५ जेष्ठ २०८१ शनिबार
image/svg+xml
अन्य

पुस्तकमा अम्मली पुस्ता

‘पुस्तकहरू हवाईजहाज हुन्, रेल हुन्, सडक हुन् । ती गन्तव्य हुन् । र, यात्रा हुन् । पुस्तक घर हुन् ।’ अमेरिकी लेखिका तथा पत्रकार एन्ना क्विन्डलेनको यो भनाई पुस्तकप्रेमीलाई नौलो लाग्दैन ।
पुस्तकहरू एक्लोपनाका साथीमात्र होइनन्, ज्ञान र आनन्दका भण्डार पनि हुन् । तिनले उडाउँछन्, गुडाउँछन् र ठाउँठाउँको यात्रा गराउँछन् अनि आनन्द पनि दिन्छन् । यसैले पनि पुस्तक पढ्नेको जमात बढ्दैछ । पहिलेपहिले विद्यालय–कलेजका पाठ्यक्रमका पुस्तकमात्र पढ्ने पुस्ता अहिले बजारमा आएका नयाँ पुस्तकहरू पढ्न व्यस्त देखिन्छन् ।
त्यसो त, अहिलेको युवापुस्ता नयाँनयाँ चिजको ‘एक्सपेरिमेन्ट’ गर्न चाहन्छ । कोही सिनेमा, खेलकुदलाई मनोरञ्जनका रूपमा लिन्छन् भने कोही यतिसम्म पुस्तकप्रेमी हुन्छन् किताबबिना उनीहरूको जीवन नै अपूरो हुन्छ । उनीहरू पुस्तकको अम्मली भएका छन् । नयाँनयाँ पुस्तकमा आएका नवीन विषय नपढी बस्नै सक्दैनन् ।
के पढ्दैछ युवा पुस्ता ?
पुस्तकको अम्मलीमध्येका एक हुन् त्रिभुवन विश्वविद्यालयको नेपाली केन्द्रीय विभागमा अध्ययन गरिरहेका राजिन पनेरु । गोरखाको सौरपानीका पनेरु अहिले नेपाली केन्द्रीय विभागमा दर्शनाचार्य तहमा अध्ययनरत् छन् । आफ्नो पढ्ने बानी अलि फरक तर नियमित भएको बताउने उनी उनी एकैपटक दुई–तीनवटा कृति समानान्तररूपमा पढ्छन् । अहिले उनी आख्यानतिर मदनमणि दीक्षितको ‘माधवी’ को पुनर्पठन गर्दैछन् भने सिद्धान्ततर्पm रिचार्ड जे. लेनद्वारा सम्पादित ‘ग्लोबल लिटेररी थ्योरी : एन एन्थलजी’ पढ्दैछन् जसमा संरचनावाद, विनिर्माण–विनिर्माणवाद, सञ्चार–संस्कृति हुँदै विश्वव्यापीकरणसम्मका विषयवस्तु समेटिएका छन् । यी सिद्धान्तले विश्वसाहित्यको पछिल्लो ट्रेन्डलाई सिद्धान्त र व्यवहार दुवै पाटोबाट चिनाउने काम गरेको उनी बताउँछन् ।
स्थूलरूपमा जीवन र जगत्सँग प्रत्यक्ष सम्बन्ध राख्ने ज्ञान–विज्ञानका पुस्तक पढ्न रूचि राख्ने पनेरु प्रेरक व्यक्तिहरूको जीवनी र तिलस्मी/जासुसीखालका पुस्तक पनि रुचाउँछन् । राष्ट्र–राष्ट्रियता अनि नेपाली भाषा–साहित्यको विद्यार्थी हुनुको नाताले आफ्नो पहिलो रोजाइ नेपाली पुस्तक नै भएको उनी बताउँछन् । ‘अंग्रेजी र हिन्दी भाषामा अनुवाद गरिएका वा लेखिएका कृतिका साथै नेपाली भाषामै अनुवाद गरिएका पुस्तक पनि पढ्ने गर्छु’, उनी भन्छन् । स्वदेशी तथा विदेशी दुवै भाषाका पुस्तकलाई समानान्तररूपमा अध्ययन गर्न सकियो भने नेपाली र विदेशी साहित्यको स्तरको मूल्यांकन गर्ने क्षमता अभिवृद्धि हुन्छ भन्ने उनको ठम्याई छ ।
