिएको रहेछ। उसैले खबर पुर्‍याइ गाउँमा।

गाउँले जम्मा भए। एउटा पातकीले समाजमा मुख देखाउन नसकेर आत्महत्या गरेको ठहर

भयो। लासजाँच प्रकृति, मुचुल्का, पोस्टमार्टम आदि केही गर्न आवश्यक नै ठानिएन। 'आ, नदुखेको कपाल डोरी लगाएर किन दुखाउने! भन्नेमा सहमत भए सबै गाउँले।

आफ्नो जात–परम्पराअनुसार काजक्रिया सम्पन्न गरे घर्ती परिवारले। शुद्धशान्तिमा गाउँका सबैलाई खुवाइयो। संयोग नै भन्नुपर्छ, हर्के घर्तीको शुद्धशान्ति र दमाइ–सार्की परिवारको गाउँमा चोखिने भोज एकै दिन परेछ। सबै गाउँलेले बिहान शुद्धशान्ति र बेलुका चोखिने भोज खाएर बिग्रिएको गाउँलाई चोख्याए।

प्रकाशित: २५ असार २०७३ ०४:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App