६ माघ २०८२ मंगलबार
image/svg+xml
अन्य

सुदूरमा 'ड्यौडिया होरी'

आयो शहरमे व्यौपारी, जोगी आयो शहरमे व्यौपारी
इस व्यौपारीको भुक लगिहे, खाना खिलादे मतवाली
आयो शहरमे व्यौपारी, जोगी आयो शहरमे व्यौपारी

टाउकोमा पगरी बाँधेर सेतो कुर्ता र जामामा सजिएका वृद्ध/युवाहरूको गोलबद्ध झुन्ड गाउँ–गाउँमा यस्तै गढवाली, काली कुमाउँनी 'होरी' (होली) गीत गाउँदै रमाइलो गर्दै छन्। एकअर्कालाई होलीको रङले रंग्याउँदै ड्यौडिया भाकामा गाइएका श्रीकृष्ण, राम भगवान्का चरित्र गाथाले गुञ्जायमान बनेको छ यतिबेला सुदूर बस्ती।

पश्चिम नेपालमा ड्यौडिया होरी कहिले भित्रिएको हो भन्ने यकिन नभए पनि परापूर्व कालदेखि नै चलिआएको मान्न सकिने डोटेली भाषिकामा प्रकाशित हुने सुदूर चिनारी पत्रिकाका प्रधान सम्पादक एनके जोशी बताउँछन्। सुदूरमा भारतको मथुराको होली प्रभाव परेको उनी बताउँछन्। 'यहाँ खेलिने होलीमा हिन्दी लवज आउनुका साथै गीत पनि मथुरा, काली कुमाउँनी, गढवाली, भाषाको हुने गरेको छ,' उनले भने, 'त्यही भएर उतैबाट भित्रिएको अनुमान लगाउन सकिन्छ।' पूर्वी नेपालमा एकआपसमा रङ दलेर होली मनाइने गरिए पनि सुदूरपश्चिममा पहाडी समुदायले देउडाको लयमा श्रीकृष्ण, रामका बहादुरी गाथा गाएर रङ दल्दै होली खेल्छन्। त्यस्तै सुदूरपश्चिमको तराईमा बसोबास गर्दै आएका आदिवासी रानाथारु पनि पहाडी होलीजस्तै गोलबद्ध भएर भगवान्का गाथा गाउँदै खेल्ने गर्छन्।

रामले रावणलाई तथा कृष्णले मामा कंशलाई मारेको घटनालाई जोडेर गीतमार्फत लयबद्ध तरिकाले गोलघेरामा सुदूरका पहाडी जिल्लामा होली खेल्ने गरिएको सुदूरपश्चिमको संस्कृतिमा विद्यावारिधि गरेका संस्कृतिविद् डाक्टर बद्री विनाडी बताउँछन्। 'होलीका गीत ठाउँअनुसार फरक–फरक हुने गरेको भए पनि मथुरा, कुमाउँ, गढवालबाट आएकाले यिनमा प्रायः गीत हिन्दी लवजका हुने गरेका छन्,' विनाडी भन्छन्।

अछामी होली

'सेतो जामामा पगरी बाँधेर सेतै फेटा पहिरिएर 'अछामी होरी' देउडाको लयमा खेलिने गरिन्छ। अछामी होरी शिवरात्रिको दिनबाट औपचारिकमा सुरु भए पनि विशेष गरी अष्टमीको दिनबाट बेलुकीपख प्रत्येक गाउँमा होरी खेल्ने प्रचलन छ। मेलको हाँगा काटेर त्यसमा रंगीचंगी ध्वजापताका लगाउने र त्यसलाई होली खेल्ने ठाउँमा चीरका रूपमा गाड्ने गरिन्छ। त्यही चीरलाई पूर्णिमाको दिन होली खेलेर अन्त्यमा आगोले जलाउने प्रचलन छ। होलीमा विभिन्न धर्मसंस्कृति, रामलीला, कृष्णलीला, चारित्रिक मायाप्रेमका कुरा समेटिका देउडा गाउने प्रचलन छ।

अछामी समुदायको ठूलो बस्ती रहेको मंगलसेनसहित कैलालीको धनगढी, टीकापुर, कञ्चनपुरको झलारी, नेपालगञ्जको कोरियनपुर र धम्बोझी, बर्दियाको बाँसगढीमा साता दिनदेखि निरन्तर 'होरी' को रौनकले छाउने गरेको छ।

सुदूरपश्चिममा मनाइने अन्य होलीभन्दा भिन्न प्रकारको अछामी होली हो। अछाममा होलीको विशेष महŒव रहने गरेको छ। शिष्ट भाषामा मौलिक पहिरनसहित सुदूरपश्चिममा अछाममा मात्रै खेलिने गरेको संस्कृतिविद् डा. विनाडी बताउँछन्। 'अछामीहरूले शिवरात्रिका दिन 'पर्गलो' (ध्वजा पताका) शिवमन्दिरमा चढाएर होरीको सुरुवात गर्छन्। त्यहींबाट होली खेल्न सुरु हुन्छ,' विनाडीले भने।

सेतो कुर्ता सुरवाल र सेतै पगडीमा सजिएका पुरुषहरू फूल कानमा सिउँरिएर फूलकै लामो गरी उनिएका माला लगाई होरीका गीतसँगै लामबद्ध भएर अछामी होरी खेल्ने गरिन्छ। खेलका बीचमा ढोल, ताल र नरसिंहा बाजाका तालले फरक रौनक थपिएको भान हुने गरेको देउडा गायक सुरत रावत 'डोटेली कान्छा' बताउँछन्।

होलीको भद्दा नक्कल
नयाँ पुस्ताले गर्दा होली संस्कृति लोप हुन थालेको प्रति पुरानो पुस्ता चिन्तित छ। होलीमा रङअबिरको सुगन्धभन्दा मोबिल र स्पि्रटको गन्ध बढी हुने गरेको छ। होली गीतको ठाउँमा हिन्दी, लोकदोहोरी र पप गीत बज्न थालेका छन्। 'होली प्रेम, भाइचारा र रंगोत्सवको पर्व हो। तर, युवाले यसलाई रक्सी खाएर मस्ती, हुलहुज्जत र मनमौजी गर्ने पर्वका रूपमा बुझ्नु विडम्बनापूर्ण हो,' देउडा गायक डोटेली कान्छा भन्छन्।

प्रकाशित: ९ चैत्र २०७२ ०२:४५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App