बेलाबेलामा लेख्न रूचाउने सुमन मञ्जरी अचेल नेपाली आख्यान र दर्शन एकैसाथ पढ्दैछिन् । पूर्वीय दर्शन र आख्यानका पुस्तकहरू बढी पढ्ने उनी आत्मकथामा पनि उत्तिकै रूचि राख्छिन् । ‘साहित्य पढ्न नेपाली पुस्तकबाट थालनी गरेकी हुँ’, साहित्य पढ्न सुरु गर्दाताकाका दिन सम्झँदै भन्छिन्, ‘पढ्दै जादाँ पछि केही विदेशी पुस्तकहरू पढ्न थालेँ ।’ पढ्नमा रूचि भएकाले नेपाली र विदेशी दुवैखालका पुस्तक पढ्ने गरेको उनी बताउँछिन् ।
काठमाडौँकी प्रितिशा श्रेष्ठ आफूलाई ‘किताबी कीरो’ भन्न रूचाउँछिन् । निरन्तर यात्रामा रमाउने उनी जहाँ जाँदा पनि किताब बोकेर हिँड्छिन् । भर्खरमात्रै जापानी भाषाबाट अंग्रेजीमा अनुदित ‘जर्नी अन्डर दि मिडनाइट सन’ पढेकी उनी अहिले कोरियन भाषाबाट अंग्रेजीमा अनुदित प्र्रख्यात उपन्यास ‘दि भेजिटेरियन’ पढ्दैछिन् । ‘सँगसँगै चाल्र्स एलनको दि प्रिजनर अफ काठमान्डु पनि पढिरहेकी छु,’ उनी भन्छिन् । पुस्तकको छनोटमा कुनै निश्चित मापदण्ड नभएको श्रेष्ठ बताउँछिन् । ऐतिहासिक वा आख्यान, दुवैखालका पुस्तक उनको पढ्ने सूचीमा पर्छन् । पछिल्लो समय ‘थ्रिलर’ र ‘सस्पेन्स’ विषय रहेका पुस्तकमा बढी ध्यान दिन थालेकी उनलाई बालसाहित्यमा पनि उत्तिकै रूचि छ । ‘त्यसो त म नेपालबारे नेपाली र विदेशी दुवै लेखकले लेखेका पुस्तक पढ्न रुचाउँछु,’ उनी भन्छिन् । पछिल्लो समय नेपालबारे लेखिएका ‘इरिक एन्ड दि किङ’, ‘माउन्टेन्स आर योङ’, ‘रेमिनिसेन्स अफ एन इन्डियन अफिसियल’, ‘स्केचेज फ्रम नेपाल’जस्ता पुस्तक पढेको उनले जानकारी दिइन् ।

शिक्षिका तथा लेखक प्रभा बराल पछिल्लो समयमा बजारमा आएका आख्यानका पुस्तक पढ्दैछिन् । आख्यान र गैरआख्यान दुवै साहित्य मन पराउने उनलाई विदेशी पुस्तकभन्दा नेपाली पुस्तकमा ज्यादा रूचि छ । हालै बजारमा आएको ‘चीरहरण’ उपन्यास पढेकी उनी नेपाली साहित्यको स्तर क्रमशः राम्रो हँुदै गएको बताउँछिन् । ‘लेखक, प्रकाशक र पाठक तीनै क्षेत्रको अवस्था उज्यालिँदै गएको छ,’ उनी भन्छिन् ।

स्नातकोत्तर र स्नातक तहका साहित्य पढ्ने विद्यार्थीमात्र होइनन् अन्य विषयमा भविष्य बनाउन लागिपरेकाहरू पनि पुस्तकलाई आफ्नो साथी बनाइरहेका छन् । ललितकलाका विद्यार्थी सन्दिप बडाल ललितकलासँगै साहित्यमा पनि उत्तिकै लगाव राख्छन् । विशेषगरी ग्राफिक नोवल र कमिक्समा रूचि राख्ने उनलाई रुन्चे साहित्य भने पटक्कै मन पर्दैन । ‘तर, भाषामा भने मेरो खास छनोट छैन । नेपाली, अंग्रेजी मात्र होइन, हिन्दी पनि पढ्छु’, उनी भन्छन् । अहिले नाओकी उरासावाको ‘मोन्स्टर’ नामक कमिक सिरिज पढिरहेका उनलाई अल्बेयर कामु, अर्नेस्ट हेमिङ्वे, फ्रान्ज काफ्का मन पर्ने लेखक हुन् ।
