माहुतेले हात्तीलाई जंगल मोडे। त्यसमा हामी चार भाइ थियौं। सहयात्री सुरेन्द्र राना, नेचर गाइड हरिबहादुर कुमाल, माहुते जंगे बोटे र म।
घाम ताप्ने बेला पो जंगली जनावर देखिन्छन् हैन र?
जिज्ञासा सुन्नेबित्तिकै हरिबहादुर दाइ बोले, 'गैंडा चरिरहेको दृश्य देखिन्छ बिहानीमा।'
तिहारको मौसम। अन्द्रौली सामुदायिक वन। जताततै वनमाराको साम्राज्य। माहुतेका आँखा तिखा रैछन्, परपरका जनावर देखाइदिन्थे ती। सबैभन्दा पहिला हामीले रतुवा देख्यौं, त्यसपछि केही लगुना।
चराको चिरबिर जंगल छिरेदेखि नै सुनियो। 'उः आयो,' ठूलो क्यामेरा भिरेका साथी सुरेन्द्र कराएतिर हेरेँ, 'घाँसे मैदानमा एउटा गैंडा उभिएर हामीलाई हेरिरहेको थियो।'
तस्बिर खिचेँ— खिचिक्क! खिचिक्क! खिचिक्क!
अहँ गैंडा तर्सेन। न त्यसले मुन्टो फर्कायो न हामीले। नजिकै पुगेर हेर्यौंो। 'हात्तीसँग गैंडा डराउँछ,' जंगे भाइले सुनाए, 'कहिलेकाहीँ गैंडा अटेर गर्छ। झगडा पर्छ।'
हात्ती सफारीमा जाँदा गैंडा देख्न पाएपछि सबैको मन शान्त हुन्छ। जंगलमा पाटे बाघ पनि छन्। तर, कहिलेकाहीँ मात्रै देखिन्छन्। हरिबहादुरले डेढ घन्टा सफारीमा ३६ वटासम्म गैंडा देखेको अनुभव सुनाए।
उनको अनुभव सुन्दै जाँदा माहुतेले घोल नजिक हामीलाई पुर्याैए। त्यहाँ पानीमा एउटा गैंडा थियो। त्यो डेग चलेन। हाम्रो हात्तीले घोलको पानी बोकेर सुँडले गैंडालाई छ्यापिदियो। गैंडा बुरुक्कै उफ्रेर झाडीतिर लाग्यो।
हरिबहादुर दाइ अनुभवी रैछन्। १९ वर्ष यो क्षेत्रमा काम गरेका उनी ३५० थरी चरा चिन्दारहेछन्। मेघौली क्षेत्रमा ५६७ प्रजातिका चरा पाइन्छ। 'वाइल्ड लाइफमै मज्जा छ,' ४६ वर्षे कुमालले भने, 'जति बु‰यो उति रमाइलो।'
हामी फर्कंदा राप्ती नदीमा लभ वर्ड देखिए। जंगल पस्दा पातमा शीत ओभाइसकेका थिएनन्, फर्कंदा घामले न्यानो भयो। त्यो बिहान हामीले तीन वटा गैंडा देख्यौं। आफैंलाई भाग्यमानी सम्भि्कयौं।
मेघौलीमा दोस्रोपटक हात्ती सफारीमा निस्केको म। ०६६ मंसिरमा मेघौली महोत्सव हुँदा पनि हामीले दिउँसो जंगलमा एक जोडी गैंडा देखेका थियौं।
चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित मेघौली गाउँले वाइल्ड लाइफ गन्तव्यको चिनारी बनाइसकेको छ। राप्ती र नारायणी किनारको टापु हो मेघौली। मेघौलीले निकुञ्जको २५ किमि क्षेत्र छोएको छ।
हामी मेघौलीकै ठूलो र सुविधायुक्त वाराही जंगल लजमा बसेका थियौं। बिहानको हात्ती सफारी उपलब्धिमूलक भयो। हामीले थारू होमस्टेमा दिउँसोको खाना खाने निर्णय गर्यौं।। लजका प्रबन्धक बरुण कुमारले मोटरबाइक व्यवस्था मिलाइदिए। सुरेन्द्र र म गाउँतिर लाग्यौं।
बिहान थारू सामुदायिक होमस्टेका उपाध्यक्ष आशाराम महतोलाई लन्चमा आउँछौं भनेका थियौं। उनले जीवन महतोको घरमा बोलाए। हामी त्यहाँ पुग्दा चिलीको एक जोडी त्यहाँ थियो। पाउला मेरिनो र सेबेस्टेन भाल्देवेनिटो। दुवै पहिलोपटक नेपाल आएका।
