मेरो घरमा सरसफाइ गर्न आउने एकजना बहिनीको उदाहरणबाट कुरा सुरु गर्छु। सोझी, मेहनती रामेछापतिरकी २५–२६ वर्षकी एकजना बहिनी विगत केही वर्षदेखि मेरो घरमा सरसफाइ गर्न आउँथिन्। छोरीलाई स्कुल पठाएर दिउँसो दुईतीनवटा घरमा काम गर्ने, कहिलेकाहीं सुत्केरी स्याहार्ने काम पनि गर्थिन्।
मान्छे हँसिली, जागरिली भए पनि उनको आँखामा एक प्रकारको उदासी देखिन्थ्यो । काम सक्न अलि हतार गर्थिन्। ‘नानीको बाबा आउनुभयो होला, म भोलि गर्छु है दिदी’ भनेर कहिलेकाहीं काम नसकी जान्थिन्। बेलाबेलामा म सोध्थें– केही समस्या छ कि? श्रीमान् के गर्छन्? कस्तो छ बानी–व्यवहार? इत्यादि।
उनले नराम्रो कहिल्यै भनिनन्। बरु केही व्यवहार सल्टाउन दुई–चार महिनाको तलब अगाडि नै माग्थिन्। एकपटक पुर्खौली जग्गा आफ्नो नाममा गर्न केही पैसा मागिन्। ‘त्यो जग्गा आफ्नै नाममा राख्नु है’ भनेर मैले पैसा दिएँ । ६ महिना काम गरेर उनले त्यो पैसा चुक्ता गरिन्।
केही पछि ‘नानीको बाबाले केही काम गर्न पैसा खोज्नुभएको छ दिदी’ भनेर तीन महिनाको अग्रिम तलब लिएर एकाएक काममा आउन छोडिन्। चार दिनपछि खोजी गर्दा लोग्नेले काम गर्ने सबै घरबाट पैसा मागेर ल्याउन लगाएर ‘तैंले भन्नेबित्तिकै यत्रो पैसा कहाँबाट ल्याइस् ? कोसँग सुतेर ल्याइस्?’ भन्दै कुटेर मरणासन्न पारेपछि माइती आएर लगे भन्ने सुनियो।
ऋण गरेर उकासेको जग्गा पनि लोग्नेकै नाममा रहेछ। श्रीमतीलाई ऋण माग्न लगाएर ऊ आफैं चाहिँ त्यो पैसा रक्सी र बाहिरका महिलामा खर्च गर्दो रहेछ। मैले यो सबै थाहा पाएर ती बहिनीलाई लोग्नेबाट अलग भएर पनि तिमी आफ्नो कमाइले बाँच्न सक्छौ। तिमीले जोडेको सरसामान र अन्य सम्पत्तिमा तिम्रो हक लाग्छ। तिमी कानुनी लडाइँ लड, हामी सहयोग गर्छौं भनेँ तर लोग्नेको व्यभिचारको खर्च समेत आफैंले धानेकी उनलाई लोग्ने नभएपछि एक्लै पालिन सक्छु भन्ने आँट आएन।
यो त गरिब र पिछडिएको वर्गको कथा भयो। पढेलेखेका, आत्मनिर्भर, सम्पन्न परिवारका महिलासमेत सार्वजनिक दायित्व निर्वाह गर्दै छोराछोरी, घर, समाजको सम्पूर्ण आर्थिक, पारिवारिक दायित्व निर्वाह गर्छन्– एक्लै चुपचाप मानसिक र शारीरिक हिंसा भोग्दै। समाजबाट आउने प्रश्नको डरले, पारिवारिक जमघटमा आउने सतही सल्लाह–सुझाव, अर्ती–उपदेशको झर्कोले र चिनजानबिच हुने गसिप र छेडखानीबाट बच्न।
आखिर किन यस्तो अपमान खपेर पनि चुपचाप बाँच्न अभिशप्त छन् महिलाहरू?