पाटन बहुमुखी क्याम्पसमा नेपाली साहित्य अध्ययन गरिरहेका देव ढकाललाई कविता खुबै मन पर्छ । आख्यान र गैरआख्यानमा अधिक रूचि भए पनि कविताले उनको मन छुन्छ । उनलाई मन पर्ने नेपाली साहित्यका लेखक धेरै छन् । तर, एकजनाको मात्र नाम लिनुपर्दा उनी विश्वेश्वरप्रसाद कोइरालालाई सम्झिन्छन् । ‘उहाँको औपन्यासिकता निकै गहिरो लाग्छ,’ उनी भन्छन् । भर्खरमात्र नयनराज पाण्डेको ‘सल्लिपिर’ पढेका उनी अहिले घनश्याम खड्को ‘निर्वाण’ पढ्दैछन् ।
एपेक्स कलेजमा अध्ययनरत् सुनील नेपाल साहित्यका विद्यार्थी होइनन् । तर, उनी आफूलाई ‘बुकाहोलिक’ सम्झिन्छन् । अहिले शान्ताराम, दि मंक हु सोल्ड हिज फेरारी, एडभेन्चर्स अफ हकलबेरी फिन पढिरहेका उनलाई दर्शनका किताबहरू पढ्न मन पर्छ । पछिल्लो समय धेरै गैरआख्यान किनेर बिस्तारै पढ्न थालेका उनको नेपाली वा विदेशी किताब भन्ने कुनै रोजाइ छैन । नयाँ किताब किन्दा वा पढ्दा भाषामा भन्दा पनि त्यसको विषयवस्तु वा प्रस्तुतिमा उनको ध्यान जान्छ । ‘तर सरर याद गर्दा नेपालीभन्दा विदेशी (अंग्रेजी) भाषाका किताब धेरै पढेको रहेछु’, उनी भन्छन् । नेपाली पुस्तकहरूमा पछिल्लो समय उनले ‘कर्णाली ब्लुज’ पढेका थिए ।
अध्ययनको विषय नै साहित्य भएका विद्यार्थीका हकमा भने पढ्नैपर्ने बाध्यता पनि हुन्छ । तर, कुराकानीका क्रममा नेपाली तथा अंग्रेजी साहित्य पढिरहेका यस्ता कोही विद्यार्थी भेटिएनन् जसलाई पुस्तक छुनेबित्तिकै निद्रा लागोस् । उनीहरू हरेक पल कुनै न कुनै प्ुस्तक साथैमा राखेर हिँड्छन् र समय मिल्नेबित्तिकै जहाँ पनि किताबको पाना पल्टाइहाल्छन् ।
पाटन क्याम्पसमा अंग्रेजी साहित्यमा स्नातकोत्तर गरिरहेका जिचेन स्याङ्तान सामाजिक सवालमा लेखिएका पुस्तक पढ्न रूचाउँछन् । यस्ता पुस्तकले उनको मन लोभ्याउँछ । तर, नेपाली भाषामा भने यस्ता मन लोभ्याउने पुस्तक निकै कम भएको उनी बताउँछन् ।
अहिले मञ्जुश्री थापाको ‘अल अफ अस इन आवर लाइभ्स’, हारुकी मुराकामीको ‘१ क्यु ८४’, टमस पिकेटीको ‘क्यापिटल इन द ट्वान्टी फस्र्ट सेन्चुरी’ र रेशम विरहीको ‘देब्रे आँखा’ पढिरहेका स्याङतान मन पर्ने लेखकभन्दा पनि मन पर्ने पुस्तकमा जोड दिन्छन् । ‘एउटा लेखकका सबै कृति राम्रा हुन्छन् भन्ने हुँदैन’, उनी भन्छन् ।