'भुइँचालोले नेपाल ध्वस्तै भएको छ भन्ने सुनेका थियौं,' उनीहरूले भने, 'वास्तविकता त्यस्तो रहेनछ।' मेघौली गाउँ प्रवर्द्धन गर्न वेबसाइट बनाएर सहयोग गरिदिने वचन दिए उनीहरूले। उनीहरूसँगै हामीले होमस्टेमा खाना खायौं। नारायणीका माछासहित।
गाउँका पाँच घरमा होमस्टे सुविधा रहेछ। तीन घर थपिँदैछन्। '९० प्रतिशत पाहुना नेपाली हुन्,' आशारामले भने, 'काठमाडौं, पोखरा, हेटौंडा र बुटवलदेखिका नेपाली आउँछन्।'
उनीहरूले प्याकेज बनाएका छन्। नेपालीलाई दुई रात, तीन दिनको प्याकेजको आठ हजार रुपैयाँ। त्यति रकमले खान, बस्न, हात्ती चढ्न, थारू संस्कृति हेर्न, बोटिङ र जंगल वाक गर्न पुग्छ।
सौराहामा जस्तै पर्यटकीय गतिविधि हुन्छ मेघौलीमा। त्यहाँबाट सूर्यास्त राम्रो देखिन्छ। नदीमा बोटिङ। जंगल वाक हुन्छ। मेघौलीमा नौ सामुदायिक वन छन्। त्यहाँ घुमाइन्छ। नदी किनारमा घाम तापिरहेका गोही हुन्छन्।
मेघौलीमा सिंहबहादुर कुँवरले घोडा पालेका छन्। घोडा चढ्न पाइन्छ। टाँगा चढेर गाउँ घुम्ने सुविधा छ।
होमस्टेमा पाहुनाको मागअनुसार थारू नाच देखाइन्छ। झम्टा, डम्फु, झुमरा र लठ्ठी लगायतका नृत्य। ठूला होटलले साँझ होटलमै नाच देखाउने व्यवस्था मिलाउँछन्।
एलिफेन्ट पोलो मेघौलीबाट सुरु भएको हो। मेघौली विमानस्थलमा प्यारा जम्प पनि हुन्छ। अचेल विमानस्थल प्रयोगमा छैन। त्यसलाई सञ्चालनमा ल्याउन सके मेघौली चम्कनेछ।
गाउँमा थारू सांस्कृतिक संग्रहालय छ। त्यहाँ थारूको जन्मदेखि मृत्युसम्म झल्काउने चित्र र सामान सजाइएको छ। हामी संग्रहालय पुग्दा त्यहीँ भेटिए संग्रहालयका संरक्षक सत्यनारायण चौधरी। ०५७ मा संग्रहालय बनेको उनले सुनाए।
शान्त छ मेघौली। बिस्तारै चर्चामा आउँदै छ। होटलहरू थपिँदै छन्। मेघौलीमा १३ वटा पर्यटकीय होटल छन्। राइनो रिसोर्ट, गोलाघाट वाइल्ड लाइफ रिसोर्ट, चित्तल लज, नारायणी रिसोर्ट, मेघौली एभरग्रिन गेस्टे हाउस, बुलबुल लज, चौतारी होटल, तिवारी होटल, वाराही गजल लज, सिजी रिसोर्ट, साराङ वाइल्ड लाइफ रिसोर्ट, फार्म हाउस इको पार्क।
त्यो दिन दिउँसो तीन बजेपछि हामीले नारायणीमा बोटिङ गर्यौंि। लजदेखि गोलाघाटसम्म। नदी र किनारमा गोही देखापर्योद। एउटा डुंगामा हामी थियौं, अर्कोमा पोखरेली समूह। नदीछेउमा हामीले तीन वटा गैंडा देख्यौं।
एकै दिनमा हामीले छ वटा गैंडा दर्शन गर्न पायौं।
ग्ाोलाघाट पुग्दा घाम अस्ताउन लागेको थियो। दोभानमा कफी र बियरको चुस्की लाउँदै सूर्यलाई बिदाइ गर्यौंग। सूर्यास्तको छायाँले नदी सिमि्रक रङले पोतेझैं देखियो।
साँझ लजमै हामीले थारू नाच हेर्यौंङ। मेघौली नारायणी नगरपालिका–१ जितपुरका हरि महतोको समूहले हामीलाई नाच देखायो।
पोखरामा होटल वाराही चलाउँदै आएका विप्लव पौडेलले मेघौलीमा वाराही जंगल लज बनाएका हुन्। २० बिगाहामा फैलेको लज आफैंमा राम्रो पर्यटकीय प्रोडक्ट हो। विशेषतः उच्चस्तरका पर्यटक लोभ्याउने हिसाबले लज सञ्जालनमा आएको। जहँ स्विमिङ पुलको सुविधा पनि छ।