हाम्रो सामाजिक मान्यताअनुसार महिलाहरू सहनशीलताका प्रतिमूर्ति हुन्। यही सुनेर हुर्किएका महिलाहरू आफूविरुद्धका घटनामा हत्तपत्त बोल्न सक्दैनन्। बोलेका महिलालाई एकातिर सामाजिक सहानुभूति छैन, अर्कोतिर ऊ आफैंलाई पनि मैले गरेको ठिक छ भन्ने आत्मविश्वास हुँदैन। यसपछि म के गर्छु भन्ने तयारी हुँदैन। आर्थिक तथा मानसिक परनिर्भरता छ।
ज्वाइँ–छोराको सार्वजनिक प्रगतिमा खुसी हुने बाबुआमालाई छोरी–बुहारीको सार्वजनिक प्रगतिको खुसीभन्दा परिवारलाई पालनपोषण गर्न समय नदिएको दुःख बढी हुन्छ। सासू खुसी नभएको, ज्वाइँ रिसाएको दुःख बढी हुन्छ। ज्वाइँ–छोराभन्दा छोरी–बुहारीको प्रगतिलाई प्रशंसा गर्ने बाबुआमा थोरै होलान्। छोरी–बुहारी ज्वाइँ–छोराभन्दा निम्छरो भएको, आश्रित भएको नै रुचाउने सामाजिक मनोविज्ञान छ।
घरमा गाह्रो भएका छोरीको वेदना सुन्न आश्रय, ढाडस, प्रोत्साहन गर्न माइती पक्ष तयार हुँदैन। ‘छोरीमान्छे भएर सहनुपर्छ। आइमाई धरती हो। खराब दिन पार लागेपछि राम्रा दिन आउँछन्’ भनेर हिंसा सहन प्रोत्साहन गरिन्छ। उसले आफूलाई गाह्रो भएको प्रमाणित गर्न डोरी वा पानीको भेलको सहारा लिनुपर्छ। यस्तो सामाजिक–सांस्कृतिक मानसिक परिवेशमा अधिकांश महिलाले हिंसामा पर्दाबिना कुनै प्रतिक्रिया सहने तर सुनाउन हिचकिचाउने गरेको पाइन्छ।
महिलाको आत्मनिर्भरता र सार्वजनिक प्रगतिमा गौरव होइन, ईर्ष्या गर्ने सामाजिक मनोवृत्ति छ। ससाना प्रगतिमा प्रशंसा गरे पनि आफूभन्दा अगाडि बढेपछि आलोचना गर्ने, लाञ्छना लगाउने प्रवृत्ति छ । पढे–लेखेका ठुलो पदमा पुगेका महिलाले लोग्नेलाई हेप्छन्, पारिवारिक मूल्य–मान्यतालाई मान्दैनन्, जिम्मेवारी लिँदैनन्, मात्तिन्छन्, स्वेच्छाचारी हुन्छन् भनेर सामान्यीकरण गरिन्छ।
तर ठुलो सार्वजनिक जिम्मेवारी लिएका महिलालाई परिवार र समाजले पारिवारिक–सामाजिक भूमिकामा सम्झौता गर्दैन। यही कारणले पनि आत्मनिर्भर महिलाहरू समेत आफ्ना कुरा बाहिर ल्याउँदैनन् । यो कुनै व्यक्तिमाथिको आक्षेप होइन, सामाजिक परिवेश र हुर्काइ नै त्यही भएपछि समाजको चरित्र पनि त्यस्तै बनेको छ।
छोरा–छोरी जन्माउने प्राकृतिक जिम्मेवारी, छोराछोरी हुर्काउने र घर सम्हाल्ने सामाजिक जिम्मेवारी, महिला र पुरुष समान रहेको प्रमाणित गर्न बोकेको सार्वजनिक तथा आर्थिक जिम्मेवारीको तेबर–चौबर भारले थिचिएर ‘म को हुँ? मेरो जीवनको रहस्य के हो? मेरो खुसी केमा छ? मैले के गर्नुपर्छ? के नगरे पनि हुन्छ? मेरो लक्ष्य के हो? मेरो क्षमता कति छ?’ भन्ने नै थाहा नपाई हाम्रो जीवन भातभान्साकै उल्झनमा बितिरहेको हुन्छ।
राजनीति, प्रशासन, आर्थिक, सामाजिक, आध्यात्मिक नेतृत्वमा कसैको विशेष निगाह नभएमा महिलाको पहुँच कमजोर छ। देखिएका नेतृत्व पनि आत्मनिर्भर र सम्मानजनक हैसियतका हुँदैनन्। यस्तो हुनुमा स्त्रीलिंगीप्रतिको नियन्त्रणमुखी सामाजिक–सांस्कृतिक दृष्टिकोण, लैंगिकता र यौनिकताप्रतिको पूर्वाग्रही व्यवहार हो । जसको फलस्वरूप छोरीको हुर्काइमा अतिरिक्त नियन्त्रण र महिलाको क्षमतामाथिको अविश्वासले महिला स्वयंमा परनिर्भरता, पिछलग्गुपन, आशे प्रवृत्ति, कमजोर आत्मविश्वास र सहने बानीको विकास भएको हुन्छ।
सहनुलाई महानताको नाम दिएर महिलालाई यति भावनाशून्य बनाइएको छ कि कसैको साथ हुनु वा नहुनुले उनीहरूलाई फरक नै नपर्ने, नकारात्मक टिप्पणी, गुनासो, गाली, अपमान सुन्ने बानी परेको छ। अघिल्ला पुस्ताका हजुरआमा, आमा, काकी, सानीमा, माइती, दिदीहरूलाई देखेर सामाजिक भूमिकाको बोझले पछिल्लो पुस्ता बिहे गर्ने र बच्चा जन्माउने विषयलाई उल्झन मान्न थालेका छन्। महिलाप्रतिको यस्तो निकृष्ट व्यवहारले अन्ततः मानव अस्तित्व नै खतरामा पर्न सक्छ।
अब के गर्ने त?