स्वदेशी र विदेशी थुपै्र लेखक मन पराउँछन् पनेरु । प्रतिनिधि लेखकका रूपमा विदेशी साहित्यतर्पm म्याक्सिम गोर्की, एन्तोन चेखव, अलेक्सान्द्र पुस्किन र चेतन भगत पर्छन् भने स्वदेशीतर्पm लक्ष्मीप्रसाद देवकोटा, पारिजात, विश्वेश्वरप्रसाद कोइराला, शंकर लामिछाने, गोपालप्रसाद रिमाल, सरुभक्त, अमर न्यौपाने, कृष्ण धरावासी, नारायण ढकाल, विप्लव ढकाल, अविनाश श्रेष्ठ, कुमार नगरकोटी आदि मन पर्ने उनी बताउँछन् । ‘तर नाम लिएका तथा नलिएका सबैका सबै कृति अब्बल छन् भन्ने होइन । उनीहरूका लेखनीमध्ये केही मेरो दृष्टिमा अब्बल छन्’, उनी स्पष्ट पार्छन् ।  
पछिल्लो समय अमर न्यौपानेको ‘पानीको घाम’, कुमार नगरकोटीको ‘मिस्टिका’ र जनकलाल शर्माको ‘हाम्रो समाज ः एक अध्ययन’ पढेका पनेरु नेपाली साहित्यको पछिल्लो टे«न्ड उपभोक्तावादसँग जोडिएको अनुभव गर्छन् । ‘खोल र विज्ञापनको भरमा कृतिको मूल्य तोकिएको छ, जसको प्रत्यक्ष–परोक्ष मारमा पाठक परेका छन्’, उनी थप्छन्, ‘प्रारम्भमा आशालाग्दो कृति लिएर साहित्य लेखनमा लागेका सर्जकहरू पछिल्लो अर्थात् दोस्रो कृतिमा स्खलित भएका छन् ।’
मञ्जरीका मनपर्ने लेखक पनि धेरै छन् । उनलाई नेपाली लेखकहरूमा मदनमणि दीक्षित, सरुभक्त, कुमार नगरकोटी, निलम कार्की निहारिका, बुद्धिसागर मन पर्छ भने विदेशीमा भर्जिनिया उल्फको जीवन भोगाइ र लेखाइ दुवैको फ्यान हुन् । त्यस्तै, गाब्रियल गार्सिया मार्खेज पनि उनको मन पर्ने लेखक हुन् ।  
स्तर बढाउँदै नेपाली साहित्य
अहिले नेपाली साहित्यबजारमा पुस्तकहरूको ओइरो लाग्न थालेको छ । देशका प्रमुख सहरहरूमा हरेक महिना भव्य समारोहका बीच कुनै न कुनै साहित्यिक कार्यक्रम भइरहेको हुन्छ भने लगभग दैनिकजसो कुनै न कुनै पुस्तक बजारमा आइरहेको हुन्छ । संख्यात्मकसँगै गुणात्मकरूपमा पनि नेपाली साहित्यको विकास भइरहेको तन्नेरी पुस्ताले महसुस गरेका छन् । लेखकले सुधार्नुपर्ने पर्याप्त ठाउँ छन्, तर पनि नेपाली साहित्यप्रति तिनको विशेष माया छ ।
पछिल्लो समय ‘चीरहरण’ पढेकी मञ्जरी नेपाली साहित्यको बजार पहिलेभन्दा अहिले राम्रो भए पनि प्रकाशित साहित्यसँग पाठक सन्तुष्ट हुने अवस्था भने नभएको बताउँछिन् । ‘आख्यानहरूमा उही गाउँको सेरोफेरो, गाउँका कथा, जीवन र भोगाइप्रतिका निराशा धेरै आएको पाइन्छ’, उनी भन्छिन्, ‘त्यसो त, सकारात्मक लेखन र आधुनिक जीवन भोगाइका जटिलताहरू नआएको चाहिँ होइन ।’