लजको व्यवस्थापन गर्ने जिम्मा भारतीय कम्पनी पौगन्डी सफारीले पाएको छ। लजमा ६६ कर्मचारी रहेछन्। तीमध्ये तीन जना भारतीय, बाँकी सबै मेघौली क्षेत्रका। लजका प्रबन्धक बरुण कुमार भन्छन्, 'हामी नेपालीलाई प्रवर्द्धन गछौं। हाम्रा ५० प्रतिशत ग्राहक नेपाली हुन्।'
दुई रात बस्ने गरी मेघौली यात्रा योजना बनाउनुपर्छ। त्यहाँबाट रित्तो हात फर्कनुहुन्न। ताराबहादुर विश्वकर्माले बनाएका कला लिएर आउनुपर्छ। ललितकला क्याम्पसमा मूर्तिकला पढेका ताराबहादुर काठबाट हात्ती, गैंडा, बाघ, भालु, अर्ना, चरा, कुकुर, बिरालोलगायत सामान बनाउँछन्। ती सामान उनी घरैबाट बेच्छन्। होटलहरूमा पनि किन्न पाइन्छ।
उनका सिर्जना ३५० रुपैयाँदेखि २५ सय रुपैयाँसम्म पर्छ। उनले पिता पहलसिंहबाट कला सिकेका। उनकी जीवनसाथी सिर्जना कुमारी चित्र बनाउँछिन्। दुई वर्ष काठमाडौंमा पढेर उनी गाउँ फर्केको तीन वर्ष भइसक्यो। आफ्नै गामठाममा केही गर्न फर्केर राम्रो गरेछन्।
मेघौलीमा कला ग्यालरी खोल्ने उनको योजना छ। शुभकामना ताराबहादुर!
दोस्रोपटक मेघौली घुम्दा पनि त्यही अनुभव भयो कि मेघौली राम्रो छ। तर, त्यसको राम्रो मार्केटिङ भइसकेको छैन। ठूलाठूला होटल खुल्दै छन्। आशा गरौं मेघौली चाँडै चम्कनेछ।
कसरी पुग्ने : काठमाडौंबाट १७२ किमिमा मेघौली। काठमाडौंबाट मेघौलीसम्म माइक्रो बस चल्छन्। तिनले छ घन्टामा पुर्याखउँछन्। नारायणघाट–मेघौली २५ किमि। बिहान पाँच बजेदेखि हरेक घन्टामा मेघौलीका लागि बस छुट्छन्, नारायणघाटबाट।
होमस्टेको मेनु
विवरण परिमाण रुपैयाँ
कोठा डबल बेड ४००
खाना पेटभरि १००
हात्ती सफारी १ जना ९००
बयल गाडा १ घन्टा ५००
सांस्कृतिक कार्यक्रम समूह २०००
रक्सी बोतल १००
सम्पर्क : ९८४५१४५८०८
क्वालिटी टुरिस्ट
विप्लव पौडेल
कार्यकारी निर्देशक, वाराही जंगल लज
उच्चस्तरीय विदेशी र नेपाली पर्यटकका लागि हामीले सुविधायुक्त लज चलाएका हौं। २० बिगाहामा फैलेको लजमा ३५ करोड रुपैयाँ लगानी छ। सन् २०१३ देखि सञ्चालमा आएको लजमा ३५ कोठा छन्। मार्केटिङ भइरहेको छ। हामी आशावादी छौं।
होमस्टेमा स्वागत
आशाराम महतो
उपाध्यक्ष, सामुदायिक होमस्टे
पर्यटनबाट स्थानीयवासीले पनि आम्दानी पाउनुपर्छ भनेर हामीले होमस्टे सुरु गरेका हौं। हाम्रो होमस्टेमा सस्तोमा खाना र बास पाइन्छ। थारूका पाँच घरमा होमस्टे सुविधा छ। तीन वटा घर थपिँदै छन्। ९० प्रतिशत ग्राहक नेपाली हुन्।
पूर्वाधारमा जोड
विश्व सुवेदी
अध्यक्ष, मेघौली पर्यटन विकास समिति
मेघौलीको पर्यटन विकास गर्न भरतपुर–मेघौली–गोलाघाट सडक कालोपत्रे हुनुपर्छ। भरतपुर विमानस्थलको स्तरोन्नति हुनुपर्छ। राप्तीमा तटबन्ध जरुरी छ। देवघाट–गोलाघाट–त्रिवेणी जलयात्रालाई सहज बनाउनुपर्छ। क्षमता अभिवृद्धि र मार्केटिङमा जोड दिनुपर्छ।
प्रकाशित: ३ पुस २०७२ २२:२१ शुक्रबार