लैंगिक समानतामा आधारित समाज निर्माण गर्न दुईवटा तरिका हुन्छन्। पहिलो– जैविक, पारिवारिक, आर्थिक र सामाजिक सबै भूमिकालाई समान महत्त्व दिने। कमाएर ल्याउनु, पकाएर ख्वाउनु, बच्चा जन्माउनु, घर सम्हाल्नु, व्यवसाय सम्हाल्नुबिच कुनै विभेद नगर्ने, सबै जिम्मेवारीको समान महत्त्व हुने सामाजिक चेतनाको विकास गरेर सहअस्तित्व स्विकारिएको समाज निर्माण गर्न सके त्यो उत्तम हुन्छ। दोस्रो– पितृसत्ताको यस्तो जडताभित्र मातृशक्तिले आफूलाई बचाउन आफ्ना भूमिका, जिम्मेवारी र आफ्ना सीमाहरू आफैं बुझ्नु र आफूलाई बचाउनुको विकल्प छैन। बाबुआमाले छोराछोरी हुर्काउँदा ‘तिमी छुट्टै व्यक्ति हौ। तिमी हुर्किएपछि तिम्रो जिम्मेवारी आफैले लिनुपर्छ । तिम्रो सुख–दुःख, सफलता–असफलताको कारण तिमी आफै हौ’ भनेर आत्मनिर्भर हुन सिकाउनुपर्छ।
छोरी मरेपछि रुँदै–कराउँदै न्याय माग्न दौडिनुभन्दा छोरीलाई पीडादायी जीवनबाट बाहिर निस्केर आत्मनिर्भर जीवन बाँच्न प्रेरित गर्नुपर्छ।
अब महिला स्वयंले आफूविरुद्धको यो परिवेशमा आफूलाई जोगाएर कसरी अगाडि बढ्ने भन्ने विषयमा कुरा गरौं। आफ्नो जीवन र आफ्ना जिम्मेवारी आफैं निभाउन सक्छु भन्ने आत्मविश्वास पहिलो सर्त हो। मेरा जिम्मेवारी के हुन् र के होइनन् भनेर छुट्याउन सक्नुपर्छ। ‘यतिसम्म सम्झौता गर्छु, यहाँभन्दा बढी म सक्दिनँ’ भनेर सीमा पनि कोर्नुपर्छ।
महिलाले त्याग गर्न मात्र होइन, आफूबारे सोच्ने, आफूलाई प्राथमिकता दिने, ‘सेल्फिस’ बन्न सिक्नुपर्छ। ताकि आफ्नो खुसी के हो चिन्न सकून्, सपनाको उडान भर्न सकून्, आफ्नो स्वाद बचाउन सकून्, आफ्ना नैसर्गिक जिम्मेवारी पूरा गर्न सकून् र मन नपर्ने वा नसक्ने विषयमा ‘नाइ’ भन्न सकून्। यसका लागि आत्मसम्मानप्रति सधैं सजग भई लगन र इमानले आफ्नै खुट्टामा उभिनुपर्छ।
प्रकाशित: २५ फाल्गुन २०८२ ०६:३८ सोमबार