पनेरु नेपाली साहित्यमा गुट–उपगुट तथा वादी÷गैरवादीबीचको संघर्ष भएको अनुभव गर्छन् । यी अहिलेको नेपाली साहित्यका सीमा भएको उनको बुझाइ छ । आख्यान तथा गजल, कविता, निबन्ध लेखनले विस्तारै गुणात्मकतातिर पाइला लम्काइरहेको उनको अनुभव छ । ‘लेखन शैली र आञ्चलिकताले आख्यानको स्वाद फेरिनु प्रशंसनीय पक्ष हो,’ उनी भन्छन् ।  
प्राचीन समयदेखि साहित्य अन्य विधाको तुलनामा अलि उपेक्षित रहँदै आएको मञ्जरीको अनुभव छ । पछिल्लो समयमा भने नेपाली साहित्यमा युवालेखक र पाठकको सहभागिता उल्लेख्यरूपमा वृद्धि हुन थालेको उनले देखेकी छन् ।  दशकौँ या शताब्दी अघिदेखि नै अन्य कतिपय मुलुकका साहित्य विश्वमै सम्मानित भएको देखेकी र पढेकी उनलाई विदेशी साहित्यको तुलनामा नेपाली साहित्यले विश्वसमाजको प्रतिनिधित्व गर्न नसकेकोमा दुःख लाग्छ । ‘अपवादलाई छोडेर भन्दा नेपाली साहित्य नेपाली समाजमै केन्द्रित हुनुपर्ने त हो, तर आवश्यकताभन्दा बढी नेपाली समाज केन्द्रित भएजस्तो लाग्छ’, उनी भन्छिन् ।
नेपाली साहित्य अहिले आधुनिकतातर्फ उन्मुख भएको ढकालको अनभुव छ । तर, हाम्रो समाजलाई पूर्णरूपमा चित्रित गर्नेखालको साहित्य भने अझै आइनसकेको उनी बताउँछन् । ‘हाम्रो समाज र जीवनमा यति धेरै विषय छन् जो कतै छोइएकै छैन । हामी कथाको खोजीमा आफ्नै आँगनमा उपलब्ध कथा कुल्चिएर अन्यत्रै भड्किरहेका छौँ’, उनी भन्छन् । नेपाली साहित्यमा प्रेम, यौन र युद्धले धेरै स्थान पाएको उनको आरोप छ । लेखकले त्योभन्दा बाहिर पनि प्लट छ भन्ने कुरा याद गरेमा नेपाली साहित्यले अर्को खुड्किलो चढ्न सक्ने उनको दाबी छ ।  पछिल्लो समय बजारमा आएका कृति हतारमा लेखिएको उनलाई लाग्छ । ती कृतिहरू वैयक्तिकताको संकीर्णतामा जेलिएको उनको बुझाइ छ । ‘व्यावहारिकरूपमा भन्दा कलात्मक सुन्दरतामा उक्लिँदाउक्लिँदै हामीले यथार्थताको फराकिलोलाई केही हदसम्म बिर्सेका छौँ कि जस्तो लाग्छ’, ढकाल भन्छन् । पाश्चात्य साहित्यले त्यो कुरा नबिर्सेकाले ती फरक तथा प्रख्यात भएको उनको ठहर छ । साहित्यले मानवीय संवेदनालाई बोक्ने भएकाले संसारभरका साहित्य समान भएको महसुस गर्ने उनी विषयवस्तु र प्रस्तुतिको शैलीमा नेपाली साहित्य र विदेशी साहित्यमा धेरै फरक भएको बताउँछन् ।

आफूले पढेका विदेशी तथा स्वदेशी साहित्यिक कृतिमा तुलनात्मकरूपमा नेपाली साहित्यभन्दा विदेशी (अंग्रेजी÷हिन्दी भाषामा अनुवाद गरिएका÷लेखिएका तथा नेपाली भाषामै अनुवाद गरिएका अन्य देशका लेखकका) साहित्यका विषयवस्तु तथा लेखन शैली केही फरक भए पनि जीवन र जगत्लाई प्रस्तुत गर्ने शैली भने उस्तै भएको पनेरु बताउँछन् । ‘कतिपय सन्दर्भमा विश्वस्तरमा पुग्न सफल भनिएका विदेशी (रसियन, अंग्रेजी, फ्रेन्च आदि) साहित्यिक कृतिका तुलनामा स्वदेशमा मात्र सीमित रहेका हाम्रा कृति अब्बल छन्, तर हामी अन्य मुलुकका पाठकका आँखामा पर्नै सकेका छैनौँ’, उनी भन्छन् । यसरी चिनिन नसक्नुका कारणबारे पनि उनले अध्ययन गरेका छन् । उनको विचारमा यसको प्रमुख कारणमा भाषा, हाम्रो लेखन धार÷क्षमता र हामीबिचको समझदारीको कमी हुन् । ‘हामीलाई आरोप–प्रत्यारोप गर्दैमा ठिक्क छ । वाद÷विचार÷धारणा फरक राख्न सकिन्छ, तर नेपाली साहित्यलाई विश्वस्तरमा पु¥याउन सबैबीच ‘एकत्व’ जरुरी छ’, उनी भन्छन् । नेपाली साहित्यलाई माया गर्ने सबै र सरकार पनि यसमा उत्तरदायी बन्नुपर्नेमा उनी जोड दिन्छन् ।
नेपाली साहित्यलाई नराम्रो नभने पनि ‘राम्रो’ पनि यो भइनसकेको स्याङतानको समीक्षा छ । ‘आशावादी हुने प्रशस्त ठाउँ छ’, उनी भन्छन् । सञ्चारकर्मी र समीक्षकप्रति भने उनको ठूलो गुनासो छ । ‘उहाँहरूले आफ्नो धर्म र कर्मलाई मात्र याद गरिदिए जाती हुन्थ्यो कि जस्तो लाग्छ, किनभने धेरै पत्रकारले समालोचकको पगरी बोक्न खोजेको देख्छु’, उनी भन्छन् । पछिल्लो समय आहूतिको ‘गहुँगोरो अफ्रिका’, चैतन्य मिश्रको ‘पुँजीवाद र नेपाल’, विमल निभाको ‘आगोनेर उभिएको मानिस’ र खगेन्द्र संग्रौलाको ‘उत्तरआधुनिक अन्तरेपथ’ पढेका उनी  विदेशी साहित्य र नेपाली साहित्यको तुलना गर्न नहुने विचार राख्छन् । साहित्य समाज र मानिसकै प्रतिबिम्ब भएकाले संसारभरि नै विषयवस्तु समान हुने उनी बताउँछन् । ‘तर हामीसँग केही त्यस्ता विषय छन् जुन हाम्रो आफ्नै मौलिक कुरा हुन्, उनी भन्छन् ।
नेपाली साहित्य संख्या र व्यावसायिकताका हिसाबले फस्टाउँदै गइरहेको नेपालको अनुभव छ । तर, स्तरका हिसाबले भने उत्साही हुने ठाउँ नभएको उनी बताउँछन् । ‘अचेल साहित्य रचना गर्नेभन्दा किताब लेख्ने र त्यो बेच्ने परिपाटी मौलाउँदै गएको देख्छु,’ उनी थप्छन्, ‘अहिलेको सबैभन्दा उदेकलाग्दो र अपत्यारिलो विधा आत्मकथा हो ।’ कालान्तरमा पाठकले साहित्य पढ्ने संस्कार अझै परिष्कृत हुँदै जाने र बजार अर्थशास्त्रले नै गहन साहित्य लेखनमा थप बल पु¥याउनेमा उनको विश्वास छ ।
अनुवाद आवश्यक
तन्नेरी पुस्ता नेपालीसँगै विदेशी साहित्य पनि उत्तिकै पढ्छन् । पढ्ने मात्र होइन, समीक्षा पनि गर्छन् । बेस्ट सेलर्स बुकदेखि संसारका ख्यातिप्राप्त पुरस्कार प्राप्त गर्न सफल लेखकहरूका कृति पढ्ने गरेका उनीहरूलाई नेपाली साहित्य पनि संसारका कुनाकुनाका मानिसले पढेको हेर्ने रहर छ । नेपाली पुस्तक संसारको बेस्ट सेलिङ बुक्सको शीर्ष स्थानमा पुगेको र नेपाली लेखकले पनि नोबेलसहित विशिष्ट पुरस्कार पाएको देख्ने उनीहरूको सपना छ ।
अहिलेको तन्नेरी पुस्ताले देखेको नेपाली साहित्यमा सबैभन्दा खड्किएको कुरा भनेको यसको अनुवाद र अन्तर्राष्ट्रिय बजारसम्म पु¥याउने माध्यम हो । विभिन्न देशका साहित्यको अंग्रेजीमा अनुदित संस्करण पढ्ने र त्यसको स्वाद लिने बानी परेका नेपालका युवा साहित्य पारखीलाई नेपाली साहित्य त्यसरी विदेशी पाठकसम्म नपुगेकोमा चित्त दुःखेको छ । नेपाली प्रकाशकहरूसँग अझै पनि त्यो आँट नभएको उनीहरू बताउँछन् ।
एमफिल अध्ययन गरेकी श्रेष्ठले एकपटक नेपालको एक चर्चित प्रकाशकसँग कुराकानी गर्ने अवसर पाएकी थिइन् । जर्मनीको फ्र्यांकफर्टमा हरेक वर्ष अक्टोबरमा हुने ‘फ्र्यांकफर्ट पुस्तक मेला’मा सहभागी ती प्रकाशकसँग उनले आफू पनि त्यो मेलामा सहभागी हुन चाहेको बताएकी थिइन् । त्यसबखत उनले त्यस्ता मेलामा नेपाली पुस्तक पनि लैजानुपर्ने सुझाव दिएकी थिइन् । ‘तर, ती प्रकाशक त्यसो गर्न हिच्किचाए । अन्य मुलुकका पाठकले नेपाली साहित्यको स्वाद नलिएकाले पनि आफूहरूले त्यसो गर्न नसक्ने उनले बताए’, श्रेष्ठ सम्झन्छिन् । नेपाली पुस्तकहरू अंग्रेजी र अन्य भाषामा अनुवाद नगर्दासम्म हामी अन्तर्राष्ट्रिय बजारसम्म पुग्न नसक्ने उनी बताउँछिन् । ‘हामीले हाम्रा पुस्तकहरूको विश्वव्यापी प्रचार गर्न सक्नुपर्छ । सँगसँगै, हामीले पढ्न चाहेका विदेशी पुस्तक सजिलै प्राप्त गर्न सक्ने अवस्था पनि हुनुपर्छ’, उनी भन्छिन् । यसो भएमा विदेशी पाठकले नेपाली पुस्तकको स्वाद लिन सक्ने र नेपालीले पनि विदेशी पुस्तक पढ्न सजिलो हुने उनको भनाइ छ ।
लेखक तथा शिक्षिका बरालको विचारमा पनि विदेशी साहित्यको तुलनामा नेपाली साहित्यको प्रचार–प्रसार हुन सकेको छैन । यसको मुख्य कारण अंग्रेजी भाषामा उत्कृष्ट नेपाली साहित्यको अनुवाद हुन नसक्नु भएको उनको ठहर छ । ‘तर, नेपाली साहित्यले बिस्तारै यसतर्फ पनि पाइला चालिरहेको छ’, उनी भन्छिन् । अनुवाद गर्न सकेमा नेपाली साहित्यिक कृतिहरू पनि विश्वबजारमा प्रतिस्पर्धामा खरो उत्रन सक्ने उनी बताउँछिन् ।

प्रकाशित: ११ असार २०७३ ०५:४७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App